कविता : अंशबन्डा

गौतम “उदय” / हवाई, अमेरिका

सुनें भाइका किचला र अति छाती पोल्यो

यसो गर्दा ठीक होला भनी मन बोल्यो

अंशबन्डा लाउँदै छौ रे बाउको छाती चिरी

किन कैले आएन खै तिम्रो बुद्धि फिरी ।

००००००००००००००००००

शान्त बन के भन्दै छु मेरो कुरा सुन

गण्डकीको पानी पिउँदै मन भित्र गुन

सबै ताक्छौ गैरीखेत पाखो कसले खानी

हलो अड्काई गोरु छुट्ने सबै भाइको बानी ।

००००००००००००००००००

भर छैन किन तिमीलाई आफ्नै भाइ माथि

तन्किएन कहिलै तिम्रो ढुकुरको छाती

भाइ टाढा पल्लो गाउँको मान्छौ किन मित्र

कैले सुद्धि पलाउला तिम्रो माथा भित्र ।

००००००००००००००००००

अफ्नो बुद्धि बोधो बनाई पल्लो गाउँमा पस्छौ

कर जोड्छौ ख्वामितमा अनि बेलून भर्छौ

पौँठेजोरी भाइसँग पराइसँग भय

नून छर्छ पराईले गाउँछौ तिमी जय ।

००००००००००००००००००

संगै कमाऊ पाखो गैरो मेलमिलाप गर

भाइभाइ मै विश्वास बढाउ आफ्नै भर पर

बन्दक होइन परिवारलाई सबै मिली पाल

म नै बाठो म नै तिघ्रे अहंकार फाल ।

००००००००००००००००००

धोती चोली तान्यौ भने आमा नांगै देख्छौ

आमाको लाज देखाएर इतिहास के लेख्छौ

कहीं कतै बाउको छाती हुन्न अंशबन्डा

चन्द्र कता सूर्य कता बन्छ सग्लो झन्डा ।

००००००००००००००००००

सिक अब आफै गर्न आफ्नै भर पर

छाड अब मेरै टक्का भनी दाबा गर्न

अफ्नो नाती पलातीको बोक्न हुन्न पाप

हामी अब मिल्यौं भनी लगाऊ औंठा छाप ।

तपाइँको प्रतिक्रिया