अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गर्नसक्दा भारतले नेपालमा किन सक्दैन?’
फौजी हस्तक्षेपको रणनीति
● प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिपछि काठमाडौंका दलाई लामाका अनुयायीहरु सल्बलाउन थालेका थिए । देउवाको भारत भ्रमणपछि नेपाल र भारतका सेनाहरुले नेपालको तराईमा संयुक्त अभ्यास गर्ने, संयुक्त अपरेसन चलाउने समझदारी बनेको चर्चा भइरहेको थियो । भारतले नेपाललाई ठूलो सैन्य सामाग्री माओवादे नियन्त्रणका नाममा शाही सेनालाई आपूर्ती गरेको थियो । अशोक मेहता, सुकदेव मूनी (S D Muni) जस्ता भारतीय सत्तानिकट विश्लेषकहरुले ‘अमेरिकाले तेलकालागि अफ्गानिस्तानमा आक्रमण गर्नसक्छ भने भारतले आफ्नो सुरक्षाकालागि पाकिस्तान र नेपालमा आक्रमणगर्न किन सक्दैन?’ भनिरहेका थिए । भारतले नेपालको तराई मुलत: मध्यतराईमा व्यापक लगानी गर्ने प्रस्ताव राखेको थियो । उ बर्दीबाससम्म रेलमार्ग बनाउन चाहिरहेको थियो । नेपालमा पूर्व-पश्चिम, राजधानी र चीनसँग रेलमार्गको आवश्यकता छ ।
तर उ भारतदेखि काठमाडौं ताक्दै थियो । भारत परस्त गोईत समूहले मधेसको स्वतन्त्रताका नाममा मधेसी एकता भाँड्दै थिए । उपेन्द्र यादव रहस्यमयढंगले मात्रिकासँगै दिल्लीमा गिरफ्तार भएर तत्काल रिहा गरिएका थिए । भारतपरस्त तथा शंकास्पद हर्कत देखाउँदै आएका उनी गिरफ्तारीपछि माओवादीपार्टीको चर्को बिरोध गर्न थालेका थिए । जयप्रकाश जस्ता ‘रअ‘ का प्रतिनिधि मानिने भ्रष्टहरु कांग्रेस छाडेर उपेन्द्रसँग मोर्चाबन्दी गर्दै थिए। मधेसका भारत परस्त सामान्तहरुको पार्ती सद्भावनाका नेताहरु बिहारमै गएर बिहारी नेताहरुसँग नेपालका मधेसीहरुका हकहितको लागि भारतले सहयोग गर्दिनुपर्ने माग गरेर नेपालको आत्मसम्मान लुटाइरहेका थिए ।
● २०६१ मंसिरमा जनमोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा एमालेकानेता प्रदीप ज्ञवालीले सुकदेव मुनी र अशोक मेहताले ‘ अमेरिकाले तेलका लागि ईराकमा हमला गर्न मिल्छ भने जलश्रोतकालागि भारतले नेपालमा हमला गर्न किन मिल्दैन ?’ भनेको रहस्य उद्घाटन गरे । भारतका सैन्य विश्लेषक सुकदेव मुनीले ‘नेपालको द्वन्द समाधानमा भारतीय सैन्य हस्तक्षेपबाहेक अरु कुनै बिकल्प बाँकि रहेको छैन‘ भनेका थिए । त्यसैको सेरो फेरोमा भारतीत बिदेशमन्त्री नटवरसिंह नेपालको भ्रमणमा आउँदा माधव नेपाल सँगको भेटमा ‘माओवादीलाई तपाईहरु डिल गर्न नसक्ने भए हामी सेना पठाउँछौं‘ भनेको कुरा सार्वजनिक भयो ।
● भारतीय रक्षा मन्त्रालयद्वारा २०६१ कात्तीक २० मा सार्वजनिक गरिएक्गरिएको वार्षिक प्रतिबेदनमा समेत
नेपालका माओवादीहरु भारतको आन्तरिक सुरक्षाकालागि खतरा भएको बताइयो । उक्त प्रतिबेदनमा, भारतका पिपुल्स वार र एम सीसी १४८ वटा जिल्लामा नेपाली माओवादीसँग मिलेर सक्रिय रहेको चर्चा गरिएको थियो । सो चेतावनीपूर्ण प्रतिबेदन सार्वजनिक भएको लगत्तै गिरिजा प्रसाद कोइराला, सूर्यबहादुर थापा, माधवकुमार नेपाल र पशुपतीशमशेर जबरा भारतको भ्रमणमा निस्के र उताबाट फर्केलगत्तै नेपालको द्वन्द समाधानमा भारतीय पक्षको संलग्नताको वकालत गर्न थालेका थिए । नेपालको द्वन्द समाधानमा छिमेकी चीन