“भाँचिएको लौरो” उपन्यासको नवौँ भाग

रमेश गौतम पाल्पाली

ramesh-gautam-palpali-110765980“मान्छेले बनाएको खाल्टो समयले पुर्छ ।” भन्छन् । छोराबुहारी अमेरिका गएको छ महिना पुग्न लाग्यो । सधैभरी संझेर रोएर बसेर पनि साध्य भएन । जिउन पनि खानुपप्यो, देखाउन पनि सामाजिक रीतिरिवाज गर्नैपप्यो । विष्टदम्पतिको मनमा लागेको बिछोडको घाउमा पनि खाटा बस्दै गयो । परिस्थिति अनुसार शारदाले पनि चित्त बुझाउँदै गइन् । बिरु र सरिताले उमेशको अभावलार्ई त्यतिसारो खड्किन दिएनन् । विष्ट र शारदाको दैनिकी करीब करीब साबिकजस्तै चल्न थालेको छ ।

बिरु र सरिताको एउटै अफिस भएकोले उनीहरू आउने जाने समय पनि एउटै थियो । दाइ–भाउजू अमेरिका गएपछि जनसंख्या कम भएकोले काम पनि कम भएको थियो भने सरिता थपिएपछि एकजनाले गर्दै अएको काम दुई जनामा बाँडिदा बिरुको काम आधै घटेको थियो । अझै पनि छोराबुहारी चट्ट उठेर अमेरिकातिर लागेकोमा शारदामा कहिले कहीँ उदासीपन देखिने गरकोछ ।

घरमा पहिलेजस्तै त्यति रमाइलो भने थिएन । तैपनि सरिता र बिरुलाई त्यति फरक परेको थिएन । बिरु पहिले जसरी बसेको थियो उसरी नै बस्न पाएका छन् । जे काम गर्थ्यो त्यो पनि समालेकै छन् । बरु उसले एक्लै गनुपर्ने काममा बँटवारा भएको छ । सरिताले भित्रतिर समालेकी छ भने बिरुले बाहिरतिर हेर्ने गर्छ । शारदालाई पनि आफ्नी बुहारी घरमा छँदाभन्दा त सरिता आएपछि धेरै सहयोग र सजिलो भएको छ । छोराबुहारी छँदासम्म शारदाले आफ्ना लुगा आफैं धुन्थिन् । तर सरिताले त उनलाई लुगा धुनै दिन्न । अरू काममा पनि उसले धेरै मद्दत गर्नेगरेकी छ ।

नवविवाहिता भएपनि सरिता यस घरको लागि त्यति अपरिचित होइन । विवाह अघि पनि धेरै पटक आएको र काम गरेको घर हो यो । त्यसो भएर उसलाई यस घरमा आएर कुनै असहज अनुभव भएन ।

नवदाम्पत्य जीवनमा प्रवेश गरेका बिरु र सरिताका दिनहरू भने हाँसी–खुसी चलेका थिए । उनीहरूको टाउकोमा नयाँ व्यवहार केही पनि आएको थिएन । बिरुले पनि अहिलेसम्म पढ्ने र जागिर खाने बाहेक अरू कुनै कुरा सोचेको थिएन । अब भने आफ्नो व्यवस्थाका बारेमा पनि  सोच्नुपर्ने हो कि ! भनेर एक दिन साँझ बिस्तारामा गएपछि बिरुले सरितासित कुरा उठायो ।

“यत्रो घरबार, सम्पत्ति, त्यति राम्रो जागिर भएर पनि नपुगेर दादा अमेरिका जानुभयो । हाम्रो त आफ्नै भन्ने बास पनि छैन । यो घर बढीमा बाबा मामु रहेसम्मलाई हो । त्यसपछि हामीले अर्को बाटो खोज्नै पर्छ । किन कि दादाको चाला देखिहालियो । आफ्ना बाबा मामुको त ख्याल नराख्नेले हामीलाई दया गर्नुहोला भन्ने कुरा आउँदैन र त्यसमा हामीले आशा राखेर बस्नु पनि हुँदैन ।”

“तिम्रो के विचार छ सरु ? केही सोचेकी छौ ? पहिले म एक्लो थिएँ । त्यसमाथि आफ्नो पढाइ पूरा गर्ने र जागिर बलियो गराउने मेरो धेय थियो । अब त हामी दुई जना भयौँ । त्यसमाथि तिम्रो दुई महिनादेखि मासिक धर्म पनि रोकिएको छ । अब तीन जना हुने निश्चित छ । अझै बढिएला, त्यो पनि असम्भव छैन । फ्याक्ट्रि तिमी छँदै छौ कसो ?”

