कविता : प्रवासीलाइ प्रश्न

गौतम “उदय” / हवाई, अमेरिका

writer-pen-11212

बिदेसिने सारासंग आज बोल्न मन लाग्यो

नबुझेका कुराहरु केहि सोध्न मन लग्यो

आफ्ना मनका कुरा पनि केहि भन्न मन लग्यो ।

 ००००००००००००००००००

जन्माउने आमालाई छाडी किन भागी राछौ ?

अरुलाई दिने सिधा आफैं किन मागी राछौ ?

म त भन्छु माता माटो आफैं भन्दा प्यारो हुन्छ

लुटाए नि टुटाए नि जिउन अति गाह्रो हुन्छ ।

 ००००००००००००००००००

चुसाएर लाम्टो तिम्लाई हाड मासु भरी दिईन

उब्जाएर अन्नपात टाउको चौडा गरी दिईन

उही आमा आज तिमी छाडी किन भागी राछौ ?

तीर्ने बेला दूधको भारा उल्टो अझै मागी राछौ ।

 ००००००००००००००००००

तिम्ले आज पान गर्ने दूध तिम्रो आफ्नो होर ?

होला पुष्ट छाती पनि तर कुनै नाता छर ?

जीवन दिने आमालाई मायाँ गर सेवा गर

नपाउँदै छोरा नाति उन्कोलागी केहि गर ।

००००००००००००००००००

तिमीलाई हुर्काउँदै आज उनको चोली फाट्यो

तिम्लाई अक्षर घुसाउँदै केश फुल्यो धोती फाट्यो

बित्ता टाढा जाँदैमा के आमाको लाज देखिन्न र ?

तिमी अघि पर्यौ भने नांगो भाग के छोपिन्न र ?

 ००००००००००००००००००

ठान्नु हुन्न सगरमाथा चढ्ने अनि झर्ने बस्तु

नत हुन्छ बुद्ध अस्तु आर्जन गर्ने द्रब्य बस्तु

अब सोच अनि भन तिम्रो आफ्नो मोल कति ?

अमर अमर सपुत कि कौडी बस्तु मोल जति ?

 ००००००००००००००००००

बिदेसिने सबैसंग आज बोल्न मन लाग्यो

सोध्न पनि मन लाग्यो भन्न पनि मन लाग्यो

अल्प बुद्धि मेरै होकी अल्ली बुझ्न मन लाग्यो ।

तपाइँको प्रतिक्रिया