कथा : परी

किशोर सापकोटा / अमेरिका

kishorव्राम्हणहरु दशदान गराउँदै थिए । घर परिसरमा रुवाइ झन् झन् वढ्दै थियो । सवैका आँखा कृष्णमा अडिएका थिए । अव यसले कुन वेला आँखा चिम्लिने हो ? –यस्तै आशंका गर्दै थिए । कोही कृष्णको मुखमा गंगाजल हाल्दै थिए । कोही कुशको टुक्रा खोज्दै थिए । अन्तिम विधिका लागि घर परिवारमा दौडादौड जस्तै थियो ।

कृष्ण शान्त थियो । ऊ आमा रुक्मिणीको काखमा थियो ।

माथिमाथि आकासतिर हेर्थ्यो । हेरिरहन्थ्यो । रुक्मिणी आफैलाई सम्हाल्न सकिरहेकी थिइनन् तर छोरोलाई सम्हालीरहेकी थिइन् । आफ्नो प्यारो छोरालाई कुन आमाले यस्तो वेलामा छाड्न सक्छन् र ?

आमा हेरत – कृष्ण आकासतिर देखाउंदै  विस्तारै फुसफुसायो – सेता पखेटा भएकी परी मलाई लिन आउँदैछे । 

कृष्णको भनाइले सवैलाई एकैचोटी भक्कानो छुटाइदियो ।

तँ कहीँ जांदैनस्, मसँगै वस्छन्, तलाई लान दिन्न – रुक्मिणी झन् रोइन् ।

कृष्ण शान्त थियो । अलिकति आमाले चित्त दुखाउँदा पनि मनाउन ऊ हजार प्रयत्न गथ्र्यो । तर आज आमा रोइरहँदा पनि आमालाई सम्झाउन सकेको छैन वा चाहेको छैन ।

कृष्णको जीऊ सुकेर सानो सिन्का जस्तो भइसकेको थियो । आँखाका कोषहरु सेता देखिन्थे । हाडमा पातलो छाला मात्रै टाँसिएको थियो । छाला मात्रै दखिने अनुहारवाट आँखाका गेडीहरु पुर्लक्क निस्केलान् कि जस्तो देखिन्थे ।

तिमीले नै भनेकी होइनौ आमा, आकाशवाट सेता पखेटा चलाउँदै एउटी परी आउँछे – कृष्ण वेसुरुमा विस्तारै वोलिरह्यो – तिमीले भन्थ्यौ नि आमा, त्यो परी आएर मेरो छोरालाई लिएर जान्छे, टाढा आकाशमा लिएर जान्छे, हो तिमीले भने जस्तै परी आउँदै छे आमा । मलाई लिएर जान्छे आमा ।

रुक्मिणीले कृष्णलाई छ्याप्प छोपिन् । कसैले लैजान नपाओस् भनेर । तर कृष्ण माथि हेर्न खोजिरहेको थियो ।

कृष्णलाई रुँघ्न भेला भएका केटाहरु तास खेलिरहेका थिए । कृष्ण पनि गाऊँघरमा साथीहरुसँग तास खेल्ने र रमाउने गर्थ्यो । कृष्ण विनाको के मजा र ?– पहिला पहिला मानिसहरु भन्थे । तर अहिले त्यो मजामा कृष्ण थिएन । सवै कृष्णको विदाइ गर्न कुरिरहेका थिए ।

Ò Ò Ò Ò Ò

विवाह गरेको धेरै वर्षसम्म पनि परासर र रुक्मिणीका सन्तान भएका थिएनन् । सम्पत्तिको कुनै अभाव थिएन । अभाव थियो वंशजलाई निरन्तरता दिने सन्तानको । धेरै औषधोपचार गरे । धेरै मन्दिर घुमे । औषधीको प्रभाव पर्‍यो कि देवीदेवताको आशिर्वादको । रुक्मिणी दुई जीउकी भइन् । परासरले गैरीखर्क, ज्यामिरे, भदौरे लगायत परपरसम्मका गाऊमा मिठाइ वाँडे ।

