कथा : समायोजन
● किशोर सापकोटा / अमेरिका
गोली हानौ ?
फुच्चे फुच्चे लडाकुले म तिर वन्दुक सोझ्यायो ।
मेरो अनुहारमा कुनै परिवर्तन आएन ।
डर लाग्दैन ? उसले अर्को प्रश्न गर्यो ।
म वन्दुकसंग डराउँदिन – ऊतिर फर्कदै मैले भने ।
कोसंग डराउनु हुन्छ त ?
म तिमी जस्तो वन्दुक वोक्नेसंग डराउँछु ।
मेरो जवाफमा ऊ मुस्कुरायो ।
किन ? फेरी प्रश्न गर्यो ।
वन्दुक आफै पड्किदैन, विचारले पड्काउंछ – मैले भनिदिए – विचार तिमीसंग छ नि त ।
ऊ फेरि मुस्कुरायो । म ऊ संग डराउँछु भन्दा गर्व महसुस पनि गर्यो जस्तो लाग्यो ।
यो लडाकु उमेरमा म भन्दा सानै होला जस्तो लाग्छ । कि नवढेको पो हो कि ? अधिकांस नेपाली युवायुवतीहरु उमेर भन्दा साना जस्ता देखिन्छन् । यो लडाकु पनि म भन्दा सानो देखेकीले तिमी भन्छु । ऊ सम्मानका साथ तपाइ भन्छ । तर जिस्किन्छ ।
फुच्चे, तिमी केटी जिस्काउन नै जन्मिएको हौ कि के हो ? – एक्लै परेको वेला मैले एक दिन सोधेकी थिएँ ।
यी नवोल्ने र खाली पड्किने वन्दुकसंग कति समय विताउनु ? साथी त चाहिन्छ नै – उसले मुस्कुराएर भनेको थियो – फुच्चेको पनि मन अरुको जत्रै हुन्छ क्यारे ।
हथेलीमा जीवन वोकेर युद्धमा निस्किएका हामीलाई यति हांस्न सकेकोमा गर्व लाग्छ । हाम्रा हतियार कतैवाट लुटेर ल्याएका छन्, कतै कव्जा गरेर ल्याएका छन् । चन्दा उठाएका पैसाले कता कतावाट किनेर ल्याएका छन् । यीनै हतियार जस्तै छन्, हतियार वोक्ने पात्रहरु पनि । थरीथरीका । अधिकांस युवाहरु त २० को हाराहारीमा रहेका र कतिपय त जुंघाको रेखी नवसेकाहरु पनि हतियार वोक्न र देश परिवर्तन गर्न आएका छन् । युवतीहरु पनि कलिलै लाग्छन् । त्यसैले सवैसंग विचार र कुरा मिल्दैन । यो छापामार भने अलिक रमाइलो लाग्छ ।
युद्धमा होमिएका हामीहरुको जीवन एक शैलीको छ । वाहिरवाट सञ्चार माध्यम वा तथाकथित वुद्धिजिवीहरुले देख्ने र विश्लेषण गर्ने भन्दा हाम्रो जीवन विल्कुलै फरक छ । वाहिर आएका कतिपय विचारमा हामी गम्भीर पनि हुन्छौ भने सत्यताको अलि कति पनि नजिक नभएका विचारमा हामी हास्ने गर्छौ । पुराना पत्रकार किशोर नेपालको नयां सडक दैनिकमा एउटा सम्पादकीय रहेछ हाम्रो वारेमा । पत्रकार नेपालसंग हाम्रो विचार मिल्दैन, तर शैली मन पर्छ । आफुलाई मन पर्ने मानिस आफ्नै कित्तामा आइदिए हुन्थ्यो भन्ने लाग्छ । अध्यक्ष कमरेड विचार वदल्ने कुरा गर्नु हुन्छ, हेरौ कुनै दिन पत्रकार नेपाल विचार वदलिएर हाम्रै कित्तामा आइपुग्ने हुन् कि मेरो विचार वदलिएर नेपालको कित्तामा पुग्ने हु ? मैले वुझेकी छु, पार्टीले लक्ष्य अनुरुप विजय हासिल ग¥यो वा खुल्ला राजनीति सुरु गर्यो भने अहिले हाम्रो युद्ध वा विचारप्रति सहमत नहुने मानिसहरु त्यसवेला फाइदा लुट्नका तछाड मछाड गर्दै पार्टीमा आउनेछन्, हाम्रा नेताहरु अहिलेका लडाकुलाई विर्सिएर उनीहरुसंग वसउठमा लाग्नेछन्, यो सत्य हो । जे होस्, नयां सडकको सम्पादकीय प्रति सहमत नभए पनि रमाइलो मानेर पढेकी थिए । सम्पादकीयको भाव छ – मकवानपुरका गाऊमा अहिले युवा छैनन् । युवतीहरु सवै हतियार वोकेर जंगलतिर लागेछन् । युवतीहरु जंगलतिर लागेपछि युवाहरु पनि जंगलतिर लागेछन् । गाऊ सुन्य छ ।
