कुनै हालतमा हुन दिन्नौं नेपालमा संघियता (अडियो सहित)

“संघियता कुनै हालतमा हुन दिँदैनौं”

अनिल बस्नेत / अध्यक्ष , शिव सेना नेपाल 

बस्नेत, शिव सेना नेपालका केन्द्रिय अध्यक्ष । नागरिक न्युजको कार्यालयमा आक्रमण पछि शिव सेना सँगै चर्चामा छन् । अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गरेर केहि वर्ष उतै बसेका । प्राजातान्त्रिक शैली, गणतान्त्रिक राष्ट्रहरु देखे, बुझेका । तर अहिले उनी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने, राजसंस्थालाई पूनर्स्थापना गराउने र संघितया लागू हुनै नदिने भनेर लागिरहेका छन्, शिव सेना नेपाल मार्फत । उनको पार्टीको मूल उद्देश्य के हो ? अब के के गर्दै छ ? मेडिलाई किन तारो बनाएर एकाएक चर्चामा आयो शिव सेन नेपाल ? यसको शाखा किन युरोपसम्म खोलियो ? यहि विषयमा केन्द्रित रहेर नेपालप्लस डटकमले उनीसित टेलिफोन अन्तर्वार्ता लिएको हो । आफ्ना कुरा निकै खुलस्तसित राखेका उनले नेपालप्लसलाई दिएको एक घण्टा भन्दा लामो अन्तर्वार्ताका मुख्य अंशहरु संपादन सहित हेर्नुस्

 

तपाईहरुले मेडियामाथि आक्रम गर्नु भयो । त्यसरि समाधान हुन्छ र ?

नागरिक पत्रीकाले जे काम गर्‍यो । त्यो राष्ट्रलाईनै नांगो बनाउने गतिबिधी हो । साँच्चिकै पत्रकार हो भने यस्तो काम गर्दैन । हामी एउटा आफ्नै संस्कार र संस्क्रितिमा बसेको अवस्थामा नांगो पत्रीका चलाउन त कानुनलेपनि दिएको छैन । यो सिलसिला हुनु अगाडिनै कानुनले कारवाही गर्नुपर्ने हो । त्यसमाथिपनि पहिले हाम्रो धर्म, संस्कार, संक्रिति र हाम्रा आमा दिदी बहिनीहरुमाथिको प्रहार हो भनेर उहाँहरुलाई बारम्बार चिठ्ठी पठायौं हामीले ।

साथीहरु ल वार्ता गरौं भनेर जानु भएछ । हाम्रो कुरा राख्न जाँदा त्यहाँ उहाँहरुले त यो भन्दापनि नांगो निकाल्छौं भनेर साथीहरुलाइ आक्रोशित बनाउने काम भएछ । दुई तर्फीनै भनाभनको अवस्था भएछ । हाम्रा साथीहरुलाई उत्तेजित पार्ने, आक्रोशमा ल्याउने भो उहाँहरुले । त्यसले गर्दा अलिकति झाक्कलझुक्कल भएको हो, कुटपिट गरेको होइन ।

 मेडिया प्रतिको तपाईहरुको द्रिष्टिकोण के हो त ?

शिव सेना नेपालको चाख र उद्देश्य भनेको कहिल्यैपनि मेडियामाथि प्रहार हुनै सक्दैन । मेडियालाई जहिलेपनि इज्जत गर्छौं । एक जना पत्रकारले हजारौं पत्रकारको बेईज्जति गर्छ भने त्यो पत्रकार हुनै सक्दैन । पत्रकारले आफ्नो मूल्य र मान्यतामा बस्न सक्नुपर्छ ।  तर नेपाल, यो राष्ट्र, राष्ट्रिय, संस्क्रिति र संस्कारमाथि आक्रमण कसैले गर्छ, आँच आउँछ भने शिव सेना नेपाल हेरेर चुपचाप बस्ने कुरो आउँदैन । हामी त यो देशमा सरकार नै छैन भन्छौं। यदि यो देशमा सरकार हुन्थ्यो भने यि सबै कुरा कानुनले हेर्नुपर्ने हामीले हेर्नु अगाडि ।

 

कानुनको कुरो गर्नु भो । कानुनको पालना गर्न लगाएर, बाध्य पारेर कानुनी रुपमै पो कारवाही गर्नुपर्ने होइन र आक्रमण गर्नुभन्दा त ?