त्यो घरमा खुसी नै खुसी छायो ।

रुक्मिणीले सन्तानलाई जन्म दिइन् । वालकको अनुहार धर्मग्रन्थहरुमा वर्णन गरिएको कृष्णको जस्तो थियो । यो परासरको र रुक्मिणीको भ्रम पनि हुन सक्थ्यो वा उनीहरुलाई मन्दिर मन्दिर घुम्दा परेको प्रभाव पनि हुन सक्थ्यो ।

उमेर गएर जन्मिएको सन्तान । वावुआमाको लाडप्यार । कृष्ण हातैहातमा हुर्किन लाग्यो ।

रुक्मिणी कृष्णलाई काखमा लिन्थिन् । आकासपट्टी देखाउँथिन् र भन्थिन् – हेर छोरा, माथि आकासमा हेर त, त्यहाँवाट परीहरु आउँछन् । सेता पखेंटा भएका परीहरु पखेंटा चलाउंदै आउँछन् । मेरो प्यारो छोरालाई उडाएर आकासमा पुर्‍याउँछन् । कृष्ण आकासपट्टी हेर्थ्यो तर परीहरु देख्दैनथ्यो ।

खोइ त आमा परीहरु आएनन्  ? – कृष्ण आमालाई सोध्थ्यो ।

तँ सानै छन्, जव ठुलो हुनेछस्, अनि परीहरु आउँछन् र तलाई लिएर माथि आकासमा लिएर जान्छन् । रुम्मिणी व्याख्या गर्थिन । कृष्ण माथि हेर्थ्यो र कल्पना गर्थ्यो । चित्रमा देखिए जस्तै जीऊ राम्ररी नढाकिने गरी थोरै सेतो कपडा लगाएका परीहरु सेता पखेंटा फिजाउँदै आएको र आफुलाई उडाएर आकासमा लगेको कल्पना गर्थ्यो । आहा कति रमाइलो ?

हरेक आमाहरु आफ्ना छोराछोरीलाई परीका कथाहरु सुनाउँछन् । आफ्ना सन्तानहरु पनि परी झैं उडेको देख्न पाए हुन्थ्यो भन्ने कल्पन्छन् । रुक्मिणीको कल्पना स्वभाविक थियो ।

दिन वित्दै गए । परासर वाजे र रुक्मिणी वज्यैको सन्तान कृष्ण गाऊँ र स्कुलमा पनि उत्तिकै प्यारो थियो । केटा भन्दा वढी केटी साथी । हुर्किदै गर्दा केटी साथी वनाएकोमा कृष्णका समकक्षीहरु भन्थे – यो त कलीयुगको कृष्ण नै हुनेभयो ।

गाऊँमा कृष्णलाई कसैको घरमा जान र आउन रोकतोक थिएन । परासर वाजेको छोरा घरमा आइदिनुलाई नै भाग्य संझने परिवार धेरै थिए ।

 

खुसीमा त दिन वितेको पत्तै भएन । कृष्ण हुर्किएर कलेज पढ्न जाने भइसकेको थियो । कलेज गाऊँमा थिएन । रुक्मिणीलाई घर नजिकैको शहर म्याङलुङमा वा चुहान्डाडामा  पठाउने कि भन्ने लागेको थियो । नजिकै हुँदा आउन जान सजिलो हुन्छ । रेखदेख हुन्छ भन्ने उनको धारणा थियो । यसो त नजिकमा केही फाट्टफुट्ट प्लस टु पनि खुलेका थिए ।

शहर नै जाने भएपछि किन सानो शहर जाने ? एउटा सन्तान काठमाडौ नै जान्छ – परासर वाजेले निर्णय सुनाए । रुक्मिणीलाई कता कता दुख्यो तर केही भनिनन् । कृष्णले पनि काठमाडौ नै चाहेको हो भन्ने वुझेपछि चुप लागिन् । सन्तानको इच्छामा पुगुन्जेल कुन वावुआमाले वाधा हाल्न सक्छन् र ?

