नेपालका सबै गोही चिन्ने फ्रान्सेली सहयोगी

gharial

उनको नाम धेरैले चिन्दैनन् । एकाध नेपाली होलान् उनलाई चिन्ने । तर नेपालका लागि उनले यति धेरै सहयोग गरेका छन् भन्ने सुन्दापनि धेरैलाई विश्वास गर्न गाह्रो पर्छ । एन्टोन काडि कति पटक नेपाल गए । उनैलाई सम्झना छैन । तर नेपालका सबै नदीमा पाइने घडियाल गोही भने उनी चिन्दछन् । किनकि तिनको वासस्थानमै गएर उनले पटक पटक हेरेका छन् । गन्ति गरेका छन् । तिनको भविष्यकालागि सोचेका छन् । तिनलाई संरक्षण गर्ने योजना बनाउन तिनको गाह्रो साह्रो, जोखिम र संकटका मूलहरु खोजेका छन् । काठको डुंगामा एक्लै नेपालका सबै जसो नदी छिचोलेका छन् । भन्छन् ‘गोही पाइने, पाइने संभावना भएका मात्रै होइन मैले हिमालबाट तराई झरेका सबै नदी एक्लै घुमेको छु ।”

तर अचम्म फ्रान्सेलीहरु हिमालका किरा मानिएपनि उनले नेपालका हिमालसित नजिक बसेर सामिप्य साट्न पाएका छैनन् । फ्रान्सेलीहरु नेपाल भन्नासाथ हिमाल र शेर्पा बुझ्छन् । नेपाल घुम्नु भनेकै हिमाली पदयात्रा गर्नु हो, तिनकालागि । तर काडीको ठ्याक्कै उल्टो छ । उनले कम्तिमा दुई दर्जन पटक नेपालको यात्रा गर्दा सधैं तराईतिरै भए । बरु तराईका धेरै गैंडा र बाघले उनलाई चिन्न थालिसकेहोलान् । तर आठ हजार मिटर अग्ला हिमालले काडीलाई नजिकबाट नियाल्नपनि पाएका छैनन् ।

गत साल मैले लियों शहरमा नेपाली चराबारे एउटा कार्यक्रममा प्रबचन दिँदा काडी ब्यस्त भएर सहभागि हुन पाएनन् । त्यहि बेला उनले कार्यक्रम आयोजक संस्थालाई फोन र मेल दिएरमलाई सम्पर्क गर्न भनेका थिए । तर एक वर्षसम्म न उनले सम्पर्क गरे । न मैलेनै । अहिले फेरि उनै काडीले सम्झेछन् । दुबैलाई भेट्ने समय हिजो जुर्यो ।

बडो संयोगले पुगेका हुन् काडी नेपाल । उनका एक जना साथी चितवन गएका थिए घडियाल गोहीको अध्ययन गर्न । उनले भ्याएनन् । तर नेपालका घडियाल गोही लोप हुँदै गएकोमा चिन्ता रहेछ उनलाई । संरक्षणका केहि योजनामा सहयोग गरेर जोगाउन मन लागेको थियो । आफूले नभ्याउने भएपछि कुनै जाँगरिलो, विश्वाशिलो र ज्ञानपनि भएको साथीको खोजिमा थिए । त्यसपछि काडीलाई बिमानको टिकट किनेर गोजीमा हालिदिँदै भनेछन् ‘काडी नेपाल जाउ । घडियाल गोहीको बेहाल छ । हेर, बुझ, वास्तबिक समस्या के हो र कसरि तिनलाई जोगाउन, तिनको संख्या बढाउन सकिन्छ बुझेर आ उ ।’ काडी नेपाल गए । डा तिर्थमान मास्केलाई भेटे । त्यो बेला मास्के थिए, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक ।

काडीलाई त्यो बेला घडियाल गोहीको जति संख्या भनिएको थियो, त्यसैमा बिश्वास लागेन । उनले नेपालका खोलाहरु चहारे । गोहीले फुल पार्ने बेला पाखामा आउने भएकोले त्यो सबै नियाले । गोही पाइने भनिएका सबै नदी गए डुंगामा । एक्लै । र निकै वर्षको अनुसन्धानबाट नेपालमा जम्मा ५० वटा गोही भएको निचोड निस्कियो । जबकि त्यो बेला ४५० भन्दा बढि छन् गोही भनिन्थ्यो । विश्वभरिमै जम्मा १२०० वटा मात्रै गोही बाँकि रहेको पत्तो लाग्यो । नेपालमा जम्मा ५० वटा गोही थिए । तर त्यसलाई आइ यु सिएनको रातो सूचीमा भने दूर्लभ भन्दै राखिएको थियो । उनलाई चित्त बुझेन । र उनले विश्व वन्यजन्तु कोष लगायत नेपालको आधिकारिक निकाय सबैसित तर्क र अनुसन्धान पेश गरेर क्रिटिकली एन्डेन्जर्ड (चिन्ताजनक अवस्था) सूचीमा राखे ।

त्यसपछि तिनको संख्या बढाउन चितवनको कसरा स्थित घडियाल प्रजनन् केन्द्रमा कर्मचारी थप्न लगाए । नेपालका पश्चिम तर्फका नदीमापनि गोहीको संख्या बढाउनुपर्छ भनेर बर्दियामा गोही प्रजनन् केन्द्र खोल्न लगाउने उनै रहेछन् । त्यो सबै कामको लागि उनले फ्रान्सको विश्व बन्यजन्तु कोषबाट दुई लाख ५० हजार युरो (३५ करोड रुपियाँ) सहयोग लिएर पठाए । घडियाल गोहीको निगरानी गर्न सिकाए । केहि प्राविधिक उपकरण दिए । घडियाल गोहीको संख्या यति थोरै भएको तर्क राख्दा भारतीयहरुसित उनको गलफत्तीपनि पर्यो । उनको अनुमानमा कि त बन्यजन्तु संरक्ष्णको लागि धेरै पैसो खर्च गरेकाले सफल भएको देखाउन यसरि ढाँटिएको हो । कि त कसैलेपनि राम्रोसित अध्ययन नगरि हचुवाको भरमा घडियाल गोहीको संख्या धेरै भन्ने गरिएको हो ।

