फ्रान्सेलीहरु ३२ तरिकाले असभ्य

campagne_ratp_poule

युरोपका मानिस असाध्यै सभ्य भन्छौं हामी । पढे, लेखका । जाने बुझेका । शिक्षित । झन पेरिस त यस्तो शहर हो जसलाई सभ्यताको चरम श्रीणीमा पुगिसकेको भन्छन् । पेरिस असाध्यै सभ्य छ । यहाँका मानिसहरु नियम कानुन मान्छन् । एकले अर्कोलाई धक्का चक्का दिँदैनन् भनिन्छ । नम्र र सुस्तले बोल्छन् । सामाजिक मर्यादाको ख्याल गर्छन् । सार्वजनिक स्थलमा निकै सभ्य भएर प्रस्तुत हुन्छ भन्ने विश्वास गरिन्छ । तपाइमापनि त्यहि विश्वास थियो भने त्यो सहि होइन । अहिले पेरिसका मानिसहरु असभ्य भए भनेर सार्वजनिक यातायात लिनेलाई सभ्य बनाउन अभियाननै शुरु गरेको छ सरकारले । खासगरि आर ए टिपी भन्ने यातायात कम्पनीले । सार्वजनिक यातायतमा यात्रा गर्नेहरुका असभ्य क्रियाकलापहरुको निगरानी गर्दा ३२ वटा फेला पारेछन् ।  बस वा रेलमा चढ्दा  यस्तो जंगली स्वभाव देखाउने, असभ्यता प्रकट गर्नेमा सबै फ्रान्सेली त पक्कै होइनन् नै । पेरिसमा धेरै त आप्रवासीपनि पर्छन् । तर सरकारको अध्ययनमा यो बिदेशी वा त्यो देशको भनेर छुट्ट्याइ एको छैन । त्यसैले पेरिसमा गरिएको त्यस अध्ययनले पेरिसवासी, फ्रान्सेली भनेर बुझाउँछ ।

बस र रेलमा यात्रा गर्दा टिकेट किन्नु पर्छ । कि त दैनिक, साप्ताहिक वा मासिक रुपमा एकमुस्ट रकम तिरेर पास लिएर हिँड्नु पर्छ । पासलाई मेग्नेटिक चिप्समा च्वास्स छोएपछि ढोका खुल्छ । ति टिकटहरु सानो छिद्र जस्तोमा घुसारेपछि ढोका खुल्छ । त्यसपछि बल्ल बस वा रेल लिने हो । त्यसरि टिकट नलिइकन यात्रा गरेको फेला पर्दा २५ युरोदेखि ७५ युरोसम्म जरिवाना लागाउँछ । यात्राको दूरी र अवस्था हेरेर । जति पटक टिकटबिना चढेर निरिक्षकहरुको निगरानीमा समातियो उति बढि जरिमाना तिर्नुपर्छ उल्लंघनकर्ताले । यो सबैलाई थाह छ । बेरोजगार, अशक्त, विध्यार्थी, केटाकेटी र ब्रिद्दब्रिद्दालाइ विशेष सहुलियत हुन्छ । तैपनि मानिसहरु टिकट नकाटी यात्रा गरिरहेकै छन् । यसले सरकारलाई हैरानी पारेको छ । टिकट घुसार्नुपर्ने मेशिनभन्दा माथिबाट पर्खालनै नाँघेर मानिसहरु यातायातमा चढ्छन् । यसलाई अशाध्यै असभ्य मानिएको छ । यसलाईपनि सरकारले रोक्न ठाउँ ठाउँमै नियन्त्रकहरु खटाएको त छ । तर चोरहरुले कसरि आँखा छल्छन् । सरकारले त्यसलाई रोक्न सकेको छैन ।

campagne_ratp_grenouille

सार्वजनिक यातायातमा चर्को चर्को स्वरमा मोबाईलमा कुरा गरेर वरिपरि बसेकालाई दखल दिने । मोबाईमा संगित बजाइदिएर अरुका कानका लोतीनै झार्लान झै गरिदिने । बस वा रेलका सिटमा खुट्टा राख्ने । आफु नजिकैको मानिस सिट नपाएर उभिएको छ तर आफ्नो झोला, जुत्ता वा अन्य झोला सोला राखिदिएर ओगट्ने । बस र रेल छुट्ने बेला भएर ढोका लागिसक्छ । तैपनि जबर्जस्ति धोका अँचेटेर बस्ने, खोल्न जोडबल गर्ने । यातायातका साधनका भित्तामा अनेक रङले कोरिदिने ।

