भाँचिएको लौरो (भाग दुई)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980हर्केले धर्ती त छोड्यो तर उसको शरीर थन्क्याउने सुन्तलीसित साधन थिएन । त्यसैले यस कामको लागि पनि उही साहुको शरण नपरी सुख थिएन । साहुले कति खर्च गरेर उसको लास थन्क्याउन लगाए कुन्नि ! सुन्तलीले त्यस बेला केही थाहा पाइन र थाहा पाउने हालतमा पनि थिइन ऊ । तर उसको खातामा ऋणको रूपमा भने उनिहरूले गरिखाने गरेको पाखो बारीले नधान्ने भएको रहेछ ।

तेरह दिनको काम सकेको दोस्रो दिनमै साहु सुन्तलीको घरमा आयो र घोप्ट्याएको डोको माथि बसेर मनको आसय खोल्यो उसलेः

“सुन्तली, हर्के गैहाल्यो । उसले दुःखै लुकायो भने पनि भयो । कति राम्रो हलुङ्गो मान्छे थियो । उसले मेरो हलो थामिदिएको थियो । मैले पनि चित्त बुझाएकै थिएँ । अब मेरो हलो पनि बस्यो । तिमीहरूको सहयोग पनि गयो । यसले तिमीहरूलाई दुःख लाग्ने नै भयो । मलाई पनि कम दुःख लागेको छैन । के गर्नु ? सधै दुःख मानेर पनि हुने रहेनछ । जाने गए पनि बाँच्नेले व्यवहार चलाउनै पप्यो । तेरो यो पाखोले खानपुग्ने पनि होइन । के झन्झट् गर्छेस् । यो पाखो बारी छोड्दे । त्यो भैसीको पाडी, भएका गाई, बाख्रा–कुखुरा मेरो थारोमा लगेर बाँधिदे । हुन त यसबाट मेरो लगानीको एक छेउँ पनि उठ्ने होइन । तै पनि के गर्ने र ? अब तँ र बिरे दुवै जना मेरो गोठमा गएर बस । तिमीहरूलाई पनि ढुक्क कहाँ जाउँ, के खाउँ, के लाउँ भन्नु परेन । मेरो पनि काम चल्ने कसो ? के भन्छेस् त ?”

“के भन्नु र हजूर ? रिन खाएपछि तिर्दिन भन्नु भएन । हजुर्ले जे भन्नुहुन्छ त्यही गर्छु ।”

अर्कै दिन सुन्तली र बिरे साहुको घरमा नोकर बस्न गए । उनीहरूको जायजेथा, हाँडो–भाँडो सबै साहुका हातमा गए । विहान झिस्मिसेदेखि साँझ आँखाले भ्याएसम्म आमा–छोरा साहुको काममा व्यस्त हुन थाले । घरको नगिचै स्कुल भएको हुनाले फाट्ट फुट्ट स्कुलमा जाने गरेको थियो बिरे । अब त पूरै विमुख हुने भयो । गोरे, भुन्टेजस्ता साथीबाट केही जान्ने सिक्ने मौकाबाट पनि पूरै वञ्चित भयो । समस्तमा भन्नुपर्दा बिरेको पढ्ने इच्छामा अर्को तगारो थपियो ।

साहुको घरमा सुन्तली र बिरे गएपछि पहिले काम गर्न राखेको मान्छेलाई साहुले बिदा गरिदिए । घरको बडार–कुडार, जुठो–चुलो, भाँडा माझ्ने, पानी बोक्नेदेखि गाई, भैँसी, बाख्राहरूको रेख–देख, घाँस–पात, चरन–परन आदि सबै काम यिनै आमा–छोराको जिम्मामा पप्यो । अनि त यिनीहरूका हाडछालाले रातको चार घडी मात्र आराम पाउँथे, त्यो पनि डर र त्रासमा । यिनीहरूले जतिसुकै हाडछाला घोटे पनि जस कहिल्यै पाएनन् । पेट भरी मीठो–मसिनो खाने कुरा त नसीबमै थिएन । रूखो–सुखो आधापेट खान पनि साहुनीबाट दुई चार कुरा नसुनी कहिल्यै खान परेन ।

भर्खर आठबाट नौ वर्षमा टेकेको बिरेले जबान मान्छेजस्तै भएर काम गरेको देख्दा वर–परका मान्छे पनि छक्क पर्थे । त्यति गर्दा पनि उसले साउनीको मुखबाट गालीको वर्षामात्र होइन थप्पड पनि पाउँथ्यो । गरिब भए पनि उनीहरूमा पनि आत्मा छ, उनीहरूलाई पनि खान मन लाग्छ भन्ने साहुनीले कहिल्यै सोचिन । उनीहरूले दाल तर्कारी, दूध, दहीसित मङ्ग बसाउने धानको सेतो भात खान्थे । बिरे र सुन्तलीलाई मकैको आटो, कोदाको रोटी, ढिडो त्यो पनि सिन्की र पानी थपेको महीसित दिन्थी ।