फेरी लडाकुको अनुहार हेर्छु ।
यो मोरो लडाकु पनि सम्पादकीयले भने जस्तै कुनै युवतीलाई पछ्याउंदै आयो कि सांच्चै व्यवस्था नै परिवर्तन गर्ने कुरा वुझेर युद्धमा लाग्यो होला ? मनमा प्रश्न उठिरहेको छ तर अहिलेसम्म सोधेकी पनि छैन ।
युवती जंगलतिर लागेपछि नै मात्रै युवाहरु पनि जंगल लागेका होइनन् । धेरै कारण छन्, युद्धमा होमिनु पछिका ।
यो फुच्चे लडाकुको वास्तविक नाम धेरैलाई थाहा छैन । यहां कोही क्रान्ति छन्, कोही ज्वाला छन् , कोही परिवर्तन छन् । यस्तै यस्तै । वावु आमा वा न्वारानमा पुरेतले राखिदिएको नाम परिवर्तन गरेर यिनीहरु युद्धमा छन् । किन योद्धाहरुले नाम फेर्छन ? मैले वुझ्न सकेकी छैन । वास्तविक पहिचान नखुलोस भनेर नाम परिवर्तन गर्नुपर्ने हो तर हाम्रा पार्टीका अध्यक्षको वास्तविक नाम संसारलाई थाहा छ । तर पनि किन छद्म नाम नै प्रयोग गर्छन ? नाम क्रान्तिकारी हुंदा विचार पनि क्रान्तिकारी हुन्छ भन्ने पार्टीको वुझाइ हुन सक्छ । कुनै मोर्चामा वीरगति प्राप्त भइहाल्यो भने तत्कालै परिवारमा थाहा नहोस भन्ने पनि हुनसक्छ । परिवार वा जातको वारेमा खुलायो भने भेदभाव वा अपनत्व हुन्छ भन्ने त्रास पनि हुन सक्छ । कारण विविध होलान् । यी फुच्चे लडाकुको नाम चांहि मुक्ति । कसले राखिदियो कि आफै राख्यो । त्यो पनि थाहा छैन । तर म भने भित्र भित्रै यो संग आकर्षित भएकी छु ।
युद्धमा छौ । २४ घण्टा संगै हुन्छौ । स्वभाविक आकर्षण छ हामी दुईवीचमा । अघिल्ला वर्षहरुमा जस्तो पार्टीभित्र यौनमा कडाइ छैन । डा. सापकी श्रीमती कमरेडले यौन चाहना र नियन्त्रण वारेमा लामै लेख लेख्नु भएको छ रे पार्टी मुखपत्रमा भन्ने सुनेकी छु तर पढ्न पाएकी छैन ।
क्रान्ति चैतको हुरीमा लागेको आगो सरी देशभर फैलिएको छ । योद्धा भनौ वा सुरक्षाकर्मीहरु वत्तीमा होमिएर मर्ने छिचिमिरा हुन् कि पुतली जसरी मरिरहेका छन् । राज्य युद्ध चाहन्छ । पार्टी नेतृत्व युद्ध चाहन्छ । रगत दिन हामी तयार भएका छौ । युद्धका अघिल्ला वर्षहरुमा मलाई पनि के के न होला भन्ने लागेको थियो, तर पार्टीमा लागे पछि धेरै पढे । वुझे । यो युद्धका लागि युद्धभन्दा अरु केही होइन । तर किन हो किन, पछाडि फर्कन सक्दिन । यै फुच्चेको माया लागेर रोकिइ रहेकी त होइन ? कि यहांवाट कहां जाने भन्ने थाहा नपाएर रोकिएकी हुं ? या त यहांवाट निस्किने वित्तिकै गिरफ्तारी पर्ने डरले रोकिएकी हु ? म रोकिने कारण के हुन्, आफै पत्ता लगाउन सकेकी छैन । पक्कै म राज्य सत्ता परिवर्तन र जनताको मुक्तिका लागि रोकिएकी होइन भन्ने म प्रष्ट छु तर छोड्न सक्दिन यो वन्दुक । छोड्न सक्दिन यी लडाकु कमरेडहरु । यही वन्दुक र यीनै लडाकुसंग चित्त दुख्छ कतिपय दिन तर फेरी आफ्नै लाग्छन् । अव त पार्टीको लक्ष्य भन्दा पनि वन्दुक र लडाकुहरु पो प्यारा लाग्न थालिसके । छाडेर कहां जानु ?
