उपन्यास अंश : भाँचिएको लौरो (११ औँ भाग)
● रमेश गौतम “पाल्पाली”
मान्छेको परिचयको लागि पनि नाम राख्ने चलन छ । एघारौँ दिनमा न्वारन गरेर चोखिने र नवजात शिशुको नामाकरण गर्ने चलनलाई विष्ट परिवारले पालना गर्न चुकेनन् । बाहुनले त बिरुको छोराको नाम अर्कै के राखेका थिए कुन्नी ! यो छोरो अरूजस्तो नहोस्, बाबु आमाको आज्ञापालक बनोस् भनेर शारदाले उसको नाम श्रवणकुमार राखिन् । उनको कुरा कसले काट्ने ! उनले भनेपछि भयो भयो । त्यो नाम नराम्रो पनि थिएन । सबैलाई स्वीकार्य भयो ।
दुई, तीन महिना सरिता अफिस नजाँदासम्म त छोराको धरालो उसैले गरी तर सधै अफिसबाट बिदा पाउने कुरा भएन । अब के गर्ने ?
“मैले हेरिहाल्छु नि मेरो के काम छ र ? मेरो नातिलाई किन बढ्ता गराउँछौ ?” भनेर शारदा आफैं तर्सि ईन । तर विचरा उनी आफैं विरामी परेपछि भने उपाय नै भएन । अनि बिरुले एक जना महिलालाई दश–पाँचको लागि संझौता गरेर राख्यो । त्यति भएपछि बच्चाको हेरविचार पनि भयो शारदालाई सहयोग पनि भयो । शारदाको संरक्षकत्वमा रहने हुनाले बच्चाले राम्रै स्यहार–सुसार पायो आमाको अभाव खड्केन ।
मान्छे जन्मनुपर्छ समयले उसलाई आफैं बढाउँछ । दिन, बार, हप्ता, महिना, वर्ष गर्दा गर्दै पत्तो नै नपाउँदै मान्छे बढीरहेको हुन्छ । आफ्नो दिन ढल्केको मान्छेले थाहै पाउँदैन । बास्तवमा भन्ने हो भने उसले आफ्नो आयु घटाइरहेको हुन्छ । श्रवण पनि तीन वर्ष पुगेर चारमा लाग्यो । बिरुको पनि बढुवा भएर अधिकृत भयो । सरतिा कार्यालय सहयोगीबाट असिष्टेण्ट भई । खुसियालीमै दिन–रात बिते । अब त श्रवणलाई स्कुल पठाउने बेला पनि भयो भनेर शिशुकक्षामा भर्ना गरे ।
छोराले मायाँ मारेर गए पनि शारदाले उसको विछोड बिर्सन सकिरहेकी थिइनन् । बूढेसकालको सहारा आफू अशक्त हुँदै जानु, कसरी बिर्सुन् ! त्यही पीरले होला ! उनलाई रोगले छोडेन । झन्भन्दा झन् दाब्दै गयो । डाक्टर, वैद्य, झारफुक केही गरेर पनि सन्चो भएको होइन । उनलाइ नै एउटा सहयोगी चाहिने भयो ।
बिरुको छोरालाई स्कुल लाने, ल्याउने र घरको कामसमेत हेर्नुपर्ने हुनाले काम गर्ने महिलालाई छुटाउने कुरा थिएन । उसले राम्रै काम गरेकी थिई । अरू सबै व्यवस्था राम्रै चलेको भए पनि शारदाको स्वास्थ्य विग्रँदै गएकोले घरमा त्यति उत्साह थिएन ।
बिरुले एक दिन अमेरिका फोन गरेर उमेशलाई घरको अवस्था सबै बताएको थियो ।
“अलि राम्रो डाक्टर हेरेर देखाए हुन्छ । बिरु ! तँ छँदैछस् के रे ! हेरविचार गर् । मलाई अहिले आउन अनुकूल भएन ।” भनेर फोन राखिदिएको थियो । यस्तो कुरा बाबा, आमालाई सुनायो भने उहाँहरूलाई अरू चोट पर्छ भनेर उसले सुनाएको थिएन । शारदाको स्वास्थ्य झन् झन् विग्रँदै गएपछि एक दिन विष्टले बिरुलाई भनेः
“हामीले उमेशलाई खबर गरेनौँ । आमा यस्तो बिरामी हुँदा पनि मलाई खबर गर्नुभएन भनेर चित्त दुखाउने होकि ?”
