कथा : अधुरो कुरा

गौतम “उदय” / अमेरिका

writer-pen-11212एक दुई पटक गएपनि पब र डिस्कोहरुमा मदसंगै घोलिएर आउने अलिकति मात्र मिनी स्कर्टले छोपिएका सुडौला तिग्रा, तलबाट निचोरेर माथिबाट झन्डै खसाउनै लागेका जस्तै बक्ष, हाउभाउ कटाक्ष्य सहितका मन्द मुस्कान उति मन परेन मलाई । समग्रमा बेग्लै संस्कारमा हुर्के बढेको र मद्को बानी पार्न नसकेको मलाई त्यस्ता ठाउँहरुको प्रभाब सून्य भयो भनौं।तसर्थ सधै काम सकिने बित्तिकै सिधै घर तर्फ हानिन्थें । बेलुकाको खाना पछि मेरो थकाइ बिसाउने र तजकी पाउने साधन सधै नै कम्पुटर र इन्टरनेट नै बने । अहिलेसम्म पनि बनिरेहेकै नै छन् ।

बायु सेवाको ब्यस्त याम नजिकिंदै भएकोले काम धेरै नै ब्यस्त थियो । थुप्रै बोइंगका सि-चेक, टेस्ट फ्लाइटले थकाउनसम्म थकाउँथे प्रत्येक दिन । उसै त वर्कोहोलिक जापानिजसंगै काम गर्नु पर्ने म । जहाँ आठ बजे पुग्ने काम तालिका भए पनि छ बजे नै कार्यकक्ष पुग्ने । पाँच बजे काम सकिने भए पनि राती आठ बजेसम्म काम गरिरहने कमिला जस्ता जापानिजहरु संगको काम । त्यस माथि पनि त्यो दिन एक घण्टा गर्नै पर्ने ओभर टाइम सकेर बीच बाटो मै खाना खाएँ । लखतरान हुँदै घर छिरेर हतार मै इमेल चेक गरें । सुत्नै आँटेको बेला सधै जसो नै लग अन नै रहने मेरो याहू च्याट रुममा “हाई देयर, हाउ आर यू डुइंग ?” भन्ने मेसेज आयो । अर्थ न बर्थका च्याट भन्दै वास्तै नगरी भुनभुनाउँदै बिस्तरा तताउने तर्फ लागेँ । 

भोलि पल्ट शनिबार बिदा थियो । आठ बजे नै निद्रा खुले पनि हाइ काड्दै यता तन्किदै र उता तन्किदै पल्टिरहें नौ बजे सम्मै । नित्य कर्म सकी ठूलो कपमा ब्ल्याक कफी र दुई वोटा क्रसाँट बोकी कम्प्युटर अगाडि बसें । कम्प्युटरलाई स्लिप मोडबाट बिउँझाउँदा त “हलो ! व्हाई डोनचू से सम्थिंग !”आदि आदि भएका करीब दस पटक जति पठाईएका मेसेज र अन्तमा रोमनमा“कस्तो निष्ठुरी” लेखिएको मेसेज रहेछ । अरु मेसेज त केहि जस्तो पनि लागेन । तर “निष्ठुरी” भन्ने शब्दले भने मलाइ तरंग्याई रह्यो । तरंगमै बि.बि.सि. सुन्दै सर्र एकपटक अनलाइनखबर, नेपालप्लस, डिसीनेपाल, बिश्वनिउज, नेपालजापान आदि पढेर याहू मेल खोल्न मात्र के लागेको थिएँ, फेरि उताबाट “हाई देअर, अलरेडी गट अप? डिज्यू ह्याभ अ गुड नाइट स्लिप ?” टू अर्ली !” को वर्षा !

कहिलै कुनै माध्यमबाट सम्पर्क नभएको मान्छेले पागल प्रेमीले जस्तै मलाइ किन लखेटी रहेको होला ? राम्रै चिनेकै मान्छे होकी ? कुनै अरु माध्यमले चिनेको होकी ? कुनै नातेदार नै पो होकी ? भन्ने जिज्ञासासंगै मैले पनि लेखि दिएँ “हाई, क्यान आई आस्क यू हू यू आ एंड होयर यू आर फ्रम ?”