पार्टीमा सेनाका पनि विभिन्न तह तह वनेका छन् । हतियार कव्जा गरिरहेका छौ । नेतृत्व पैसा उठाएर हतियार किनिरहेको छ । हरेक दिन हतियार वोक्न र वीरगति प्राप्त गर्न आउने छिचिमिराहरुको कमी छैन । अध्यक्ष कमरेडले भने जस्तो हांस्दा हांस्दै रोएका छौ र रुदा रुदै हांसेका छौ ।
अझै सम्झन्छु म । रोल्पामा जनसरकार घोषणा गर्न कार्यक्रम आयोजना भएको थियो । त्यो वेला लिफङ भनिने नेता प्रमुख वक्ता थिए । दिउसोवाट सुरु भएको कार्यक्रम रातीसम्म जारी नै थियो । उद्घोषकले पुर्वी नेपालको संखुवासभा हो वा भोजपुरमा माओवादी लडाकुहरुले ४ जना प्रहरीको हत्या गरेको उद्घोष गरे । पांच मिनेट सम्म तालीको गड्गडाहट चल्यो । ती प्रहरी नेपाली दाजुभाइ नै थिए, हामी किन आफ्नैलाई मारेर उत्सव मनाउँदै छौ भन्ने मलाई मनको कुनामा नलागेको होइन । तर के गर्नु आम्नेसाम्ने युद्ध उनीहरुसंगै थियो । भावनालाई मनको कुनामा लुकाए र मैले पनि ताली वजाए । जीन्दगीमा कहिले पनि भेट नभएका र कुनै पनि दुस्मनी नभएका नेपालीहरु मारिदा किन ताली पिटेको होला ? यो कस्तो मनोविज्ञान होला ? कतिपय दिन युद्धमा हामीले धेरै क्षति वेहोरेका छौ । कहिले पनि भेट नभएका धेरै लडाकुहरु मारिंदा रोएका छौ । आफ्नै फर्मेशनमा भएका साथीहरु आंखै अगाडि मारिएका छन् ।
युद्धमा आउनेहरुका कथा आआफ्नै होलान् । म सांच्चै रमाइलोका लागि मात्रै युद्धमा आएकी हुं । युद्धमा रमाइलोका लागि आउने भन्ने कुरा कतिपयलाई हांस उठ्दो होला तर सत्य त्यही नै हो । नत्र नौ कक्षा पढ्दा पढ्दै मैले के वुझेर होमिए त युद्धमा ? वरु युद्धमा लागेपछि धेरै पढे । केही वुझे । पहिला गाऊमा कमरेडहरु आउँथे । सांस्कृतिक कार्यक्रम गर्थे । छमछमी नाच्थे । नाच्न गाऊन भने पछि म हुरुक्कै । आफ्नो प्रतिभा प्रस्तुत गर्ने टेलिभिजनमा जस्तो कुनै रियालिटी सोहरु छैनन् गाउँमा । सुरुमा गाउँको एउटा सांस्कृतिक कार्यक्रममा नाचे । सवैले वाहवाह गरे । पहिला कमरेडहरु पछि नै लागे । क्रमश म उनीहरुको पछि लागे ।
जनताले जनताका लागि जनताको गीत गाऊने र नाच्ने भने । आफ्नो शोख पुरा गर्न मान्छे जस्तो सुकै चुनौति पनि मोल्न चाहन्छ । मलाई शासन थाहा थिएन, राजा थाहा थिएन । राजा हुंदा र नहुंदा जनताको जीवनस्तरमा के फरक पर्छ थाहा थिए । संगीत सुनेपछि जुरुक जुरुक खुट्टा उचालिन्थे । मन रमाएर आउँथ्यो ।
हुन पनि त नाचगान गर्न र आफ्नो कला प्रदर्शन गर्न विवाह वा जाग्रामहरु नै कुर्नुपथ्र्यो । पार्टीमा लागेपछि त त्यस्ता अवसर कति कति । पार्टी अध्यारो टनेल जस्तो । छिर्न त छिरियो । तर निस्किन नै सकिएन । कुनै दिन पार्टी निस्कियो भने निस्किउला । नभए जे त होला नि ।
निस्किन पाइएन भने, यही वा यस्तै फुच्चे खोज्नु पर्ला, पार्टीको अनुमति लिनुपर्ला । वावु आमा धेरै टाढा छन् । आउन सक्दैनन् । मुठी उठाएर तातो गोली नखाउन्जेल संगै वांच्ने कसम खानु पर्ला । संगै मर्ने कसम खानै सकिदैन, कसले कुन मोर्चामा मर्नुपर्छ, के भर छ र ?
