एकहत्तर पटक नेपाल जाँदा यस्तो पो देखेछन फ्रान्सेली पुलेले
फ्रान्सको दक्षिणी शहर पुगेका रहेछन् डेनिस पुले । नेपाल संवन्धि प्रदर्शनी गर्दै । भोटिया भन्ने डकुमेन्ट्री देखाउँदै । त्यहिँ मेरा केहि साथीहरुसित उनको भेट भयो । साथीहरुले सम्पर्क गराईदिए पुलेसित । पेरिसमा भेट भयो । हाम्रा हिमाली जनजिवनसित संबन्धित करिब ६०० वटा सामाग्रि ल्याएका रे फ्रान्स । त्यसैको प्रदर्शनी गर्छन् रे फ्रान्स लगायत अन्य युरोपेली मुलुकमापनि । यस्तो सुन्दा खुल्खुली लागिहाल्यो ‘के ल्याए होलान त्यत्रो ६०० चिज ? कसरि ल्याए होलान् ? के होला त्यसको उपादेयता ?’ सानो मेल पठौनासाथ खुशि हुँदै भेट्न बोलाए । फुचुने कम्प्युटरको स्क्रिनमा नेपालका तस्विर देखाए ।
(एक्स अँ प्रोभँस भन्ने ठाउँमा २०११ सालमा गरेको प्रदर्शनी)
ठेकी, मदानी, हँसिया, काइँयो, सुर्ती राख्ने भाँडो । पित्तल र चरेशका थाल । कचौरा, सिलौतो, चिम्टा । हातगोडामा लगाउने गहना । हिमाली भागमा जे जे प्रचलनमा थिए र छन् देखेभेटे जतिका सबैजसो सामान सकेसम्म किनेछन् । युरोपमा यस्ता चिज देख्न संभव छैन । सुन्ने र पढ्ने मात्रै हो किताबमा ।
(एक्स अँ प्रोभँस भन्ने ठाउँमा २०११ सालमा गरेको प्रदर्शनी)
तर नेपाल गएर ति चिज प्रचलमा देख्दा उनी छक्क परे । यिनै चिजमा रस बस्यो । सकेसम्म किन्न थाले । आफ्नै पैसो खर्चेर उनले यता फ्रान्स ल्याउन थाले । उनी ७१ पटक मात्रै गएका रहेछन् नेपाल । कहाँ पुगेनन् होला नेपालको ? के देखनन् होला ? तर सबैभन्दा मन परेको ठाउँ चाहिँ मनास्लु हिमालको काख भन्थे । त्यहाँ एउटा गाउँ रहेछ कपाल जुल्ठो पारे जसरि मठारिएका छाना भएको । हो त्यहि गाउँ अनौठो लाग्यो । यस्तो गाउँ अन्त कतै छैन भन्थे उनी ।
(गाप भन्ने ठाउँमा २००४ सालमा गरेको प्रदर्शनी)
(एक्स अँ प्रोभँसमा सन् २०११ मा गरेको प्रदर्शनी)
यस्तै गाउँ चहार्दा जहाँ जे नौलो देख्यो त्यहि किनेर फ्रान्स ल्याउन थाले । आफ्नै पैसो खर्च गरे । हुँदा हुँदा त उनले हिमाली जनजिवनका ६०१ वटा वस्तु जम्मा पारेछन् । तिनलाई उनले पेरिस, लियों, मासेई, स्विजरल्याण्डको जेनेभा लगायतका केहि ठाउँमा प्रदर्शनीपनि गरे । नेपालको प्रचारप्रसार गरिदिए ।
(यो उनले थारुको घरमा पाएको झ्याल)
तर यो काम गरेबापत उनले दाम कमाएनन् । आफ्नै सोख, आफ्नै मज्जा र आनन्दको लागि गरे । ‘मैले पैसाकालागि यो काम गरिन, गर्दिनपनि । आफूलाई आनन्दलाग्ने, सन्तुस्टिकालागि गर्छु । नेपाल मेरो चाख, चासो, र माया हो । त्यसैले गर्छु’ पेरिसमा आफ्नी आमाको अपार्टमेन्टमा बोलाएका उनले सुनाए ।
(सन् २००७ मा स्विजरल्याण्डको जेनेभामा भएको प्रदर्शानीको झलक)
अहिले फ्रान्स र स्विजरल्याण्डबाट उनका यिनै सामाग्रिको संग्रहालय बनाउने प्रस्ताव आएको छ । हिमाली जनजिवनका बारेमा पश्चिमेलीलाई असाध्यै चासो भएको उनले पाएका छन् । ‘हिमाली जिवनक बारेमा यताका मानिसलाई असाध्यै उत्सुकता छ । हिमालको जे देखाए सुनाएपनि चासो दिन्छन्, रमाउँछन्’ उनले भने । त्यहि उत्सुकताको परिणाम हो उनले ल्याएका हिमाली वस्तुको संग्रहालय बनाउने प्रस्ताव ।












