उपन्यास अंश : भाँचिएको लौरो (भाग–तीन)
● रमेश गौतम “पाल्पाली”
बिरेको मन आनन्दले नाच्न थाल्यो । पढ्न स्कुलमा राखिदिन्छु भन्ने मान्छे भेट्दा उसलाई देउता भेटेजस्तै भयो । कति बेला भोली होला र काठमाडौं जाउँला भन्ने मात्र उसले सोच्यो । रातभर पनि खुसीले निद लागेन । विहानीपख यस्सो झकाएको थियो । स्कुलमा धेरै विद्यार्थीहरूसित बसेर पढेको सपना देखेछ । झल्याँस्स भएर जाग्यो । बाहिरतिर आँखा लगायो उज्यालो त भइसकेको रहेछ । सात बजे जाने भनेका थिए, अहिले कति बज्यो होला ! उसित घडी थिएन । थाहा भएन । नचिनेको ठाउँ । नचिनेका मान्छे । ऊ कुच्रुक्क परेर बसिरह्यो
तिनताक बुटवलबाट विहान सात बजे एउटा र बाह्र बजेतिर अर्को बस सुनौली जान्थे भने उताबाट पनि त्यसै गरी आउँने भनिन्थ्यो । तर यात्रुले बस नभरिएसम्म त्यो बस नौ, दश बजेसम्म पनि हिँड्दैनथ्यो । आज पनि नौ बजेतिर बल्ल बसले गुड्ने प्रयास गर्यो । बस नहिँड्दासम्म त बिरेलाई घरमा बसेजस्तै लागेको थियो । तर जब बस हिँड्यो उसको आश्चर्यको सीमा रहेन । मेरी बास्सै ! यस्तो घर पनि हिँड्दोरहेछ ! यस्तो अनौठो चिज देखेको मात्र होइन, त्यसैमा बसेर हिँडिरहेको पनि छ ऊ । यस्तो कुरा उसले काले, भुण्टे, गोरे कसैलाई पनि भन्न पाएन । अझ त्यो रेल भन्ने कस्तो होला ? बिरे यस्तै कल्पनामा डुबिराख्यो । बस भने जोगिकुटीको जङ्गलनिर गएर घचक्क बस्यो । ड्राइभर उत्रेर भन्योः
“लौ, लौ, गाडी तातेर बन्द भयो यसमा अतिकति पानी हाल्छु । सबै उत्रेर घुचेट्नुपप्यो ।” यात्रुहरूले केही बेर घुचेटेपछि फेरि गाडीले घरर्र घर्, गरेर गति लियो । यात्रुहरू दौडेर आआफ्ना सिटमा बसे ।
द्वितीय विश्वयुद्धताक काम नलाग्ने भनेर पन्छाएको बसले बल्ल बल्ल मणिग्रामको जङ्गल काटेको मात्र थियो । फेरि बस्यो । कच्ची बाटो जङ्गलको बीच । तातेको बेलामा पानी नहाली नहुने पानी खोज्न कहाँ जाने ? कण्डक्टरलाई पनि हैरानै थियो । भर्खर बस देख्न पाएका यात्रीलाई भने घुचेट्न पाउँदा पनि रमाइलै लाग्थ्यो । कहिले घुचेट्ने कहिले चड्ने गरेर साँझ चारबजेतिर बस सुनौली पुग्यो । त्यहाँबाट रेक्सा लिएर विष्ट र बिरे नौतनवा पुगेर भट्टिमा बास बसे । अर्को दिन विहान पाँच बजेमात्र गोरखपुरलाई रेल जाने हुनाले नौतनवामा बास नबसी सुखै थिएन ।
तानसेनको साहुजीको कोठाभन्दा ठूलो बस चढेर सुनौली पुगेको बिरेले नौतनवामा कोठै कोठा भएको रेलमा बसेर दौडँता गाउँको दले लाहुरेले भनेको कुरा संझेर आफूलाई भाग्यमानी ठान्यो । अझ गोरखपुरमा त रेलका ताँती नै । बाफरे ! कत्रा हुन् रेल पनि ! बिरेका आँखा तानिएका तानियै भए ।
गोरपुरमा साँझ चढेको रेलले मुजफ्फरपुर हुँदै अर्को दिन विहान सुगौली पुर्यायो । त्यहाँबाट अर्को छोटी लाइनको रेल चढेर रक्सौल र त्यहाँबाट टाँगा चडेर साँझ वीरगञ्ज बास भयो ।
वीरगञ्जबाट एउटा बस दैनिक काठमाडौँ जाने गर्थ्यो । तर यो बस भने बुटवलको जस्तो थोत्रो नभएर नयाँ थियो । त्यो बस हेटौँडा, भैँसे हुँदै उकालो लाग्यो । बिरेलाई हरेक घटना नयाँ लागेका थिए । यस्तो भीरमा पनि बस गुडेको देखेर उसलाई अर्को आश्चर्य भएको थियो । सिंमभञ्ज्याङसम्म उक्लेर पालुङ्टार हुँदै नौबीसे खोलामा झरेको बस फेरि उकालो लागेर थानकोट आउँदासम्म झमक्क साँझ भएको थियो । काठमाडौँमा बिजुली बलेर झलमल्ल भएको देखियो ।
“ल बिरु, हामी आइपुग्यौँ । यही हो काठमाडौँ । झिलिमिली देखिस् ?”