र माओवादीले प्रस्ताब गरेको सापेक्षिक स्वतन्त्र संस्थाको नामै नलिइ केवल भारतको वकालत गर्नुका पछाडी ति दलहरुमा भारतीय दबाब परेको सहजै बुझ्न सकिन्थ्यो । २०६१ भदौ २ देखि १३ गतेसम्म नुवाकोटका स्थापित जननेता भरत ढुंगानाको हत्याको बिरोध भएको संघर्षका क्रममा कठमाडौंसमेत माओवादीको प्रभावमा गएको र माओवादीले काठमाडौं कब्जा गरेमा भारतले हवाई सेना पठाउने नेपालका सुरक्षा निकायसँग सहमती भ इसकेको सार्वजनिक गरे । त्यसैबेला शाही सेनामाथि आफ्नो नेत्रित्व र नियन्त्रण को समझदारी बनिसकेको भन्ने भारतीय वायु सेना अध्यक्ष एस क्रिष्ण स्वामीबाट सार्वजनिक हुनु र नेपालको रक्षा मन्त्रालयले मौन समर्थन गर्नुले स्थितिको गम्भिरतालाई उदांगो पारिरहेको थियो ।
भारतले नेपालमाथि नियन्त्रण गर्न निम्न हर्कतलाई तिब्र पारेको थियो :
● जनयुद्द दमन गर्न नेपाल सरकार असफल भएको र माओवादीका कारण भारतको आन्तरिक सुरक्षा कमजोर भएको भन्ने प्रचारयुद्द चलाउनु ।
● जनयुद्दको गतिबिधिको घनत्व क्षेत्र र हस्तक्षेपकारी भूमिका देखाउनु ।
● नेकपा (माओवादे) प्रति आक्रामक र हस्तक्षेपकारी भूमिका देखाउनु ।
● संयुक्त राष्ट्र संघको मध्यस्थता रोक्न खुला हस्तक्षेप गर्नु ।
● शाही सेना र भारतीय सेनाका बिचमा संयुक्त सैन्य कारवाहीको सहमती गर्नु ।
● तराईका विशेषत: पूर्वी र मध्य तराईलाई प्रभाव क्षेत्रभित्र पार्न आर्थिक, राजनितिक र सांस्क्रितिक हस्तक्षेप, घुसपैठ र लगानी बढाउनु ।
●मधेशको राजनिति र जनयुद्दको सुक्ष्म, प्राविधिक, सांगठनिक र भौगोलिक विषयमा गुप्तचरी गर्न व्यापक संजाल तयार गर्नु ।
● सिमा क्षेत्रमा पूर्वी पाकिस्तानकै ढाँचामा सीमा सुरक्षा बल एकतर्फी परिचालन गर्नु ।
● नेपाली स्वतन्त्र संचार जगतमाथि आक्रमण र दलाल सञ्चार सञ्जाल तयार गर्न व्यापक लगानी गर्नु, प्रभाव, विस्तार र नियन्त्रण गर्नु ।
● राजधानी काठमाडौं समेत असुरक्षित देखाएर आफ्नो उपस्थितिको अनिवार्यता पुष्टी गर्न खोज्नु ।
● भारतीय र भारतीय मूलका नेपाली उद्दोगपती र व्यापारीहरुको सुरक्षा नभएको आरोप लगाउनु ।
● नेपालको आर्थिक आधार र पूर्वाधारमाथि हमला गर्नु ।
● पराश्रित भावनाको व्यापक प्रचार गर्नु, सांस्क्रितिक हमलालाई तीब्र पार्नु ।
● सन् १९५० को सन्धी अनुसार नेपालको अनुमतिबिना नै भारतीय सेना नेपालमा परिचालन गर्न सकिने प्रचारलाई तीब्र पार्नु आदि ।
● २०६२ मा सात दल र माओवादीकाबिचमा सम्पन्न १२ बुँदे सहमतीको अधारभूमि नै भारतीय बिस्तारवादका बिरुद्द सुरुङयुद्द गर्ने औपचारिक घोषणा थियो । अब क्रियात्मकरुपमा त्यसको सामाना गर्ने चुनौती थियो । राष्ट्रिय मुक्ति आन्दोलनको बाटोबाट नगुज्रीकन नेपाली क्रान्ति संभव छैन भन्ने कुरामा पार्टीपङ्क्तिमा भ्रम थिएन । त्यस्तो अवस्थामा दरबारसहित सबै शक्तिसँग संबाद गर्नु जरुरी थियो । हाम्रो पार्टीले दरबारसँगको सम्पर्क सूत्र मार्फत ‘भारतले नेपालमाथि हस्तक्षेप गरेमा दरबारको भूमिका के हुन्छ ?’ भन्दा ज्ञानेन्द्रले ‘म पहल लिन्छु‘ भन्यो भन्ने खबर हामीले पाएका थियौं । ज्ञानेन्द्रसँग भारतका बिरुद्द लड्न माओवादीसँग मोर्चाबन्दि गर्ने संभावना थिएन । दरबारले परम्परागत सामान्तबादको समेत नेत्रित्व गर्दैनथ्यो । दरबार साम्राज्यवादको पिछलग्गु बनिसकेको थियो । दरबारको त्यो कथित पहलकदमी अमेरिका, भारतको अप्रत्यक्ष र चीन तथा पाकिस्तानको प्रत्यक्ष समर्थनमा माघ १९ को ‘कु‘ को रुपमा अभिब्यक्त भयो । माघ १९ कोकदमले आफ्ना संसदिय दलमार्फत नेपालमा फौज पठाउने भारतीय विस्तारवादी नियत एक हदसम्म असफल भयो । चीन मौन बसेर समर्थन गर्न पुग्यो । तर भारत नाटोको भुस्याहा कुकुरझैं भुक्यो मात्र ।
● अमेरिका दरबारले माओवादी दमन गर्छ भन्नेमा ढुक्क थियो । भारत दरबारले माओवादी दमन गर्छ भने ठिकै छ, हेरौं न त भन्नेमा थियो । भारत ‘पर्ख र हेर‘ नीतिमा थियो । त्यसैले माघ १९ को दरबारको ‘कु‘ अमेरिका, भारत, चीनसमेतको साझा रणनीतिमा भएको हो । ‘नेपालमे चाईना कार्ड‘ जस्ता भारतीय अखबारका समाचारमा सत्यता थिएन ।
● जनयुद्दको दमन गर्नपनि नसक्ने, आफ्ना दलाल पार्टीहरु विलिन हुने, नेपालमा चीनको प्रभाव बढ्दै जाने भएपछि भारतीय विस्तारबाद आफ्नो असफल कूटनीतिलाई पूनर्स्थापित गर्न माओवादी पार्टीप्रती नरम नीति अवलम्बन गर्न बाध्य भएको हो । भारतले नेपालको बजार र प्राक्रितिक साधन स्रोत कब्जा गर्ने, चीनलाई अस्थिर बनाउने र अमेरिकाले आफ्नो आर्थिक-सामरिक प्रतिस्पर्धी चीनलाई घेराबन्दि गर्ने रणनीतिको एक अंगकारुपमा किरण, मात्रिका, सुरेश आलेसहित पटनामा हाम्रो गिरफ्तारी भएको कुरामा हामीमा कुनै भ्रम थिएन ।
जेलबाट फेरि हिरासतमा
● प्रहरीहरुले रामराजाप्रसाद सिंहले पटनामा होटेल चलाएर बसेको छ तर तिमीहरु गिरफ्तार हुन्छौ किन ? मात्रिकाहरुसँग गिरफ्तार भएर छुटेका मान्छे को हो ? जस्ता प्रश्नहरु सोध्थे । मेरो मोबाईलमा सिमकार्ड थिएन । फोन नम्बरहरु बोकेको थिइन र केहि ईमेलहरु मात्रै हातमा परेका थिए । उनीहरुले जनयुद्दका कुनै कुरा सोध्न छुटाएनन् । तर रेडियो जनगणतन्त्र, प्रकाशन, कुरियर प्रणाली, सूचना सञ्जाल, साँस्क्रितिक कार्यक्रमसँग बढि कुराहरु मसँग सोधेका थिए । भारतका कुन कुन पत्रीकासँग तेरो संबन्ध छ ? राजकिशोरसँग पछिल्लो पटक कहिले कहाँ भेट भएको थियो ? नेपालका कुन कुन सञ्चारमा तिमीहरुका मान्छे छन ? रेवती सापकोटा कस्तो मान्छे हो ? यस्ता प्रश्नहरु सोध्थे । बिहार, मोतीहारीका प्रगतिबादी लेखक राजकिशोरलाई चिन्दिनँ भन्नासाथ यातना दिन थाले । उनीहरुले हाम्रो कर्मथलोका सबै सूचनाहरु जम्मा गरेर अनुसन्धान गरिरहेको देखिन्थ्यो ।
(माओवादीका केन्द्रिय सदस्य अनिल शर्माको पटना जेल संस्मरण हो यो। माओवादीभित्र यो पुस्तकले निकै चर्काचर्की बहस निम्त्याएको थियो र अझै पनि छ । यसमा माओवादीभित्र थुप्रै आन्तरिक प्रसंगहरुबारे निडरताकासाथ उठाइएको छ । यो पुस्तक लेखेबापत उनलाई कारवही गर्नुपर्ने माग अर्थमन्त्री डा बाबुराम भट्टराई लगायतका थुप्रैले गरेका थिए । यो पुस्तकका केहि मुख्य अंश फेरिपनि प्रकाशित गरिने छ । पुस्तक चर्चामा रहेकैले यसको दोस्रो संस्करणपनि हालसालै बजारमा आएको छ-नेपालप्लस) ।
-यसैसँग संबन्धित तलका ब्लगपनि हेर्नुहोस-
को को रैछन त माओवादीभित्रैका गुप्तचर ? (पहिलो भाग) ।
को को रैछन त माओवादीभित्रैका गुप्तचर ? (दोस्रो भाग) ।