परासर वाजे आफैले छोरालाई काठमाडौ पु¥याएर फर्किए । राजधानी काठमाडौ । भर्खरै छिर्नेहरुलाई रमझमपुर्ण र वस्दै गए पछि दिग्दारपुर्ण । वस्दै गएपछि राजधानीमा दिक्क मान्ने तर दिक्क मानेपनि नवाहिरिनेहरुको नै संख्या धेरै छ । राजधानी काठमाडौ पैसा हुनेलाई मस्ती नै मस्ती र पैसा नहुनेहरुलाई सास्ती नै सास्तीको सहर हो भने पनि हुन्छ । तर कृष्णका राजधानीका दिनहरु उल्लासपुर्ण रहे । परासर वाजेको छोरालाई पैसाको अभाव थिएन । पैसा भएपछि राजधानीमा के को अभाव हुन्छ र ?

सांझ परेपछि नै दरवारमार्ग र ठमेलको रमझम सुरु हुन्छ । राजधानीका डान्स, डिस्को, दोहोरी , क्याविन, मसाज, अनि अनि अँध्यारा अँध्यारा कोठाहरुमा रंगीन जीवन । सडकमा आधा आधा कपडा लाएर युवतीहरु हिँड्थे । साँझको वत्तीमा तिनीहरुको कपडा कम कामुक अंग वढी देखिन्थे । केटीहरुका पोशाक यति छोटा भइसकेका थिए कि अलिकति हावाको झोका आयो भने पनि तिनले लाज जोगाउन सक्दैनथे ।

आमा तिमीले भनेका परीहरु यिनै हुन् ? – कृष्ण मनमनै भन्थ्यो ।

सांझ परेपछि दरवारमार्ग र ठमेल तिर जोडीहरु अँगालोमा मस्त देखिन्थे । कृष्णको मन कुतकुतिन्थ्यो । कृष्णलाई विस्तारै परीहरुप्रति चासो हुंदै गयो । हुर्किदो जोवन, चढ्दो वैंस । जो कसैलाई पनि नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तो वेला अभिभावकीय नियन्त्रण आवश्यक हुन्छ तर कृष्णका आमावुवा सुदूर गाऊँमा थिए ।

सुरुमा कृष्ण आफ्नै गाऊँघरको लोकभाका सुन्न दोहोरीमा गयो । सुन्धाराको छेउमा नै उसको डेरा थियो । सुन्धारामा छ्याप्छ्याप्ती दोहोरीहरु थिए । सुन्धाराको वरीपरी कतै मधेशी महिलाले माछा तारिरहेका हुन्थे । कतै ठुला ठुला कराईमा रांगाको मुटु, कलेजो, फोक्सो र भुटनका परिकार फ्राइ भइरहेका हुन्थे । सिलमा उनेका सेकुवा कोइरालामा हम्किएर पाकिरहेका हुन्थे ।  परासर वाजेको छोरो विस्तारै यी सवै कुरामा अभ्यस्त हुँदै गएको थियो । केहीवेर रत्नपार्कतिर वरालिएर नगरवधुहरुले मोलमोलाइ गरेको हेर्थ्यो । तर सुरुमा आफै मोलमोलाइमा उत्रिन असजिलो मान्थ्यो । राती अवेलातिर ठमेल र जमलतिर जम्मा हुने तेस्रो लिंगीहरुलाई हेर्न पनि मन पराउँथ्यो । र अनि अन्तिममा दोहोरीमा पसेर अलिकति घुट्क्याउँथ्यो । केही वेर गीतमा रमाउन खोज्थ्यो । तर उसलाई कता कता धित मरेन ।