“अँ, फ्याक्ट्रि त्यसै चल्छ नि ! फ्याक्ट्रि चलाउने म छँदैछु भने त भइहाल्यो नि ।”

“त्यो त मैले सोचेकै थिइन ।” दुवै हाँसे । अनि सरिताले भनी :

“लोग्ने मान्छेले त्यस्तो सोचिदिने भए त व्यवहार सजिलै चल्थ्यो नि ।”

“अब भने पक्का सोच्ने भएँ ।”

“त्यसो भए तपाइँले भन्न खोजेको के कुरा हो ? भन्नुस् ।”

“मैले भन्न खोजेको कुरा के हो भने अब हामीले पनि दुई चार आनाको भए पनि एउटा घडेरीको जोहो गरिराख्ने हो कि ? भनेर तिम्रो राय लिन खोजेको हो ।”

“यो त मलाई पनि लागेको थियो । आफूसित त्यसको उपाय नभएर भन्न नसकेको हो ।”

“मैले बैँकमा जागिर खाएको दश वर्ष जति भयो । त्यहाँबाट आएको तलबको पैसा मैले खर्च गरेको छैन । आठ नौ लाख भए होला । सन्चय कोष पनि एकाध लाख हुनुपर्छ । अब त घरघडेरीको लागि बैँकबाट ऋण पनि पाउन सकिन्छ । यी सबै गरेर चारपाँच आनाको भए पनि एउटा घडेरी किन्ने हो कि ?”

“मेरो जागिर पनि सात वर्ष जति भयो । अलि अलि त आवश्यक परे घरघडेरीको लागि मैले पनि ऋण पाउन सक्छु ।”

“ठीक छ, मैले मेरो बाबालाई भन्छु । तिमीले तिम्रो बाबालाई भनेर सस्तो सस्तो घडेरी खोजिदन भनौँ, जताबाट खोजेको ठीक होला उतै लिउँला ।”

“हुन्छ ।” भनेर उनीहरू सुते । सरिता अफिसबाटै आफ्नो बाबालाई भन्छु भनेर माइत गई, बिरु घर आयो । साँझको खाना खाइसकेपछि बिरुले बाबालाई “एउटा घडेरी लिनपाए हुन्थ्यो” भन्यो ।

“बिरु ! उमेश अमेरिका गइदिनाले मेरो एउटा लौरो भाँचियो । अर्को लौरो तैँ होस् । त्यसैले म बाँचेसम्म तैले यो घर छोड्नुपर्दैन । जहाँ सम्म घडेरी लिने कुरा छ । तेरो चोसाइ राम्रो छ । एउटा घडेरी लिइराख्यो भने पछि गारोसाँगुरो परेको बेलामा काम लाग्छ । त्यसो हुनाले लिनुपर्छ । तँ पनि याद गर्दै राख् म पनि एक÷दुई जनालाई लगाउँला पाइहाल्छ ।”

जन्मदिने बाबु र आमा मात्र संसारमा खोजेर वा पैसा तिरेर पाइँदैनन् । अरू चिज भने ढिलोचाँडो हो,  खोजेपछि नपाइने कुरै हुँदैन । बिरुको अवस्था र हैसियत अनुसारको उपयुक्त घडेरी पाइयो । बिरुसित भएको पैसा र सरिताको नाममा पाउने ऋण लिएर ६ आना जग्गा लिन पुग्यो । बिरुको नाममा पाइने ऋण लिनै परेन । आफ्नो एक हलको मेलो भएको पाखो बारी साहुलाई सुम्पिएर आएको बिरु आज काठमाडौंमा घडेरी किनेर जग्गाधनी बन्यो । यस खुसीयालीमा उसले प्याकेटभरी मिठाइ किनेर विष्टको अँगाडि राख्यो ।

“केको खुसियाली हो ? जग्गा पास गरियो ?”