म त्यतिखेर दिल्लीमा हुँदा भएको घटना हो । जुन हिसाबले हामी गयौं त्यो हिसाबले हाम्रो गल्ति थिएन । तर कहिलेकाहिँ कानुन पालना गराउन खोज्दा आक्रोश गराइन्छ । शिव सेना त्यहाँ भित्र पसेपछि आक्रोशित गराइयो । नारीको अस्मिता र इज्जत बचाउनुपर्छ भन्ने हाम्रो सोच हो । उहाँ जस्तो एउटा वरिष्ठ पत्रकारले नेपाल आमालाई, नेपालका नारीलाई नंग्याउन कोसिस गर्दा यहि कोहि नेपाल आमाको सच्चा सुपुत्र छ भने त्यसले हेरेर बस्न सक्दैन । सहन सक्ने अवस्थापनि आउँदैन । शिव सेना नेपाल अलिकति आक्रोशित भैदिएको अवस्था थियो । तर आफ्नोलागि उनीहरु आक्रोशमा आएको होइन । देशको ईज्जत र नेपालका नारीको इज्जत जोगाउनको लागि उहाँहरु केहि न केहि आक्रोशित हुनु भएको हो ।

 

यस्तो छाप्ने त अरुपनि छन् पत्रपत्रिका ।  नागरिकमै आक्रमण किन ? कि धेरै समय चुप

लागेर बसेको शिव सेना अलि प्रचारमा आउनपनि हो भन्छन् नी !

हैन हैन, हाम्रो उद्देश्य भनेको त्यो हुँदै होइन । हिजो र अहिलेको अवस्था फरक छ । दुई वर्षयता देखि शिव सेना नेपाललाइ हामीले सिंगो राष्ट्रको हितको लागि अगाडि बढाएका छौं । हामी राजनिति भन्दापनि राष्ट्रनितिमा बढि ध्यान दिन्छौं । हामीले कान्तिपुरको साप्ताहिक र नागरिकको शुक्रबार भन्नेलाई पठाएका थियौं । तर साप्ताहिक चाहिँ सुधारिदै गएको र नागरिकको चाहिँ अझ नांगोपनमा गएको थियो । हाम्रो उहाँसित कुनैपनि बैरभाव हैन ब्यक्तिगत । हाम्रो संस्थागत हो ।

कारवाहीनै गर्नु पर्ने त्यत्रो ठूलो विषय हो र त्यो ?

यसलाई राम्रोसित बुझ्ने हो भने यो सानो गल्ति हुनै सक्दैन । कानुन उहाँहरुलेनै मिच्नु भएको छ । किनभने नारीहरुको नांगो चित्र नेपालभित्र प्रचारप्रसार गर्न, छाप्न मिल्दैन । महिलाको नांगो फोटो बेचेर पैसा कमाउने पत्रकार, पत्रिका कहिल्यै सज्जन पत्रकार हुँदैन । पत्रकारलेपनि के गर्नुहुन्छ र हुन्न भनेर आफ्नो कानुनभित्र बस्न सक्नुपर्छ । सबै भन्दा ठूलो कानुन मिचेर उहाँ अगाडि बढिसकेको अवस्थामा शिव सेना नेपालले त कानुनलाई रोक्नमात्रै खोजेको हो ।

 

अरु धेरै पत्रपत्रिकाहरुलाई चिठ्ठी पठाउनु भएको छ यसरि ?

हामीले पत्र चाहिँ जुन जुन पत्रीकाले नांगो र अभद्र तस्विर छाप्नु भएको छ तिनलाई पठाएका छौं ।

 

पत्रकार, पत्रीका, संघ संस्था र राजनितिक दल र नेताले बिरोध गरेको देखियो । तपाईहरुको पक्षमा यो ठिकै हो भनेर कसैलेपनि भनेको देखिएन नी त !

तपाई बाहिर हुनुहुन्छ । तर यहाँका टिभीले दिए शिव सेना नेपालले किन यस्तो गर्‍यो भनेर । यदि उहाँ सहि सत्य हुनुहुन्थ्यो भने उहाँलाई नेपालका कान्तिपुर, अन्नपुर्ण पोष्ट, नेपालसमाचारपत्र सबैले साथ दिन्थे होला । तर उहाँहरु मौन बसिदिनु नै शिवसेना नेपाललाई साथ दिनु हो । अघि भर्खरपनि मेरो पत्रकार साथीहरुसित कुरो भएको थियो । हामीले तपाईहरुलाइ साथ दिन्छौं । किनभने जुन कुरो उहांले गर्नु भएको छ त्यो पत्रकारहरुमाथिकै बदनाम हो । त्यसैले गर्दा तपाईहरुको बारेमा हामीले केहिपनि लेखेनौं । हामी मौन बसिदिनुनै शिव सेना नेपाललाई ठूलो साथ हो भनेर उहाँहरुलेनै भन्नु भएको छ ।

 