यताबाट मैले मेसेज सेन्डमात्र के गरेको थिएँ सेकेण्ड मै भुटेको मकै पड्के जस्तै उताबाट पटट उत्तर आयो “डोनचू नो मी ? हा!हा!हा! फनी ! आई एम फ्रम ज्यापान !” र पछाडी पट्टि हाँसेर आँखा झिम्क्याएको सानो ईमटिकन पनि ! म तिर्मिर भएँ ! इमेल र च्याटमा धेरै जसो केटा केटी बन्ने, फेक आइडी, नाम, फोटो प्रयोग गर्ने, आफ्नै साथीले रयाक गर्ने, चक्मा दिने र बेबकूफ बनाउने चलन त दालभात जस्तै छन् यो जमानामा ! त्यस माथि पनि चाइल्ड हरयासमट बारे अति कडा कानुन छन् बिकसित देशमा । वालवालिकापनि किशोर बनेर च्याट गर्ने गर्छन । त्यसैले डर पनि लग्यो । अनि म थुप्रै बेर केही नलेखी बसिरहें । फेरि उतैबाट आयो “यू आ लस्ट !”

धेरै पटक उतैबाट एकोहोरो मेसेज आए पछि मैले पनि कहाँबाट रहेछ भनी निश्चित गर्न “गिभ मी योर नम्बर, आई वान कल यू” भनी मेसेज पठाएँ । उताबाट तुरुन्त ०१० ९७७ ९८४१ १२५१७७ आयो । अनि मैले तु फोन लगाएँ । मन्द मीठो हाँसो र मृदु भाषाका साथमा उठ्यो फोन ! हलो, नमस्कार भने मैले ! उतापट्टिबाट दर्शन, आराम होइसिन्छ ? ब्रेकफास्ट खाइसियो ? भनी सोधिन एउटा महिलाले । हजुर, खाएँ ! हजुरले नि भनी सोधें । कफी खाँदै छु भनिन् । नाम सोधें, किर्तिका राणा, तुरुन्तै जवाफ फर्काइन । मेरो नाम चाहिंदैन ? सोधें मैले । फेरि तुरुन्तै जावाफ फर्काइन, मलाइ थाहा छ हजुरको नाम “जेम्स” ! मैले मेरो प्रोफाइलमा राखेको सबै विवरण सहि थियो । त्यहिबाट मेरो विवरण थाहा रहिछन उनलाई । साधारण कुराकानी पछि तुरुन्तै उनले पनि मेरो फोन नम्बर मागिन । निस्चियता गर्न होला सायद! मैले पनि इमान्दारिताका साथ ०८०- ६०७२ ४२६१ पठाई दिएँ । तु फोन गरिन उनले पनि । छोटो कुराकानी पछि फोन सम्बाद बन्द गर्यौं । त्यसपछि निश्चित भयो की यो कुनै प्रकारको झुक्याउने च्याट सम्पर्क थिएन ।

त्यस पछि हामी घन्टौंसम्म च्याटमा ब्यस्त भयौं । च्याटमा हाम्रा थुप्रै कुरा भए । पारिवारिक कुरा, व्यक्तिगत कुरा, अध्यनका कुरा, बैबाहिक कुरा, जबका कुरा, जीवनका भाबी लक्ष, उमेर, रुची आदि आदि । उनका हरेक कुरागराईहरु, प्रस्न सोध्ने र उत्तर दिने तरीकाहरू एकदम सटिक र अर्थपूर्ण थिए । उनको सोंच बहु प्रतिभाशाली थियो । अनि दिमाग मल्टि टासकिंग थियो । भर्खर २७ लगिकी उनी एक प्रखर विद्वान जस्ती थिइन । साच्चै नै स्मार्ट नेपाली केटी थिइन किर्तिका !

च्याटमा ब्यस्त भै लन्च समेत भुलेका हामी एक घण्टामा पुन भेट्ने बाचाका साथ च्याट स्टेटस अन नै छाडी दुई  बजे तिर छुटेका थियौं । हस्यांग फस्यांग गर्दै लन्च खाई सकेर पुनः कम्प्युटर अगाडि मात्र के बसेको थिएँ, म आएर बसेको देखे जस्तै गरी मेसेज पठाइन “यू ब्याक?” मैले पनि यताबाट पठाएँ “याप” ! यस प्रकार फेरि शुरु भयो हाम्रो कुराकानी ।