नेपालमा गैंडा स्थानान्तरण । बाघ स्थानान्तरण र पक्राउ । घडियाल गोहीलाई नदीमा छोड । यस्ता धेरै काममा उनी आफैं सरिक भएका छन् काडी । एक्लै जंगल हिँड्न, जनावर खोज्दै अनकन्टार जंगल छिर्न उनलाई खुब स्वाद लाग्छ । चितवनमा जनावरको आक्रमणबाट दर्जन भन्दा धेरै पटक बाल बाल बाँचेको उनी रोमान्चक पाराले सुनाउँछन् । पेरिसको सिते युनिभर्सिटी छेउमा रहेको पार्क भित्र भर्खरै लिएको कार्यालय मा उनी यति बेला वातावरणिय संरक्षणका योजना बनाउन ब्यस्त छन् । किनकि उनी इल द फँस भनिने (हाम्रो बागमती अञ्चल भने जस्तो सायद) क्षेत्रकै दिर्खकालिन विकासको ढाँचा र निति बनाउने क्षेत्रका निर्देशकपनि हुन् । त्यसबाहेक आफ्नो इच्क्षाले थुप्रै ठाउँमा वातावरणिय निति बनाउन सुझाव दिन्छन् । सहयोग खोजिदिन्छन् । चरा संवन्धि निकै काम गर्छन् । उनी दक्ष चराबिज्ञपनि हुन् । त्यहि कार्यालयको मलाई उनले त्यहि मर्मत हुँदै गरेको कार्यालय भित्रको झ्याल खोलेर बाहिर चिर्बिराइरहेका चराको आवाजा सुनाउँदै भन्दै थिए ‘यो त के हो र? नेपाल जस्तो स्वर्ग कुन होला विश्वमै ? जिवजन्तु, प्रक्रितिको वास्तबिक आनन्द लिन पाइने ?’

हाती, गैंडा, बाघ र चर्चामा आ उने जिव जन्तु भनेपछि सिंगो देशको संरक्षण निति एकोहोरिन्छ । साना तर महत्वपूर्ण । संकटमा पर्न लागेका तर चर्चाहिन जिवजन्तुमा कसलाई चासो लाग्ने ? घडियाल गोहीको अवस्था त्यस्तै हुन लागेको थियो । ‘कसैलाई चासो नलाग्ने भएकोलेनै मैले सक्रियता देखाएको होँ’ काडीले सुनाए ‘नत्र फ्रान्समा नेपालका घडियाल गोही जोगाउन भनेर कसले पो चासो दिन्थ्यो होला र ?’

नेपालमा मात्रै होइन । काडीले अफ्रिकी मुलुक सेनेगलमापनि वातावरणिय संरक्षणका निकै काम गरिदिएका छन् । पछिल्लो पटक उनले करिब बाईस सय बिध्यार्थीका लागि तालिम केन्द्र बनाएका छन् । त्यहाँ कसरि वातावरणलाई आदर गरेरै विकास गर्न सकिन्छ । विकासको काम गर्दा प्राक्रितिक सम्पत्तीलाइ कसरि न्युन क्षतीको अक्किल निकाल्ने । साना वालवालिकाहरुलाई कसरि यस्ता विषयमा ज्ञान दिने ? हो यसैकालागि उनले तालिम केन्द्र बनाएका हुन् । ति १२ सय बिध्यार्थी त्यहाँ आएर केहि न केहि सिकेर जान्छन् । देश बनाउनकालागि, समाजलाई बदल्न वालवालिकालाई सिकाउनु जरुरि देख्छन् उनी । नेपालमा त्यति धेरै प्राक्रितिक सम्पदा भएरपनि नेपालका पत्रपत्रीकामा तिनले कमै स्थान पाएको ठान्दा रहेछन् । प्राक्रितिका बारेमा नेपाली भाषामा पुस्तकहरु पनि नलेखिएको उनले राम्रै मेसो पाएका रहेछन् ।

गफ्फिँदै जाँदा काडी जंगलमा रात बिताएका । डुंगाबाट खसेका । हात्तीले लघारेको । गैँडाले हान्न आएको । अनेक घटना “ए ए एक पटक क्या’ भन्दै सुनाउँथे । एक पटक अजंगको गैंडा पाँच मिटर अगाडि उभिएछ बच्चा सहित । गैंडा ठिङ्ग उभियो । काडीपनि उभिए । भागे गैंडाले उभिनिहाल्छ । लुक्ने केहि ठाउँ छैन । नजिकै फुत्त चढिहाल्न रुख छैन । परेन त फसाद  ? भागवान पुकार्दै मुटु हल्लिएको थियो उनको । तर उनलाई परिस्थितिले साथ दियो । क्यामराको रिल सक्किएछ । क्यामरा कुइँकुइँ करायो । जंगलमा कहिल्यै नसुनेको त्यो अनौठो आवाज सुन्दा गैंडालाई लाग्यो ‘योसित त केहि खतरा चिज रच क्यारे, बित्यासै पार्छ कि क्याहो ।’ गैंडा कुलेलम ठोक्यो । काडी तिन बित्ता दिल च्यातेर हाँसे, रमाए ।

 

तपाइँको प्रतिक्रिया