तपाईले राष्ट्रप्रेम भन्नु भो । के योजना ल्याउनु भएको छ त राष्ट्रकालागि ?
यो त एउटा सुरुवात मात्रै हो । जस्तै भ्रस्टाचार बिरुद्दका कामहरू छन् । हिजो केही नभाका आज मन्त्री भए । उनिहरु आफू मात्रै बनेर नेपाली जनताहरूलाई ठगिराखेको अवस्था छ । त्यसको लागि अब चाहीँ हामीले काम गर्ने योजना बनाउँदै जानेछौँ । किनभने सबैभन्दा मुख्य कुरो आज देश यो अवस्थासम्म पुर्याउनुमा नेपाली जनताको त केही पनि गल्ती छैन । माथि बसेर राजनितिक दलहरूले ठूल्ठूलो घटना गराए । योजना बुने । तर पछि उनिहरु मात्रै मोजमस्ती गरेर हिँडे । नेपाली जनतालाई त खालि भोटको लागि सदुपयोग गरियो । ठूलठूला पार्टीका नेता भनाउँदाहरूले सत्रौँ हजार मान्छे मारेर सत्तामा आउँदा पनि आज उनिहरुले केही गर्नसक्ने स्थितिमा छैनन् । उनिहरु आफैं मात्र बन्ने कोशिशमा तन मन दिएर लागिरहेका छन् । यस्तो अवस्थामा शिवशेना नेपालले एउटा निस्वार्थ भावनाले राष्ट्रका अरु गतिविधीहरूलाई रोकेर नेपाली जनताहरुलाई निकाश दिनुपर्छ ।

कस्तो निकास दिने ?

जुन देशमा भैराखेको पहिचान छ, हिन्दू राष्ट्रको । हाम्रो धर्म, सँस्कार, सँस्कृतिलाई जोगाउँदै फेरि पनि देशलाई एउटा सक्षम देश भनेर चिनाउँनुपर्छ भन्ने मूल मन्त्र लिएर शिव शेना नेपाल अगाडि बढिरहेका छौँ । माओवादीहरू जस्तो सिद्दान्त बोकेर हिँड्ने हो भने शायद हामीले पनि त्यस्ता अनैतिक गतिविधीहरू गर्नसक्थ्यौँ । तर हाम्रो सोच भनेको नेपाली जनतालाई दु:ख दिने होइन । नेपाललाई दिर्घकालिन रुपमा विश्वको सामु स्वच्छ छवी भएको देशको रुपमा चिनाउनुपर्छ । किनभने नेपाल आफैँ एउटा गरीब देश होइन । यो देशलाई गरीब बनाइएको छ भन्ने हामीले बुझेकाछौँ ।

 

त्यस्तो बनाउन कति समय लाग्छ त तपाईहरुलाई ?

केही समय लाग्छ । किनभने शिव सेना नेपालपनि भर्खर एउटा संगठनको नेत्रित्व गरेर अगाडि बढेरहेको पार्टी हो । हामीहरूले सहि सत्य काम गर्दै गयौं भने शायद आउँदो चुनावमाबाट राष्ट्रको नेत्रित्व गर्ने अवसर पाउछौँ । त्यतिबेला चाहीँ हामीले हाम्रो निति देशमा ल्याउन सक्छौँ ।

भ्रष्टचारको कुरा उठाउनु भयो । सरकारले केही गरेन भन्नुभयो । तपाईले चाहीँ भ्रष्टचारीहरूलाई छानी छानी कार्वाही गर्न सक्नुहुन्छ ?

त्यो अवस्था ल्याउछौँ । शिव शेना नेपालले कहिले पनि असत्यको राजनिति गर्दैनौं । त्यहीँ स्तरका युवा नेताहरू उत्पादन गरेराखेका छौं । त्यसैको लागि शिव शेना नेपालका हामी सबै कार्यकर्ता ज्यान दिएर लागिपरेका छौँ । भ्रष्टचार हामी चाँडो भन्दा चाँडो निर्मूल पार्ने सोचले लागिपरेका छौँ ।

हामी त्यस्ता भ्रष्ट व्यक्तिलाई सप्रमाणका साथ जनता माझ ल्याउँछौँ ।  हाम्रो शिव शेना नेपालको पनि एउटा आफ्नै किसिमको अनुसन्धान ब्युरो छ । त्यो सब अनुसन्धान गरिराखेका छन् । कुनै पनि कुरा गर्दाखेरी हामी प्रमाणका साथ जनता सामु प्रस्तुत हुने कोशिश गर्छौँ ।

अनियमितता भ्रस्टाचार र राष्ट्रघाती काम गर्ने बिरुद्द अझ शसक्त कार्वाही लिएर उत्रिने ?

भ्रस्टाचार र राष्ट्रघाती काम सबै हामीले सुक्ष्म तरिकाले अध्ययन गरिराखेका छौँ । प्रमाणका साथ हामी अगाडि ल्याउछौँ । कुनै कसैले भ्रष्टचार गरेको छ भने त्यसलाई हामीले नङग्याएर छाड्नेछौँ । सायद त्यो भोलि गएर  नेपालका ठूलठूला नेता किन नहुन् तिनलाईपनि छाड्दैनौं । यो काम हामीले एक महिना पन्ध्र दिनमा गर्न नसकौँला । दुई चार महिनामा त्यस्ता भ्रष्टचारीहरूको पर्दाफास गर्ने छौँ ।

तपाईले भ्रष्ट्रचार छानबिनको व्यरो छ भन्नुभयो । यो सब गणतन्त्र आएपछि मात्रै योजना बनाएको जस्तो देखियो नी ? तपाईहरूले ४६, ४७ साल अगाडिका नेताहरूको पनि गर्नु हुन्छ कि गणतन्त्र आएपछिकालाई मात्रै कार्वाही गर्नुहुन्छ ?