रोमनमा लेखेर मेरो फोटो पठाउन अनुरोध गरिन उनले मलाई । मैले पनि आफूलाई राम्रो लाग्ने खालका फोटोहरु छानी चार पाँच वोटा क्रमशः अपलोड गरिदिएँ र कमेन्टस् सोध्दै गएँ । हरेक फोटो बारे उनले गरेका कमेन्टस् पनि सटिक र यथार्थ नै थिए । मैले पनि फोटो पठाउन अनुरोध गरें । उनले ६ जना साथीहरु संगैभएको एउटा ग्रुप फोटो पठाईन । ती मध्येबाट उनलाई चिन्नु पर्ने कुरा बताइन । म कोशिस गर्छु त भनी दिएँ । तर जब फोटो आयो, म ठुलै फसादमा परें । किन की फोटोमा भएका सबै ६ जना एकसेएक सुन्दरी थिए । सबै जना उभिएका थिए त्यो फोटोमा । दुई तीन गेस त गरें । तर सबै कुठाउँमा परेछन । अझै असफल हुनु भन्दा हात उठाई दिएँ । र उनैलाई भन्न लगाएँ । अगाडि रेड ब्राउन डाई गरिएको कुम सम्म झरेको सलक्कको सिल्की कपाल, चौडा निदार, ठूला ठूला आँखा माथि सिनित्त परेका आँखीभौं, हिउँ जस्तै सेतो र सफा अनुहार, पुष्ट छाती, ठिक्कैकी पातली र अग्ली बिछट्टै सुन्दरी । साँच्चै नै ड्रप-डेड गोरजस नै थिइन किर्तिका । उनको अगाडि आफ्नो तौल धेरै नै कम भएको महसुस भयो ।

तत्पश्चात हरेक दिन, हरेक फुर्सदका क्षण हामी फोन वा च्याटमा ब्यस्त रहन थाल्यौं । च्याटमा हाम्रा हरेक कुरा हुन्थे । केहि लुकाउदैनथिन उनी । आई.ए.फेल भएको, केटाहरुले रयाक गर्दा कुट्न गएको, साहसिली बन्न जिउँदो माछा निलेको, अडभेन्चरकोलागि सगरमाथा बेस क्याम सम्म गएको र अरु पनि थुप्रै थुप्रै कुरा! अति फरासिली, अति स्पस्ट, स्मार्ट, रोमान्टिक र साहसिली ! कता कता अलि टाढाको नाता साइनो पनि पर्दो रहेछ हामी बीचमा । उनका बाजे जुद्द शमशेरका खलक रहेछन, मेरा बाजे नर शमशेरका खलक । संयोग भनौ या के भनौ हामी दुबैका मुवा बाबाको इन्टरकास्ट म्यारेज थियो ।

शुरुमा मेरो कम्प्युटरमा वेब क्याम थिएन । उनकै जिद्दीले किनेर ल्याएँ मैले पनि । त्यस पछि त झन के चाहियो र ! उठबस नै बनाउन थालिन मलाइ उनले । कहिले टाउको दायाँ त कहिले बायाँ घुमाउन लगाउँथिन । कहिले छाती फुलाई देखाउन लगाउँथिन । कहिले उठ्न । कहिले बस्न । कहिले मूख बिगार्न । केके हो केके । सबै कुरा त भनी साध्यै छैन ! तर यो कुरा एकोहोरो भने थिएन । उनी पनि जे भन्यो त्यहि गर्थिन । कुकुरकी सौखिन किर्तिका कहिले काखमा कुकुर राखी च्याट गर्थिन ।कहिले आफ्नी मम्मीलाई साथमा राखेर हेरिस्योस हजुरको जुवाई भन्दै मलाइ फोटोमा किस गर्दै उनको ममीको अगाडि लाजले भुतुक्कै बनाउथिन । कहिले आफू सुत्ने ठूलो बेड देखाउँदै हामी सुत्ने बेड भन्थिन । एक पटक त आज हजुरलाई नयाँ फोटो देखाऊ छु भनी कोठाको ढोका बन्द गरी पुरै गाउन नै फ्यात भुइँमासम्म झार्न समेत भ्याइन् ! हुन सक्ने जति सबै कुरा भए हाम्रा च्याट र फोनमा !

