मैले रक्सी पिएको होइन-प्रधानमन्त्री पुत्र दाहाल

प्रधानमन्त्री पुत्र प्रकाश दहालले उनले रक्सी पिएर झुम भएको भनिएको photo_prakash1समाचारको खण्डन गरेका छन् । आफुले रक्सी पिएको नभएर अति थकानका कारण यसो झकाएको र त्यहि मौका छोपेर पत्रकारले फोटो खिचेर आफ्नो बेईज्जती गरेको आरोप लगाएका छन्।
हेर्नुस उनको बिज्ञप्तीको पूर्ण अंश—-

राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको म सधैं आदर र सम्मान गर्दछु। हिजो प्रकाशित समाचारपत्र दैनिकमा प्रधानमन्त्री पुत्र मदिरामा मस्तभन्ने शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ। धुलिखेल रिसोर्टमा म गएको सत्य हो।

सिमसिमे पानी परिरहेकाले चिसो बढिरहेको थियो। आगो ताप्ने व्यवस्था भएकाले आगो ताप्दै हामी बसिरहेका थियौं। बिहानैदेखि बेलुकीसम्म काममा खटिरहनु पर्ने भएकाले मलाई थकाइको महसुस भएको थियो। डिनर खाने बेलामा म पहिल्यै खाएर आगो ताप्न आइसकेको थिएँ। अरु साथीहरु डिनर खान जानुभएकोले म मात्रै बसिरहेको थिएँ – आगोको छेऊमा। आगोको तापले म झकाउन पुगेछु। त्यही मौका छोपी केही पत्रकार मित्रहरुले मेरो तस्वीर लिन तँछाडमछाड गर्नुभएछ। मलाई देख्‍ने केही साथीहरुले निदाएको अवस्थाको तस्वीर किन लिनुपर्‍यो पनि भन्नुभएछ। हल्लाखल्ला सुरु भएपछि म उठेँ र के भयो भनेर साथीलाई सोधें।

मेरो तस्वीर लिइसकिएको रहेछ। यदि म मदिरामा लठ्ठ भएको भए मैले मदिरा खाइरहेको तस्वीर नै हालेर पुष्टि गरिदिएको भए पाठकहरु प्रति न्याय हुने थियो। म विनम्र आग्रह गर्दछु, त्रिपुरेश्वरको चित्रकला प्रदर्शनी अवलोकन गरेपछि गाडी चलाउँदै धुलिखेलसम्म पुगेँ। धुलिखेलको कार्यक्रमपछि पनि मैले नै गाडी चलाएर कार्यालय पुगेको हुँ।

यदि तपाईले खिचेको तस्वीर मदिरा खाएर मस्त भएको अवस्थामा भएको भए भोलि पल्टसम्म पनि उठ्न सक्ने थिइन र गाडी चलाउन सक्ने पनि थिइन।

प्रेसको सँधै सम्मान गर्ने तपाईंको एउटा पाठकलाई यसरी किन खेद्‍नु हुन्छ ? मैले बुझ्न सकेको छैन। यस्तो भ्रामक समाचारको विश्वासमा नपर्न म समस्त शुभचिन्तकहरुमा आग्रह गर्दछु।

प्रकाश दाहाल

बालुवाटार, काठमाडौं ।

तपाइँको प्रतिक्रिया