कथा : एन आर एनका सन्तान (भाग २)

(पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुस्)

● सोमना थारु / बेल्जियम   

som-narayan-thanet-somana-tharu-1212” मेरी नातिनीलाई गोरेको देशमा पठाउने ? धत्त ! गाइको मासु खाने ठाउंमा मेरी नातिनी जान्छे ? शाकाहारी छे  मेरी नातिनी । त्यहा गएर के खान्छे ? भोकभोकै मार्नलाई त्यत्रो टाढा पठाउने ? ” कुखुरालाई दाना हाल्दै बुढीआमा चर्को स्वरले कराइन ।

बिनाको बिहाको सन्दर्भले हरिको घरमा महाभारत मच्चिन थाल्यो । यी सब कुरा बिनाले सुनिरहेकी र देखीरहेकी थिइन । आफ्नो बिहा होस् भन्ने चाहना उनको पक्कै थियो । तर घरको यो रडाकोलाई साम्य नपारे यसले अझ भयानक रुप लिने देखेर उनले हिम्मत गरिन । घर कचहरी कै अगाडि गएर भनिन -” बुवा ,आमा ,हजुरआमा तपाईंहरुले गर्नु भएको यो रडाको हाम्रो परिवार सुहाउदो छैन । बुवा एक सामाजिक कार्यकर्ता पनि हुनुहुन्छ । स्थानिय स्तरको किसान नेताको रुपमा पनि बुवालाई सबैले चिन्छन । मेरो बिहाको प्रस्तावको कुरा रहेछ । अहिले अझै मलाई बिहा गर्न मन छैन । पहिला मेरो पढाई पुरा होस् त्यस पछि सोचौला “

बिनाको यो भनाइले तत्कालको लागि हरिको घर झगडा साम्य भयो । वास्तवमा बिना एक समझदार युवती थिइन । आफ्नो बाबाको जस्तै उनको आत्मामा पनि सामाजिक र सेवा भावना थियो । उनको बोलीचाली मधुर र नरम थिए । गरीब दिन दुखिको सेवा गर्न उनी रुची राख्थिन । उनमा तडकभडक थिएन । सामान्य गाउँ घरकी सामान्य युवती थिइन उनी । तर विचार भने उनको सगरमाथा भन्दा पनि उच्च  थियो ।

यतातिर गोपाल र हरिको बिचमा फेरी पनि वार्तालाप चलिरह्यो । आखिर दुई जना बालसखा न परे । हरिको घरमा बिनाको बिषयले के रुप लिएको थियो ? घरमा के के भयो ? यी आदी कुराहरु सबै गोपालसित पोख्न मन नलाएको हैन हरिलाई । तै पनि मनमा बांध हाल्दै हरिले गोपाललाई भन्यो -” हेर  गोपाल ! हाम्रो नाता अझ गाढा बनाउने कुराले बल्टेङ खायो । छोरीले अहिले बिहा नगर्ने भनी । के गर्नु यार अचेलको जमाना । पढदै गरेकी छोरी जवरजस्ती गर्ने कुरा पनि त भएननी । ”

” यु आर अबसोलुट राइट । अबसोलुट । ठिकै  छ त हरी । अहिले नभए दुई चार वर्ष पछि गरौला । तर तिम्री छोरी बिना मेरो सरोजलाई पक्का है त ” -गोपालले गाईखाने भाषा मिसाउदै बोल्यो ।

आफ्नो बालबच्चाको राम्रो र शुरक्षित भविष्य कुन बाबाआमाले पो चाह्दैन र ? फरक यति न हो कसले केल्लाई राम्रो भन्ने ? कसैले रातोलाई राम्रो भन्ला त कसैले सेतोलाई । सबै कुरा मन पराइ रोजाइ र सोचाइमा निर्भर हुन्छ । हरिले आफ्नी  छोरी बेलायतमा सुखी जीवनको भविष्य पाउली भनेर   अनुमान लगाएको होला । उसको सोचाइ पनि केही हदसम्म सत्य सावित हुनसक्छ । किनकी बेलायत र अमेरिका आखिर धेरै नेपालीका सपनाका देश न परे । भलै त्यहां हड्डीनै खिइने गरी मिहिनेत गर्न किन नपरोस ।

दिन पछि रात आयो । रात पछि फेरी दिन । वर्षा पछि फेरी हिउद आयो । समय फेरी आयो । अब त बिनाले बिए पनि पास गरीसकेकी थिइन । गाउँ घरतिर पनि कुरो चल्न सुरु भै सकेको थियो । छि ! हरिले बिनाको बिहा कहिले गरी दिने होला भनेर । बिना भन्दा कान्छीहरुको गाउँमा सबैको बिहा भैसकेको थियो । उनीहरु लालाबाला कांखी च्यापेर माइत आउन थाले । तर बिना अझै कन्ये छे ।

