गजल
–प्रकाश सापकोटा
शीरदेखि पाउसम्म तातो भयो आमा
इः हेर त अनुहारै रातो भयो आमा
निर्दयी छ साह्रै यौटा नाइके भनाउँदो
त्यसको गाली खाँदा–खाँदा सातो गयो आमा
नचढेर सुखै थे‘न चढेँ खटमाथि
खर्मुरिएँ अनायासै पातो गयो आमा
आराम त टाढा भयो उल्टै हप्कीदप्की
झण्डै–झण्डै जिन्दगीको छानो गयो आमा
बल्ल पाएँ मरुभूमि गोठालोको दर्जा
मानौं अब मान्छेसँग नातो गयो आमा
बाध्यताले धकेलेर ल्यायो यहाँसम्म
बिडम्बना टाउकोमाथि जाँतो भयो आमा
शीरदेखि पाउसम्म तातो भयो आमा
इः हेर त अनुहारै रातो भयो आमा ।
बनेपा, काभ्रे
हाल-दोहा, कतार ।