दिलले त्यो भन्दा वढी नै चाहना गर्‍यो । पेप्सीको विज्ञापन दिल मागे मोर भनेजस्तो भएको थियो ऊसलाई । कृष्णलाई क्याविनमा साथीहरुले लैजान लागे । सुरुमा त ऊ साथीहरुको छेउमा वस्थ्यो । साथीहरुको चर्तिकला हेर्थ्यो । वील तिरिदिन्थ्यो । तर विस्तारै उसको छेउमा केटीहरु वस्न थाले । जीउमा कताकता कुतकुति लागे जस्तो हुन थाल्यो । परासर वाजेको छोरो विस्तारै नसामा पनि लठिन लाग्यो । नसामा भए पछि क्याविनमा के के गथ्र्यो । साथीहरुले सुनाउंदा ऊ नै हो कि होइन जस्तो हुन्थ्यो ।

कृष्णलाई पनि क्याविनमा पनि कताकता के के नपुगे जस्तो भएको थियो । कृष्णलाई साथीहरुले डान्स रेष्टुरा जाऔं भने । गोगो डान्स वारमा त यस्तो देखाउँछ, फायरमा त यस्तो देखाउँछ, अन्डरग्राउण्डमा त यस्तो देखाउँछ । साथीहरु गफ गर्थे । कृष्ण आकर्षित हुँदै जान्थ्यो । पत्रपत्रिकामा डान्स रेष्टुरामा प्रहरीले छापा मारेको र नग्न नृत्य गरेकोमा पक्राउ गरेका समाचार आउँथे । कृष्ण पनि त्यस्ता समाचार रुचिका साथ पढ्थ्यो र त्यस्तो नग्न नाच देखाउने कुन कुन डान्स रेष्टरेन्ट रहेछन् भनेर ख्याल गर्थ्यो । कृष्णले वुझेको थियो – प्रहरीले पक्राउ गर्ने भनेको त केवल पैसामा कुरा नमिलेर वा प्रहरीको स्थानीय नेतृत्व फेरिएर वार्गेनिङका लागि हो । भोली फेरी नग्न नाच सुरु भइहाल्छ । ठमेल गएर केही वेर हुक्का तान्न पनि उसलाई रमाइलो लाग्न थाल्यो । हुक्कालाई सिसा भन्दा रहेछन् । उसले ठमेल गएपछि नै जानेको थियो ।

ठमेलका रेष्टुरेन्टहरुमा विदेशी केटीहरु पनि आउँथे । कतिपय दिन कृष्ण तिनै विदेशीहरुसँग रातभर त्यतै रल्लिएर विताउँथ्यो र विहानतिर कोठामा सुत्न आउँथ्यो । कतिपय दिन कोठामा आउँदा पनि कोही न कोही केटीहरु साथमा हुन्थे । सुरु सुरुमा त कृष्ण कलेज पनि जान्थ्यो । पढ्थ्यो पनि ।

परासर वाजे भने गाऊँमा आफ्नो छोरा कृष्ण केही वर्षमा विद्वान भएर आउँछ भनेर गाऊ गाऊ घुमेर सुनाउँथे । परासर वाजे आफै पनि वुद्धिजिवी थिए, गाऊँलेले पनि कुल अनुसारको छोरो हुन्छ, मुल अनुसारको पानी हुन्छ भनेर विश्वास गरेकै थिए । परासर वाजे कृष्णको वखान नगरी दिन नै काट्न सक्दैनथे, कृष्णकै कुरा गर्नका लागि चियापसलसम्म जान्थे र कुरा सुनाउनका लागि भएपनि अरुलाई चिया खुवाउँथे । कसैले कृष्णको कुरा गरिदिएन भने पनि आफै कतै न कतैवाट कुराको मेसो घुमाउँथे र त्यही पुर्‍याउँथे । हुन पनि वुढेसकालमा जन्मिएको छोरो टाढा भएपछि गफ गरेर र संझिएर दिन काट्नु भन्दा अर्को विकल्प पनि त थिएन ।