ए फुच्चे, मसंग विवाह गर्छौ – एक दिन मुख फोरे ।
ऊ केही लजायो । टाढा टाढा हेर्यो । सधै जिस्कने र केही क्षणको साथ खोज्ने केटो लामो साथ दिन खोज्दा उल्टै गम्भीर पो देखियो ।
युद्धमा को कति दिन वांचिने हो भरोसा छैन, युद्धमा विवाह र परिवारको के अर्थ होला र ? – उसले गम्भीर मुद्रामा सोध्यो ।
उत्तर त मसंग पनि थिएन । कुराकानी कुनै निश्कर्षमा पुगेन । तर त्यो दिनवाट निकटता झन् झांगियो । युद्ध सकियो र घर फर्कियो भने विवाहलाई मुर्त रुप दिने योजना वन्यो ।
फेरी एक सांझ वन्दुक र वन्दोवस्तीका सामान वोकियो । हाम्रो फौज अगाडि वढ्यो । थाहा थिएन कता जांदैछौ । कमाण्डरलाई मात्रै थाहा होला । सुरक्षा र गोपनियताको कारण पनि युद्धमा सवै कुरा जानकारी गराउनु आवश्यक ठानिदैन ।
रातको १० वजेको थियो होला । एउटा विद्यालयको चौरमा हाम्रो फौज रोकियो । कमाण्डरले आएर प्रहरी चौकीमा आक्रमण गर्ने तयारी वारेमा जानकारी गराए । विस्तारै त्यहां डोका र स्ट्रेचरहरु जम्मा हुन थाले । घाइतेहरुलाई उपचार गर्नका लागि शिविर खडा हुन थाले । डांडाका चारैतिर रांकाहरु वल्न थाले । होहल्ला र चिच्याहट गुञ्जिन थाल्यो । डांडाका चारैतिर रांकाहरु वालेर मासिनहरु चिच्याएमा हाम्रो फौज ठुलो रहेछ भनेर प्रहरीहरुको मनोवल खस्किन्छ र मनोवल खस्कियो भने युद्ध जित्न आधा सहज हुन्छ भन्ने हाम्रो मनोविज्ञान रहदै आएको थियो । हामीहरुले एक हातले वन्दुक उठायौ भने अर्को हातलाई मुठी पारेर लाल सलाम गर्यौ । वांचे जनवाद मरे सहिद भन्दै आक्रमणका लागि अगाडि वढ्यौ । आत्तिएको प्रहरीले अन्धाधुन्ध फायर सुरु गरिसकेको थियो । प्रहरी चौकीमा पुग्नु अगाडि मैले फुच्चेको अनुहार हेरे । ऊ आंखाभरी आंशु पारेर मलाई नै हेरीरहेको थियो । एक मनले त वन्दुक विसाएर फुच्चेलाई लिएर टाढा भागौ जस्तो पनि नलागेको होइन, तर मैले वुझेकी छु, उम्किएर भाग्ने हाम्रा लागि टाढा ठाउ छैन । दुवै वोलेनौ । वोलेको भए आफुलाई सम्हाल्न गाह्रो हुन्छ भन्ने लागेको थियो । गोलीको पर्रा छुटेको छुट्यै । आआफ्नो मोर्चा सम्हाली राख्यौ ।
आंखा खोले । त्यहां त युद्धको कुनै गुञ्जायस नै थिएन । म ओछेनमा थिए । युद्ध सपना जस्तो लाग्यो । सपना पो रहेछ भनेर खुसी भए । खुट्टा दुख्यो । छामे । व्यान्डेज वांधिएको रहेछ । गोली लागेछ क्यार । म कहां छु भन्ने पनि थाहा भएन । युद्धका क्रममा गोली लागेर वेहोस भइछु । शायद पहिलो पल्ट होस खुल्दैछ ।
