साउदी अरबमा नेपाल तामाङ घेदुङको ल्होछार, नयाँ शाखा गठन
● नबराज घिसिङ तामाङ / जेद्धा, साउदी अरब
नेपालका हिमाली मुलका आदिवासी समुदायहरुको साझा महान राष्ट्रिय धार्मिकसाँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५० औं (ता) ल्होछार स्थानिय तामाङ समुदायले सरफिया-जेद्धा स्थित हिलटप फ्यामिली रेष्टुरेन्टको हलमा आयोजना गरि मनाए । ल्होछार समारोहमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु लगायत करिव २५० जनाको हाराहारीमा स्थानिया तामाङ तथा गैर तामाङ प्रवासी नेपालीहरुको जमघट रहेको थियो । उक्त समारोहका विच तामाङ समुदायको प्रतिनिधिमुलक संस्था नेपाल तामाङ घेदुङको प्रवास शाखा, तदर्थ समिति, साउदी अरविया समेत गठन भएको छ । हालसम्म तामाङ समुदायको प्रतिनिधिमुलक संस्था साउदी अरवमा नै नभएकोले हालै मात्र घेदुङको प्रवास शाखा गठन गरिएको हो । ल्होछारको दिनमा मात्र घेदुङ गठनको प्रक्रिया पूर्ण हुने हुँदा, स्थानीय तामाङ समुदायले नेपाल आदिवासी जनजाती महासंघ, क्षेत्रीय समन्वय समिति, जेद्धालाई ल्होछार समारोह आयोजना गर्न संयोजनकारी भूमिका निर्वाह गरिदिन अनुरोध गरे बमोजिम स्थानीय तामाङ समुदायको सक्रियता र महासंघ क्षेत्रीय समितिको संयोजनमा “२८५० औं (ता) ल्होछार समारोह”को आयोजना भएको हो ।
ल्होछार समारोह तिन चरणमा समपन्न भएको थियो । पहिलो चरणमा बन्दसत्र अन्तरगत नेपाल तामाङ घेदुङ, प्रवास शाखा, तदर्थ समिति, साउदी अरबको गठन भयो । बन्दसत्रमा साउदी अरवमा तामाङ समुदायको प्रतिनिधिमुलक संस्थाको आवस्यकता र भूमिकाको बारेमा व्यापक छलफल भएको थियो । बिगेन्द्रसिंह वाइबाको अध्यक्षतामा संचालन भएको बन्दसत्रमा करिव २०० तामाङ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बन्दसत्रबाट बिगेन्द्रसिंह वाइबाको अध्यक्षतामा १३ सदसिया नेपाल तामाङ घेदुङ, प्रवास शाखा तदर्थ समिति, साउदी अरबियाको गठन भएको छ ।
बन्दसत्रको अन्त्यमा नबगठित घेदुङका अध्यक्ष बिगेन्द्रसिंह वाइबाले नेपाल तामाङ घेदुङ, केन्द्रीय कार्यालयसंग छिट्टै नै आधिकारिक सम्बन्ध स्थापित गरि घेदुङको केन्द्रले लिएको नीति, कार्यक्रम तथा मुद्धामा पूर्ण समर्थन जनाए। उनले यहाँको धार्मिक, सामाजिक, तथा कानुनी मर्यादाको उच्चा ख्याल गर्दै त्यसको प्रतिकुल नहुने र यहाँको स्थानिया वातावरण तथा परिवेश अनुकुल रही समुच्चित सामाजिक हितको निम्ति घेदुङ शाखा क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।
नवगठित घेदुङ तदर्थ समिति साउदी अरबका पदाधिकारी तथा सदस्यहरुमा धन बहादुर तामाङ– सल्लाहकार, बिगेन्द्रसिंह वाइबा– अध्यक्ष, निमा लामा तामाङ– उपाध्यक्ष, धनेन्द बहादुर तामाङ– महासचिव,नबराज घिसिङ – सचिव, राजु मोक्तान– कोषाध्यक्ष,सोम तामाङ – सह-कोषाध्यक्ष छन् । त्यसैगरि सदस्यहरुमा चिनकाजी तामाङ, आशलाल तामाङ, बसन्त तामाङ, नरेन्द्र योन्जन,तेज बहादुर वाइबा, तेज बहादुर स्याङतान छन् । पछि मनोनयन गर्ने गरि एक जन असदस्यको पद खाली राखिएको छ ।
