कविता : म

निरजमान श्रेष्ठ / ताइवान

writer-12

मलाई मेरो पुर्खाले स्वाभिमानको सगरमाथा छोडेर गए,

तर मैले अराजकता र स्वार्थको तातोले

यसलाई पगालेर चुरे बनाइदिए ।

कुनै समय थियो,

हिमालको कठोरता र तराइको सरलतामा गर्ब गर्थें म,

०००००००००००००००००००

तर अहिले,

त्यो कठोरता मैले करेसाबारीमा आफ्नै दाजुभाईमाथि देखाउँदै छु ।

तर तराइको सरलता भने,

मेरो छिमेकीले उसको सजिलोकोलागि उपयोग गर्दै छ ।

आफ्नै देउरालीको सितलतालाई कठ्याङ्ग्रिने चिसो ठानेर ।

म मरूभूमिको तातोमा न्यानो खोज्न भौंतारिँदै छु ।

आफ्नो हटियामा मालिक हुन लाज मानेर,

म पराइको बगैचामा गोठालो भएर रमाउँदै छु ।

सिताको अस्मिता बेचेर,

अलङ्कारको महल ठड्याउने प्रयत्न गर्ने म,

०००००००००००००००००००

बुद्धलाई दोबाटोमा फाँशी दिएर,

बस्तिमा शान्ती खोज्ने प्रयत्न गर्दैछु ।

०००००००००००००००००००

बीरताको पर्याय मेरो पुर्खाको एक्लो ऊत्तराधिकारि म ,

हिजो जसले मेरो स्वाभिमान माथि धावा बोल्यो

उसैको संघारमा उभिएर ,

उसैलाई सलाम ठोक्दैछु ।

मेरो बीरता आज

अफगानस्थानमा बीरगति प्राप्त गरिरहेछ,

मेरो शाहस आज

कास्मिरमा गर्जदैछ ।

तर,

अफ्रिका देखी फकल्यान्डको टापुसम्म रबाफ देखाउने मेरो खुकुरी,

मेरै सुस्ता र कालापानीमा भने किन निस्तेज छ ?

सिमामा कोतरिएको घाउ

लाखौं नगरिकताको भेटी चढाउँदै अझ बल्झाउने कोसिस गर्दै छु ।

०००००००००००००००००००

अब तिमीलाई जिज्ञासा होला,

म को हुँ ?

म राजनीतिक साङ्लामा बाधिएको त्यो स्वतन्त्र युवा हुँ,

जो लोकतन्त्रको सडकमा निस्किएर

जिउँदालाई मुर्दाबाद र मरेकालाई जिन्दाबाद भन्दै गणतन्त्रको अभ्यास गर्दै छु ।

०००००००००००००००००००

म त्यहि नेपाली हुँ,

जसको बिहानी भालेको डाँकबाट होइन,

बम बिस्फोटको आवाजबाट सुरु हुन्छ ।

म त्यही नागरिक हुँ,

जो परिवर्तन पछीको सुनौलो भबिस्यको आशाले

दर्जनौ पटक सडकमा अधिकारको लागि लडें,

म त्यही अभागी हुँ,

जो अत्याचारको बिरुद्ध क्रान्ति गरेर

बिजयको माला पहिरिँदै,

गलाबाट माला खस्न नपाउँदै

सोही अत्याचारको बिरुद्ध अर्को लडाईं लड्दै छु ।

एउटा मालिकको पन्जाबाट मुक्ती पाउन रगत बगाएको भोलिपल्ट

नयाँ मालिकको स्नेह पूर्ण शोषण पाउने

म स्थाइ दाश हुँ,

हो म दाश हुँ,

यो नयाँ नेपालको

कमजोर तर वास्तविक ईतिहास हुँ ।

तपाइँको प्रतिक्रिया