स्प्रिंगबाट शुरु भएको हाम्रो सम्बन्ध समरसम्म आइपुग्दा हुर्केर, बढेर, झांगिएर एउटा उत्तिसको रुख नै बनिसकेको थियो । हाम्रो उमेरको अन्तराल करीब नौ बर्षको भए पनि संगै जीवन बिताउने करार गरिसकेका थियौं हामी । आमाबाबु, नातेदार अनि शुभचिन्तकले धेरै पटक कर गर्दा गर्दै पनि बिबाह गर्न नमानी करियर बनाउनपट्टि लागेको म । अब बिबाह गर्ने उमेर टल्यो भनी चाम्रिएर बसेको बेलामा २७ बर्षकी कन्या किर्तिका मेरो जीवनमा बाहर बनेर आएकी थिइन । समरमा म काठमाडौँ जाने र भब्य रुपले बिबाह गर्ने पक्का भएको थियो । किर्तिकलाई सोधी सोधी उनलाई मन पर्ने सोनी ल्यापटप, मुभी क्यामरा, एप्पल आईप्याड, ब्लुबेरी आइफोन सहितका थुप्रै सामानहरु किनेको थिएँ । अगस्टको पाँच तारिकबाट मेरो बिदा शुरु हुने भएकोले त्यहि दिन बिहान एघार बजेकोलागी एयर टिकेट लिएको थिएँ मैले । लगेज सबै प्याक गरिसकेको थिएँ । भोलिको फ्लाइट भरि किर्तिकासंग च्याट गर्न, बोल्न नपाउने भएकोले यो राति अलि धेरै नै लामो फोनबार्ता भैरहेको थियो हामी बीचमा ।

तर, हरेक बार्तालापमा किर्तिका डराएको वा संकोचित भएको अनुभव भैरहेको थियो मलाइ । पहिलो पटक कसैलाई, त्यसमाथि पनि जीवनमा कहिलै भेट नभएको आफ्नै बन्नलागेको जीवन साथीलाई भेट्ने क्षण नजिकिँदो भएर होला उनलाई त्यस्तो भएको भन्ने सोचेर लत मैयाँ म भोलि बिहान फेरि फोन गर्छु । आजलाई सुतौं है मात्र के भनेको थिएँ, पखिस्योस, हजुरलाई भन्न एउटा कुरा बाँकी छ भनिन् किर्तिकाले ! मैले सोचें कुनै अर्को राम्रो बस्तु जापानबाट ल्याइदिन फर्माइस गर्दैछन् उनले  । तु भनी दिएँ “ल भनन त !” त्यसपछि उनले बिस्तारै त्यो एउटा कुरा भन्न शुरु गरिन ।

“हेरिस्यो हजुर, मैले हजुरलाई कुनै कुरा लुकाएकी छैन । यो कुरा सुनेपछि हजुरले मलाइ घृणा गरिसिन्छ । तर म यो कुरा हजुरलाई नभनी सक्दिन । पाँच बर्ष पहिलेको कुरा हो । म कलेज पड्दै थिएँ । अल्लारे थिएँ । त्यस बेला एक जना आर्मी सफिसर मेरो पछि लग्यो । बिस्तारै हामि बीच प्रेम बस्यो । त्यस बेला छाउनीमा कार्यरत उसले मलाइ कुपन्डोलमा डेरा लिई राख्यो । हाम्रो सम्बन्ध एकदम राम्रो थियो । मलाइ उसले कुनै कुराको कमी गराएन  शुरु शुरुमा । एउटा मात्र समस्या भनेको ऊ हप्तामा चार दिन जस्तो काठमाडौँ बाहिरका ब्यारेकमा फिल्ड जानु पर्छ भनी डेरामा आउंदैनथ्यो । हामीबाट एउटा छोरी पनि जन्मिन । त्यस पछि मैले बिबाहाकोलागि जोडबल गर्न लागें । तर ऊ टार्दै गयो । बिस्तारै थाहा लाग्यो की ऊ बिबाहित रहेछ । उसको घर पनि काठमान्डौ सामाखुसी मै रहेछ । अर्की पट्टि पनि उसका दुई सन्तान रहेछन । हाल ऊ कंगो मिसनमा छ । पैसा र चाहिएको कुरा अहिले पनि पठाईरहन्छ । ऊ भन्छ – म तिमीलाई औधि मायाँ गर्छु । तर देशको कानुन अनुसार म तिमीलाई बिबाह गर्न सक्दिन । मलाइ पनि ऊ मन पर्छ । तर उसकोलागि म मेरो जीवन यसै फाल्न चाहन्न । म यो ठाउँमा र देश मै बस्न चाहन्न । अब हजुर भानिस्यो, मलाइ अंगाली बक्सिन्छ की के गरिसिन्छ ?”

मसंग उनलाई दिने उत्तर थिएन । मैले मोबाइलको स्विच अफ गरें । अनि औषधि खाएझै शोकेसमा सजाएको  एक क्वाटर व्हिस्की सास नफेरी सकें । भोलि पल्ट होसमा आउँदा दिउसोको बाह्र बजेको थियो । किर्तिकालाई फोन लगाएँ । तर उनको मोबाइलको स्विच पनि अफ थियो !

 

तपाइँको प्रतिक्रिया