“बाबा, दादासित चित्तै छैन । उहाँको चित्त भए पो दुख्छ । मैले अस्ति नै फोन गरेको थिएँ ।
‘मलाई अनुकुल छैन । तँ छँदैछस्, राम्रो डाक्टर हेरेर देखाए हुन्छ ।’ भन्नुभयो ।
“यस्तो कुरा सुनाएर मामुलाई झन् चोट पर्ला भनेर मैले नभनेको मात्र हो ।”
बिरुको कुरा सुनेर विष्टले लामो सास फेरे केही बोलेनन् ।
मान्छेले जन्मदा नै आफ्नो आयु लिएर आएको हुन्छ भन्छन् । सांसारिक अवस्था हेर्दा यसलाई अस्वाभाविक मान्न मिल्दैन । यस्तो नभए पहिले जन्मने पहिले र पछि जन्मने पछि मर्नुपर्ने । बूढो बाँचेर तरुनो मात्र होइन केटाकेटी पनि मर्नेगरेका छन्, यो सबैले देखेजानेकै हो ।
रोलक्रमलाई हेर्ने हो भने विष्टको घरमा विष्ट पहिले जानुपर्ने हो तर त्यसो भएन । विष्टभन्दा पहिले शारदाले संसार छोडिन् । त्यस्तो सुखी सम्पन्न परिवारमा एकाएक बज्रपात प्यो । घरभरी रुवाबासी भयो ।
यस कुराको जानकारी एकमात्र छोरा उमेशलाई अमेरिकामा गराइयो र भनियोः
“तिमीलाई कस्तो अनुकूल छ चाँडो आउन सक्नेभए आमाको लास नजलाइ राख्छौँ । दुई, तीन दिन भित्र आउन नसक्ने भए क्रिया गर्न आऊ, दागबत्ति दिने कामसम्म गरेर राख्छौँ ।”
“म अहिले एकदम अर्जेण्ट काममा फँसेको छु । तीनदिन भित्र होइन, दश दिनसम्म पनि आउन सक्दिन । मैले यहीँ क्रिया गर्छु त्यहाँबाट गर्ने काम त्यहीँ सके हुन्छ ।”
उमेशको उत्तर सुनेर घरका मात्र होइन इष्टमित्र पनि दङ्ग परे ।
“आजको मान्छे कतिसम्म तल झरेछ ! आफ्नो स्वार्थको लागि धर्म–कर्म, रीति–रिबाज, परम्पराको त कुरै भएन, आफ्नो कर्तव्य र दायित्व समेत ख्याल गर्न छोडे ।” विष्टका इष्ट–मित्र, टोल–छिमेकले यही सोच्यो ।
शारदाको विछोडले पहिलेदेखि बिग्रँदै गएको विष्टको स्वास्थ्य छोराको यो कुरा सुनेपछि त उनी सिथिल नै भए । बिरुले नै दागबत्ति दिएर उही नै क्रिया बस्यो । तेह्र दिनसम्मको क्रियाकर्म विधिपूर्वक सकियो । यस बीचमा उमेशको एक कल फोन पनि आएन । यस घटनाले विष्टले चित्त बुझाउन सकेनन् उनले पनि विस्तरा चाँपे ।
बिरुले जन्म दिने आफ्ना बाबु–आमाको काजक्रिया गर्न पाएको थिएन । कर्मआमाको क्रिया गर्न पाएकोमा आफूलाई भाग्यमानी संझ्यो । उसले वर्ष दिनसम्म नै दुःख बार्ने भनेर लुगासम्म पनि फुकाएन । विष्टले बिरुको यो मातृभक्ती देखेर सुतिसुती आँसु चुहाए । उमेशका बारेमा के सोचे कुन्नि उनले प्रकटमा केही भनेनन् ।
उमेशको त्यो व्यवहार र बिरुको बाबु–आमाप्रतिको भक्ति देखेर विष्टले आफ्नो संपत्ति उमेशले नभएर बिरुले पाए हुन्थ्यो भन्ने सोचेका थिए तर दैवले उनलाई त्यो अवसर दिएन । थलापरेपछि उनी फेरि उठ्नै सकेनन् । एक महिनाको ज्वरो र ग्यास्टिकले उनलाई लग्यो । बिरु अब त साँच्चैको टुहुरो भयो । विष्टको एकमात्र वारिस उमेशलाई खबर भयो ।
“एक त अर्काको देश, त्यसमा पनि कामको जिम्मा लिएर बसेको हुनाले यहाँको व्यवस्था नमिलाइ आउनसक्ने स्थितिमा छैन । लास जलाए हुन्छ । म सक्भर चाँडो मिलाएर आउँछु ।” भनेर खबर दियो उमेशले । यता बिरुले दागबत्ति दिएर क्रिया बस्यो । आठौँ दिनमा उमेश आयो तर बुहारी भने आइन । आएपछि पनि ऊ क्रिया बसेन ।