“देखेँ साप्, कति रमाइलो हो कि साप् ?”
“साप् होइन, साहब भन्ने गर्नु है ।”
“हुन्छ, अब साहेब भन्छु ।”
बिरेले काठमाडौँ खाल्टोलाई बिस्फारित आँखाले चारैतिर हेर्यो । अनि मनमनै भन्यो-
“बाफरे ! काठमाडौँ कति ठूलो ! कति मान्छे बस्दा होलान् यहाँ ? मोटर पनि कति होलान् ?”
एउटा दुर्गम गाउँको मान्छे एकाएक काठमाडौँ आउँदा उसलाई कस्तो कस्तो लाग्यो । पाल्पाको दुर्गम गाउँ ढुकुरखोलामा बसेको बिरे तानसेनको बजार देख्दा त उसलाई त्यहाँको चहल–पहल र सुन्दरताले लठ्याइसकेको थियो । अझ काठमाडौँको झिलिमिलि देख्दा त स्वर्गमा पुगेजस्तै लाग्यो उसलाई । काठमाडौँ आएको अर्को दिन विष्टले भने –
“बिरु, यो के महिना हो थाहा छ तँलाई ?”
“यो माघ महिना होइन र साहेब ?”
“हो तँलाई थाहा रहेछ । स्कुल भर्ना हुने कहिले हो ? त्यो थाहा छ छैन नि ?”
“खै साहेब, त्यो भने थाहा छैन । यही फागुनतिर हो कि ?”
“भर्ना हुने त त्यस्तै होला तर खास पढाइ हुन भने चैत लाग्न खोज्छ होला !”
“त्यसो भए चैतबाट पढ्न पाइन्छ ।”
“तँलाई पढ्न खुब मन लागेको छ ?”
“हो नि साहेब, त्यसै भएर त काठमाडौँ आएको ।”
“तैँले पढेको छस् छैनस्, कति पढेको छस् ?”
“म स्कुलमा गएकै छैन । गोरे र भुण्टेसित क, ख र ए। वि। सि। डि। मात्र सिकेको छु ।”
“त्यसो भए स्कुलमा नजाँदासम्म घरमा पढेर तयारी गर्नुपर्छ ।”
“हुन्छ साहेब, मैले आजैदेखि पढ्न सुरु गर्छु ।”
विष्टले वीरेलाई “वीरे” भनेर होच्याएनन् । उनले “बिरु” भनेर सम्बोधन गरेपछि सबैले उसलाई “बिरु” भन्न थालेका थिए । त्यसै हुनाले “वीरेले” काठमाडौँ आएपछि “बिरु” मा चोला फेर्यो ।
काठमाडौँ आएको तेस्रो दिनमै विष्टजीका छोराले स्कुलमा पढाउने किताब किनेर ल्याइदिए ।
बिरुले स्कुलमा पढ्न नपाए पनि गोरे, भुण्टेहरूको संगतले गर्दा नेपाली र अंग्रेजीका सामा अक्षर र अङ्कहरूसम्म चिनेको थियो । उमेर पनि बढी भइसकेको, पढ्न रूचि लिएको र उत्साही केटो देखेर हेड मिसले उसलाई दुई कक्षामा भर्ना लिइन् । बिरुको लागि जिन्दगीमा आजजस्तो खुसीको दिन कहिल्यै आएको थिएन ।
सहसचिव विष्टले जसरी बिरुको सपना पूरा गर्न जग हालिदिएका थिए त्यसै गरी उसले पनि विष्टको सेवा गर्नमा कुनै कसूर बाँकी राखेन । ऊ विहान चारै बजे उठी उनीहरू उठ्नुभन्दा पहिले नै घरको सबै काम सकेर पढ्न लागेको हुन्थ्यो । विष्टजीका घरमा जम्मा चार जना थिए । उनी स्वयम्, उनकी श्रीमती शारदा, छोरा उमेश र छोरी रिता । विरुको मिहनत र लगन देखेर सानोतिनो कामको लागि विष्टका कुनै पनि सदस्यले पढ्न लागेको देखे भने उसलाई उठाउँदैनथे बरु आफ्नै काम गर्थे । यो कुरा बिरुले राम्रै बुझेको थियो । त्यसैले सकभर उनीहरूले काम गर्न नपर्ने गरी काम सकेको हुन्थ्यो । यसले गर्दा ऊ त्यस घरको अभिन्न सदस्य भयो ।
बिरु पढ्न लागेदेखि फेल भएन, बरू कक्षामा पहिला दोस्रा हुन्थ्यो र एस एल सीमा पनि राम्रै अङ्क ल्याएर पास गर्यो उसले । पास भएकोमा उसलाई खुसी लाग्नु त स्वाभाविकै हो । त्यसबाट विष्टजीका सबै सदस्यहरू पनि खुसी भए । यस कुराले त्यस घरका सदस्यप्रति बिरु यति आभारी भयो कि त्यो वर्णनातीत छ ।
(भाँच्चिएको लौरो उपन्यासको तेस्रो भाग हो यो । बाँकि भागहरुपनि क्रमश : राख्दै गईने छ-नेपालप्लस)