हिजोको ईतिहासलाई पनि अवश्य कोट्याउछौँ । हाम्रो अनुसन्धान ब्युरो छ । ब्युरोले रिपोर्ट जहाँ जसरी हुन्छ खोज्छ । जब ब्युरोको रिपोर्ट आउँछ त्यसमा जोपनि पर्न सक्छ । भ्रष्ट्रचार गरेको सिद्द हुँदा जसलाई पनि शिव शेना नेपालले कार्वाही गर्न सक्छ । यदि हाम्रै पार्टी भित्र कोही त्यस्ता व्यक्तिहरू छन् भने तिनलाई पनि कार्वाही गर्न सक्छ । हाम्रो उद्देश्य र नितिनियम भनेको भ्रष्ट्रचारीले नियम कानुन अनुसार सजाय पाउनुपर्छ ।

तपाईहरूको उद्देश्य भनेको चाहीँ यही व्यवस्था र राज्यको अवस्थालाई सुधारेर राष्ट्रहित गर्नेतिर होकि ? व्यवस्था फेर्ने सुर गर्नुभाको हो ?

होइन अहिले भएको ब्यवस्था त यो देशमा असफल भैसकेको छ । यो व्यवस्था त टिक्नै सक्दैन । अहिलेको अवस्थामा जुन देशमा ८१ प्रतिशत भएको हिन्दू राष्ट्रलाई कुल्चिने काम गरिएको छ । राज संस्थालाई आज पनि नेपाली जनताले अविभावकको रुपमा खोजिराखेको अवस्था । शिव सेना नेपाल नेपालि जनताको भावनालाई लात्तोले हानेर किल्चिएर नेपालमा हामी राजनितिक गर्न सक्दैनौँ । किनभने यत्रो ठूलठूलो काम गर्नु अगाडि नेपाली जनतालाई पनि सोधिएन ।

कसैले नेपालको सिद्दान्त भन्दा बाहिरको सिद्दान्त अपनाउँछ त्यो मानिन्न । टिक्दैन । माओवादी भनिन्छ । लेलिनवाद भनिन्छ । गान्धीवाद भनिन्छ । यो त हाम्रो राष्ट्रको सिद्दान्तनै होइन । त्यस्ता व्यक्तिहरूले म राष्ट्रवादी हुँ भनेर हिँड्न पनि सुहाउँदैन । जसले सिद्दान्तनै बाहिरको बोकेर हिँडिराखेको छ त्यहाँ भन्दा झर्ने ठाउँ छैन ।

सही सत्य नेपाली हो भने उनिहरुले कहिल्यै पनि आफ्नो देशलाई बिर्सिन सक्दैन । आफ्नो ईतिहासलाई बिर्सिन सक्दैन । फेरि पनि नेपाली जनताले आफ्नो देशको माटोलाई सुहाउने राजनितिनै खोजिराखेका छन् । किनभने आज नेपालले भोगेको सिद्दान्त र बिचार भनेको हाम्रो राजसंस्था हो । यो नेपाली जनताको सिदान्त र विचार हो । निरङकुश राजतन्त्र हामीले पनि मागेको छैन । अहिले पनि दुईकरोड साठ्ठी लाख नेपाली जनतामा डेढ दुई करोड जनताले राजसँस्था चाहिरहेको अवस्था छ । देशको एउटा यत्रो ठूलो शक्तिलाई पाखा लगाएर या फालेर फेरि पनि देशले निकास पाउँदैन । त्यसैले हामीलाई जहाँ सम्म लाग्छ- हामीले जनताको विचारहरू बोकेर हिँडेकाछौँ । हामी भित्रको आवाज आम नेपाली जनताको आवाज हो । राष्ट्रको हितको आवाज हो । त्यही हिसाबमै भोलि गएर यो देशमा लागू हुन्छ भन्ने कुरा हामीले विश्वाश गरेकाछौँ ।

अब आउने चुनावमा तपाईहरू आफ्नो निति निर्माणका कुराहरू लिएर आउने हो कि राज सँस्थाको कुरो मनिएन भने एउटा ठूलो क्रान्ति गर्छौँ । मुडभेड गर्छौँ भनेर हतियारबद्द आन्दोलन सम्म जाने हो ? अलि स्पष्ट पारिदिनुहुन्छ कि ?