समारोहको दोस्रो चरणमा शुभकामना अदान प्रदान तथा औचारिक कार्यक्रम सम्पन्न भएको थियो । नवगठित घेदुङ तदर्थ समितिका महासचिव धनेन्द्र बहादुर तामाङद्वारा संचालित औपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ, क्षेत्रीय समन्वय समति, जेद्धाका अध्यक्ष ङिमा साङ्गे शेर्पाको सभापतित्व र नेपाली दुतावास शाखा जेद्धाका कन्सुलर श्री सुधिर भट्टराईको प्रमुख आतिथ्य थियो । अन्य अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ साउदी अरबका संस्थापक महासचिव दिलिप जबेगु लिम्बु, पुर्व केन्द्रीय महासचिव नारायण गुरुङ, केन्द्रिय उपाध्यक्ष बाल कुमार राई, नव गठित घेदुङ तदर्थ समितिका अध्यक्ष बिगेन्द्रसिंह वाइबा, सल्लाहकार धन बहादुर तामाङ, तमु धिं जेद्धाका अध्यक्ष बुद्धिलाल तमु, नेपाली सेवा समाज जेद्धाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ साउदीका केन्द्रीय सल्लाहकार तथा समाजसेवी दिनेश कुमार सुनुवार, केन्द्रीय सदस्य भिम गुरुङ, क्षेत्रीय अध्यक्ष धुर्ब रिजाल, नेपाली युवा क्लव जेद्धाका महासचिव नर कुमार मगर लगायतका थिए ।
औपचारिक कार्यक्रम अन्तरगत आशन ग्रहण पश्चात नवगठित घेदुङका अध्यक्षबाट प्रमुख अतिथिलाई तामाङ भेष-भुषा(तागी र बक्खु) प्रदान गर्नुका साथै पवित्र खादार्पण गरि सम्मान गरेका थिए । प्रमुख अतिथि नेपाली दुतावास शाखा जेद्धाका कन्सुलर श्री सुधिर भट्टराईले दिप(छ्योमि) प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन लगतै ल्होछारको विशेष प्रसाद स्वरूप सहभागीहरुलाई पन्चामृत(दुच्ची) तथा छेमारफेमार तथा खाबसे वितरण गरेको थियो | महासंघ क्षेत्रीय समितिका सचिव तथा नव गठित घेदुङ तदर्थ समितिका सचिव नबराज घिसिङले आयोजकको तर्फबाट स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्य पश्चात नबगठित घेदुङका अध्यक्ष बिगेन्द्रसिंह वाइबाले ल्होछार संस्कृतिको महत्वको बारेमा विशेष मन्तब्य राखे । मन्तव्यको क्रममा वाइबाले ल्होछारको धार्मिक, साँस्कृतिक, सामाजिक महत्व, यसको प्रभाव तथा वैज्ञानिक आधारको बारेमा व्याख्या गरे ।
अतिथिहरुबाट शुभकामना मन्तव्यको क्रममा महासंघ साउदीका केन्द्रीय उपाध्यक्ष बाल कुमार राईले साउदी अरबमा घेदुङ गठन भएकोमा खुशी ब्यक्त गर्नुका साथै नवगठित तदर्थ समितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरे। उनले अब साउदी अरबमा महासंघ अझ ससक्त हुने विस्वास गरे ।
