महामहिमलाई आक्रमणको त्रास

● गमन बहादुर घले

general-assembly-nrn-belgium-55689कूटनितिक ब्यक्ति जहाँ पुगोस् उसको विशेष सुरक्षा र आदर हुने गर्छ । युरोपेली मुलुकमा त झन कूटनितिक ब्यक्तिहरुको विशेष सुरक्षा हुने गर्छ । तर बेल्जियमकालागि नेपाली राजदूत राममणी पोख्रेलले भने नेपालीहरुकै कार्यक्रममा आफुमाथि आक्रमण हुन सक्ने शंका गर्दै आफु असुरक्षित रहेको बताएका छन् । एकिक्रित नेकपा माओवादीको कोटाबाट केहि महिना अघि मात्रै बेल्जियममा राजदूत भएर आएका राजदूतले आफूमाथि नेपालीहरुबाटै आक्रमणको चिन्ता गरेका हुन् । एन आर एन बेल्जियमको वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए उनी ।

गोजीबाट सानो चिट झिकेर अलि आक्रोशित रुपले मन्तब्य राख्न लागेका उनले शुरुमै आक्रमणको चिन्ता गरे । “पहिले तपाईहरुले लेख लेखेर बिरोध गर्नु भो । त्यसपछि कार्यक्रममा बोलाएर धम्काउनु भो । अब त बोलाएर भौतिक आक्रमणनै गर्नुहुन्छ कि जस्तो लाग्या छ” उनले भने । भौतिक आक्रमणको चिन्त राजदूतले ब्यक्त गर्दा उपस्थित केहिले ताली पिटे । केहि हाँसे । ति सँगै राजदूत पोखरेलपनि हाँसे ।

कोटको खल्तिबाट चिट झिकेर बुँदगत रुपमा मन्तब्य राख्दै गए उनी । उनले आफुमाथि आक्रमणको चिन्ता पटक पटक ब्यक्त गरे । भने “मेरो नाक चुचो छ भनेर मलाई ठोक्न आइहाल्ने । मेरो चुच्चो देखेर मलाई ठोक्ने हो भने ककसको नाक चुचो छ ल आइहाल्नुस् र तिनलाई ठोक्नुस् ।” राजदूतले आक्रोशित हुँदै भने ।

आफु माओवादीको कोटाबाट आएकाले केहि मानिसहरुले कोठे राजनिति सफल पार्न आफ्नो बिरोध गरेको । यो माओवादी हो भनेर ठोक्न खोजेको । असफल बनाउनु पर्छ भन्ने सोचेको भन्दै उनी गुनासो गर्दै थिए । राजदूतावासलाई बिबादमा तान्न, छिलो छ्याप्न र बदनाम गर्न खोजेको भन्दै उनले त्यसो नगर्न चेतावनी दिएका थिए । “म नेता होइन । म कूटनितिक मान्छे हुँ । दुतावासलाई हिलो छ्याप्ने, बिबादमा तान्ने काम नगर्नुहोला । त्यसो गरे ठिक हुन्न” आक्रोशित भएर बोलेका उनले चोर औंलो ठड्याउँदै भने ।

केहि संघ संस्थाका ब्यक्ति, राजनितिक दलको भात्री संगठनका स्थानिय नेताहरुले आफ्नो बदनाम गर्न खोजेको दोहोर्‍याउँदै थिए । सहभागिहरुलाई कूटनितिक मर्यादामा रहेर बोल्न र दूतावासबाट सिक्न आग्रह गर्दै थिए । “माओवादीको मान्छे हो भनेपछि यसलाई ठोक भनेर उचालिरहेका छन् । त्यस्ता केहि मानिसले तपाईहरुलाई प्रयोग गरिरहेका छन् । सतर्क हुनुहोला” हलमा उपस्थितहरुलाई सम्झाउँदैपनि थिए राजदूत पोख्रेल ।

उनको मन्तब्य अघि नेकपा -माओवादी समर्थित जन प्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठकले दूतावासमा भएका बेतिथिबारे सर्सर्ति उल्लेख गरेका थिए । दुतावास ढोकामा संकेत समेत नेपाली भाषामा नभएको, दूतावास भित्र राखिएको चियापनि मिति सकिएको राखेको, कार्पेटहरु थोत्रिएको, चर्पीमा ट्वाईलेट पेपरसम्म नभएको र फोटोकपी सुबिधापनि दिन नसकेको गुनासो गरेका थिए । नेपाली संघ संस्थाहरुलाई कारवाहीको चेतावनी दिएर दुतावासले तर्साउन खोजेको भन्दै पाठकले त्यसमा आफुहरुको आपती रहेको र दुतावास सबै नेपालीको साझा संस्था, अभिभावकका रुपमा बस्न सुझाव दिए । पाठकले त्यसलाई सुधार्नु पर्ने भन्दै सुझाव दिएपनि राजदूत पोख्रेलले त्यसलाई सहज रुपमा स्विकार गरेनन् “त्यो दूतावास तपाईहरुकोपनि हो । फोहोर देख्दा तपाईहरुले पनि पिउनलाई बोलाएर सफा गर्न लगाउन सक्नुहुन्न ? बेतिथि थियो भने पहिले किन भन्न सक्नु भएन ? किन मै आएपछि मात्रै भन्नुहुन्छ ?” पहिले किन भन्न सक्नु भएन भन्ने उनको भनाई पूर्व राजदूत प्रमेश कुमार हमालप्रति संकेत थियो । हमाल एमालेको कोटाबाट राजदूत बनेका थिए ।

तर सबै कूटनितिक कुरा सबै आफुले जानेको र सबै आफैलें गर्नेपनि उनले नेपालीहरुलाई सुनाए । करिब १६ मिनेट मन्तब्य दिँदा उनले नेपालीहरुलाई “यो धम्कि होइन” भन्दै थिए । तर उनको प्रस्तुति आक्रामक र धम्किपूर्ण थियो । उनले दुतावासका बारेमा बक्तब्यबाजी र मेडियाबाजी नगर्न पटकपटक औंलो उठाउँदै धम्काए । भने “नत्र ठिक हुन्न । यो धम्की हैन । धम्कीको रुपमा नलिनुस् । धम्की भए म अर्कै किसिमले बोल्थें ।” राजनितिक प्रिष्ठभूमीबाट आएका र प्रचण्डको चाखमा राजदूत बनेका भनेर चर्चा गरिने उनले अरुलाई भने नेतागिरि नगर्न अर्थ्याएका थिए ।

उता जनप्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठकले भने नेपाली संघ संस्थाका बिचमा राजदूतावासले खेल्न खोजेको भन्दै राजदूत र दुतावासलाई आफ्नो मर्यादामा बस्न, कुनै संघसंस्थालाई च्याप्ने कुनैलाई पाखा लागाउने काम नगर्न सम्झाए । बक्ताहरु राजदूतावासको पक्ष र बिपक्षमा देखिएका थिए ।

 

तपाइँको प्रतिक्रिया