युरोपेली परिषदमा छलफलकालागि आज फेरी ब्रसेल्सतिर

23-24 August 2010-Belgium 032युरोपेली युनियनको राजधानी भनिने बेल्जियमको राजधानी ब्रसेल्स जाँदै छु आज । यो भ्रमण घुमघामकालागि होइन । सानो छलफलका लागि हो ।  छलफलमा युरोपेली परिषदको खासगरि दक्षिण एशियाकालागि निति निर्माण बनाउने महत्वपूर्ण अधिकारीहरुसित छलफल हुँदै छ । उनीहरुले केहि विषयमा मसित छलफल, राय र सुझाव लिन खोजेका छन् । मैले गरिरहेका केहि कामको उनीहरुलाई चासो रहेछ । खासगरि युरोपका आप्रवासी नेपाली, नेपालकालागि काम गर्ने युरोपेली बिज्ञ, अनुसन्धानकर्मी र फ्रान्सेली नेपालप्रेमी बारे मैले गर्दै आएको खोजिनिति बारे उनीहरुले मेरा कुरा सुन्न चाहेको उल्लेख गरेका छन् ।

दक्षिण एशियाकालागि युरोपेली परिषदलाई नितिनिर्माण गर्न सल्लाह दिने आन्तोनियो ख्रुजले मलाई लेखेको मेलमा उल्लेख छ ‘हामी तपाईले गरेका कामको बिस्तारमा सुन्न आतुर छौं । हाम्रालागि यो अवशर हुने छ ।’

उनीहरुले नेपालमा प्रदुषण, अन्य वातावरणिय समस्या, भुटानी शरणार्थी, नेपाली संस्क्रिति र आहारबिहार, भारत र चिनसितको नेपालको संवन्ध, शार्क राष्ट्रहरुबिचको क्षेत्रिय संवन्ध लगायतका विषयमा अनुभवहरु सुन्न खोजेका छन् । मैले ‘म राजनितिक विश्लेषक नभएकोले राजनिति बारे उति नजान्ने, तर नागरिक तहबाट सोचिने, भोगिने र एक लेखक तथा पत्रकारले देखे भोगेका, लागेका अनुभव साझेदारी गर्न भने तयार रहेको’ बताएको छु । लामै समयदेखि नेपालको वातावरण, वन, जिवजन्तु र प्रदुषणका बारेमा चाहिँ चासो राख्दै कलम घोट्ने गरेकाले अलि खुलेर केहि सान्दर्भिक पक्ष राख्न सकिएला भनेको छु । म आफुले गरेका, खोजि हिँडेका विषय र युरोपका नेपाली आप्रवासीहरुका विषयमा भने आफुले पाएका खोजिका निचोड साझेदारी गर्ने बचन दिएको छु । नेपाली आप्रवासीका समस्या के हुन् भन्ने बारेमा अलि बिस्तारमा सुनाउनु छ ।

राजनितिको विश्लेषण गर्ने पत्रकार, राजनितिक विश्लेषकले झैं विश्लेषण गर्न त पक्कै नसकिएला नै । तर नागरिक तहबाट सोचिने विषय वस्तु, राष्ट्रिय एजेण्डा, नेपालको भ्रस्टाचार, संघिय नेपाल, आगामी निर्वाचन लगायतका विषयमा केहि अनुभव पक्कै साझेदारी गर्न सकिएला । त्यसले उनीहरुको नितिमै परिवर्तन गर्ने हैशियत राख्ने कुरो त नहोला नै, तर नागरिक तह बाट गरिने मूल्यांकन, भोगाई र हाम्रा नेताहरु आएर ढाँटे छलेका केहि विषयलाई थोरै भएपनि अलि स्पष्ठ पार्न सकियो भनेपनि महत्वपूर्ण हुन सक्छ ।

मान्छेले राम्रो काममा हात हाल्ने हो भने कहिँ न कहिँबाट ढिलो चाँडो थाह पाउने रहेछन् । करिब  सात वर्षदेखि नेपाललाई नजिकबाट नियाल्ने युरोपेली र पाँच वर्षदेखि युरोपका आप्रवासी नेपालीबारे मैले अध्ययन गर्दै आएको थिएँ । फ्रान्सेलीबारे मैले लेखेको किताबको विषयमा केहि ठाउँमा प्रस्तुतपनि गरियो फ्रान्सेलीहरु माझ । तिनै आप्रवासी नेपालीका बारेमा अर्को पुस्तकपनि तयार भयो । नेपाललाई नियाल्ने युरोपेली र आप्रवासी नेपालीबारेको खोजि जारि छ । उज्ज्वल केसीसित मिलेर नेपालीहरुका विषयमा त हामीले एउटा डकुमेन्ट्रीनै बनाउन थालिसकेका पनि छौं । यहि विषयमा कहिल्यै नदेखिएका, नभेटिएका अमेरिका निवासी चनाखा भाई सुवास घिमिरेले युरोली युनियनमा बताएका रहेछन् । उनले ब्रसेल्समै बसेर युरोपेली संसदबारे अध्ययन गरेका रहेछन् । मैले उनलाई धन्यावाद दिनै पर्छ । त्यहि यताउतिबाट तिनले पाएको जानकारिकै आधारमा यो चासो राखेका हुन् मसित । उनीहरुले के कस्तो विषयमा चासो राखे ? के सोच्ने रहेछन् नेपालका बारेमा ? कस्तो रहेछ अहिलेको नेपाल नीति ? देखे भोगेका अनुभव लिएर फेरी आउने छु ।

तपाइँको प्रतिक्रिया