स्थानिय संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा ल्होछारले प्रवासमा सबै नेपालीहरुलाई सदभाव, एकता र भाइचारापना वृद्धि गराउन उत्कृस्ट भूमिका खेलेको भनाइ राखेका थिए । प्रमुख अतिथिको आशनबाट मन्तव्य राख्ने क्रममा नेपाली दुतावास शाखा जेद्धाका कन्सुलर श्री सुधिर भट्टराईले सबै प्रवासी नेपालीहरुमा उन्नति प्रगति र सफल जीवनको कामना गर्नुका साथै नेपाल तामाङ घेदुङ प्रवास शाखा, साउदी अरविया गठन भएकोमा नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । दुतावास सदैव घेदुङसंग सदभावमय व्यवहार तथा सहकार्य गर्न तत्पर रहने भनाइपनि उनको थियो ।
भट्टराईले ल्होछार संस्कृति नेपालकै पुरानो राष्ट्रिय मौलिक संस्कृति मध्येको एक र नेपालको राष्ट्रिय साँस्कृतिक गौरवको विषय भएकोले यसको सबैले सम्मान र संरक्षण गर्नु पर्ने बताए । उनले आजको यस समारोहमा सहभागी भएर ल्होछारको धार्मिक, साँस्कृतिक, सामाजिक महत्व तथा यसको बैज्ञानिक आधारको बारेमा थप ज्ञान प्राप्त भएको र यसबाट आफु अत्यन्तै खुशी भएको उल्लेख गरे । मन्तव्यकै क्रममा भट्टराईले जेद्धामा दुतावासले प्रदान गर्ने सेवा, हाल भैरहेको तयारी तथा व्यबस्थापनको बारेमा जानकारी गराउँदै हाल मुख्यतः एमआरपी राहदानीको लागि आवेदन बुझ्ने र त्यस सम्बन्धि प्रक्रियालाई अगाडी बढाउने कार्य प्राथमिकताका साथ भैरहेको जानकारि दिए। भविस्यमा दुतावास शाखा जेद्धाले थप सेवाहरु प्रदान गर्दै जाने आश्वाशनपनि दिए । साथै तत्काल कार्यालय भवन, आवस्यक जनशक्ति र अन्य भौतिक तथा प्राविधिक पक्षको उचित व्यवस्था भैनसकेको हुँदा ब्यबस्थापनमा केहि जटिलता रहेको र स्थानिया समुदायमा इन्टरनेट तथा कम्प्युटरको पहुँच भएकाहरुले एमआरपी आवेदन भरिदिन तथा अन्य विविध पक्षमा दुतावासलाई सहयोग गर्न पनि अनुरोध गरे ।
औपचारिक कार्यक्रमको अन्त्यमा सभापतिको आशनबाट मन्तव्य राख्दै नेपाल आदिवासी जनजाती महासंघ, क्षेत्रीय समन्वय समिति जेद्धाका अध्यक्ष ङिमा साङ्गे शेर्पाले तामाङ समुदायले मनाउने ल्होछार समारोहको संयोजन महासंघले गर्न पाउँदा खुशी लागेको बताए। सबै आदिबासी जनजातिहरुको संस्कृतिको संरक्षण गर्न महासंघ सदैब अग्रसर रहने बताए ।
समारोहको तेस्रो तथा अन्तिम चरणमा स्थानिया कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो । स्थानिया नृत्य कलाकार सोम तामाङको ल्होछार सम्बन्धि तामाङ सेलो नृत्यबाट सुरु भएको साँस्कृतिक प्रस्तुतिमा क्रमशः अनिल कोयी राई, नेत्र गुरुङ र राम किराँतीले आ-आफ्नो गित प्रस्तुत गरेका थिए । नृत्य कलाकार बिनोद सुब्बा लिम्बुले पनि तामाङ सेलोमा उत्कृस्ट नृत्य प्रदर्शन गरेका थिए । करिव दुई घण्टासम्म चलेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुतिबाट उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए । आयोजकले अन्त्यमा सहभागीहरुको लागि समारोह स्थलको रेष्टुरेन्ट कक्षामा भब्य खानपान(रात्री भोज)को व्यवस्था समेत गरेका थिए ।