गाउँमा बिए पास गर्ने केटीमा  बिनानै पहिलो थिइन । बिए पास गरे पनि उनीले कतै नोकरी पाएकी थिइनन । आफ्नो बाबाको खेतीपातीमा नै सर सहयोग गरिरहेकी थिइन । समयको साथसाथै बिनाको उमेर पनि खसकदै गयो । हैन यो हरिले आफ्नी छोरीलाई के गर्न खोज्या हो कुन्नी ? तरुनी भै सकेकी छोरीलाई अझै घरमा पाली राख्या छ ।  मुखमै नभने पनि गाउँघरमा बिनालाई  बुढी कन्येको उपनामले परिचय दिन थाले कुरा कटहाहरुले ।

उता बेलायतमा गोपालको छोराको उठवस दिन दिनै गांजा धतुरो खाने मानिसहरु सित बढदै गएको थियो । यो देखेर गोपाल निकै दुखी र चिन्तित थियो । गोपालले मनमनै विचार गर्थ्यो —  ” यसको  बिहा चाडै गरी दिन पाए पक्कै सप्रन्थ्यो जस्तो लाग्छ । हैन भने यस्तो चालाले यो त चाडै पो मर्छ त । यसको हुनेवाला श्रीमती पनि एल्लाई तह लगाउन सक्ने हुनु पर्यो । यसलाई सम्झाउन बुझाउन सक्ने हुनु पर्यो ।  यसको कुरा काटन नसक्ने भए त के काम भो र ? यै सङै राती राती कम्मर भांच्न थाली भने त के काम भो र ? ”

गोपालले खबर पठायो हरिलाई । खबर त यसपाली  पक्कै सकारात्मक नै आउला भनेर पर्खि बस्यो । गोपालको खबरले हरिको घरमा फेरी कचहरि बस्यो । कचहरिले बिनालाई बेलायतमा दिन त दिने सहमति बनायो । तर एक पटक केटा आउनु पर्ने भयो केटीको घरमा ।  यही खबर गोपाललाई जवाफ गयो । यो खबरले गोपाल खुशी भयो ।  गोपालले सरोजलाई केटी हेर्न नेपाल पठाउने तयारी गर्‍यो । यो तयारी सँग संगै गोपाललाई हरिको घरको दृश्य पनि आँखामा आयो । गोपाललाई हरिको घरको कुना कन्दरा थाहा थियो । उसलाई हरिको खेतवारी थाहा थियो । हरिको घरको ढोकामा  भेडाबाख्रा यताउता गरीरहेको दृश्य उसले देख्यो । आखिर गाउँ घरका किसानका घर त हुन । यी सबै दृश्यले गोपाल झसंग भयो । उसले सोच्यो —

” हरिको घरको त्यो स्थिती देख्दा त सरोज एक छिन त्यहा बस्न सक्दैन । हरिको घरको अस्त व्यस्त स्थिती देखेर यो केटो अतालिन्छ । के गर्ने होला खै ?  ” गोपालले जुक्ति निकाल्ने कोशीस गर्‍यो । एक छिन घोत्लियो ।  एउटा उपाय आयो उसको दिमागमा । आफ्नो अफिसको टेबुलमा ढ्याक्क हात बजार्यो । ” ल गोरेलाई पहिला पठाउछु । गोरेले नै हरिको घरको सर सफाइ र सजावटको काम गर्न सक्छ । यसैलाई पहिला नेपाल पठाउछु । त्यसको अलि दिन पछि बल्ल छोरो सरोज । यो पो त आइडिया । ” सरोज आफ्नो आइडियाबाट आँफै आश्चर्य चकित भयो ।

गोरेलाई सरोजले नै आफ्नो व्यवसायको सहयोगीको रुपमा काम गर्न नेपालबाट ल्याएको थियो । ऊ एउटा इमान्दार र चलाख केटो थियो ।  ऊ सरोजको साथी जस्तो पनि थियो । सरोजको दु:ख सुखमा उसले साथ दिन्थ्यो । सरोजको आनिबानी उसलाई राम्ररी थाहा थियो ।

