आगो

स्नेह सायमी

nepali-media-person-poet-sneh-sayami-kathmandu.jpgहो
आगो लगाउनु पर्छ
आगो लगाउन आगो बाल्नु पर्छ
आफै बल्नु पर्छ, नजिकैकोलाइ बाल्नु पर्छ
शताब्दीयौं लामो चिसो र कठोर परम्परालाइ बाल्न
ठुलै आगलागी हुन दिनु पर्छ

सलाइहरु कोरिन थाल्नु पर्छ र
दर्शनढुंगाहरु ठोकिनु पर्छ
बारुदहरु पड्किनु पर्छमैनबत्तिका जुलुशहरु निकालेर शहर बजारमा
दुइचारसय टायर बालेर चोकहरुमा
दश बिस गोटा मोटर सल्काएर सडकहरुमा
सिंहदरबारको नियमित जागिरे जस्तै प्रत्येक दिन
अलिअलि हल्ला गरेर रत्नपार्कमा

सदियौंदेखि चिस्यानमा सडिरहेको
संस्कृति र परम्परा
कसरी खरानी हुन सक्छ ?
हामीले खोजेको जस्तो आगलागी कसरी सम्भव हुन सक्छ ?अबको आगो त
इस्पात गाल्ने आगो हुनु पर्छ
बरफ सल्काउने आगो हुनु पर्छ
त्यो आगोको लागि
हामीहरुबीचका फलामे बारहरु
गाल्नु पर्छ
हाम्रै स्वार्थका कप्टेराहरु आगामा ठोंस्नु पर्ने हुन्छ
हाम्रै ढा्रेंगहरु झोंस्नु पर्ने हुन्छ
धुर्त्याइ, फटयाइ, हठहरुलाइ
एउटै झोलामा हालेर
आगोमा फाल्नु पर्ने हुन्छ
हामी भित्रको दरबार सल्काउनु पर्ने हुन्छ
अनि बल्छ धुंवाबिहिन आगो,
सबै ठाउंमा   एकै पटक एकत्रित आगो
बाल्नु पर्ने हुन्छ

यसका लागि
आगोका गीतहरु गुन्जिनु पर्ने हुन्छ
आगोका कबिताहरु सुनिनु पर्ने हुन्छ
बागमतिमा आगोहरु बग्नु पर्ने हुन्छबरफ सल्केर सगरमाथा वरिपरि आगो लाग्नु पर्छ
मेरो, तिम्रो , हाम्रो सबैको एकतन्त्रलाइ
सल्काइदिनु पर्छ

यो आगो
जतिसुकै चिसो र कठोर परम्परालाइ
खरानी बनाउन सक्षम हुन्छ
त्यो आगो गणतन्त्रको आगो हुनेछ ।

तपाइँको प्रतिक्रिया