यो जिन्दगी भन्दा त कुनै जनावरको जिन्दगी ठिक

(अर्जुन भुसालको अधिकांश जिवन बिदेशमै बितेको छ । उनका कथा, ब्यथा, तड्पाइ, अनुभव र भोगाई कहिसाध्य छैनन् । जिवनका तिन दशक भोगाई उनले बिदेशमै बिताए । हो तिनै भोगाईहरु उनले मेरो आगामी प्रकाशोन्मुख पुस्तककालागि साझेदारी गरेका हुन् । युरोपका नेपालीहरुको दुख, कस्ट, मर्म, आँशु, रोदन र सपनाहरु कसरि दूर्घटनामा पर्छन् । नेपालीहरुको युरोप भोगाईबारे मैले लेखेको पुस्तक केहि महिनाभित्रै प्रकाशित हुँदै छ । यहाँ ब्यक्त भुसालका भोगाई त्यहि पुस्तकको सानो अंश मात्रै हो- ददि सापकोटा)

अर्जुन भुसाल / जर्मनी

16-18 Jan 2010-Leipzig 300

म छ वर्ष भयो जर्मनी आएको । बिदेश बस्न मन् लाग्दैन । सानै हुँदा आमाको काख छोडें । पछि बच्चा जन्मिए । तिसित हुर्कँदै खेल्न पाइएन । हिँड्न थालेपछि भेट्न जान थालें बिदेशमा भएकाले । मैले तिन वटै बच्चालाई लगभग १५, १६ महिनाका हुँदा मात्रै देखेको हुँ । ति कुनैपनि बच्चालाई मैले न आमाको पेटमा हुँदा देखें । न जन्मेको बेला । मैले पहिलो पटक देख्दा ठूली छोरीले त मलाई तोते बोलीमा ‘बुवा यो गुन्द्रीमा बस्नुस्’ भन्दै गुन्द्री तानेर दिएको सम्झिन्छु ।

यी सबै सम्झिँदा कुनैपनि बेला जागिर छोडेर फर्किउँ झैं हुन्छ । तर आफूले पढ्न नपाएको पीडा छ । छोरा छोरीलाई राम्रोसित पढाउनु पर्‍यो । सकेसम्म छोरा छोरीले चाहेको तरिकाले पढाउने सोच छ । नसकेका दिन जे त होला । बच्चाहरुको पढाइपनि अहिलेसम्म राम्रो छ । पहिलो दोस्रो हुन्छन् ।

कहिलेकाहिँ मलाई जागिरबाट छुट्कारा पाएर घरै बसौंला । ढुक्कले परिवारसित बस्न पाइएला कि नपाइएला । कि मेरो जिन्दगी यत्तिकै जागिर गर्दा गर्दै बित्ने हो । यसैगरि आर्काको नोकरी गर्दा गर्दै जाने पो हो कि यतै भन्नेपनि सोच्छु म । मलाई केमा दुख लाग्छ भने मैले आफ्नो परिवार, नातागोतापनि चिन्न पाएको छैन सानैबाट हिँडेकाले । यहाँ न घर परिवार छ । न आफन्त । न समाज छ आफ्नो । कसैलाई चिनिँदैन आफ्नो भन्ने । को शत्रु हो, को हो मित्रु केहि थाह छैन । भित्रको भित्रै काम गरेर बसेको छ । मलाई त यो जिन्दगी भन्दा त कुनै जनावरको जिन्दगी ठिक लाग्छ । किनभने जनावर त बरु स्वतन्त्र तरिकाले हिँडेको हुन्छ । हाम्रो त त्यस्तो छैन । कसैको निर्देशनमा बसिन्छ । आज जागिर गरुन्जेल छ, जागिर नभएको भोली पल्टदेखि केहिपनि छैन ।

फोनमा कुरा हुँदा एक पटक आमालाई “कहिँ जान मन छ ? ” भनेर सोध्दा उहाँले “जन्माष्टमीको भोली पल्ट जान्छु” भन्नुभयो । मैले आमालाई भनें ‘आमा जन्माष्टमी, दशैं, तिहार त कहिले आउँछ कहिले जान्छ थाहै पाइँदैन। दशैं आज हो भन्ने थाह भएपनि टिका लगाएर दशैं मनाउँन पाइँदैन । काम गर्नुपर्ने भएर । त्यो दिन भन्दा अगाडि वा पछाडी आफ्नो बिदाको दिन अनुसार मिलाएर लगाउने हो ।” यो सुन्दा आमा छक पर्नु भो ।

