सउदी अरबमा यातना भोगेका दुई महिला घर फर्किँदै
● जैबी राई / सउदी अरब
साउदीका घरबाट मुश्किलले भागेर नेपाली दूतावास रियादको सेल्टरमा आइपुगेका थप दुइ पीडित नेपाली महिलाहरू भोली १५ डिसेम्बर राती एअर अरेबियाको फ्लाइट (जि ९५३५) बाट स्वदेश फर्किँदैछन । तिनलाई एन आर एन सउदी अरबले सहयोग गरेको हो ।
यी पीडितहरू मध्ये श्रीमती कला राइ १३ महिना अगाडि साउदी आइपुगेकि हुन् । उनको जन्म स्थान खोटाङ जिल्लाको छोरम्बु गा बि स मा २०४२ सालमा भएको हो । कला राइ पेन्सनरको छोरा श्रीमान सुबाश राइ पहिले देखि नै कुलत र दुर्व्यसनमा फसेको कला राइलाई थाहै भएन । उनी भन्छिन ‘शहरको बसाइ उहाँ कहाँ जानु हुन्थ्यो ? के गर्नु हन्थ्यो ? बुहारी भएर शहरको चोक गल्लीहरुमा खोज्दै हिंड्न् पनि सकिएन ।’ पेन्सनर ससुराको देहाबसान भएपछी सासु युके तिर गईन् ।
त्यसपछी घरको आर्थिक स्थिती नाजुक हुँदै गयो । उनी आत्तिइन् । बिस्तारै सन्तान हुर्किदै गयो । श्रीमानले सहयोग गर्लान भनेको त उल्टै आफ्नो गर गहना पनि फुकालेर लगि दुर्व्यसनमा खर्च गरे । श्रीमानलाई सुधार्नको निम्ती धेरै प्रयास गर्दा पनि नसकेको र श्रीमान संगै बस्दा आफुपनि उक्त दुर्व्यसनले भित्र्याएको रोगको सिकार भई सन्क्रमित हुने डरले सबै माया मारेर बिदेसिन वाध्य भएको सुनाइन् । उनी भन्छिन ‘शहरमा बस्ने लाहुरे इज्जतदारको छोरा भनेर माइतिले विवाह गरीदिए । तर त्यही इज्जत भित्र नमेटिने कालो दाग लागेको छ भन्ने कुरा कसैलाई थाहा भएन । बिदेसिन वाध्य बनाउने श्रीमान नै हुन । श्रीमानले नै बिदेस जाउ । यहाँ के गरेर खानु ? कमाइ केही छैन भन्दै एक दलाललाई जिम्मा लगाइ साउदी पठाएका थिए । तर त्यो दलाल धरान तिरको भए पनि आफुले नचिनेको उनले बताईन् ।
उनी साउदी आएको ३ महिना नबित्दै श्रीमानले दोस्रो विवाह गरेको खुलासा गरिन् । तर उनले आफ्नो श्रीमान संक्रमणले ग्रस्त भई अस्ताउन लागेको घाम भई सकेकोले नेपाल गएरपनि आफुले नभेट्ने र कुनै करबाही पनि नगर्ने मनसाय रहेको बताईन् ।
कला राइको साउदीमा पनि उस्तै समस्या आइपर्यो । श्रीमान सँगको समस्याबाट मुक्त हुन र दुई सन्तानलाई पालन पोषण गर्ने सपना बोकेर साउदीको बच्चालाई अंग्रेजी पढाउन भन्दै भारतको बम्बइ हुँदै साउदी आएकि थिईन् । तर सोंचे भन्दा धेरै फरक पाएको उनको अनुभव छ । उनी साउदी आएपछी घर मालिकले बच्चा पढाउने जिम्मा त दिइन । तर बिहान बेलुका बच्चा पढाउने देखी घरको सबै धन्दा गर्न बाध्यपनि पारे । “खाना कतिबेला बनाएर खान्थ्यो मलाई थाहा हुँदैनथ्यो । मालिकहरुले खाएर बचेको खण्डमा खानेकुरा खान्थें । नभए भोकै सुत्नुपर्थ्यो” उनले दु:ख पोखिन “खाना बनाउने कोठामा सधैं ताला लगाइन्थ्यो । बिहान एक टुक्रा पाउरोटी । बेलुका पनि एक टुक्रा पाउरोटी र चिया दिन्थे । मालिकलाई रिस उठेको बेला कुटाइपनि खानुपर्ने बाध्यता चुप्चाप सहेर एक बर्षसम्म बसें । हुँदै नभएपछी उक्त नारकिय जिबनबाट छुट्कारा पाउने बिकल्पमा घर जान्छु भनेर धेरै बिन्ती बिसाएँ । तर ती निर्दयीहरुले मेरो अनुनयलाई एक शब्द पनि सुनेनन ।”
आफ्नो कुरा मालिकले नसुनेपछी दुबइमा रहेका एक जना चिनेको दाईलाई दु:ख सुनाईन् । तर उनले “साउदीमा धरम केसीलाई खोज्नु” भने जवाफ दिए । एस एल सी सम्मको अध्ययन गरेको हुँदा उनले सामाजिक सन्जाल फेसबुक मार्फत एनआरएनए साउदीका निबर्तमान अध्यक्ष धरम केसी लाई संपर्क गरी आफ्नो समस्या राखिन् । केसीको समन्वयनमा रियादमा रहेका एन सि सि अपाध्यक्ष डोर बहादुर कार्की र एन सिसी महासचिब जैबी राइको बिशेष पहलमा उक्त साउदीको घरबाट नेपाली दुताबासको सम्पर्कमा ल्याइयो, कला राइलाई ।