जनतालाई लत्याएर कसैले पनि राजनीतिक गर्न सक्दैन । हाम्रो विचारमा जनतानै सबै भन्दा ठूलो शक्ति हो । त्यसैले हामीले निस्पक्ष चुनावमा भाग लिनैपर्छ । शिव शेना नेपालको जहिले पनि सोच के छ भने यो माटोलाई सुहाउँदो राजनिति हुनुपर्छ । यदि हिजो उहाँहरूले यो देशको संरक्षण नगरिदिनु भएको भए आज हामी जुन देशमा गएपनि नेपाली हौँ भनेर गौरव गर्ने अवसर पाउने थिएनौँ । देशलाई निकाश दिनको लागि राज सँस्थाले केही न केही एउटा भूमिका पाउनैपर्छ ।

सानातिना गल्ती कमिकमजोरीहरू भए होला । गल्तीलाई महसुस पनि गरिएको अवस्था छ होला अहिले । जुन लेभलको गल्ती अहिलेको राजनितिज्ञहरूले गरे त्यो किसिमको गल्ती कहिल्यै पनि राज सँस्थाबाट भएन । र राष्ट्रताका लागि उहाँहरूले कहिल्यै पनि कुनै पनि विदेशी शक्तिहरू सँग झुक्नु भएन । राज सँस्थाले हिजो विदेशीहरूसँग झुकिदिएको भए विदेशीहरूको तर्फबाट राज सँस्थालाई ठूलो साथ थियो । तर त्यतिखेर तत्कालिन राजा ज्ञानिन्द्र सरकारले मेरो देश नसिद्दियोस र नेपाली जनताहरू नमरुन भनेर आफ्नो गद्दीलाई समेत त्याग गरिदिनसक्नु भनेको सानो कुरो होइन । हिजो त्यतिखेरको अवस्थामा नेपाली जनतालाई भ्रम फैल्याएको थियो । तर आज आएर नेपाली जनताले त्यसबेलाको सत्य छर्लङग बुझे । जुन राजाको त्याग नेपाल र नेपाली जनताको लागि हो भन्ने कुरा । त्यसैले मलाई जहाँसम्म लाग्छ, हाम्रो सिदान्त पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ । नेपाल अखण्ड राष्ट्र हुनुपर्छ । राजा सहितको नेपाल र राजाले केही न केही स्थान पाउनुपर्छ भन्ने शिव शेना नेपालको सिद्दान्त हो ।  

 

चुनावबाट तपाईहरू बहुमतमा आउनु भएन र राजाको स्थान भएन भने के गर्नु हुन्छ ? त्यसपछि तपाईहरू आन्दोलनमा जानु हुन्छ कि के गर्नु हुन्छ ?
हाम्रो सिद्दान्त र विचार नेपाली जनता सम्म हामीले पुर्याउन सक्यौँ भने शिव शेना नेपाल वा यी सिद्दान्तहरू बोकेर हिँड्ने अन्य राष्ट्रवादी शक्तिलाई नेपालि जनताले ल्याउनेछन् भन्ने हामीलाई विश्वाश छ । भोलि गएर चुनाव हुन्छ भन्ने पनि छैन । देश एउटा दिशाहीन अवस्थामा हिँडिरहेको छ । फेरि पनि यसलाई कसैले न कसैले त निकाशा दिनुपर्ने हुन्छ। शायद भोलि गएर चुनाव नभैकन क्रान्तिबाट पनि हिन्दू सत्ता स्थापित हुनसक्ने अवस्था आउँछ । यसलाई चाहीँ अहिलेनै मैले भबिश्यबाणी दिन सक्तिन । तर हामीहरू आफ्नो कार्य जारी राख्नेछौँ । यदि हामी लोभि र लालची भएको भए सायद हामी पनि एउटा राष्ट्रपतिको लाईनमा अगाडि बढ्न सक्थ्यौँ । शिव शेना नेपालले भोलि राजनिति गरेर प्रधान्मन्त्री भन्दा माथि हुने हाम्रो इच्छा आकांक्षा र लाईन पनि छैन ।

राजनीति गर्ने मान्छे जहिले पनि लोभि र लालची हुन्छ । उसले जहिले पनि एउटा प्रमुख ओहदामा जाने दाउपेच खेल्छ । त्यो लाईनलाई हामीले किन छाडेकाछौं भने यो राष्ट्रको माटोलाई सुहाउने प्रतिक भनेकोनै राज संस्था हो। राज संस्थाले त्यो स्थान पाउनैपर्छ भन्ने हाम्रो सोच छ । त्यसैले यदि निर्वाचन भयो भने शिव सेना नेपालले नेपाली जनताको निष्पक्ष भावनालाई कदर गर्दै निर्वाचनमा जान्छ । निर्वाचन भएन भने सायद क्रान्तिबाटपनि राजसंस्थालाई, हिन्दू राष्ट्रलाई स्थापना गर्नुपर्ने हुन सक्छ । अखण्ड नेपाललाई हामी कहिल्यैपनि टुक्रन दिँदैनौं । अहिले देश संघियतामा गयो भने मधेश गएर भारतको राज्य हुन्छ । पहाड चिनको राज्य हुन्छ । त्यो हामीले बुझेका छौं । त्यसलेगर्दा संघियता हामी हुन दिँदैनौं।

 

मानिसहरु शिक्षित छन् । संसार देखेका, जाने बुझेका छन् । विश्वनै ग्लोबल भिलेज जस्तो भैसकेको अहिले जमानामा कसैलाई तैले हिन्दू धर्म नै मान्नुपर्छ भनेर जबर्जस्ति गर्न मिल्छ र ?