साहुले बाउको श्राद्ध गर्थे, त्यस बेला आधा आटो आधा सेतो भात पाएको थियो बिरेले । थालको छेउँमा अलिकति तर्कारी, केरौको दाल मुलाको अचार पनि बिरेले खान पायो । यसतो मीठो खान पाइनेरहेछ र पो मान्छेले भन्दा हुन् :

“सरात् खाए झैं खाइयो ” भनेर । ‘यो साहुकहाँ सधै सरात् परे पनि हुन्थ्यो नि ? हो कि आमै !’ भनेर बिरेले सुन्तलीसित खुसी जतायो ।

“उसको बाउ मरेको दिन भएर पो सरात् गरेको त सधै कहाँ सरात् गर्छ साहुले ।” सुन्तलीले भने पनि बिरेलाई भने सधै सरात् परेहुन्थ्यो जस्तो लागिरह्यो ।

फलामको मसिनलाई त आराम र इन्धनको आवश्यकता पर्दछ भने मानिसको शरीरले विना आराम र पेटभर खान पनि नपाउने भएपछि कति दिन धान्न सक्छ र ? सुन्तलीको शरीरले पनि ढील छोड्यो, ऊ थलिई । उसको टाउको फुट्लाजस्तो गरेर दुख्न थाल्यो भने शरीरमा आगो बलेजस्तै भयो । ऊ ढली । यस अवस्थामा औषधिमुलोको आवश्यकता हुन्थ्यो तर उसले त काम गर्न अल्छी लागेर ठगेको आरोप साहुनीले लगाई औषधि–मुलोको त कुरै भएन । दुई दिनको ज्वरोले उसले पनि दुःख लुकाई । बाबु मरेपछि अर्ध टुहुरो भएको बिरे अब भने पूरै टुहुरो भयो ।
आमासित दिन–खान सक्ने क्षमता नभए पनि सहानुभूतिका दुई शब्द त बोल्थी, ममताको आँचलमा बेरेर उसको टाउको त मसार्दिन्थी । बिरेले त्यो पनि गुमायो । त्यो कलिलो उमेरमा बाबु–आमा दुबै गुमाउनु, साहु, साउनीको त्यो टोकसो सहनु योभन्दा ठूलो बज्रपात मान्छेको जीवनमा के पर्दो होला र ? कठै ! बिरेले कसरी सहेको होला ?

आमा मरेको तेरह दिन पनि बिरेले एकान्तमा बसेर रुन पाएन । आमा मरेको भोलिपल्टैदेखि उसको थाप्लोमा आमाको भागको काम पनि आइपप्यो । भर्खर दश पुगेर एघारमा टेकेको केटाले झन् कति गर्न सक्थ्यो र ? तै पनि सकेसम्म गाडा तान्दैरह्यो उसले । यही साहुको सेवा गर्दा गर्दै बाबुले छोडेर गए, आमाले एक गोली औषधि पनि खान नपाएर उल्टै गाली र धम्की खाएर मरी । भएको जायजेथा पनि हडपिसक्यो । अब कसका लागि साहुको यो गाडा निरन्तर चलाइरहने बिरेले ? त्यसैले अब ऊ त्यहाँबाट लुसुक्क भाग्ने सुरमा थियो । किन कि उसलाई बाबु र आमा दुवैले बाटो छोडिदिइसकेका थिए । साहुको बुहार्तन गरेर यहीँ बसिरहनुपर्ने बाध्यता थिएन । बिरे एक दिन उज्यालो नहुँदै झिसमिसेमै जिल्ला सदरमुकाम तानसेनको बाटो लाग्यो ।

कहिले सदरमुकाम नगएको सानो केटो, त्यो पनि खालिपेट, तै पनि हिम्मत हारेन उसले । बल्ल–तल्ल दुई दिन लाएर ढुकुरखोलाबाट तानसेन पुग्यो । त्यहाँ पनि उसलाई सजिलो थिएन । वर–पर, साथी–भाइ, इष्टमित्र सबै चिने–जानेको सानो गाउँमा बसेको बिरे तानसेन सहरमा पुग्दा कुहिराभित्रको कागजस्तै भयो । कहाँ जाने ?, के गर्ने ?, कसलाई भन्ने ? जता हे्यो उतै नचिनेका मान्छेको मात्र भेल ! ऊ सीत्तलपाटीमा गयो । यहाँ झन् धेरै मान्छे । दर्बार भित्र पस्ने ढोका देख्यो । आम्मामै कति ठूलो ढोका ? उसले चार, पाँच फिटे ढोका मात्र देखेको थियो तानसेन दरबारको ढोका देख्दा उसलाई अचम्मै लाग्यो । केही मान्छे त्यहीबाट भित्र गएका थिए ऊ पनि गयो । आम्मै कति ठूलो घर ! यसको छेउटुप्पो कता होला ? बन्दुक बोकेको मान्छे ढोकामा उँभिएको देखेर उसको सातो जालाजस्तो भयो । भगवतीस्थानतिर जानलागेका मान्छेको पछि लागेर बाहिर आयो । अब त ज्यान जोगिएजस्तो भयो उसलाई ।