आफ्नो मालिक गोपालको आदेश बमोजिम गोरे  नेपाल गयो । नेपाल जाँदा पनि ऊ आफ्नो घर परिवार कहाँ गएन । उसको मालिकले पठाएको गाउँमा गयो इमान्दारीपुर्बक । ऊ सरोजको निकट भविष्यमा हुनेवाला ससुरालीमा पुग्यो । सरोजको हुनेवाला ससुराली अर्थात हरिको घरमा गोरे  पाहुना जस्तो भएर बसेन । उसले हरिका घरका अन्य सदस्य झै गाई वस्तुलाई घांसपांत देखी सबै काम गर्न थाल्यो । भेडाबाख्रा र कुखुराहरुलाई व्यवस्थित गर्न खोरहरु बनायो । ससाना पाठापाठीहरुलाई खोरमा थुनेको देख्दा बिनाकी हजुर आमा रोइन । हरिको नोकर ठुले घरको दलानमा सुत्थ्यो । उसको खाट पनि त्यहाबाट हटाइयो । उसको खाट गोठमा सारियो । गोरेको यो कामबाट हरी निकै प्रभावित भयो । तर हरिकी श्रीमती र आमा भने त्यति सन्तुष्ट थिएनन । घरको दलान आगनमा कुखुरा हाँस बाख्राका पाठापाठी नदेख्दा उनिहरुलाई न्यास्रो लागिरहेको थियो । भान्सामा भात उखुको डांठले पाके पनि खाने ठाउंमा टेबुल कुर्सिको जोरजाम भयो । ट्वाइलेट पुरानो किसिमको भए पनि कागजको व्यवस्था गरियो ।

एक दिन बेलुकी खाना खाँदै गर्दा बिनाकी आमाले सोधिन -” हैन बाबु ! तपाईं सित एउटा कुरा सोध्न सार्है मन लाग्या छ । सोधौ ? ”

सोध्नु न भाउजु । ए भाउजु पनि । गोरेले हाँस्दै भन्यो ।

” हैन बाबु केटाको बानी व्यहोरा के कस्तो छ ? तपाईंलाई त अवश्य थाहा छ होला । एउटी मात्र छोरी त्यही पनि खराब बानी भएको मान्छेको हातमा परि भने ? मलाई त यही नै चिन्ता छ बाबु । फेरी परदेशको कुरो छ । हामीले देख्ने कुरा भएन । हामी जान सक्ने कुरा पनि भएन । त्यही भएर मैले इन्कार गरेकी थिएं । तपाईंको दाइले कर गर्नु भो । फेरी केटाको घर पनि राम्रै छ अरे । यही गाउँका एक जनाले माग्दै थिए । पछि सोचौला भनेर भनी दिनु भाथ्यो । अहिले कता हो कता कुरा पुग्यो । ”  हैन भाउजु केटोमा त्यस्तो खराबीपन केही पनि छैन । हामी मानिस हौ । मानिसबाट जानेर होस् वा नजानेर कहिलेकाही गल्ती हुन्छ । साना तिना नराम्रा बानी जसका पनि हुन्छन । बिहा भए पछि त सुध्रीहाल्छ नि भाउजु । चिन्ता नगरनु भाउजु । – गोरेले आफ्नो मालीक प्रति वफादारी देखायो ।

सरोजको नेपाल आउने दिन पनि आयो । सानैमा विदेश गएको थियो सरोज । त्यहाको आधुनिक समाजमा सिक्न सक्ने थुप्रै कुराहरु छन । त्यसको अलावा विग्रनलाई पनि कुनै बुढो मंगलवार कुर्नु पर्दैन । सरोज नेपाल ओर्लियो । काठमान्डुको हाइहुइ ,धुलोमाटो देख्दै उसको मुखबाट निस्क्यो । ” ओ माइ गढ ! ह्वाट्स एन डर्टी सिटी ! ”

ट्याक्सी चढेर ऊ हुनेवाला ससुराली घरमा पुग्यो । उसको स्वागतको लागि हरिको घरमा तयारी पुरा थियो । हरिका घर परिवार लगायत उसका नातापाता पनि उपस्थित थिए । सरोज त्यहा पुग्यो । पुग्ने वितिक्कै उसले हात हल्लाउदै सबैलाई भन्यो -” हाय एभरिबडी ”

उसलाई घरको एउटा कोठामा लगियो आरामको लागि ।

यता बाहिर हरिका नातापाताले अनेक कुरा गर्न थाले । एउटाको मुखबाट प्वाच्च निस्क्यो –

” केटो आलो काँचो रहेछ । नमस्कार गर्न पनि सिकेको रहेनछ । यस्तो आदर सम्मान गर्न नजान्नेले आफ्नो परिवार कसरी पाल्छ ? ”

क्रमश …..

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

तपाइँको प्रतिक्रिया