अर्को पट्टी हेरे । खाटमा अर्को व्यक्ति वेहोस रहेछन् । एक छिनमा एक जना व्यक्ति छिरे । गाऊका अहेव रहेछन् । उनैले सुनाए । युद्धमा गोली लागेर म वेहोस भएकी रहेछु । साथीहरुले मरिसकेको ठाने होलान् कि लान नसक्ने अवस्था भएकोले छाडे अनुमान लगाउन सकिन । युद्धमा दुवै तर्फ ठुलै क्षति भएछ । आक्रमण सुरु भएपछि नाइट भिजन हेलिकप्टर घुम्न थालेछ, हाम्रो साथीहरुमा पनि भागाभाग भएछ । आक्रमणवाट दुई तीन जना प्रहरी वांचेछन्, तिनलाई विहानै आएको हेलिकप्टरले लिएर गएछ । मेरो छेउमा रहेका प्रहरी भने आक्रमणवाट भाग्न खोज्दा खोल्सामा लडेर घाइते भएका रहेछन् र प्रहरीले पनि भेट्टाउन सकेन छ । स्थानीय मानिसले त्यो प्रहरी र मलाई जिवित नै भेटेर स्थानीय स्वास्थ चौकीमा उपचारका लागि ल्याएका रहेछन् ।
अहेवले मेरो खुट्टामा गोली लागेपनि गोली मासुलाई मात्रै छेडेर गएकोले अपरेशन गर्नु नपर्ने र सामान्य डे«सिङ मात्रै गर्दा निको हुने वताए । जीवन वांचिएकोमा खुसी नै लाग्यो । फुच्चे के भयो होला भनेर चिन्ता लाग्यो । तर तत्कालै हिड्न र वुझ्न पनि संभव थिएन । प्रहरीको भने होस आएको थिएन । उसको टाउकोमा चोट भएकोले कति समयमा होस आउंछ वा आउंदैन भन्ने विषयमा भन्न नसकिने अहेवले वताए । चौकीमा वांचेका प्रहरी वा मृतक प्रहरीलाई हेलिकप्टरले लगिसकेको थियो । गाऊमा फोन राख्दा प्रहरी आउंछन् वा सुचना चुहिन्छ भनेर हामीले नै टेलिफोनका टावर उडाइ सकेका थियौ । अव मेरो अर्को छेउको वेडमा सुतिरहेका प्रहरीको वारेमा जानकारी तत्कालै दिन संभव थिएन । म वांचेको वारेमा हाम्रो जनमुक्ति सेनालाई पनि जानकारी दिन कठिन थियो । आक्रमण भएपछि थप फौज आउन सक्ने र दुख दिन सक्ने डरले स्थानीय कमरेडहरु पनि विस्थापित भइसकेका रहेछन् ।
अहेवमा भने चिन्ता देखियो । मेरो छेउमा पल्टिरहेको प्रहरीलाई उपचार गर्दा विद्राहीकोे त्रास, मेरो उपचार गर्दा प्रहरीको त्रास । उनले म पो चेपुवामा पर्ने भए भने । मैले घाइतेहरुको उपचार गर्नु चिकित्सकको कर्तव्य हुने वताए र विद्रोहीवाट कुनै पनि खतरा नहुने आश्वासन दिलाए । उनी अलिकति आश्वस्त देखिए किनकी गाउँमा सुरक्षाकर्मीको भन्दा विद्रोहीको डर वढी मान्छन् भन्ने मलाई थाहा थियो । विद्रोहीहरुको स्वभाव नै हो उनीहरु कुनै पनि नियम कानुनलाई पालना गर्दैनन, कमसे कम राज्यले त पालना गर्नुपर्छ भन्ने मान्यता छ । तर कतिपय ठाउँमा सुरक्षाकर्मीले मानव अधिकारलाई कुल्चिएर जनतालाई गोली ठोकेको छ, घर सल्काइ दिएको छ, जिउंदै मानिसलाई जलाएको छ । द्वन्द्वमा हिंसा मिसिए पछि दुर्दसा नागरिकले वेहोर्नु परेको छ । दुवै पक्षवाट यस्ता घटना भएका छन् ।
गाऊको स्वास्थ चौकी । वेलुका कोही पनि कर्मचारी वस्दैनन् । अहेवले नै नजिकको होटलवाट मलाई केही खाने कुरा ल्याइ दिए । अचेत प्रहरीलाई सलाइन पानी नै दिइरहेको थियो । अघिल्लो दिनसम्म म जसलाई मार्न वन्दुक वोकेर हिडिरहेकी थिए, आज त्यही फौजको एउटा सिपाही मेरो छेउमा पल्टिरहेको थियो, म पो उसकी कुरुवा भएकी थिए । जीवन विचित्र लाग्यो । कुन वेला को कसको नजिक हुन्छ ।
मध्यरात तिर उसको होस आयो । पीडाले छट्पटायो । मरे नी आमा,– ऊ चिच्याउन थाल्यो – तिमीलाई नभेटी मर्ने भए । म कहां छु आमा ?