भगवतीस्थानबाट फेरि शीतलपाटी आयो । त्यहाँबाट आरालो लागेर (असनटोल) नारायणस्थान पुग्यो । आम्मामै नि ! रूखभरी के फलेको होला ? उसले नगिचैको मान्छेलाई सोध्यो-
“चमेरा हो” भनेर त्यो मान्छे आफ्नो बाटो लाग्यो । चमेराको नाम उसले पहिले पनि सुनेको थियो तर देखेको थिएन । आम्मै चमेरा त यस्तरी पो फल्दोरहेछ, भन्ने बुझेर ऊ अगाडि बड्यो । तेर्सो गल्ली हुँदै ऊ टुँडिखेल पुग्यो । रङ्गी–चङ्गी, सामानले भरिएको यति ठूलो बजारबाट टुँडिखेल पुग्दा हलुङ्गो भयो । यति ठूलो चौर ! सहरमा सबै चिज ठूलै हुन्छन् कि क्याहो ? उसलाई ठम्याउन गाह्रो पप्यो ।

धेरै बेर त्यसै टोलाएर बसिरह्यो । हिजोदेखि पेटमा खास केही परेको छैन । बाटोमा एकजना ढाक्रेले एक मुठी मकै दिएको थियो हिजो । आज त त्यही पनि पेटमा परेको छैन । त्यसै बसेर पो के गर्ने ? हिम्मत झिक्यो उसले । पहिलो काम त खानकै जरूरी थियो । धेरै होटल र साहुका घर चाहा्र्‍यो । अघाएका मान्छेलाई त्यस बालकको भोकको अनुभव भएन । कसैले एक मुठी केही दिएन । अन्त्यमा एउटा होटलमा गएर अनुनय ग्यो ।

“के काम गर्नसक्छस् ?”
“जे पनि गर्नसक्छु साहुजी ।”
“ल, भाँडा पनि माझ्नुपर्छ आइज भित्र ।” भनेर साहुले बोलायो ।
बिरेले त्यहाँ पेटभर खान त पायो तर उसको पढ्ने चाहना भने त्यहाँबाट पनि पूरा भएन । त्यो ठाउँ छोडेर पनि कहाँ जाने ? आखिर खान त पर्छ नै । कमसेकम यहाँ खान र बस्न पाएको छ । गाउँको साहुको जस्तो गाली र पिटाइ खान त परेको छैन । यही सम्झेर बिरेले त्यहीँ काम गर्दै रह्यो ।

बिरेको उद्देश्य पढ्ने थियो, त्यो त्यहाँ पूरा भएन । दले लाहुरेले तानसेनपछि बटौली झरिन्छ भनेको उसले बिर्सेको थिएन । साथै तानसेनको साहुले तलब भनेर तीस रुपियाँ पनि दिएको थियो । त्यही पैसा लिएर बिरे बर्तुङतिर लाग्यो । बर्तुङमा उसले बटौली जाने तीन, चार जना ढाक्रे भेटायो । ऊ तिनैसित प्रभास, नयाँपाटी हुँदै मसेमको उकालो लाग्यो । पहाडमा हिड्ने ढाक्रेसित तुम्लेट हुँदैन । खोला–खोल्सामा भेटेको पानी खाँदै हिँड्ने हो । उकालोमा एउटा खोल्सामा पानी त भेटियो तर कसरी खाने ? एउटा ढाक्रेले बिरेलाई भन्यो-

“ओ बिरे भाइ, पानी खाने एउटा धारो बनाउन हो !” बिरेले नजिकैको जलुकाको पात टिपेर धारो बनायो । सबैले टन्न पानी खाएर मसेमतिर लागे । त्यहाँ पुग्दा घाम डुब्न लागेका थिए । मसेम दुइवटा बाटो मिसिने ठाउँ हो । खस्यौली जोर्तेबाट आउने र तानसेनतिरबाट जाने त्यहीँ भेटिन्छन् । बुटवलतिरबाट आउनेको पनि त्यहाँ बास बस्ने बेला हुन्छ । यहाँबाट तानसेन, खस्यौली (कन्टीपोखरा– लगुवा हुँदै रिडी जाने बाटो) र बुटवल बराबरैजस्तो हुन्छ । त्यसैले साँझको बेलामा ढाक्रेलाई भट्टीमा बास पाउन गाह्रो पथ्र्यो । अझ लाहुरे पाएसम्म त ढाक्रेको के कुरा साहु–महाजनले पनि बास पाउन्नथे । बिरेको टोली सिस्ने खोलामा गएर बास बस्यो र अर्को दिन दोभान झरेर दिउँसो बटौली पुग्यो ।