चुइगम खाएर भित्तो वा सिटमा टाँसिदिने । स्टेशनमा निशुल्क पढन् राखिएका पत्रपत्रीका पढेपछि सिटमै छोडेर हिँडिदिने । फलफूल खाएर भुइँमै मिल्काउने । चुरोटबिँडी तानेपछि जहाँ त्यहाँ फाल्ने । रेल स्टेशनमा चुरोट खान नपाइने ठाउँमापनि लुकि लुकि तुइक्याएर अरुलाई दुख दिने । वरिपरि चर्पी हुँदा हुँदै नखोजेर स्टेशनका भित्तामा यस्सो छेल परेर पिसाव गर्ने । जहाँ अपयो त्यहाँ थुक्ने । बियर तानेर क्यानहरु बस वा रेलभित्रै छोडेर हिँड्ने ।

campagne-incivilites-ratp-affiche-ane-1000

यात्रुहरुलाई दुख दिनेगरि भायोलिन, गितार र अन्य संगित बजाएर सास्ति दिने । ‘मेरो काम छैन । सरकारी भत्तापनि पाएको छैन । म भोकै छु । यताउति काम खोज्न जाने टिकट किन्ने पैसोपनि छैन’ भन्दै बस वा रेलको टिकट माग्ने वा खानकोलागि पैसा माग्ने । बस, रेलबाट यात्रु ओर्लेर नसकिँदै अँटेर भित्र पस्ने । महिला, वालवालिका, पेट बोकेका नारी वा केटाकेटी उभिएको देख्दापनि बलिया लाठेहरुले गजधम्म सिट ओगटेर बस्ने, अशक्तलाई नछोडिदिने । यात्रु हिँड्ने बाटोमा झोला र सुटकेश राखेर रोक्ने । ख्वाङख्वाङ खोकेर, सिँसिँ गर्दै सिंगान झारेर हद्दु बनाउने । यस्ता ३२ वटा खोटहरु रहेको सरकारले सार्वजनिक गरेको छ ।

यसलाई रोक्न सरकारले यहि १२ जुनदेखि १८ सम्म एक हप्ते अभियाननै शुरु गरेको छ । त्यसरि मोबाईलमा बोल्ने क्रम रोकियोस् भनेर महिलाका कुखुराको भालेको टाउको जोडेर पोस्टर टाँसिएका छन् । त्यसरि देखाउँदा ‘पोथी बासेको’ सन्देश जाओस् भनेर सरकारले त्यसो गरेको हो । कुनै पोस्टरमा चाहिँ टाउकोमा गधाको टाउको जोडिएको छ । जसले मानिसलाई गधा बनेको सन्देश दिन्छ ।

रेलभित्र चर्को स्वरमा मोबाईलम कुरा गर्ने, पर्खाल नाघेर भित्र पस्ने, रेल गुड्दै लाग्दापनि ढोका खोल्न खोज्नेको बेईज्जति गर्न अहिले अनेक खालका पोस्टर बनाएर टाँसिएको छ । यस्ता पोस्टरहरु टाँस्ने ठाउँमा बिज्ञान गर्दा सरकारले लाखौं युरो कमाउने गर्थ्यो । तर यस्ता अशभ्यहरुलाई सभ्य बनाउन अहिले त्यस्ता पोस्टर टाँस्दा सरकारलाई लाखौं आम्दानीमा असर पुगेको छ । यो एक हप्ते अभियानकालागि सरकारले ठाउँठाउँमा निगरानीकर्ताहरु खटाएको छ । साना साना पम्प्लेटहरु बनाएर बाँडिरहेको छ । माइकबाट स्टेशनहरुमा फुकिरहेका छन् ।

सरकार किन गम्भिर भएको हो भने मानिस शिक्षित र उसको ज्ञान बढ्दै जाँदा झन सभ्य बन्नु पर्ने हो । आधुनिक प्रविधी, सभ्यता र संस्क्रितिको थप बुझाई बढ्दा झन अर्काका बारेमा बढि सोच्नु पर्ने हो । तर पेरिसमा त्यसको ठिक उल्टो भैरहेको छ । असभ्यताको यो प्रक्रिया बढ्दै गएको देखिएको छ । त्यहि कारणले सरकार गम्भिर देखिएको हो । यदि यो पारा बढ्दै गए आगामी २० वर्षमा झन के होला ? कति बढ्ला र त्यसले समाजलाई कता पुर्‍याउला ? त्यसैलाई गम्भिरताका साथ लिएर सराकारले यो अभियान चलाएको हो ।

तपाइँको प्रतिक्रिया