चरीबिनाको वन र पेरिसमा तमु ल्होसार
छैन क्यारे यो ठाममा चरी
चरी भए कराउँथ्यो क्यै गरी
हिजो पेरिसमा तमुहरुको ल्होसार पर्वको भब्य तयारी थियो । त्यसैमा लौ दोहोरी खेल्ने भनेपछि सोल्टाहरु अर्थात भाले चरा तयार भए । अनि चरी भनौं, सोल्टीनी भनौं वा पोथीहरुलाई यसरि जिस्काए । चरीहरु बेपत्ता । कोहि आउन्न । केहिबेर कुरे । अँहँ चरी देखा परेनन् । लाजै भो । चरी नभएको वन परेछ । अनि मैले गएर थपिदिएँ चरीहरुको इज्जत जोगियोस भनेर ।
छ न त यहिँ छन् चरी
कराउँदैनन् तिनको मन नपरि
यति भनिदिँदापनि कुनै चरी देखा परेनन् । अनि दोहोरी खेलम्ला । चरीहरुको मन पगालम्ला भनेर ब्रुक ब्रुक गरेको त चरीहरुले हिस्स पारिदिए । मन परेनछ क्यारे चरीहरु कराएनन् ।
हिजोको तमु समाज फ्रान्सको कार्यक्रम साँच्चिकै प्रशंसायोग्य थियो । धेरैले गरे प्रशंसापनि । साना नानीहरुलाइ सिकाएर तमुगीतबाट स्वागत गरे । पानसमा बत्ती बालेर कार्यक्रम शुरु गरिएको थियो ।
तर नेपाली राष्ट्रिय गीत “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” पनि बिर्सिएनन् । त्यसपचि मन्तब्यको क्रम राखे । पेरिसका सबै संघसंस्थालाई मन्तब्य राख्न लगाए ।
नेपाली दुतावासका काउन्सिलर रामबाबु ढकाल भर्खरै कार्य सम्हाल्न आएका रहेछन् पेरिसस्थित नेपाली दुतावासमा । निकै समाबेशी, निकै मिठो र मननयोग्य केहि कुरा राखेर गए । गुरुङहरुको संस्क्रितिलाई संरक्षण र संवर्धन मात्रै होइन कि प्रवर्धनपनि गर्नुपर्ने बताए । दुतावासमा आफुले सबै संघ संस्थालाई स्वागत र सहयोग गर्ने त्यसकालागि निजि मेल र फोनसम्म लिन आग्रह गरे । यहि मेसोमा पेरिसमा भएको फूटबल प्रतिस्पर्धामा बिजयी टोलीलाई सम्मानपनि गरे । खेलाडीलाई खादा ओढाएर उनै ढकालले सम्मान गरे ।
अध्यक्ष लक्ष्मण गुरुङले गुरुङ संस्क्रितिको सानो परिचय दिँदै सबैलाई स्वागत गरे । ढोकामै माईला भेना लगायतक तमु महिला र केहि पुरुष आफ्नो पहिरनमा स्वागतमा बसेका थिए । त्यसले हलभित्र छिर्नासाथ रमाईलो बनाउँथ्यो ।
हलको भित्तोसमेत पर्दाले मोडेर सधैंजसो नेपाली कार्यक्रम हुने त्यो हल गज्जवले सजाएका थिए । पुग्ने बित्तिकै सेल रोटी र अचारको खाजाले स्वागत गरिएको थियो ।
धेरैले नाचे गाए । एक से एक थिए । सुन्दर थिए । तरपनि सयौं तस्विरहरु मैले यहाँ राख्न सक्ने कुरो भएन । सबैको नाम र थर थाह हुने कुरोपनि भएन । त्यसैले न्रित्यका र गायनका छानिएका केहि तस्विर हेर्नुस् । भन्सारमा प्रहरी भन्ने प्यारोडीको भने म अलग्गै फोटो ब्लग लेख्ने छु हेर्दै गर्नुहोला है त ?
(यि चाहिँ नेपाली एकता समाजका महासचिव हुन् प्रमोद पाण्डे । यो मन त नेपाली हो भन्ने गीत गाएर खासगरि युवायुवतीहरुलाई उचाल्दै )
साना नानी बाबुहरुलाई थरी थरीका गीतमा लाज र धक नमानी नाच्ने तालिम दिन कति समय लागे होला ? कति मेहनत परे होला ? कसले सिकायो यो ? हुन त केहि पुराना गीत र न्रित्यपनि गाए त्यहाँ । तैपनि यस्तो तयारिकालागि सानोतिनो मेहनत र समय खर्चेर संभव पक्कै भएन ।
मलाई मन पर्ने किनपनि हो भने तमुहरुको कार्यक्रममा भाषण गर्न मरिहत्ते गर्दैनन् । माईक खोसाखोस हुन्न । बरु ‘ह्या सोल्टी हामी त बोल्दैन पो । म त बोल्दैन भो । काँको बोल्ने हो, बोल्नु आए पो बोल्ने हो’ भन्दै पन्छिन्छन् । मर्नेगरि काम गरे, खटे । त्यसैमा खुशि । अचार कसले बनायो, पिठो किन्न को गयो ? मादल बोकेर कसले ल्यायो ? उद्घोषण कसले गरेको थियो ? नाम किन आएन ? किन मेरो नाम छुट्यो ? सामचारमा हाम्रो नाम नहालेर हुन्छ ? यस्ता कुरामा यिनले बखेडा झिक्दैनन् । सानो गल्ति गर्दापनि ठूलै पाप गरिएछ झैं ठान्छन् । त्यसैले यिनका कार्यक्रममा चित्त दुकहै, तानातान, रिस, प्रतिस्पर्धा र नामको भोक प्यास कम हुन्छ । समग्रमा कार्यक्रम कस्तो भो भनेर सामूहिकतामा जोड दिन्छन् । केहि सहयोग नगरिकन कार्यक्रममा सहभागि भैदिँदापनि असाध्यै ठूलो सहयोग गरिदिएझैं अनुग्रही बन्छन् । त्यसैले यिनको कार्यक्रममा सहभागि हुँदापनि भिन्नै खाले आनन्द हुन्छ ।





















