भाँचिएको लौरो (उपन्याश अंश भाग ४)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980बिरुले एस। एल। सी। पास गर्दासम्म विष्टजी पनि बढुवा भएर सचिव भइसकेका थिए र उनका छोरा–छोरीले पनि पढाइ सकेर योग्यता अनुसारको काम समालिसकेका थिए । समाजमा उनको बोली सजिलै बिक्ने भएको थियो । त्यसै हुनाले एउटा बैँकको कार्यालय सहयोगीमा बिरुलाई लगाइदिए । बिरुले पनि नुनको गुन कहिल्यै बिर्सेन । विष्टजीको घरको कामलाई उसले झन् लगशील भएर हेर्न–गर्न थाल्यो भने बैँकको काम पनि इमानदारी पूर्वक पूरा गर्दै आफ्नो पढाइ पनि चालु राख्यो ।

इमानदारी र लगनशीलता नै प्रगतिको बाटो हो भन्ने कुरा बिरुले बुझेको थियो । विष्टको घरबाट सिकेको सबैभन्दा ठूलो उपलब्धि यही थियो बिरुको । बेइमान, कामचोर र आलसी व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैन । बिरुमा यी कुराको एकदमै अभाव थियो । त्यसैले जहाँ गए पनि जे काम गरे पनि उसले सबैलाई आत्मीय बनाउन सफल भयो र उसको प्रगतिको मूल कारण पनि यही रह्यो ।

बिरुले सुत्नको लागि केवल रातको १२ बजेदेखि ४ बजेसम्मको चार घण्टा छुट्यायो । विहान दुई घण्टा साँझ तीन घण्टा पढ्नको लागि र कार्यालय समय बाहेकको समय घरको कामको लागि भनेर समय तालिका मिलाएर काम ग्यो । यसरी काम गर्दा न त पढाइलाई बाधा क्प्यो न त कार्यालय वा घरको काममा । दुई वर्षमा आइ। कम। पास भयो भने तेस्रो वर्षमा त कार्यालय सहयोगीबाट एकै पटक हेड असिष्टेण्टमा ऊ पुग्यो ।

अब भने ऊ ढुकुरखोलाको हेलाको पात्र वीरे रहेन । उसलाई वीरे र बिरुको ठाउँमा वीरबहादुर भनेर सबैले सम्बोधन गर्न थालेका थिए भने विष्टको घरमा उसलाई दयाले होइन मायाले बिरु भन्थे । प्रगति गर्न चाहनेको लागि उसको लगनशीलता र इमानदारी उदाहरणीय भएको थियो । उसले आफ्नो पढाइ एवं घर र कार्यालयको काम यथाबत् गर्दैगयो । चार वर्ष लगाएर बी। कम। पनि पास ग्यो ।

वीरबहादुर शील–स्वभाव र व्यवहारले जति राम्रो थियो रूप र जवानीले पनि त्यत्तिकै लोभलाग्दो भएको थियो । त्यसैले उसलाई आफ्नो बनाउन चाहने केटीहरूको पनि सूची लामै भएको थियो । त्यस मध्ये उसकै बैँकको कार्यालय सहयोगी पदमा काम गर्ने सरिता नकर्मी भने उसको लागि जिउ–ज्यान फालेर लागेकी थिई । वीरबहादुर पनि सरितालाई मन पार्दथ्यो र यस कुराको चर्चा गाइँगुइँ सुनिन थालेको थियो तर आफ्ना अविभावक विष्ट परिवारमा भने उसले मनको कुरा खोल्न सकेको थिएन । वीरबहादुर विष्टपरिवारबाट ज्यादै अनुगृहीत भएकोले अहिले पनि उसले आपूम्लाई विष्टपरिवारको नोकरकै रूपमा हेथ्र्यो । त्यसैले आपूम्ले कुनै केटीलाई माया गर्ने र उसित बिहे गर्छु भनेर कुरा राख्नसक्ने हिम्मत जुटाउन सकेको थिएन, तर उसमा पहिलेको भन्दा केही परिवर्तन भने देखिएका थिए । ऊ यदाकदा कहिले टोलाउने र कहिले एकान्तमा घोरिएर बस्ने गर्नथालेको थियो । उसको यस्तो व्यवहारले उसमा केही भएकोछ भन्ने अनुमान भने विष्टपरिवारले गरेको थियो । बतास चलेको नदेखिए पनि पात हल्लेको भने देखिन्छ । वीरबहादुरका हितैषी साथीहरू धेरै थिए, उनीहरू मार्पम्त केहि दिनपछि विष्टजीका कानमा त्यो कुरा पुग्यो पनि ।