कृष्णको लत विग्रिएको देखेपछि गाऊँवाट नै आएर पढ्ने केही साथीहरुले संझाएका थिए । तर कृष्णले त्यतापट्टी ध्यान नै दिएन ।

साथीहरुले भनेका थिए – तलाई केटी नै चाहिएको भए एउटी प्रेमिका वना वा एउटी राम्री केटी खोजेर विवाह गर ।

यो रेडिमेडको जमाना हो साथीहरु हो, को आफै उत्पादनमा लागोस् – कृष्ण भन्थ्यो – प्रेमिका वनाएर डेटिङ जा, सपिङ गरा, अर्को केटापटी लाग्ली कि भनेर गार्ड वन, लिन पुर्‍याउन ड्राइभर वन, आफ्नो चाहनामा तयार गराउन प्रतिक्षा गर, यी सव कुराको लागि को झण्झट गरोस्, अनि अहिलेकै उमेरमा विवाह गरेर को पाल्ने झण्झट गरोस्, मुल्य तिर सन्तुष्ट वन, समय र पैसाको वचत ।

हरेक कुरालाई हेर्ने फरक फरक आधार हुन्छन् । कृष्ण हार्ड एण्ड फाष्टको पक्षमा देखियो । तुरुन्त मुल्य तिर र आफुलाई चाहिएको सन्तुष्टी प्राप्त गर ।

आज भोली गर्दै कृष्ण साँझ परेपछि सडकमा झुल्किने वा अध्यारा कोठाहरुमा उज्यालो वत्तीमा चम्किने परीहरुमा अभ्यस्त भइसकेको थियो ।  ऊ आमाले भनेको सम्झन्थ्यो । आमाले भनेकी थिइन् – तँ सानै छन्, जव ठुलो हुनेछन्, अनि परीहरु आउँछन् र तलाई लिएर माथि आकासमा लिएर जान्छन् ।

हो आमा, साँच्चै परीहरु आए र मलाई उडाएर माथि माथि लगे । – परीहरुको अँगालोमा तृप्त भइसके पछि ऊ आमालाई संझदै मनमनै भन्थ्यो ।

Ò Ò Ò Ò Ò

कृष्ण विरामी भएर ओछ्यान परेको खवर घरसम्म आयो । परासर वा र रुक्मिणी छोरोलाई भेट्न काठमाडौ आए । कृष्ण त चिन्न नसकिने भएको थियो एकदमै दुव्लो । पहिलाको कृष्ण र अहिलेको कृष्णमा कुनै तुलना नै हुन नसक्ने । परासर वाजेले अस्पताल लान चाहे । तर कृष्णले जचाइ सकेको र औषधि लिइसकेको वतायो । घर गएर केही दिन आराम गरेमा ठिक हुन्छ भनेर जिद्धी गर्‍यो । घर परिवार भन्दा वाहिर रहेकोले दुव्लाएको होला भनेर परासर र रुक्मिणीले घर लगेर स्याहार गरे । तर सुधार भएन । गाऊ पुगेपछि कृष्णसँग विवाह गर्नका लागि छोरी दिन आउनेहरुको संख्या उल्लेख्य थियो । झण्डै दिनमा पाँच छ जना नै आइपुग्थे । कतिपय प्रस्तावहरु त मनले खाने खालका नै थिए तर कृष्णले विवाह गर्न मानेन ।

दिन दिनै छोरा दुव्लाउँदै गएको र काठमाडौ पनि फिर्न मन नगरेको देखेर वावुआमा पनि चकित भएका थिए ।

अव भोली यसलाई उपचार गर्न म काठमाडौ लैजान्छु – एक साँझ परासरले भने ।

म जान्न – कृष्णले अड्डी लियो ।

कृष्णले वुवाआमाको कुरा काटेको यो पहिलो पटक थियो ।

वुवाआमाले मुखामुख गरे ।

तँ चुप लाग् – रुक्मिणीले भनिन् – तँलाई हाम्रो चिन्ता नहोला । तर हामीलाई तेरो चिन्ता छ । जसरी पनि उपचारका लागि जानुपर्छ । कति दिन कुरेर वस्ने ?

