मानव तस्करीमा महासंघका महारथी
काठमाडौं । सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर गरिएको मानव तस्करी र ठगीको विषयले अहिले बेल्जियम तातेको छ । सो अन्तर्राष्ट्रिय मेलामा नेपालको तर्फबाट आयोजक समितिकै बीच विवाद र आरोप प्रत्यारोप चलेको छ।
यस मेलामा सहभागी हुन पुगेका २६ जना नेपाली मेला सकिए लगत्तै सबै फर्किने बताएर त्यहाँको नेपाली आयोजक र यता नेपाल उद्योग बाणिज्य महासंघले भिसा लिएका मध्येका केही नेपालीहरू मेलामा नपुगीकनै बेल्जियमको विमानस्थलबाटै फरार भएको विषयमा समितिका सदस्यहरूबीच नै आरोप प्रत्यारोप भएको छ ।
अन्तर्राष्ट्रिय मेला आयोजक समितिकै केही सदस्यले मेलामा आउनेको भिसा सिफारिस गर्दा मोटो रकम लिएको आशंका गरिएको छ। मेलामा को को आए, कसरी आए, कति रकम तिरे भन्ने सबै जानकारी मेला आयोजकले सार्वजनिक नगरेकाले पनि मानव तस्करीको आशंका धेरै नेपालीले गरेका छन् । यो मेला आयोजना गर्दा एसेन्टाको मुख्य आयोजक टोलीले नेपाललाई यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर) दिएको थियो। नेपाल र बेल्जियमबीच दौत्य सम्बन्ध कायम भएको ५० औं वर्षगाँठ परेकाले पनि नेपालले यो अवसर पाएको थियो । नेपालतर्फका लागि संयोजन गर्न अर्जुनकुमार श्रेष्ठको संयोजनमा एक समिति गठन भएको थियो। त्यसमा सहसंयोजक हरिकुमार थपलिया, स्टल ब्यवस्थापन थिए । सदस्य सचिव शालिक गौतम र सदस्यमा गंगाधर गौतम, शिव कुमार बरुवाल, युवराज गुरुङ र जानकी गुरुङ र प्रचार प्रसार संयोजक ओम शर्मा थिए।
फ्लेन्डर्स मेलाका लागि पहिलो पटक सार्वजनिक गरिएको प्रेस विज्ञप्ति समेत त्यहाँको समितिमा छलफल नगरेर संयोजक अर्जुन श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीसँग मिलेर सार्वजनिक गरेको समितिकै एक सदस्यले जानकारी दिए। यताबाट एसेन्टाका लागि भिसा लिन नेपाल उद्योग बाणिज्य महासंघमा पनि को को र ककसलाई सिफारिस गरेर पठाउने भन्ने कुरोको निर्णय गर्न पनि समितिमा छलफल नगरी सदस्य सचिव शालिक गौतम र संयोजक अर्जुनकुमार श्रेष्ठको मिलोमतोमा भएको गोप्यताको रहस्य प्रचारप्रसार संयोजक ओम शर्माले नै खोलिदिएका छन्। एसेन्टा मेला आयोजना गर्दा बेल्जियमका अर्जुन श्रेष्ठ र शालिक गौतमले उताबाट आफू खुसी सुटुक्क सिफारिस गर्ने र यताबाट नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा मेलाका नेपाल संयोजक कुशकुमार जोशीले सदर गर्ने गरेका थिए। सो मेलामा पुग्ने ब्यापारी र अर्जुन श्रेष्ठ शालिक गौतम र कुशकुमार जोशीका मानिसहरूले भने ६६ लाख मात्रै तिरेको र बाँकी ब्यक्तिसित भने १८१८ लाख रुपैयाँसम्म असुलेको थाहा भएको छ। मेलामा सहभागी हुन पुगेकामध्ये केहीले १८ लाख रुपैयाँसम्म तिरेको गुनासो मेलामै गरेका थिए।
स्रोतका अनुसार, मेला आयोजना गर्ने नेपाली समिति बनाउँदा शुरुमा केही समय शालिक गौतम र संयोजक अर्जुन श्रेष्ठबीच विवाद भएको थियो । पछि शालिक गौतमले पनि सो मेलामा आफ्ना केही मानिस घुसाउने मौका पाउने भएपछि चुपचाप लागेका थिए । आफ्ना मान्छेसित स्टलमा लाग्ने खर्च, भिसा र विमान टिकटको मात्रै रकम लिने र बाँकी भगुवाहरूसित रु १८ लाखसम्म लिएर रकम बाँडचुँड गरेर लिएको आरोप छ । यसरी रकम लिएकाले नै एसेन्टा मेलामा को को