‘कुल्लीको भाषा’ र साहित्यमा एनआरएनले गर्न सक्ने काम

कल्पना घिमिरे-

 

kalpana-didiनेपालको माटोमा जन्मी, बिदेशलाई कर्मभूमी बनाउने हामी एनआरएन पर-बासीनेपालीको ईतिहास अत्यन्त पुरानो एवं गरिमामय छ । ९ औं शताब्दीकी नेपालकि छोरी एवं तिब्बतकी महारानी भ्रिकुटी एवं १३ औं शताब्दीमा पाटनका सामान्य परिवारमा जन्मेर चिनमा पुगी, नेपाली कला कौशलको गरिमा सम्पूर्ण सुदूरपुर्व एशियामा फैलाउने अरनिको बलबाहुको त चर्चा हुने नै गर्छ ।

 

भाषा एवं साहित्य क्षेत्रमापनि एनआरएन विभूती अवश्य छन् । सन् १८६६ मा काठमाण्डुमा जन्मी, ६ वर्षे उमेरमा बनारस बिदेशिएका मोतीराम भट्टले एक पर्वमा पुरोहितले अतिनै मिठो भाका लगाई वाचन गरेको रचना के हो भनी खोजताज गरेर तनहुका स्वर्गवासी कवीको पुस्तक छपाई, प्रचारप्रसार गरेर, त्यस अपरिचित कवीलाई आजको नेपाली मात्रको आदिकवी भानुभक्त बनाईदिए । साथै, विदेश भूमीमै नेपाली साहित्य समिति गठन गरि, नेपाली साहित्य रचना खोजेर प्रचार प्रसारपनि गरे । यसै प्रक्रियामा उनले ब्याकर्ण नभएको नेपाली भाषाको ब्याकर्ण नियमहरु स्थापनापनि गरे ।

 

भानुभक्तकै बारेमा एउटा रमाईलो तथ्य छ । दार्जिलिङका प्रवासी नेपालीहरुले सन् १९४९ मा नै आदिकवीको पूर्णकदको सुनौलो शालिक शहरको मुटुमा स्थापना गरिसकेका थिए । काठमाण्डुमा आदिकवीको आधा कदको प्रतिमाको उद्घाटन मात्र १९५९ मा दरबार हाईस्कूलमा स्व. राजा महेन्द्रको हातबाट भएको थियो । दार्जिलिङका प्रवासी नेपालीले नेपालका नेपालीले भन्दा एक दशक अगाडिनै कवीको सालिक स्थापना गरेर आफ्नो नेपाली पहिचान एवं नेपाली साहित्यको किन यस्तो कदर गरेका थिए त ?

 

प्रवासीको विरासत (१)

 

किनभने हाम्रा ति अग्रज प्रवासीका चुनौती आज हाम्रा एनआरएन नेपालीका जस्तै थिए । चार जात ३६ वर्णका नेपालीले विरानो, उपेक्षा गर्ने मुग्लानमा गइ, भाषा र साहित्यको टेवा दिएर एकत्रित एवं साझा नेपाली पहिचान बनाउनु थियो । हिजो आर्थिक बाध्यताका कारण उनीहरुलाई आफ्नो जन्मजात सांस्क्रितिक, सामाजिक एवं पारिवारिक माटोबाट उखेलिएर नयाँ मुलुकमा नयाँ जरा गाड्नु परेको थियो हुबहु हामीलाई जस्तै । भाषा साहित्य  क्षेत्रमा हामी गैह्र आवासिय नेपालीले के कस्तो काम गर्नुपर्छ भन्ने उदाहरण एवं मार्गदर्शन तिनै हिजोका बनारस, कालिङपोङ, खर्स्याङ, दार्जिलिङ, सिक्किममा प्रवासी नेपालीले गर्दछन् ।

 

कुल्लीको भाषाभनिने नेपाली भाषालाई उनीहरुको अटल प्रयासले भारतको एक गरिमामय राष्ट्रिय भाषा बनायो । उनीहरुको साहित्य साधनाले प्रवासी साहित्य मात्र होइन, राष्ट्रिय साहित्यलाई मल र जल दियो । आजका हामी एनआरएन साहित्यप्रेमी, साहित्यकर्मी तिनै हिजोका साहित्य रत्न: पारसमणी प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, पारिजात, रुपनारायण सिन्हाका अनुयायी एवं उत्तराधिकारी हौं ।

 

आज मात्रिभूमी नेपालमा भाषिक, जातिय, सांस्क्रितिक, सामाजिक एवं राजनैतिक खिचातानी अभियान चलेको छ । एकताको नारा होइन प्रिथकताका आवाज चर्का छन् । आजपनि हाम्रा चुनौतीहरु उनै प्रवासी नेपालीका जस्तै नै छन् :

 