 

तपाईहरुले के बुझिदिनु पर्‍यो भने हिन्दू धर्ममा जबर्जस्ति भन्ने कुरो हुँदैन । हामीले आफ्नो धर्मलाई कहिल्यै पनि प्रचारप्रसार गरेको छैन । बरु यदि नेपाल हिन्दू राष्ट्र रहेन भने हामीले जति ठूलो छाती लिएर हिँडेपनि नेपाल र नेपाली नांगिने अवस्था रहन्छ । किनभने नेपालमा अहिलेपनि गरिवीको फाईदा उठाएर धर्म किनबेच भैरहेको अवस्था छ । संसारकै एउटा नियतीपनि हो कि कुनै देशको जब धर्म सिद्दिन्छ भने भोली गएर राष्ट्रपनि सिद्दिने डर हुन्छ । त्यसैले अहिले हामीले धर्म जोगाउन सक्यौं भने राष्ट्रपनि जोगिन्छ । हिन्दूराष्ट्र भएपनि हामीले अन्य धर्मलाई नराम्रो द्रिष्टिले हेरेका छैनौं ।

ठिक छ ग्लोबल परिवर्तनकाकालागि शिव सेना नेपालले पनि अंगिकार गर्छ । तर के जतिपनि क्रिस्चियन देश छन् तिनले आफ्नो धर्म सिध्याएका छन् त ? मुस्लिम राष्ट्रहरुले त्यागेका छन् त ? के बिदेशीहरुलेपनि आफ्नो धर्म सिध्याएको अवस्था छ ? नेपालीहरु मात्रै हामी गरिव छौं भन्दैमा आफ्नो धर्म सिध्याएर नांगिनुपर्ने हुन्छ र ? ल भोली विश्व एक हुन्छ । कुनैपनि राष्ट्रमा मुस्लिम, ईसाई, क्रिश्चियन कुनै धर्म हुँदैन, बराबरी हुन्छ भने त्यतिखेर हामीपनि कम्प्रोमाईज गर्न सक्छौं । तर हामी गरिब र कमजोर छौं भन्दैमा हाम्रो धर्म सिध्याएको शिव सेना नेपालले हेर्न सक्ने अवस्था हुँदैन ।

शिव सेनापनि थरि थरिका रैछन्  । जनताले कसरि चिन्ने ?

शिव सेना नेपाल राजनितिक पार्टी भएर बसेको एउटा मात्रै छ । शिवको सेना भनेको नेपालमा एउटै हुन्छ । भगवान पशुपतीनाथको सेना भएर रहेको । हिजो बीपीको बेला हेर्नुस् कांग्रेसपनि केहि फाईदा लिन थरी थरीका थिए । केहि फाईदा लिन होला । त्यसैले शिव सेना केहि खाले देखिएका होलान् । तर जो सहि र सत्य छ त्यो शिव सेना मात्रै यो देशमा रहन्छ । सायद त्यो हामीनै हुन्छौं । किनभने सहि सिद्दान्त बोकेर हिँडेका छौं ।

लेलिनवाद, माओवाद, गन्धीबाद । यि सबै बिदेशको नक्कल भयो । आफ्नै देशको हावापानी सुहाउँदो भएन भन्नु भयो । तर शिव सेना भन्ने पनि भारतको वाल ठाकरेको नक्कल भो नी । अरुलाई बिदेशी नक्कल भन्ने आफूपनि बिदेशीकै नक्कल गर्ने ?

यसमा के स्पष्ठ होस् भने संसारभरि हिन्दूहरुको कुनैपनि सेना हुँदैन । त्यसमा दुई मत छैन । स्वयं भगवान पशुपती नाथ नेपालमा स्थापित हुनुहुन्छ । संसारभरिकाले मान्ने र दर्शन गर्ने भनेकै पशुपतीनाथ हो । त्यहि पशुपतीनाथ भगवानका हामी सेना हौं । होला भारतमा हिन्दूत्वको हिसावले सहकार्य होला । संसारमै कुनैपनि ठाउँमा आफ्नो हिन्दूत्वको हिसाबले शिव सेना नेपालले आवाज उठाउँछ । पार्टीको कार्यकारि अध्यक्ष हो म । हाम्रो अहिलेपनि अध्यक्ष भनेको स्वयं भगवान शिव मानेको अवस्था छ । न भारत न अन्य मुलुक, कहिँबाट हामी चलेका छैनौं । शिव सेना नेपाल राष्ट्रियतामा एक इन्चीपनि कम्प्रोमाईज गर्दैन र एक इन्च पनि कसैसित तल पर्दैन ।

देशमा त्यत्रा सिमा मिचिएका छन् । नेपालीहरुअलैइ भारतीयहरुले सास्ति दिन्छन् । हाम्रा नदीमा बाँध लगाएर हिउँदमा पानी उता लान्छन् । बाढि आउँदा हाम्रो तिर डुबाउने बनाउँछ । राष्ट्रियतामा कडा भन्नुहुन्छ खै त्यसको बिरुद्द केहि गर्न सक्नु भएको छैन त ।