हुनपनि दशैंकै दिन टिका लगाउन त मैले पाएकै छैन । दशैंको उपलक्ष्यमा बसौं भनेर अगाडि वा पछाडीको दिन साथीभाइसित बसिएको छ । परिवारसितै भने बस्न पाएको छैन । तिहारको टिका त मैले झन लाएकै छैन । मेरा आफ्ना दिदी बहिनी छैनन् । सानोमा सम्पत्ती नभएकोले फूपु दिदीहरु वा कोहि भाइ बनाउन भनेर आएनन् । सम्पत्ती भएको भए सायद आउँदा हुन् । तर आजकाल चाहिँ अलि परैको नातो पर्नेपनि आउँछन् । पहिले ति आउँथेनन् ।

मैले बच्चा आफ्नै संस्क्रितिमा हुर्किउन् भनेरपनि यहाँ ल्याउन चाहिन । यहाँ त बच्चा १८, २० को भएपछि बाबु आमाकहाँ जाँदापनि सोधेर, अनुमती लिएर जानुपर्ने चलन छ । हाम्रो त अलिअलि चिनेको कोहि छ भने पनि सिधै गएर ढोका ढक्ढकाएर बस्ने चलन छ । पढाइ नराम्रो भए हेरेर त केहि सिक्लान् यहाँ ल्याए भन्ने लाग्दो हो । तर मेरा वच्चाको पढाइ उहिँपनि राम्रो छ । कि त खानै नपाउने भए यहाँ ल्याए खान त पाउँछन् भनेर ल्याइँदो हो । किनभने नेपालमा त ‘भए खा, नभएर मर’ भन्ने न छ । यहाँ झैं सरकारले त पाल्दैन । त्यो स्थितिपनि आफ्नो नभएकोले मैले ल्याइन ।

आफ्नै नेपाली अनुसारकै बनुन् । कमसेकम बाउ आमाबाट टाढा हुने संस्क्रिति नसिकुन् । पढेर केहि गर्न सके देशकै लागि केहि गरुन् आफ्ना बच्चाले भन्ने मेरो चाहना छ । मलाई मन थियो । पढ्न पाइन । त्यसैले बच्चाहरु देशकोलागि केहि गर्ने खाले भैदिउन् झैं लाग्छ । मेरो त देशलाई हेर्ने, समाजकालागि सोच्ने त समयनै आएन । आफ्नै परिवारको समस्या टार्न सोच्दै ठिक्क भयो । मेरो हातमा करोडौं हुन्थ्यो, ठूलो ओहदामा हुन्थें भने मैले नेपालमा उध्योग कल कारखाना खोलेर अरुलाईपनि रोजगारी दिने बारे सोच्थें । नेपालमै लगानी गर्थें । जानेको सिप नेपालमै सिकाउँथें । पढ्न र सिप सिक्न बिदेशै जानु परेपनि त्यसको सदुपयोग नेपालमै गरुन् भन्ने ईक्ष्छा छ बच्चाहरुले । बस्न त म बाहिर नै धेरै बसें । तरपनि मलाई किन हो किन नेपालकै संस्कार, संस्क्रिति नै ठिक लाग्छ । त्यसैले आफ्ना बच्चापनि त्यहि सिकुन् । उतै बस्नुन् भन्ने लागेको होला ।

जर्मन भाषा यहिँ आएर सिकेको हुँ । आफूलाई काम चलाउने गरि बोल्न आउँछ । बजार जाँदा वर्दा र काम परेर बोल्दा सिकें । म कहिल्यै पढ्न गएको छैन भाषाको लागि । आफैंले पढ्ने गरिन्छ अलि अलि घरमै । पत्रीका हेर्ने, टिभी हेर्ने गरेर सिक्छु केहि मात्रामा ।

नेपालबाट नयाँ पीँढी आउँछ यहाँ यूरोप । दलाललाई १०, १२ लाख खुवाएर । कोहि जापान, अमेरिका र यूरोप । घर घडेरी बेचेर आउँछन् । दलाललाई त्यत्रो पैसा देउ । उसले भित्र्याइदिने मात्रै हो । जागिर दिने, काम गर्ने पेपर मिलाइदिने होइन । कति दलालले त छिराइदिनै सक्दैनन् रपनि पैसो खाइदिन्छन् ।