“बिरु तँ क्रिया बसेकै रैछस् क्यारे, म चोखोनितो भएर बस्छु । काम तँले नै गर ।” भन्यो । पिण्डपानी उसले केही गरेन । दान गर्ने बेलामा भने उसैले अड्कले अनुसार भयो । बिरुले केही बोलेन उमेशले जे जे भन्यो त्यही गर्यो ।
तेह्र दिन भित्रै वकिल बोलाएर कागजपत्र मिलाउन लाएको थियो । क्रिया सकेपछि कार्यालयहरूमा गएर विष्टका नामको संपत्ति उमेशले आफ्नो नाममा बनायो । सायद ससुरालीले ग्राहक खोजिराखेका थिए क्यार ! जायजेथा बिक्री गर्न पनि बेर लागेन । बिरुले प्रयोग गरेका लुगा–फाटा र एकसरो खाने–पकाउने भाँडा छोडेर भित्र भएका सबै सामान ससुरालीमा लगेर थन्क्यायो । त्यो दिन ससुरालीमै बसेर अर्को दिन अमेरिकातिर उड्यो ।
उमेश उडेको तेस्रो दिन घर किन्ने मानिस आएर बिरुलाई घर छोडिदिन भन्यो । बिरुले पनि उमेशको चालामाला देखेर क्रियाभित्र छँदै ससुरालाई डेरा खोज्न पठाएको थियो । विवाद गर्ने कुरा पनि थिएन र ढिला गर्नुपर्ने कारण पनि थिएन । घरमालिकले भन्नासथै उसले पनि घर खालि गरिदियो । उन्नीस वर्षदेखि बसेको घरलाई सलाम गरेर बिरुको परिवार डेरामा सर्यो ।
सचिव विष्टको त्यो चकचकी देखेका इष्टमित्र र हितचिन्तकहरू दङ्ग परे । मान्छेले सन्तान भनेर मरिमेट्नु के रहेछ र खै ! आफूलाई बाँच्न पुग्ने भन्दा बढी धनार्जन गर्नु पनि पापै रहेछ । ‘बाबु–आमाको मन छोरा–छोरी माथी छोरा–छोरीको मन धनमाथि’ भनेको यही रहेछ । छोरी पनि आउनुपर्ने, ऊ पनि आमा बित्दा समेत आइन र बाबु बित्दा पनि आइन । ऊ त लौ, अर्काको घर गएकी छोरी आइन, आइन । ठाडो क्रिया गर्ने छोरी जहाँ बसे पनि भयो । ऊ नआए पनि छोरो त आउनुपर्थ्यो, आएन । अहिले बाबु मर्दा पनि आउने थिएन खाली संपति स्याहार्न आएको हो । सबै संपति बेचविखन गर्यो हिँड्यो । संपत्ति नभएको भए बाबु मर्दा पनि आउने रहेनछ । बिरामी भएको खबर पाएर पनि फर्केर नआएको मान्छे मरेको आठौं दिनमा आयो तर टुकुरो गुथेर क्रिया बसेन । यसको मतलव संपतिकै लागि आएको हो भन्ने स्पष्टै छ । सबैले यही सोचे, बास्तविकता पनि त्यही नै हो ।
उमेशको व्यवहार र विष्टको स्थितिसित परिचित कतिपय मान्छेले त आफूसित भएको संपति कुनै वृद्धाश्रम वा अनाथालयलाई चन्दा दिन्छु भनेको पनि सुनियो ।
जे भए पनि विष्टले आफ्ना छोराछोरीको लागि जेजति दुःख–कष्ट गरे त्यसको एक छेउँ पनि प्रतिफल पाउन सकेनन् । बरु काम गर्न राखेको अनाथ केटाले जेजति सेवा गरेर सन्तुष्टि दियो त्यो नै उनले पाएको सन्तानसुख हो । तर के गर्नु ! सबैका सन्तान विष्टकै जस्ता हुन्छन् भन्ने पनि त छैन । राम, श्रवणकुमार जस्ता छोरा पनि त यसै धर्तीमा जन्मेका थिए । यस्तै सोचेर पनि चित्त बुझाउनु पर्छ र व्यवहार चलाउनु पर्छ । अन्यथा यो सृष्टि पनि कसरी चल्दो हो र ?
आफ्ना छोराछोरी, नाति–नातिनीमा मायाँमोह नराख्ने वा उनीहरूको हेरविचार नगरी बस्न को पो सक्छ र ? चरामुसाले त आफ्ना सन्तानलाई मायाँ गर्छन् भने मान्छेले नगर्ने त कुरै आउँदैन । यस्तै सोचेर पनि संसार चलेको छ र चल्दै रहनेछ ।
(यस पछि क्रमशः बाह्रौँ भाग आउने छ ।)




