उपन्यास अंश : भाँचिएको लौरो (भाग ७)
● रमेश गौतम “पाल्पाली”
सरिता घर पुग्दा उसका बा–आमाले उसैका बारेमा कुरा गरिरहेका थिए । “छोरीको बिहे गर्नु हाम्रो समाजमा सजिलो कुरो छैन ।” जगतले श्रीमतीलाई भन्दैथिए :
“हेर बूढी ! बिहे त आँटियो तर फस्र्याउने पो कसरी हो । हुन त बिरु सचिवज्यूको काम गर्ने मान्छे हुन् । तर उनी त्यस घरमा नोकरजस्ता छैनन् । एक त सचिवज्यूले उनलाई छोरा सरह नै गरेर राख्नुभएको छ । अर्को कुरा उनी आफैं त्यति ठूलो कर्मचारी भइसके । आफैंपनि कमाउन सक्छन् । उनीहरूसित काँध जोड्न आँटियो थाम्न सकिने हो होइन म त अलमल्ल परेको छु ।”
“के कुरा गरिराख्नुभएको बा–आमाले ?”
“तेरै कुरा गरिरहेको नि छोरी ! तेरो जिन्दगी बनोस् भनेर त्यत्रो ठाउँको कुरा स्वीकार गरियो । पार्लाउन सकिने हो होइन, भन्ने भएको छ ।”
“ठीक छ बा, तपाइँले बिरुलाई स्वीकार गरिदिएर आफ्नो कर्तव्य पूरा गर्नुभयो । अब चिन्ता गर्नुपर्दैन । मैले भनेको कुरामा सहमति दिनुपर्छ । मान्नुहुन्छ ?”
“भन छोरी मैले मान्नै पर्ने हुन्छ । मेरो औकातले सक्ने भए तेरा हरेक कुरा स्वीकार गर्छु ।”
“बिरुको प्रस्ताव उहाँका बाबाले स्वीकार गरिसक्नुभयो । मेरो प्रस्ताव तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूले कुनै टाउको दुखाउनु पनि पर्दैन । बिरुसित मैले गरेको मेरो बाचा पनि पूरा हुन्छ ।”
“पहिले भन् त छोरी के हो तेरो प्रस्ताव, त्यसपछि बल्ल हामीलाई थाहा हुन्छ ।”
“मसँग नयाँ धोती र व्लाउज छँदै छ । एउटा माला किन्ने । हामीले किनेको माला बिरुलाई लाइदिने, बिरुले ल्याएको माला मलाई लाइदिन्छन् । हाम्रो बिहे सकिन्छ । हामीहरूले यही प्रस्ताव गरेका छौँ । उता सचिवज्यूले यो प्रस्ताव स्वीकार गरिसक्नुभएको छ । अब तपाइँको पालो, के भन्नुहुन्छ ?”
“यति सजिलो बिहे होला र छोरी ! इष्ट–मित्र, दाजु–भाइ, छर्छिमेकले के भन्लान् ?”
“कसले के भन्छ ? भन्ने होइन । हामीले यस्तै सजिलो विधि अपनाउनुपर्छ ।”
“छोरी, तेरो इच्छा विरुद्ध जाने कल्पना पनि गर्दिन । तैँले जे भन्छेस् त्यही गर्छु । मैले तेरो भलाई र इच्छाको लागि इष्ट–मित्र, दाजु–भइ पनि भन्दिन ।”
“मेरो बाबा कति असल” भनेर सरिता हाँस्दै कोठामा गई र बिरुलाई सबै कुरा बताई । बिरुले सरिताले भनेको कुरा आफ्नो घरपरिवारमा सुनायो । विष्टको परिवारमा यस्तो प्रस्ताव जगतलाई मान्न मुस्किल पर्छ कि भन्ने लागेको थियो । किनकि उनीहरूको समाजमा भोजभतेर विनाको बिहे स्वीकार गर्नुभनेको ठूलै कुरा थियो । तैपनि स्वीकार गरेकोमा सबैले खुसी व्यक्त गरे ।
अनि विष्टजीले जगतलाई फोन गरेर माघ १५ गते ९ बजे महालक्ष्मी स्थानमा दुलही सहित चारपाँच जना आउने भनेर खवर दिए । तोकिएको दिनमा दुवै तर्फबाट जम्मा भए । माला साटासाट् भयो सिँदुर हाल्यो । सबैले ताली पड्काए, सरिता जगतको घरबाट विष्टको घरमा आई, बिहे सकियो ।
(रमेश गौतम “पाल्पाली”को उपन्यास “भाँचिएको लौरो” का भागहरू क्रमशः प्रकाशित गर्ने सन्दर्भमा यस पछि आठौँ भाग अर्को साता आउनेछ ।)