अघिल्ला दिनमा म आफै उसलाई मार्न वन्दुक वोकेर गएकी थिए । आज ऊ मर्न लागिरहेको छ । म खुसी हुनुपर्ने होइन ? तर अहं खुसी हुन सकिन । उसलाई अलिकति पीडा कम गरिदिन पाए हुन्थ्यो जस्तो लाग्यो । दुखेको खुट्टो उचालेर उसको ओछेनमा गए । ऊ छट्पटाइरहेको थियो । म संग अहेवले ल्याइ दिएको सानो सोलार टुकी थियो । उसको अनुहार हेरे । फुच्चे जत्रै रहेछ । युद्धमा मरिने डरले चौकी छोडेर भागेछ क्यार, अधेरोमा मेलो पाएन र खोल्सामा लडेर टाउको फुटायो । शायद आमालाई सम्झेर दौडिएको थियो होला ।
उसको टाउकोलाई आफ्नो काखमा राखे ।
म कहां छु, तपाई को हो ? भनेर उसले सोध्यो ।
मैले उसलाई सवै वताएँ । सुरुमा त म विद्रोही लडाकु भन्ने सुन्दा डरायो । तर मैले आश्वस्त गराए । मलाई दुख्दा खान दिएको पेन किलर उसलाई खुवाइ दिए । दुख्न छाडेछ । निदायो । म पनि उसैको वेडमा संगै निदाए । विउझिदा घाम निकै माथि आइसकेका थिए ।
अहेव अलिक चांडै आएछन् । उनले नै हामीलाई विहानको चिया र खानाको व्यवस्था मिलाइ दिए ।
गाऊलेहरु आउन डराउंछन्, म त डराएर पनि भएन – अहेवले भन्थे – अव तपाइहरु केही दिनमा नै हिड्न सक्नु हुन्छ, अनि जानु होला ।
मलाई १०/१५ दिन नभइ हिड्न सकुला जस्तो लागेको थिएन, हेर्दै जाऊ भन्ने लाग्यो । अहेवले कसैलाई सदरमुकाम पठाएर एउटा प्रहरी जिवित रहेको जानकारी गराउन खोजेका थिए तर अहं डरले हो वा प्रहरीप्रतिको घृणाले हो, कोही पनि जानकारी गराउन सदरमुकाम जान तयार देखिएनन् ।
दिन वित्दै गए । प्रहरीकी एउटी वुढी आमा रहिछिन् घरमा । आमालाई सुख दिन्छु भनेर जागिरमा लागेको रहेछ । यो हालतमा पर्यो ।
आमालाई आएर यो वर्ष त एउटी वुहारी ल्याइ दिन्छु भनेको थिए, झण्डै ज्यानै गएछ – अर्को रात मेरो काखमा टाउको राखेर प्रहरीले भनेको थियो । टाउकोको चोटले गर्दा होला, छिन छिनमा वरवराउथ्यो र उसलाई झक्झक्याएर होसमा ल्याउनु पथ्र्यो । अहेव हेड इन्जुरी हुंदा केही दिन यस्तो हुन्छ भन्थे । तर क्रमश उसको स्वास्थमा सुधार भयो । एक सातामा त घाऊ पनि विसेक भयो र ऊ निकै सन्चो जस्तो देखियो ।
उसको टाउकोमा चोट भएकोले हिड्न सजिलो थियो । वाहिर जान्थ्यो । मलाई खाने कुरा ल्याइदिन्थ्यो । खुट्टामा चोट भएकोले मलाइ उसको सहयोग आवश्इक थियो र मलाइ उसले नै शौचालय लैजाने ल्याइ दिने गथ्र्यो । पुरै मेरो सेवामा जुट्यो ।
फौजमा फुच्चेसंग धेरै कुरा गर्न मन लाग्थ्यो । तर कहां मौका पाउथ्यौ र ? यहां त अधिकांस समय यो प्रहरी र म नै संगै भयौ । मलाई उसले गरेको सेवा देखेर मन पग्लिन थाल्यो । मैले विस्तारै यिनीहरुलाई मार्नका लागि मैले वन्दुक उठाएकी हुं भन्ने विर्सिन थाले । विस्तारै दिलको कुनामा फुच्चेको ठाउमा यो प्रहरी वस्न लाग्यो । भोली आउँछ कि आउँदैन के थाहा ? फुच्चेसंग फेरी भेट हुन्छ कि हुंदैन के थाहा ? प्रहरी आज मसंग थियो ।
म प्रहरी छोडिदिन्छु, तिमी विद्रोही फौज छाडिदेऊ – एक रात सोलार टुकीलाई वीचमा राखेर मेरा आंखामा आंखा जुधाउंदै प्रहरीले भन्यो – मेरी आमालाई यस साल वुहारी ल्याउंछु भनेको थिए, तिमी मेरी आमाकी वुहारी भइ देऊ । जीवन हांसिखुसी काटौ ।
सोचे । ठिकै हो । मलाई पनि युद्धप्रति मोह छैन । एउटा सामान्य जीवन भइ दिए हुन्थ्यो जस्तो लागि रहेछ । मलाई नै भनौ भनौ जस्तो लागि सकेको थियो । उसैले भन्यो । पुलिस मनको कुरा भन्न माओवादी भन्दा छिटा हुंदा रहेछन् जस्तो पनि लाग्यो । हाम्रोवीचवाट सोलार टुकी हट्यो । त्यहां त केवल तातो तातो श्वास थियो ।