विश्वभरि छरिँदै गएका एनआरएन नेपालीलाई एकै सञ्जाल (नेटवर्क) मा बाँध्नु परेको छ ।

साझा नेपाली पहिचानको मञ्च खडा गर्नुपरेको छ ।

मात्रिभूमीको माटो र जन्मदिने समाजको जरासित संबन्ध कडी जोड्नुपरेको छ ।

आफ्नो कथा र ब्यथाको अभिलेख राख्नुपरेको छ ।

नेपाली भाषा, पहिचान एवं संस्क्रिति भौतिक नेपालभन्दा ज्यादैनै व्रिहद छ भनी प्रमाणित गर्नुपरेको छ । यसबाहेक हामीलाई एक थप चुनौती आईपरेको छ । त्यो हो; नेपाली साहित्यलाई विश्वमा चिनाउनु ।

 

प्रवासीको विरासत (२)

 

फ्रान्सका एनआरएनले साहित्य जगतमा काम कसरि गर्नुपर्दछ भन्ने पाठ हाम्रा अंग्रेजी भाषी देशमा बस्ने एनआरएनका प्रयास र सफलताबाट हामीले पाउँछौं । अमेरिका, अष्ट्रेलिया, बेलायतका एनआरएन साहित्यिक उपलब्धिहरु उल्लेखनिय छन् । अमेरिकी एनआरएनको प्रयासमा सूत्रपात भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्व एनआरएन साहित्यिक मञ्च तयार पारिरहेको छ । नेपाली साहित्यिक जगतलाईनै धनी बनाइरहेको छ । बिभिन्न अंग्रेजी र नेपाली दोभासे ईन्टरनेट साईटबाट गुणस्तरिय साहित्यको प्रभाव भइरहेको छ ।

 

यसबाहेक, साहित्य अनुवाद एवं सोझै अंगेजीमा साहित्य लेखनका परिणामस्वरुप अंगेजी भाषा भाषी देशमा नेपाली साहित्यप्रति चसोपनि केहि बढेको छ । नेपाली साहित्यपनि साहित्य विश्वब्यापीकरणतर्फ सल्बलाउन लागेको छ । सोझै लक्षित भाषामा नेपाली वा नेपालीमूलका लेखकका क्रिती (सम्राट उपाध्याय एवं मञ्जुश्री थापाको उपन्यासहरुले) विश्व साहित्य जगतमा केहि ख्यातीपनि कमाईसकेका छन् ।

 

राष्ट्रिय साहित्यलाई विश्व साहित्य जगतमा चिनाउने अर्को सशक्त माध्यम अनुवाद हो भनेर सबैलाई थाहनै छ । हिन्दी, रुसी, स्पेनी, चिनियाँ, जापानी ईत्यादी साहित्य यसै माध्यमबाट विश्व साहित्यको अभिन्न अंग बनिसके । अंग्रेजी भाषा भाषी मुलुकहरुमा अनुवाद मार्फत नेपाली साहित्यको प्रचार प्रसारको राम्रो थालनी भईसकेको छ । हालसम्म २५० नेपाली साहित्यिक क्रिती अंग्रेजीमा अनुदित भइसके । तर अफसोच ! सबै अनुवाद गुणस्तरिय छन् भनेर भन्न सकिन्न । साहित्य अनुवाद वास्तबमा अनुवाद रचना हो । भाषिक अनुवाद तुलनात्मकरुपले त्यति अप्ठेरो काम होइन । साहित्य अनुवादको लागि स्रोत र लक्षित भाषाहरुमा दक्षता मात्रले पुग्दैन । यसले स्रोत र लक्षित संस्क्रिति दुबैमा कौशल खोज्दछ । यस काममा नेपाली वा नेपाली मुलका प्रथम वा दोस्रा पुस्ताका हामीनै अगाडि बढ्नुपर्दछ ।

 

नेपालबारे विशेषज्ञ कहलाइएका विदेशीले नेपालको विज्ञान, समाजशास्त्र, पर्यटन जस्ता कला-सिर्जनारहित क्षेत्रहरुमा जानकारि अवश्य राख्दछन् । तर नेपाली आत्मा र मनको नालीबेली, नेपाली भाव, अभिन्यकर्ताका अन्तरकुन्तर जाँदैनन् । अर्को तर्फ, लक्षित विदेशी भाषा संस्क्रितिमा पूर्ण दक्षता भएका नेपालीकोपनि कमी छ । साहित्य अनुवादको काम यसैकारण कि त नेपाली र विदेशीको सहकार्यमा हुनुपर्दछ, कि त दोस्रो पुस्ताका एनआरएन नेपालीबाटनै हुनुपर्दछ भन्ने मेरो ठोकुवा छ । यि सबै माथिका सुझावहरु फ्रान्स र नेपालकै साहित्य आदानप्रदानमा मात्र सिमित हुँदैनन् । रुसी-नेपाली, जापानी-नेपाली, स्पेनी-नेपाली साहित्य आदानप्रदानमा पनि त्यत्तिकै प्रासंगिक छन् ।

 

(लेखिका फ्रान्सेली कला र शैक्षिक क्षेत्रमा योगदान गरेबापत फ्रान्सेली सरकारका तर्फबाट प्राज्ञलाई दिईने सभालिए दँ लर्द दे पाल्म आकादेमिक [Chevalier dans l’ordre des Palmes Académiques] भनिने तक्मा सन् २००३ कि बिजेता हुन्)

 

 

 

 

 

तपाइँको प्रतिक्रिया