कविता : परिवर्तित तीज
● गौतम “उदय” / अमेरिका
पहिले पहिले,
यातायातका साधन, फोन, इन्टरनेट थिएनन्
च्याट रूम, फेसबुक, ट्वीटर, स्काइप, थिएनन्
जन्मघर, परिवार, नालनाता र सारा संसारसँग
पूर्ण सम्वन्ध बिच्छेद हुन्थ्यो बिचरी अबोला चेलीको ।
०००००००००००००००००००
बर्षको एकचोटि, आफ्ना आफन्त मध्ये कोहीसँग
भाग्यमानी चेलीले सँगै माइत जान पाउँथिन्
जन्मघर परिवारसँग मिस्टान्न दर खान्थिन्
अत्याचार, पीडा, बेदना पोख्न पाएकोमा रमाउँथिन् ।
०००००००००००००००००००
विवसतामा माइत जान नपाउने अभागी चेलीहरु पनि
मुटुमा गाँठो पर्दै आफ्ना कुण्ठा र पीडामा विव्हल बनी
सीमित स्वतन्त्रताको उद्घोष कथित कर्मघरमै पनि
बिशेष ताल, सूर र लय भएका तीजगीत मार्फत गर्थे ।
०००००००००००००००००००
तीजसँग सम्बन्धित अन्य धेरै कुराहरु पनि थिए
नारी मनोकांक्षा पूरा हुने बारेका धार्मिक कुराहरु थिए
छोरी बुहारीबीच घरमै विभेद गर्ने आर्थिक कुराहरु थिए
परम्परा, मनोरन्जन आदि सामाजिक कुराहरु पनि थिए ।
आजकाल अहिले,
०००००००००००००००००००
भौतिक बिकास र विविध संचारले संसार फेरिएको छ
सामाजिक जागरणले सासू-बुहारीको विचार फेरिएको छ
अन्धविश्वासमा नभै कर्ममा फल देख्ने संस्कार फेरिएको छ
तीज मनाउने र तीजमा रमाउने परम्परा पनि फेरिएको छ |
०००००००००००००००००००
घरमा सबै भन्दा शक्तिशाली श्रीमती वा बुहारी भएका छन्
आफ्नै हात जगन्नाथ गरी फेसन र गहना लगाएका छन्
औकात हुनेहरुले अरुलाई चुंग्याईचुंग्याई रवाफ लाएका छन्
सानो घांटी हुनेहरु पनि बडेमाको हड्डी कोच्न लाएका छन् ।
०००००००००००००००००००
घर परिवारका गाह्रा साँगुरा कुरा बेवास्ता हुन थालेका छन्
एक महिनामा तीस भन्दा बढी द्वितीया पर्न थालेका छन्
टोलटोलमा पालैपालो दर खाने दिन तोकिन थालेका छन्
बिस्तारैबिस्तारै दर स्थल नै तारे होटेल सर्न थालेका छन् ।
०००००००००००००००००००
चेलीहरुको सट्टा क्यासेट र सिडीले गाउन शुरु भएको छ
देउडा कौडा जिउंती रत्यौली सबै तीजको गीत भएको छ
तीजका गीतमा केटाहरु घुसी दोहोरी र फोहरी भएको छ
तीज नै विकृति हो कि संस्कृति हो छुट्टयाउनै गाह्रो भएको छ ।





