कविता : हामी सबै पल भरका यात्री
● गौतम “उदय” / अमेरिका
यात्री हामी अर्कै ठाउँका, एकछिन यहाँ रहनु छ
गन्ने भन्ने सबै छाडी, आखिर फर्की जानु छ
राग पाल्छौं राग जान्न, मात्र आफू जानु छ
दागा राख्छौं दागा पनि, यतै छाडी जानु छ ।
न त मेरो संगै जान्छ, न त उसले संगै लान्छ
नियमले सबैलाइ, एक्लै ल्यायो उस्तै लान्छ ।
००००००००००००००००
आफ्नो तिम्रो केहि छैन, न त मेरो केहि नै छ
मेरो यो हो तिम्रो त्यो हो, भनिराख्नु ब्यर्थ हुन्छ
कोर्दा कोर्दै सीमा रेखा, सीमाना मै ढल्नु पर्छ
जस्तो आयो उस्तै बनी, उहिँ फर्की जानु पर्छ ।
००००००००००००००००
पेट पाल्न लाज छोप्न, पुगे यहाँ काफि हुन्छ
आँखा भरि हात भरि, पर्छु भन्नु भुल हुन्छ
अफ्नो भाग समाधीको, बित्ता हात सीमा हुन्छ
नत अट्छ केहि कुरा, नत कोहि सँगै हुन्छ ।