यहाँ आएर पनि भाषा हुन्न । काम पाइन्न । कागज हुन्न काम गर्ने, बस्ने । झन काम दिँदैनन् । काम पाउँदापनि लुकेर गर्नुपर्छ । पेपर छैन भन्ने भएपछि सस्तोमा काम लाउँछन् । बढि घण्टा काम लाएर श्रम शोषण गर्छन् । त्यो पैसा उठाउन कतिमा दुइ तिन वर्ष लाग्छ सरासर काम पाएर कमाएपनि । नत्र लाग्छ चार पाँच वर्ष । उता त्यति वर्षमा ब्याज बढेर झन निकै हुन्छ । यहाँ कमाइन्छ भन्ने कुनै निश्चित छैन । म त त्यत्रो पैसा दिने, एजेन्टलाई धनी बनाउने र आफ्नो पैसोको जोखिम उठाएर यूरोपमा जाने सल्लाह दिन्न । उता भए आफ्नो परिवारसित बस्न पाइयो । यता एजेन्टलाई दिएको पैसाको त पूरै जोखिम हुन्छ । आफूले नेपालमा लगानी गरेको पैसाको त पुरै जोखिम हुन्न । बरु त्यो भन्दा त ८ लाख नै लगानी गरेर भएपनि नेपालमै कुनै पसल खोल्ने । वा कुनै सिप नै सिकेर केहि काम गरेपनि उतै राम्रो हुने हो ।

यहाँ आएर कोहि शरणार्थीमा बस्छन् । यहाँ घुम्न हेर्न त पाउनु ? बरु कोठाबाट निस्किँदापनि लुकि लुकि हिँड्छन् । उता आफ्नो परिवारलाई देख्नु छैन । अनि कोहि त पेपर नभकोले राम्रो काम नपाएपछि १०, १२ वर्षमा कमाउन नसकेर हिँडेकापनि छन् । बाहिर नगएकाले ओहो म त बिदेश जान पाए पैसाको मुठै बाँध्न सक्थें भन्ने सोच्छन् । त्यति मात्रै नभएर मैले केहि पढे लेखेकैलाईपनि त्यहि सोच भएको भेट्टाएँ ।

एक जना नेपालीसित भेट भयो अचानक । उहाँ भर्खर आउनुभएको रहेछ । ‘वरिपरिका मान्छेले कति कमाउँछन्’ भनेर सोध्नुभयो । मेरो कमाइ सोध्नुभयो । अनि हामी सित कुरा हुँदा “मैले त महिनाकै १२, १५ सय यूरो कमाउने योजना लिएर आएको छु । ४, ५ सय आफूले राखेपनि १००० यूरो सम्म घर पठाउने ” भन्नुहुन्थ्यो । उहाँले ईन्टरनेटमा हेर्नु भएछ घण्टाको कति पैसा पाइन्छ भनेर । घन्टाको कम्तिमा ६, ७ यूरो छ न्युनतम पारिश्रमिक । त्यो हिसाबले १५, १६ घण्टानै काम गर्छु । त्यति काम गरेपछि सजिलै कमाइन्छ भन्ने परेछ । उहाँले घण्टाको कति पाइन्छ भन्ने हेर्नु भयो । तर काम कत्तिको पाइन्छ हेर्नु भएन । काम जतिपनि गर्छु भनेर पाइन्न यहाँ । पछि बास्तविकता थाह पाएपछि बल्ल हामीले भनेको सम्झिनु भयो ।

हुँदा हुँदा त उहाँलाई खानपनि गाह्रो भयो । एजेन्टलाई पैसा खुवाएर बिध्यार्थी भिसामा आउनु भएको रहेछ । पैसा खुवाएर सो गर्न (देखाउन) मात्रै पैसा ब्याजमा लिएर आउनु भएको रहेछ । अनि यहाँ आएपछि त्यो पैसा फिर्ता पठाइदिनु भयो । तिन महिनाको भिसा रहेछ । भिसा थप्न बैंकमा पैसा देखाउनुपर्ने भयो । तर आउनासाथ पैसा फिर्ता पठाइदिनु भएपछि खाता रित्तै । पैसा नभएपछि भिसा थपिदिएन । अनि फेरी उहाँले नेपालीलाई हार गुहार गर्नु भयो ‘लौ न यस्तो समस्या पर्‍यो’ भन्दै । अनि नेपालीले दुई चार सय गरेर बैंकमा हालिदिए । त्यसपछि भिसा लाग्यो । तिनको पैसा मासिक पाँच सय मात्रै झिक्न पाइने भएकोले त्यति झिक्दै तिर्दै हुनुहुन्छ । अलि अलि कामपनि गर्दै हुनुहुन्छ ।

उहाँ आएको तिन चार वर्ष जति भयो । सपना लिएर धेरै आउँछन् । तर उहाँ देखेको जस्तो सपना यहाँ पूरा हुने अवस्था छैन । नेपालमा देखे अनुसारको सपना त यहाँ २० प्रतिशतपनि मिल्दैन ।

 

तपाइँको प्रतिक्रिया