यता सचिव विष्ट, जागिरबाट मात्र होइन छोरा–छोरीको बिहेबारी समेत सकेर रिटायर्ड जीवन बिताइरहेका थिए । अब उनले गर्नुपर्ने बाँकी काम भनेको वीरबहादुरको घरजम बसाउनु थियो । ऊ विष्टको आफ्नै छोरो वा धर्मपुत्र नभए पनि उसलाई उनले कर्मपुत्रको रूपमा स्वीकार गरेका थिए । बिरुले पनि विष्टलाई बुबा र उनकी श्रीमतीलाई आमा तथा छोरा छोरीलाई दादा, दिदी एवं उमेशकी श्रीमतीलाई भाउजू भन्थ्यो र त्यस्तै सम्मान पनि गथ्र्यो । त्यसैले विष्टजीले बिरुको घरजम बसाइदिनु आफ्नो कर्तव्य संझेका थिए । सरितासित उसले प्रेम गर्छ भन्ने सुनेर उनी खुसी भएका थिए । सरिताले पनि उनकै सिफारिसमा त्यस बैँकमा कार्यालय सहयोगीको रूपमा काम पाएकी हुनाले उनले शरितालाई चिनेका पनि थिए ।

सरिताको बाबु जगतबहादुरले डकर्मी काम गथ्र्यो भने अरूले लगनखेलमा तर्कारी खेती गर्थे । विष्टको घर बनाउने बेलामा जगतले धेरै दिन काम गरेकोले उसको परिवार विष्टपरिवारसित राम्रै घुलमिल भएको थियो । त्यही नाताले विष्टले सरितालाई जागिर खान मद्दत गरेका थिए र अहिले पनि विष्टजीको घरमा कुनै काम गर्नुपरेमा जगतले नै गर्नेगरेको छ ।
एक दिन विहानै विष्टजी जगतको घरमा पुगे । अचानक विष्टलाई आफ्नो घरमा देखेर आश्चर्य भएर जगतले भन्यो ः
“होइन, आज हजूर अचानक कसरी मेरो झुपडीमा ?”
“म त तपाइँको घरमा केही माग्न आएको ।”

“मेरो घरमा भएको कुरा माग्नलाई हजूरले दुःख पाउनुपथ्र्यो र ? कसैबाट खबर पाएको भए त मै लिएर हाजिर हुने थिएँ नि ।”
“तपाइँले लिएर आउन सक्नुहुन्न कि भनेर म आपैम् आएको ।”
“हजूरले लैजान सक्ने मैले पु्याउन नसक्ने त्यस्तो कुरा के भयो ?”
“छ, त्यही भएर त म आएको नि ।”

“आज्ञा होस् न त त्यस्तो कुरा के रहेछ ? म टक््रयाइहाल्छु ।”
“पक्का दिने भए भन्छु, नत्र भन्दिन । म यसै फर्केर जान्छु ।”
“म नै हजूरको भएपछि मसित भएको कुरा हजूरलाई नदिने कुरै भएन ।”
“त्यसो भए भनौँ त ?”

“यस्तो खुल्दुली नगराएर चाँडो आज्ञा होस्न ।”
“म सरिताको बिहेको कुरा गर्न आएको । दिनुहुन्छ त ?”
“सरितालाई मैले त जन्ममात्र दिएको हो । त्यसको राम्रो नराम्रोको हेरचाह त हजूरबाटै भएको छ । हजूरले उसको नराम्रो हुने गरी कुनै ठाउँमा दिनुहुन्न म ढुक्क छु । त्यस्तो मान्छे को रहेछ ? जान्नेसम्म इच्छा भयो मलाई । मैले हुन्न भन्दिन ।”
“मैले त केटोलाई राम्रै देखेको छु । वि।कम। पास गरेको छ, बैकमा सुब्बा सरहको जागिर खाँदैछ । सरितालाई सजिलै पाल्छ भन्ने ठानेको छु ।”
“होइन, यस्तो मान्छे त यहाँ वरिपरि कोही छैन । को होला खै ! हजूरले बिरुको कुरा गर्नुभएको त होइन ?”
“हो, ठीक अनुमान गर्नुभयो । त्यो केटा बिरु नै हो । के बिरुलाई ज्वाइँ बनाउन सक्नुहुन्छ ?”