उनलाइ तलब १० महिना सम्म दिएको थियो । तर छोरा छोरीको लागि २५०० (पच्चिस सय) साउदी रियाल खर्च पठाइदिएको थियो । औषधी उपचार आफुले पाएको तलबले गरेकि थिइन् । खान पेटभरी नपाउने हुँदा आफूले काम गर्ने घरको गाडी ड्राइभरलाई पैसा दिइ बिस्कुट र जुस किनेर ल्याइदिन लगाई खाने गरेको उनले बताइन् । ‘अब घर त एनआरएनए साउदीको सहयोगमा फर्कँदैछु । तर नेपाल गएर के गर्ने भन्ने कुराले चिन्तित बनाएको छ’ उनले दुखेसो गरिन् । उनलाई तिन महिना अघी उद्दार गरी जवाजात हाउसमेड डिपार्टमेन्टमा दुइ महिना र बाँकि समय नेपाली दुताबासको सेल्टरमा राखेपछी स्वदेस फर्किने बातावरण मिलेको हो । कला राइलाई निजको मालिकले कुटपिट गर्दा हात सुन्निएको फोटो नै खिचेर सार्वजनिक समेत् गरेकीछिन ।
यसै गरी एन आर एनए साउदीको हवाइ टिकट सहयोगमा स्वदेस फर्किने अर्की पीडित महिला हुन, श्रीमती पञ्चमी पन्डित । बाँके जिल्ला मणिकापुर ३ निबासी ३६ बर्षिया बिबाहिता पञ्चमी ३ सन्तानकी आमा हुन । उनी पनि भारतको बम्बइ हुँदै साउदी आएकी हुन । दलालको नाम शंकर मल्ल हो । उसको घर रुकुम जिल्ला तिर रहेको तर संपर्क केही पनि नभएको उनले बताइन् । उनले दलाललाई पच्चिस हजार नेपाली रुपैयाँ पनि दिएको बताईन् ।
यहाँ आएको लामो समय सम्म साउदीको घरमा काम गरे पछी उक्त साउदीले नै उनलाई दोस्रो घरमा बेचेको थियो । अत्यन्तै कामको चाप । खाना मन लागेजति नदिने । बीमारी हुँदा उपाचार गर्न नलाने । तलब नदिने जस्ता समस्यामा परेपछी ‘जे सुकै होस भागेर जान्छु । जहाँ पुग्छु पुग्छु’ भनेर उनी सौदीको घरबाट निस्किएकि थिईन् । पछी पाकिस्तानी ट्याक्सी ड्राइभरले भेटेर कहाँ जाने ? भनेर सोध्यो । उनी अलमलमा परिन् । काम गर्ने घरबाट भागेर हिंडेको बताएपछि ड्राइभरले नै ‘नेपाली दुताबास जान्छ्यौ ?’ भनेपछी ‘हुन्छ’ भनेर दुतावास आएको उनले बताइन् । पञ्चमी पन्डितलाई नेपाली दुताबासको बारेमा पनि थाहा नभएको बताइन् । ‘यहाँ आएर गेट्मा छोडेर गयो ट्याक्सिले । एक जना सरले सोध्नु भयो अनी मेरो समस्या सुनाए पछी भित्र राख्नुभएको हो’ उनले भनिन ।
घरमा श्रीमानको जड्याहा प्रबृत्तीले गर्दा छोरा छोरीको लागि जोहो टार्न बिदेसिएको बताइन् । दुई हजार साउदी रियाल उनको साहुले घर पठाइदिएको थियो । त्यस पछी भने तलब पनि नदिएको सुनाईन् । नेपालमा बस्ने झुपडी रहेको तर कमाइ गरी खाने खेतबारी नभएकोले आफुले दु:ख पाएको बताइन् । उनी सामान्य पढ्न लेख्न सक्ने महिला हुन । अब नेपाल गएर अर्काको घरमा ज्याला गर्नु बाहेक आफ्नु कुनै बिकल्प नरहेको बताउँदै उनी भावुक बनिन । नानीहरुको भबिस्यको लागि ज्यालादारी काम गर्नै पर्ने बाध्यता रहेकोपनि उनको गुनासो थियो ।
यी दुई पीडित महिलाहरूको हवाई टिकटका लागि एनआरएनए साउदीको महिला उद्धार कोषबाट जम्मा १,३४० साउदी रियाल खर्च गरिएको छ । यो कोषबाट उद्धार गरिने पीडित महिलाहरूको संख्या अब ३६ पुगेको छ । गैर आबसिय नेपाली संघ साउदी अरबले यस्ता समस्यामा रहेका पीडित महिलाहरुलाई उद्दार गर्ने क्रममा धेरै नेपाली दिदी बहिनीहरु आफ्नै श्रीमानबाट असहयोग भई बिदेसिन वाध्य देखिएकोले त्यस्ता श्रीमानहरुलाई सचेत गराउनु पर्ने आवश्यकता देखिन्छ ।