त्यसपछि कृष्णले जे भन्यो, त्यसले परासर र रुक्मिणीले टेकिरहेको जमिन धसिए जस्तो भयो । दुवैका आंखामा आंसु भरिएर आए । रुक्मिणीले त राम्ररी छोराको मुख पनि हेर्न सकिनन् । के सोचिन् कुन्नि, छोराको मुखमा थुकिदिइन् र रुँदै वाहिर निस्किइन्, परासर पछिपछि लागे । त्यसदिन देखि रुक्मिणीका आंखा ओभाएका छैनन् ।

समाजका आंखामा छारो हाल्न कृष्णलाई अस्पताल लगे । तर ठिक हुने कुरै भएन । गाऊ फकाए ।

यसको मुटुमा रोग लागेको छ रे, डाक्टरले औषधि दिएको छ, निको हुन्छ रे – आँखाभरी आँशु भरेर भारी मन सहित मसिनो स्वरमा परासर गाऊँलेहरुलाई भन्ने गर्थे । पहिला पहिला कृष्णको कुरा गर्न परासर वाजे मानिस जम्मा गरेर चिया खुवाउँथे । तर अव कृष्णको कुरा नहोस् भनेर मानिसहरुसँग तर्किएर हिँड्न लागेको थिए । वर्षौ देखि परासरलाई वुझेका मानिसहरुले अव कृष्ण वाँच्दैन भन्ने लख काटिसकेका थिए ।

यसलाई असाध्य रोग लाग्यो रे – कोही गाऊँले भन्थे ।

कोही छोरो पाउन गरेका भाकल पुरा नगरेकोले कृष्णलाई त्यस्तो भएको भन्थे ।

वोल्नेहरु वोलिरहे । परासर र रुक्मिणीको पीडा दिनदिने वढ्यो । र अव यो कृष्णको जीवनको अन्तिम पल थियो ।

Ò Ò Ò Ò Ò

आमा माथि हेर त – कृष्ण फेरि वोल्यो ।

व्राम्हणहरु झन् छिटो पाठ गर्न थाले । कोही ॐ नम भगवत वासुदेवाय भन्न थाले । तास खेल्नेहरु पनि तासलाई रोकेर त्यतातिर ध्यान दिन थाले तर तास राखिहालेका थिएनन् । तासेहरु पनि विचित्रका हुन्छन् । खालमा वसेपछि हत्तपत्त उठ्न नमान्ने । उनीहरुको साथी अन्तिम पलमा हुँदा समेत तासमा नै रमाइ रहेका थिए । कुनै जुवाडेलाई उसको वावु मर्‍यो घर जा रे भनेर समाचार ल्याउँदा पनि ऊ लास यतैवाट ल्याउनु, म एकछिन खेल्छु भन्छ रे । गाऊँमा जुवाडेहरुलाई उडाउन भन्ने गरिन्छ ।

तर अव धेरैलाई आभाष भइसक्यो । यो अन्तिम पल हो । परासर र रुक्मिणीको जीवन फेरी अध्यारो गुफातर्फ प्रवेश गर्दैछ ।

देख्यौ आमा – कृष्ण वोल्यो – परी नजिकै आइसकी ।

त्यो परी होइन छोरा, त्यो राक्षस हो – रुक्मिणी छोरालाई छोप्दै रोइन् – तँ हामीलाई छाडेर नजा ।

एउटी परी आउँछे र तँलाई लिएर जान्छे भन्ने आमा आज परीसँग नजा भनेर रोइरहेकी थिइन् ।

कृष्णले विस्तारै हात फैलायो । कसैलाई अँगालोमा वाँध्न जस्तै गरी ।

आमा, परी आइ – यो कृष्णको अन्तिम वाक्य थियो ।

तपाइँको प्रतिक्रिया