“बिरुलाई छोरी दिन नमिल्ने त कुनै कारण छैन । खाली हाम्रो समाजले जात नमिलेकालाई छोरी दियो, भन्छ कि भन्ने मात्र हो ।”
“अब तपाइँ हामीले त्यो सोच्ने होइन । खाली केटाकेटीको मन मिल्छ मिल्दैन, भन्ने हेर्ने हो । उनीहरूको मन मिल्छ भने जात भनेको त त्यसै मिल्छ ।”
“त्यसो भए एक पटक सरितालाई सोधिहालौँ हैत ?”

विष्टजीले मनमन भनेः ’यो सोझो नेवारलाई आफ्नी छोरीको बारेमा केही थाहा रहेन छ ।’ अनि उसलाई भनेः
“हुन्छ सरितालाई त सोध्नै पर्छ नि, केटाकेटीले मन नपराइकन त कहाँ बिहे गरिदिन हुन्छ र ?”
जगतले सरितालाई “छोरी सरिता ! यहाँ बाहिर आउ त” भनेर बोलायो । सरिता बाहिर आएर विष्टलाई नमस्ते गरी । जगतले सोध्योः
“छोरी ! सचिवज्यू त तिम्रो बिहे गर्नुप्यो भनेर आउनुभएको रहेछ । तिम्रो के विचार छ ?”
“अहिले के हतार छ र ?”

“छोरी ! पढ्यौ लेख्यौ जागिर खायौ, आफ्नो खुट्टामा अडिन सक्ने भयौ । अब तिम्रो बिहे गरेर ठेगान लगाइदिन पाए मेरो मन ढुक्क हुने थियो । छोरी ! अब तिमीले बिहे गर्नुपर्छ । सचिबज्यूले ल्याएको घर राम्रै छ ।”
“हजुरको त्यस्तो विचार छ भने मैले नाइँनास्ति गर्नमिल्दैन । तर केटा को हो कुन्नी ? कहाँको हो ? हजुरलाई छोडेर म टाडा जान सक्दिन ।”
“तिमीले देखेजानेको र मन पराएको केटा हो बिरु ।” विष्टले भने ।
“हजूरहरूले भनेको कुरामा मैले किन नाइँ भन्छु र ?”
“होइन, सचिवज्यू मन पराएको केटा भनेको त मैले बुझिन ।”
“तपाइँकी छोरी र बिरुको हिमचिम छ । यिनीहरू एकआपसमा माया गर्छन् । त्यसै भएर त म यहाँ आएको सम्धीज्यू ।”
“मलाई त यो कुरा थाहै थिएन ।”

आजकालका केटाकेटीको माया–प्रीति दिन बार साइत हेरेर हुन्छ र ? रहँदा बस्दा मन मिल्छ कुरा मिल्छन् र माया–प्रिती बसिहाल्छ । हाम्रा उमेरकालाई यो कुरा थाहा हुँदैन ।
“ल जे भयो राम्रै भयो । अब सम्धी सम्धी हुने भइयो ।”
“केको सम्धी ? म त हजूरको डकर्मी नि !”
“अब पनि केको डकर्मी नि ? अब त सम्धी भन्न परिहाल्यो ।”
“सम्धी भने पनि म हजूरको काम गर्न छोड्दिन क्यारे ।”
“काम गरे पनि नाता सम्धी हुने भइहाल्यो ।”
“नाता त हुने भयो ।”

जगत उनलाई अलिपरसम्म कुरागर्दै पु्याउन गए । विदा हुने बेलामा जगतलाईः
“तपाइँ केही चिन्ता नलिनुस् । बिहेको साइत हेरेर मैले तपाइँलाई खबर गर्छु ।” भनेर विष्टजी हिँडे ।

तपाइँको प्रतिक्रिया