हामीले तुरुन्तै गर्न सक्ने काम गर्दै गएका छौं । यि तपाईले भन्नुभएका कुराहरु हाम्रा एजेन्डामा परिसकेको छ । दुई महिना चार महिना लाग्ला समय आएपछि हामी तिनलाई कार्यान्वयन गर्छौं ।

यदि हिजोको दिनमा शिव सेना नेपाल एउटा शक्तिशाली पार्टीको रुपमा स्थापित भैदिएको भए आज हाम्रा सीमाहरू मिचिदैनथ्यो । हाम्रा नेपाली चेलीहरू भारतमा लगेर बेचिदैनथे । तपाईहरूले देखिहाल्नु भयो कि एउटा नांगो चित्र निकाल्दा त शिव सेना नेपालले त्यो लेभलको कडा कार्वाही गर्ने क्षमता राख्छ भने अब आगामी दिनमा नेपालमा कुनै पनि अपराधीमूलक कार्य भयो भने शिव सेना नेपालले कसैलाई छोड्ने छैन । नेपाल र नेपाली जनताको लागि शिव सेना नेपाल मर्छ ।

अहिले शिव सेना नेपालका सक्रिय सेना कति छन् ?

हामीले ५४ जिल्लामा हाम्रो संगठन विस्तार गरिसकेका छौँ । २७/२८ वटा जिल्लाहरूमा चाहीँ शिव सेना नेपालका क्रायकर्ता अत्यन्तै सक्रिय भएर खटिराखेका छन् । यतिनै सख्या छन् भन्नको लागि हामीलाई त्यसको जानकारि प्राप्त भैसकेको छैन । तर शिव सेना नेपालले एउटा फर्म बनाएको छ । त्यसले गर्दा हामीले केन्द्रदेखि गाविससम्म हाम्रा क्रायकर्ता कति छन् ? साधारण सदस्य कति छन् ? शिव सेना नेपालमा आवद्ध भैसकेका उहाँका परिवार कति छन् ? भर्खर हामीले तथ्याङ्क राख्दै छौं । भोलि कसैलाई केही पर्‍यो भने सेन्टर देखिनै शिव सेना नेपालले आफ्ना क्रायकर्ता र उहाँका परिवारहरूलाई संरक्षण गर्न सकोस् भनेर त्यो किसिमको हामीले व्यवस्था बनाइसकेकाछौँ । 

त्यो कहिले सार्वजानिक गर्नुहुन्छ त ?

त्यसको लागि हामीलाई दुई-चार महिना लाग्न सक्छ ।

तपाईहरुले काम गर्दा भूमिगत भएर गर्नुहुन्छ कि ?

हामीले जुन सिदान्त बोकेर हिँडेकाछौं त्यसको लागि हमी भूमिगत हुनै पर्दैन । शिव सेना नेपाल कुनै गलत हिंसात्मक काम गर्ने भन्ने सोचमा छँदै छैन । हामीले मान्छे मार्ने हुलदंगा फैल्याउन भाको भए पो । हामी त एकदम स्वच्छ विचार नेपाल आमा र नेपाली जनताको सेवा गर्ने सिद्दान्त बोकेर हिँडेका छौं । त्यसका लागि भूमिगतको हामीलाई आवश्यक पर्दैन । यदि भूमिगत हुनुपर्ने भए त जसले सत्रौं बीसौं हजार मान्छे मारेर पनि आज खुल्लमखुल्ला घुमिराखेको छ । ऊ पो भूमिगत हुनुपर्छ । हाम्रो त त्यो एजेन्डामै छैन । सिदान्तनै छैन । त्यसले गर्दा हाम्रो भूमिगत भन्ने शैलि पनि छैन ।

तपाईहरूले युरोपमा पनि खोल्नु भाको रछ शिव सेना नेपाल ? युरोपमा खोल्नको कारण ? कतै चन्दा संकलन गर्नको लागि त होइन ?

त्यो तरिकाले कसैले पनि सोचिदिनु भएन । शिव सेना नेपाल भनेको एउटा संगठन हो । संगठन सबैको हितको लागि भएकोले युरोपमा पनि नेपालीहरू छन् । अमेरिका, अष्ट्रेलिया क्यानाडा संसारमा छन् । भोलि बाहिर बसेका कुनै पनि नेपाली जनतालाई कुनै किसिमको आपतविपत आइलाग्दा पनि शिव सेना नेपालबाट सहयोग होस् भन्ने हाम्रो चाहना हो । त्यसैले पनि शिव सेना नेपालको संगठन संसारभरि नै विस्तार हुनुपर्छ । हामी पार्टी चलाउनको लागि माओवादिहरुले जस्तै बन्दुकको नाल कन्चटमा सोझ्याएर हप्काएर दप्काएर चन्द अशुल्ने सोच विचारमा हामी छैनौँ ।

