कविता : म
● निरजमान श्रेष्ठ / ताइवान
मलाई मेरो पुर्खाले स्वाभिमानको सगरमाथा छोडेर गए,
तर मैले अराजकता र स्वार्थको तातोले
यसलाई पगालेर चुरे बनाइदिए ।
कुनै समय थियो,
हिमालको कठोरता र तराइको सरलतामा गर्ब गर्थें म,
०००००००००००००००००००
तर अहिले,
त्यो कठोरता मैले करेसाबारीमा आफ्नै दाजुभाईमाथि देखाउँदै छु ।
तर तराइको सरलता भने,
मेरो छिमेकीले उसको सजिलोकोलागि उपयोग गर्दै छ ।
आफ्नै देउरालीको सितलतालाई कठ्याङ्ग्रिने चिसो ठानेर ।
म मरूभूमिको तातोमा न्यानो खोज्न भौंतारिँदै छु ।
आफ्नो हटियामा मालिक हुन लाज मानेर,
म पराइको बगैचामा गोठालो भएर रमाउँदै छु ।
सिताको अस्मिता बेचेर,
अलङ्कारको महल ठड्याउने प्रयत्न गर्ने म,
०००००००००००००००००००
बुद्धलाई दोबाटोमा फाँशी दिएर,
बस्तिमा शान्ती खोज्ने प्रयत्न गर्दैछु ।
०००००००००००००००००००
बीरताको पर्याय मेरो पुर्खाको एक्लो ऊत्तराधिकारि म ,
हिजो जसले मेरो स्वाभिमान माथि धावा बोल्यो
उसैको संघारमा उभिएर ,
उसैलाई सलाम ठोक्दैछु ।
मेरो बीरता आज
अफगानस्थानमा बीरगति प्राप्त गरिरहेछ,
मेरो शाहस आज
कास्मिरमा गर्जदैछ ।
तर,
अफ्रिका देखी फकल्यान्डको टापुसम्म रबाफ देखाउने मेरो खुकुरी,
मेरै सुस्ता र कालापानीमा भने किन निस्तेज छ ?
सिमामा कोतरिएको घाउ
लाखौं नगरिकताको भेटी चढाउँदै अझ बल्झाउने कोसिस गर्दै छु ।
०००००००००००००००००००
अब तिमीलाई जिज्ञासा होला,
म को हुँ ?
म राजनीतिक साङ्लामा बाधिएको त्यो स्वतन्त्र युवा हुँ,
जो लोकतन्त्रको सडकमा निस्किएर
जिउँदालाई मुर्दाबाद र मरेकालाई जिन्दाबाद भन्दै गणतन्त्रको अभ्यास गर्दै छु ।
०००००००००००००००००००
म त्यहि नेपाली हुँ,
जसको बिहानी भालेको डाँकबाट होइन,
बम बिस्फोटको आवाजबाट सुरु हुन्छ ।
म त्यही नागरिक हुँ,
जो परिवर्तन पछीको सुनौलो भबिस्यको आशाले
दर्जनौ पटक सडकमा अधिकारको लागि लडें,
म त्यही अभागी हुँ,
जो अत्याचारको बिरुद्ध क्रान्ति गरेर
बिजयको माला पहिरिँदै,
गलाबाट माला खस्न नपाउँदै
सोही अत्याचारको बिरुद्ध अर्को लडाईं लड्दै छु ।
एउटा मालिकको पन्जाबाट मुक्ती पाउन रगत बगाएको भोलिपल्ट
नयाँ मालिकको स्नेह पूर्ण शोषण पाउने
म स्थाइ दाश हुँ,
हो म दाश हुँ,
यो नयाँ नेपालको
कमजोर तर वास्तविक ईतिहास हुँ ।