“हो बाबा, यो सबै हजुरको देन हो । मजस्तो असहाय टुहुरो केटालाई ल्याएर मान्छेमात्र बनाउनु भएन योग्य र धनीसमेत बनाउनुभयो । यो सबै हजुरकै कारण भएको हो । अन्यथा म कुन होटेलको भाँडा माझेर बस्ने थिएँ ।”

“हेर बाबु म त एउटा निमित्त मात्र हुँ । तेरो भाग्यले तान्दै तान्दै यहाँसम्म ल्याएको हो । त्यसमा मेरो मार्गदर्शन सम्म छ ।”

“बाबा, हजुरको विना सहयोग र विना मार्गदर्शन म यो स्थितिमा पुग्न सक्थेँ ? आज जुन स्थितिमा म छु यसको कारणी हजुर होइन ?”

“हो, तर सर्वे सर्वा म मात्र होइन । ममा पनि स्वार्थ लुकेको थियो । तँलाई पढाउने मात्र भनेर यहाँ ल्याएको थिइन । तैले पढ्नुको साथै मलाई पनि सहयोग गर्लास् भन्ने मभित्र स्वार्थ लुकेको थियो । त्यही मेरो स्वार्थलाई तैँले मेरो सहयोग संझिस् र आजसम्म पनि मेरो सेवा गरिरहेको छस् । हो, यसबाट तैँले केही मौकासम्म पाइस् त्यो अर्कै कुरा हो । त्यसमा तेरो भाग्य, लगनशीलता र इमानदारी मिसिएकोछ ।”

“तेरा बाबु–आमाले जन्म दिए, त्यो पहिलो खुड्किलो थियो । दोस्रो, तेरा बाबु–आमाले बाटो छोडिदिनु थियो । उनीहरू जीवित भएको भए तँ बुटवल आउने थिइनस् । म त तेस्रोमा मात्र पर्छु । तँ बुटवल आउनु, म त्यहाँ जानु र तेरो मेरो भेट हुनु, यी सबै परिबन्द बन्दै जानुमा तेरो भाग्यले डो्याएको हो ।”

“भाग्यले मात्र हुँदैन र सबै मान्छे हजुर्जस्ता हुँदैनन् । मैले तानसेनमा भोकले छटपटिएको बेलामा धेरैसित संपर्क गरेँ र अनुरोध पनि गरेँ । तर कसैबाट एक दाना अन्नको सहयोग भएन । त्यो होटलवाला साहुले काम लगाए पनि भोकाएको बेलामा पेटभर खान दिए, आश्रय दिए र केही पैसा समेत दिएर मेरो उद्धार गरेका थिए । एक पटक तानसेन गएर मेरा बा–आमा बितेको ठाउँमा फूल चढाउन र ती साहुप्रति कृतज्ञता जनाउन मन लागेको छ ।”

“ज्यादै राम्रो विचार गरिस् छोरा तैँले । मान्छे कृतघ्न हुनुहुँदैन । कृतज्ञ हुनुपर्छ । तँमा यही गुण भएकोले नै तँ आजको स्थितिमा पुगेको होस् । मैले आफ्नै छोरालाई त्यस्तो कृतज्ञ बनाउन सकिन कर्मले बनाएको छोरो तँमा त्यस्तो गुण पाएर म आज कृतार्थ भएँ छोरा । मैले तँमा गर्व गर्छु ।”

“बाबा, यो सबै हुनुमा हजुरको देन हो । त्यसैले मैले मेरा जन्म दिने बाबु–आमालाई बिर्सन सक्छु । तर हजुर्हरूलाई बिर्सन सक्दिन । दादाले हजुरहरुलाई छोडेर गए पनि मैले हजुरहरुलाई छोड्ने छैन, यो मेरो प्रतिज्ञा हो बाबा, विश्वास गर्नुस् ।”

बिरुको प्रतिज्ञा सुनेर विष्टले खुसीका आँसु बगाए र कृतार्थ भावले आशीर्वाद दिए । उता यिनीहरूका कुरा सुनेर बसेकी शारदाले त एकाएक आएर बिरुलाई गम्लग्न अँगालो हालेर धरधरी रोइन् ।

(द्रष्टव्य : रमेश गौतम “पाल्पाली”को उपन्यास भाँचिएको लौरोको यो नवौँ भाग पछि उपन्यासको भाग १० आउनेछ ।)

तपाइँको प्रतिक्रिया