तपाईले त्यसो भन्नु भयो । तर युरोपमा त पासपोर्ट बनाउदा घुस हाकाहाकी मागिन्छ । दिएन भने पासपोर्ट बनाइदिँदैनन् । राजदुतहरूले नेपाली कार्यक्रममा गएर धम्क्याउँछन् । नेपाल बाट नेपाली दलाललाई दश बीस लाख तिरेर युरोप आउँछन् नेपालीहरु । फेरि यहाँ आएर पासपोर्ट बनाउनुपर्दा चार पाँचसय युरो नखाइकन बनाइदिँदैनन् । यो कुरा त तपाईहरूको युरोपमा भएका शिव सेना नेपाललाई थाहा छ । यस बिषयमा तपाईहरूले के गर्नु हुँदैछ ?

यदि हाम्रै एम्बेसीले पनि कुनै गलत कार्य गर्छ भने भोलि हामीले यहाँबाट एम्बासेडरलाई पनि अपराध अनुसारको कार्वाही गर्नसक्नुपर्छ भन्ने हाम्रो सोच हो । नेपाली जनतालाई समेटी सकेर हामी पनि संगठन र शक्तिकोरुपमा अगाडि बडिसकेपछि भने पक्कै पनि विदेशमा भएका नेपालीहरूलाई केही साह्रो गाह्रो अफ्ठ्यारो पर्‍यो भने शिव सेना नेपालले यहिबाट पनि साथ दिने अवस्था होस् भन्ने सोचलेनै शिव सेना नेपालले विदेशमा भएका नेपालीहरू पनि संगठित हौँ ।

आफ्नो तर्फबाट केहि भन्न मन छ कि अनिलजी ?

बाहिर बस्नुको पीडा कति हुन्छ भन्ने कुरा मैले बुझेको छु । म पनि बिदेश बसेरै आएको हुनाले देशको पीडाले छाती कति जल्छ भन्ने महसुस पनि गरेको छु । अहिले हाम्रा दाजु भाइ दिदी बहीनीहरू रोजगारको लागि दश बाह्र हजारमा कतार र मलिसिया जाने अवस्था छ । त्यसो गरेर पनि धेरै नेपाली दाजु भाईहरूले देशको अर्थतन्त्रको भार खपिरहनु भाको छ । त्यो दिन पनि पक्कै आउँला आफ्नै देशमा रोजगारको व्यवस्था शिव सेना नेपालले जुटाउन सक्ला ।            

हाम्रो सोच भनेको बिदेशमा बसेका नेपालीहरुले दुख नपाउन् भन्ने हो । राष्ट्रमा उपयुक्त अवसर स्रिजना गरेर राष्ट्रमै ल्याउन सकौं । आफ्नै देशमा आफ्ना बाबु आमाको काखमै बसेर केहि काम गर्न सकुन् भन्ने हाम्रो सोच हो । बाहिर बस्ने दाजुभाई दिदीबहिनीहरुले पनि आफ्नो संस्कार र संस्क्रिति नछोडुन् । त्योभन्दा ठूलो केहि हुँदैन । आज बाध्यताले बाहिर बस्नु परेपनि यहि देशको पानी र अन्न खाएर हुर्केका हौं । यहि देशको माटोर हावा प्रयोग गरेका हौं । यहि शक्तिमा हामी बाहिर बसेका हौ । यसलाई कहिल्यै नबिर्सौं । संसारको जुन सुकै कुनामा भएपनि आफ्नो राष्ट्रलाई माया गरौं । केहि न केहि गर्न सकिन्छ भने राष्ट्रलाई सहयोग र समर्थन गरौं । हाम्रा नेताको गलत कामले गर्दा तपाई दाजुभाई दिदी बहिनीहरुले बिदेशमा दुख पाउनु परेको छ भन्ने शिव सेना नेपाललाई थाह छ । हामी आफ्नै देशमा केहि ईलम गरेर त्यो स्थिति अन्त्य गर्न कस्सिएका छौं। त्यो दिन छिट्टै ल्याउँछौं । तपाइ दाजुभाई दिदी बहिनीहरुलेपनि आफ्नो पहिचानलाई नभुलौं । आफ्नो संस्क्रिति र नेपाल आमालाई माया गरौं भन्ने म उहाँहरुलाइ बिन्ति गर्न चाहन्छु ।

उनीसितको अन्तर्वार्ताका मुख्य भागको छोटो अडियो यहाँ सुन्नुस्
Political – Interview With Anil Basnet A Senior Leader Of Shiva Sena Nepal

download /

(तेस्रो फोटो, नागरिक न्युजको बिरोध गर्न शिव सेना नेपालले निकालेको पोष्टर पर्चा हो । अन्तर्वार्ताका लागि सहयोग गरेकोमा शिव सेना नेपालका युरोप प्रमुख शैलेन्द्र भट्टलाई धन्यावाद ।)

तपाइँको प्रतिक्रिया