“त्यो सबै हल्ला मात्र हो” हिराचन

मुस्ताङका पहाडी वस्ती र चिस्यानमा लडीबुडी गर्दै, स्याउसित भकुण्डो खेल्दै हुर्किएका देवमान हिराचन गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उठ्दा केहिले भने “यो लाटो भोटेले केहि गर्न सक्दैन ।” तर “विश्वका सबैभन्दा बाठा मानिस जापानीसित काम गर्ने हिराचन लाटो हुन्छ ?” उनले त्यसको जवाफ दिए । नेपालको वास्तबिक खाँचो बुझेका र मुस्ताङका चिसा फाँट र स्याउसित हुर्किएकालेपनि होला, उनी नेपालमा क्रिषी क्रान्ति गर्नु पर्छ भनेर लागिरहेका छन् र नेपालमा स्कूल निर्माण, क्रिषी बिस्तार, स्वास्थ्य लगायत बिभिन्न क्षेत्रमा सामाजिक सेवा मार्फत मात्रिभूमिको सेवा गरिरहेका छन् ।

हत्त पत्त नबोल्ने, बोलेका कुरा ब्यवहारमा उतार्ने यिनै हिराचन केहि समयदेखि चुपचाप लागेर बसेको अनुभुती भएपछि नेपालप्लसले उनीसित सम्पर्क गरेर एन आर एनको लगानी, दर्ता लगायत केहि महत्वपूर्ण विषयमा छोटो अन्तर्वार्ता लिने मेसो मिलाएको हो । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक देवमान हिराचनसित नेपालप्लस प्रतिनिधीले जापानमै लिएको अन्तर्वार्ता हेर्नुस् :

तपाईंले एनआरएनएको केन्द्रीय अध्यक्ष पद हस्तान्तरण गरेको अहिले एक बर्ष भन्दा धेरै समय बितिसकेको छ । यो अवधिमा संस्था कसरी अघि बढिरहेको पाउनुभएको छ ?

यो कुरा प्रस्ट छ कि मैले आफ्नो कार्यकालमा धेरै नयाँ एजेण्डाहरु सुरु गरेको थिएँ । ति मध्ये केहीले मुर्त रुप पाए पनि कतिपय चाहिँ कार्यान्वयनकै चरणमा थिए । एनआरएनएलाई यसको वास्तविक उद्देश्यअनुरुपको फ्रेममा ढाल्न निकै काम बाँकी थियो जसका लागि थप समय आवश्यक पर्थ्यो । यही वास्तविकताको जगमा उभिएर मैले अर्को एक कार्यकालका लागि पुन : आफ्नो नेतृत्व आवश्यक रहेको अवधारणाका साथ उम्मेदबारी समेत दर्ता गरेको थिएँ । तर, तत्कालीन विशेष परिस्थितिवश सहमतिमा जानुपर्ने अवस्था आयो । मैले दोस्रो साथीलाई पदीय जिम्मेवारी हस्तान्तरण गरिदिएँ । त्यसरी आपसी सहमतिबाट अध्यक्षको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पनुको खास कारण संस्थालाई बचाउनुपर्छ भत्रे धारणाले नै हो ।

कसैको दबाबमा छोडेको हो हिराचनले भन्ने सुनिन्छ नी !

कसैले दबाव दिएको र त्यसबाट बिचलित भएर मैले छोडेको होइन । कुनै जटिल परिस्थितिमा आफूलाई अप्ठेरो महसुस हुँदा मैले आफ्नो परिवार र विशेषगरी मेरी छोरीसँग पनि सल्लाह लिन्छु । त्यतिबेला छोरीले पनि संस्थाको हित हुन्छ भने बुबाले छोडिदिनु नै राम्रो हुन्छ भन्ने सल्लाह दिएकीले म अर्काको काँधमा जिम्मेवारी सुम्पन तयार भएको हुँ । मैले पद छोडेपछि संस्थाको अवस्था के छ भन्ने बारे अहिले नै टिप्पणी गर्न चाहन्न । जे भइरहेको छ त्यो त समस्त एनआरएन साथीहरुले देख्नु बुझ्नु र अनुभूति गर्नुभएकै होला । संस्थालाई कुनै व्यक्तिविशेष वा समूहको लाभका निम्ति नभएर समस्त एनआरएनको हितमा परिचालित गर्न गराउन गैरआवासीय नेपाली साथीहरुले आफ्नो सुझबुझ प्रयोग गर्नु नै हुनेछ भन्न मात्र चाहन्छु म यतिखेर  ।

एनआरएनएको अभियानबारे छोटो शब्दमा भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?