विहान भाले वास्नु भन्दा अगाडि नै दुवै उठ्यौ । मेरो जीवनमा नयां स्फुर्ति थियो । नयां अनुभव भइरहेको थियो । मनको कुनामा कताकता काउकुति, कताकता डर थियो । हामी केही लजाएका पनि थियौ त्यसैले केही वोलेनौ । हिड्न तयार भयौ ।
प्रहरीले आफ्नो पर्स हेर्यो । करिव २ हजार रुपियां थियो ।
यतिले त पुग्ला नत्र कतै सापट माग्छु – ऊ आफैसंग वोल्यो । मसंग त फुट्टी कौडी थिएन । अव जे गर्छ प्रहरीले गर्छ ।
हामी कसैलाई जानकारी नदिइ उज्यालो नहुंदै गाऊ छाड्न तयार भएका थियौ । कसैलाई जानकारी दियो भने के हुने हो भन्ने निश्चित थिएन ।
स्वास्थ चौकीको ढोका खोल्यौ । तर ….. । वाहिर त लडाकु कमरेडहरु पो देखा परे । यी लडाकुहरु मेरो समुहका थिएनन् र थोरै मात्रै मैले चिनेका थिए । यसैले मलाइ त्रास थपियो । अव भाग्न वा उनीहरुका कुरालाई अस्वीकार गर्न संभव थिएन । उनीहरुले भनेको नमान्नु भनेको जीवनको अन्त नै हो । मैले लडाकुहरुले नसुन्ने गरी विस्तारै प्रहरीलाई आत्मसमर्पण गर्न भने । उसले मलाई विश्वास गर्यो र मैले भनेको मान्यो । मेरो मनको कुनामा कतै मेरो प्रहरीलाई मारिदिने हुन् कि भन्ने डर पनि लागेको थियो किनकी यहां सधै विवेक र कानुन लागु हुंदैन, कतिपय दिन कमाण्डरको सनक पनि लागु हुन्छ ।
अव म आजाद थिए । प्रहरी युद्धवन्दी वनेको थियो । ऊसको र मेरो विवाह गर्ने र सामान्य जीवन वांच्ने योजना कहां पुग्यो कहां ? यथार्थमा प्रहरीलाई कुनै युद्ध मैदानवाट समाएको थिएन । घाइते अवस्थामा स्वास्थ चौकीवाट नियन्त्रणमा लिइएको थियो । यो कुरा न त मैले नै वुझाउन सक्थे । मैले त्यो प्रयास गरेको भए मलाई नै नकारात्मक रुपमा हेर्न सकिन्थ्यो ।
म कस्तो धर्मसंकटमा परे ? प्रहरी पटक पटक म पट्टी आशाका नजरले हेथ्र्यो तर म केही गर्न सक्ने अवस्थामा थिइन । यो फौजको संरचना विल्कुल फरक हुन्थ्यो ।
घाइते प्रहरीमाथि हाम्रो फौजले कुनै दुव्र्यवहार गरेन । अन्तराष्ट्रिय रेडक्रस ( आइसीआरसी)लाई वुझाइ दिने कुरा भयो । म खुसी भए । प्रहरी खुसी भयो । हाम्रो योजना अलपत्र परे पनि दुवै खुसी भयौ ।
म तिमीलाई पर्खि रहने छु, युद्ध छोडेर भागेर जुनसुकै दिन आए पनि हुन्छ – मेरो विवशता वुझेर उसले भनेको थियो । मेरो मनमा पनि यस्तै कुरा खेलीरहेको थियो । उसले नै भन्यो । प्रहरीहरु लडाकुभन्दा चांडै मनको कुरा भन्छन् – मैले फेरी मनमनै भने ।
प्रहरीलाई आइसीआरसीको जिम्मामा लगाए पछि मनमा ढुक्क भयो । फेरी मनमा रिक्तता पनि भयो । आफ्नै फौजमा जाऊ जाऊ लाग्यो । फेरी फुच्चेलाई कसरी सामना गरौला र भन्ने पनि लाग्यो । केही दिन दुविधा भयो । मैले नै फुच्चेलाई मसंग विवाह गर्छौ भनेकी थिए । अव मैले त एउटा प्रहरीसंग पो प्रेम गरे भन्दा फुच्चेले के ठान्ला र भन्ने पनि लाग्यो । तर साह्रै एक्लो महसुस हुन थाल्यो । प्रहरी त कहां पुग्यो । फुच्चेलाई भेटेर नै भए पनि मनमा अलिक शान्ति हुन्छ कि जस्तो लाग्यो ।
आफ्नै फौजमा गए । तर युद्धमा फुच्चे त गम्भीर घाइते भएछ । उसलाई अन्तै उपचार गर्न लगिएछ । मनमा झन् पीर वढ्यो । फुच्चेलाई ठिक हुंदै होला कि झन् व्यथाले च्याप्यो होला ? पीर परिरह्यो ।
००००००००००००००००००००००००००००००००००००००००००००
अव अहिलेको कुरा भन्छु ल ।