आउने को हुन्, कति खर्च लिइएको हो र केका आधारमा सिफारिस गरिएको हो भन्ने समितिमा छलफल नगरेको आरोप आयोजकमाथि लागेको छ । मेलाका भएगरेका विषयका बारेमा अहिलेसम्म अर्जुन श्रेष्ठले वास्तविकता सार्वजनिक गरेका छैनन् र उनीसित जानकारी माग्दा उनले आलेटाले जवाफ दिने, सन्दर्भहीन ढाँटछलको हिसावले विज्ञप्ति निकाल्ने, गरेको अन्य सदस्यहरूले गुनासो गरेको समाचार छ । समाचार स्रोत भन्छ–उनको यही खराब नियतका कारण समितिका अन्य सदस्यहरू अहिले आगो भएका छन्। समितिकै प्रचार प्रसार संयोजक ओम शर्माले ‘आफूहरूले नेपाल र नेपालीको हित हेरेर शुद्ध भावनाले काम गरेपनि अन्तर्राष्ट्रिय मेलामा मानव बेचबिखन र आर्थिक चलखेल गरेर बदमासी गरेकाले नेपालको बेइज्जती भएको, नेपाल र नेपालीको शिर झुकेको र यसलाई बाहिर ल्याइदिने’ कुरा पनि सार्वजनिक गरेका छन्।
स्रोतका अनुसार, यो मेलाको आयोजकमा बसेकामध्ये बेल्जियमका धेरै संघ–संस्थालाई मेला सफल पार्ने समितिमा राखिएको थियो । तर, मेला आयोजना गर्दा र सकिएपछि पनि समितिका सदस्यहरूलाई यथार्थ जानकारी दिइएको छैन । मेलामा भाग लिनेहरूबाट आर्थिक लेनदेन भएको सार्वजनिक भएपछि आफ्नो नाम पनि बेकारमा मुछिएको भन्दै मेला आयोजक समितिका अन्य सदस्यहरू रुष्ट बनेका छन् । उनीहरूले संयोजक अर्जुन श्रेष्ठलाई मेलामा भएका सबै निर्णय र पत्राचार सार्वजनिक गर्न माग गरेका छन् । यो मेला आयोजना गर्न नेपाल सरकारले पनि ब्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रमार्फत् १२ लाख रुपैयाँ दिएको अर्थमन्त्री डा शंकर कोइरालाले बेल्जियमस्थित नेपाली राजदूतावासमा भएको भोजमा बताएका थिए।
त्यसैगरी हरेक स्टल दिएबापत ब्यापारीहरूसित रकम लिएका थिए। त्यो रकम कहाँ कसरी खर्च भयो भन्ने जानकारी पनि समितिका अन्य सदस्यलाई अहिलसम्म दिइएको छैन । यता नेपालबाट यो मेलामा नेपालीलाई पठाउँदा युरोप पुगेपछि जता, जुन देश लागे पनि हुन्छ, कागज र काम पाइन्छ भन्दै आश्वासन दिएकाले आफूहरूले रु १८ लाखसम्म तिरेको भन्दै केही नेपाली विमानस्थलबाटै फरार भएका थिए । सो मेलाका विषयमा मानव तस्करीकै शैलीमा ठूलो आर्थिक लेनदेन भएपनि नेपाल उद्योग बाणिज्य महासंघ र उताका मेला आयोजक नेपाली समितिले स्पष्ट तथ्य बाहिर ल्याउन नसक्दा अन्तर्राष्ट्रिय मेलाका नाममा नेपालको बेइज्जत भएको भन्दै नेपालीहरू रुष्ट भएका छन् । २६ जना सहभागी मध्ये हालसम्म १३ जना ब्यक्तिमात्र नेपाल फर्किएको र एफएनसीसीआईका निवर्तमान अध्यक्ष कुशकुमार जोशी स्वयम्ले ग्यारेन्टी बसेर भिसा लिएको र १८ लाख तिर्ने कथित ब्यापारीहरूसँग प्रतिब्यक्ति ३ लाख रकम कमिसन खाएको आरोपको बारेमा सत्यतथ्य सार्वजनिक नभएकाले नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्राष्ट्रिय मेलाका विषयमा बद्नाम हुनुका साथै विवादमा तानिएको छ ।
(यो समाचार साँघु साप्ताहिकबाट साभार गरिएको हो । साँघु साप्ताहिककै साईटमा गएर हेर्न यहाँ क्लिक गर्नुस्)
अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?
अर्थमन्त्रीलाई साक्षी राखेर दाजुभाईका झगडा छताछुल्ल
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
बेल्जियमका महामहिम परक्क बाउँठिँदा अन्तर्राष्ट्रिय मेलामा नेपालको बेईज्जत