त्यस बेला खस्यौली बजार अहिलेजस्तो रमझम थिएन । पन्ध्र÷बीस वटा भट्टी पसल थिए । पारी पट्टि बटौलीमा मात्र दुकानहरू थिए । (त्यसैबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी आदि ठाउँको लागि चाहिने नुन, तेल, साबुन, तमाखु, लत्ता–कपडा आदि सबै सामान मानिस र खच्चरबाट ढुवानी गरिन्थ्यो ।)

अर्को दिन ढाक्रेहरू आ–आफ्नो भारी हालेर फर्के । बिरे के गरोस् ? भोक पनि लाग्यो होटेलमा गएर एक मोहरको चिउरा र चना खायो । उसको भाग्यले तानेको हो कि के हो ? काठमाडौँबाट जिल्ला निरीक्षणमा आएका सहसचिव विष्ट त्यसै होटलमा चिया खान आएका थिए । केही छिनको बसाइमा उनका आँखा बिरेमा परे । उनको घरमा काम गर्ने मान्छे थिएन । यो ठिटो जान्थ्यो कि भनेर बिरेलाई नजिक बोलाएर सोधे –

“तेरो नाम के हो बाबु ?”
“ बिरे ”
“तेरो घर कहाँ हो ?”
“ढुकुरखोला ”
“कहाँ पर्छ ढुकुरखोला ?”
“तानसेनबाट डेड दिन लाग्छ ।”
“घरमा को को छन् त ?”
“बा आमा थे मरे, कोही छैन ।”
“यहाँ कसरी आइस्त ?”
“साहुकहाँ काम गरेर बसेको थिएँ, भागेर तानसेन आएँ त्यहाँ पढ्न पाइन । अनि हिजो यहाँ आएको”

“तँलाई पढ्न मन लाग्छ ?”
“किन नलाग्ने ? पढ्न पाइन्छ कि भनेर त म गाउँबाट आएको तर तानसेनमा भाँडा माज्दा र टेविल पुच्दा फुर्सतै भएन । अनि लाहुर गए पढ्न पाइन्छ कि भनेर यहाँ आएको ।
“धत् लाटा, लाहुर पनि पढ्न जाने हो र ? त्यहाँ त पढेर ठूलो भएपछि पैसा कमाउन पो जाने हो ।”

वीरेको कुराले विष्टको हृदय छोयो । उनी शिक्षालाई सरस्वती, मातापिता र गुरुलाई द्यौता मान्ने संस्कारमा हुर्केका मान्छे । उनलाई केटाको पढ्ने चाहना र उत्साह देखेर दया पनि लाग्यो । उनले भने-

“मसित काठमाडौँ जान्छस् ? साँझ विहान मलाई सगाउलास् दिउँसो स्कुलमा गएर पढ्लास् ।
जान्छस् त काठमाडौँ ?”

“हुन्छ । पढ्न पाइने भए जहाँ पनि जान्छु तर त्यहाँ गएर पनि पढ्न पाइन्न कि ?”
“पढ्न पाइन्छ । साँझ विहान मलाई सगाउलास् । दिउँसो स्कुलमा भर्ना भएर पढ्ने । त्यसो गरे हुन्न ?”

“हुन्छ, दिउँसो पढ्न पाइने भए साँझ विहानको काम त गरिहाल्छु नि । ”
“ल, त्यसो भए भोली सात बजे पारी चोकमा आउनु सँगै जाउँला ।” उनले भने ।
“मेरो बस्ने ठाउँ छैन । चोक पनि देखेको छैन ।”
“अहिले नै जान्छस्त मसँग ?”
“जान्छु ।” भनेर वीरे पछि लाग्यो ।
त्यस बेलासम्म पूर्वपश्चिम राजमार्ग चलेको थिएन । नौतनवा, गोरखपुर, मुजफ्फरपुर, सुगौली, रक्सौल हुँदै वीरगञ्ज भएर काठमाडौं आउनुपर्थ्यो ।

(यो ‘भाँचिएको लौरो’ उपन्यासको दोस्रो भाग हो । बाँकि भाग हप्तै पिच्छे क्रमश प्रकाशित हुँदै जानेछ ।)

 

तपाइँको प्रतिक्रिया