म नेपाली सेनाको नयां निर्देशनालयमा थिए । यो वीचमा युद्ध सकिएको थियो । पार्टी सत्तामा थियो, संसदमा थियो , सडकमा थियो । पार्टी सर्वत्र थियो । पार्टी योग्य थियो । लडाकुहरु कोही अयोग्य भएका थिए । देश वदल्ने सपनासंग साटेर अलिकति पैसा लिएर विदावारी भइसकेका थिए । केही वांकी नेपाली सेनाको यो निर्देशनालयमा समायोजन भएका थिए । समग्रमा जीवन जोखिममा पारेर युद्ध जित्नेहरु फेरी पनि जोखिममा नै थिए ।
छोरो कता गएछ भनेर खोजे । एक्ली आमाको के कथा हुन्छ र सवै व्यथा न हो । ड्युटीमा आउंदा पनि छोरो साथमा लिएर आउंथे । साथमा नै लिएर फर्कन्थे । छोरो पर एउटा सैनिक जवानसंग खेलेर वसेको रहेछ । छेऊमा गए । उही प्रहरी पो रहेछ । भेटौकी नभेटौ जस्तो भयो । यो प्रहरीलाई प्रहरीको जागिर छाडेर किन सेनाको निर्देशनालयमा आउनु परेको होला जस्तो लाग्यो । तर छोरोलाई त वोलाउनु नै थियो ।
वावु – मैले छोरोलाई वोलाए । तर प्रहरीले पहिला हे¥यो । हेरिरह्यो । म अवाक भए ।
कहिले यहां आएको ? – उसैले कुरा सुरु गर्यो ।
हिजो मात्रै – मैले जवाफ फर्काए ।
उसले फेरी मेरो छोरा पट्टी हेर्यो ।
यो तपाईको छोरा हो ? –प्रश्न गर्यो।
मैले घोसे टाउको लगाएर हो भन्ने संकेत गरे ।
प्रहरीले वरर आंशु झा¥यो । म वोल्न सकिन । छोरोलाई डोर्याएर हिंडे ।
घर आए पछि फेरी विगत पट्टी हराएँ ।
प्रहरीलाई आइसीआरसी मार्फत वुझाए पछि आफ्नो फौजमा आए । त्यहां फुच्चे पनि थिएन । दिन उदास उदास भएर वित्न लागे । त्यही वीचमा थाहा पाएँ । म त गर्भवती भएकी रहेछु । मलाई धर्म संकट पर्यो । फौजमा म कसरी यो प्रहरीको वच्चा भनेर भन्न सक्थे र ? यो असंभव जस्तै भयो । धर्मसंकटमै रहेको वेला मसंग अर्का लडाकु रविन नजिकिए । किन हो कुन्नि, उनले मलाई निकै हतारिएर विवाहको प्रस्ताव राखे । रविन फौजमा माथिल्लो पंक्तिमा नै थिए । विवाहको लागि उनले पार्टीमा जानकारी गराए । मलाई पेटमा भएको वच्चाको लागि वावु चाहिएको थियो । मनले नमाने पनि स्वीकृति जनाएकी थिए । विवाहको लागि पार्टीले दिएको मिति नजिकिदै थियो । तर दुर्भाग्य, एउटा मोर्चामा रविनको निधन भयो । म फेरी एक्ली भए । तर कसैलाई सम्झाउनै परेन, सवैले सहज अनुमान लगाए, मेरो पेटको वच्चाको वावु रविन नै हो भने । म चुप रहे । यथार्थ फरक थियो । यसै कारण अहिले विवाह नै नभइ म छोराकी आमा भएकी छु ।
भोली पल्ट फेरी प्रहरीसंग भेट भयो ।
अघिल्लो दिनको एक भेटमा नै ऊ छोरोको नजिकको साथी भइसकेको थियो ।
मैले तपाईका वारेमा सवै थाहा पाए, अव के विचार गर्नु भएको छ ? – एक्कासी प्रहरीले सोध्यो ।
के विषयमा ? – मैले उसलाई निहालेर भने ।
विवाह गर्ने विषयमा – ऊ सोझै विषयमा प्रवेश गर्यो ।
तपाइले विवाह गर्नु भएको छैन ? – मैले आशंका गरे ।
मैले त पर्खिन्छु भनेर वचन दिएको थिए तर तपाईको पो वचन लिएको थिइन त – ऊ मुस्कुरायो ।
वचन निभाउन पनि प्रहरी लडाकु भन्दा अगाडि नै हुंदा रहेछन् कि के हो ? – मनमनै भने ।
मेरो छोरोले वावाको नाम सोध्दा रविन भन्छ । अव प्रहरीको नाम लेला त । जुन सत्य हो । तर प्रहरीले पनि यो वच्चा कसको हो भनेर सोधेन ।
वावु तिमी मलाई वावा भन्न सक्छौ ? – प्रहरीले छोरोलाई सोध्यो ।
हुन्छ – छोरो त खुसी पो भयो ।
परिवार समायोजन गरौ ? – प्रहरी खुसीसाथ मुस्कुरायो ।
म जीवनका घुम्ती संझिरहे । मौन रहे ।





