कविता : आमा तिम्रो नाम के हो ?

लक्ष्मी माली

laxmi-mali-13434

हजुरबा छोरी भन्नु हुन्छ

मामा दिदी  भन्नु हुन्छ

बाबा श्रीमती भन्नु हुन्छ

म आमा भन्छु

आमा तिम्रो नाम के हो ? 

००००००००००००

म बिद्यालय गएँ

महाविद्यालय गएँ

त्यहाँ तिम्रो नाम चाहिएन

धेरैलाइ परिचय दिएँ

कसैबाट तिम्रो नाम सोधिएन

म बालिग भएँ

मताधिकार पाएँ

मेरो परिचयपत्र मा तिम्रो नाम लेखिएन

००००००००००००

म नागरिक भएँ

बाबुकै नाम बाट

म जागिरे भएँ

बाबुकै नामबाट

म बेनाम आमाकी छोरी

भन आमा तिम्रो नाम केहो ?

कसैबाट सोधनी नभएको

कतै उच्चारण गर्न नपरेको

तिम्रो नाम

सार्बजनिक गर्न चाहन्छु म

धर्ति भन्ने उपनाम होइन आमा

मलाई तिम्रै नाम चाहिन्छ

आमा  तिम्रो नाम केहो ? 

(धेरै पाठकले रुचाएको आगोकविता संग्रहको एक टुक्रा)

तपाइँको प्रतिक्रिया