मेरो विश्वास
–रन्जु मार्ग
सूर्यभन्दा पनि धेरै माथि
अनगिन्ति तारागणहरू
सूर्यभन्दा पनि भीमकाय
ब्रम्हाण्डका पिण्डहरू,
जब जब तिनीहरू
धर्ती हेर्न तलमाथि गर्नेछन्
के होला यो संसार? एउटा अकल्पनीय तरंग मनभरि !
तर तिमी छौ, त्यसैले म ढुक्क छु |
***************
धर्ती- जीवहरूको अस्तित्व
धर्ती -माया र प्रेमको मुहान
धर्ती- समर्पन र त्यागको आधार
यो सुन्दर छहारीमा
जब राप र तापले डस्नेछन्,
रहदैनन होला
कुनै जिव,
कुनै प्राण!
म अत्तिन्छु एकपटक,
तर तिमि छौ, त्यसैले म ढुक्क छु |
***************
धर्ती आक्रान्त छ,
यो धर्तीलाई जोगाउन
यो माटोको अमरगाथा गाउन
मानिसलाई प्रेमको पाठ पढाउन
तिमी प्रेमको गाथा सुनाउदै आऊ,
र फेरि तिम्रा वाणीहरू,
मानिसका मन-मस्तिष्कमा गुन्जाइदेऊ-
“शत्रुलाई पनि प्रेम गर!’
“क्षमाशील बन”
“सत्यको बाटोमा हिंड”
खडेरीले सताएको यो धर्तीलाई
प्रेमको पानीले नयाँ जीवन देऊ |
तिमी फेरि आउनेछौ, त्यसैले म ढुक्क छु |