छोटो शब्दमा एनआरएनएबारे भन्नुपर्दा बाहिर बसेका नेपालीलाई एकजुट गरी उनीहरुसँग भएको केही पैसा, बुद्धि, शिप र अनुभव नेपाल र नेपालीको हितमा उपयोग गराउनुका साथै मातृभूमि तथा आम नेपालीको लागि केही गर्नु नै मूल उद्देश्य हुनुपर्छ । जुन देशमा बस्छौं त्यो देशको सरकार सिस्टम जनता एनजीओ आदिलाई नेपालसग जोड्न एउटा पूलको काम गर्नु नै यस अभियानको मुख्य उद्देश्य हो ।

एनआरएन कसलाई  मान्ने भन्ने विषयमा पनि बेला–बेलामा विवाद भएको सुनिन्छ यस सम्बन्धमा विधानमा के छ, स्पष्ट पारिदिनुहुन्छ कि ?

सार्क राष्ट्भन्दा बाहिर कुनै पनि देशमा १ सय ८३ दिनभन्दा बढी कोही नेपाली बस्छ भने उसलाई ’एनआरएन’का रुपमा स्वीकार गरिने विधानमा व्यवस्था छ । यसले पूरै विद्यार्थी, मलेसिया, मध्यपूर्वका साथीहरुलाई पनि समेटेको छ ।

अहिले धेरै ठाउँबाट एनआरएन केही धनी र व्यापारीको संस्था बनेको आरोप पनि लाग्दै आएको सुनिन्छ नि ?

– तपाईंले धेरै राम्रो र गम्भीर प्रश्न उठाउनु भयो । त्यसमा भ्रम भएको छ भनी सोच्नु गलत होइन । अहिले लगानीको कुरा नै बढी आएकोले पनि होला यस्तो सवाल पैदा भएको । तर, एनआरएनएको काम इन्भेस्टमेन्ट गर्ने होइन । यस संस्थाको खास उद्देश्य त संसारभरका सबै नेपालीको सञ्जालको माध्यमबाट सामुहिक विचारको लगानी गर्ने हो । संस्थाले पैसाको लगानी गर्ने होइन । लगानी गर्ने हो भने एनआरएनका सदस्य साथीहरुले गर्ने हो । यो कुरालाई सम्बन्धित सवैले मनन गर्नु आवश्यक छ । हाम्रो अभियानको मुख्य उद्देश्य कसैले भुल्नु भएन । “नेपालीका लागि नेपाली” भन्ने मूल मन्त्र कसैले भुल्नु भएन । यत्ती मात्र बुझ्न सके त्यस्ता आरोपको खण्डन स्वत आफै भइहाल्छ भत्रे लाग्छ मलाई ।

एनआरएनएले हाइड्रो प्रोजेक्ट पनि शुरु गर्न लागेको सुनिन्छ । वास्तवमा ’सामुहिक कोष’ (म्युचुअल फण्ड) केका लागि हो ?

– मैले अगाडि पनि भनि सकें कि एनआरएनएले लगानी गर्ने होइन । हाइड्रोपावर प्रोजेक्टमा एनआरएनएले लगानी गर्न मिल्दैन । अहिलेसम्म संस्था दर्ता पनि भएको छैन । अर्को मुख्य कुरा एनआरएनए भनेको नाफारहित (ननप्रोफिटेबल) संस्था हो । हाइड्रो पावरको लगानी भनेको लगानी गरेर तयार गर्न लगभग ११ वर्ष र त्यसको पूरा फाइदा लिन ३१ वर्षको समय लाग्छ । आजका एनआरएन साथीहरुले यस्तो लामो प्रोजेक्टमा धेरै कमले नै साथ दिनुहुन्छ होला भन्ने लाग्छ । मेरो व्यक्तिगत विचारले भन्ने हो भने यस्तो विषयमा त सरकार र अन्तर्राष्ट्यि  निकाय वा वाह्य राष्ट्हरुले मिलेर लगानी गर्ने हो । इन्भेस्टमेन्टको बारे पहिले पनि भनिसकेको छु कि संस्थाले लगानी गर्न मिल्दैन । यो कुरा हाम्रो विधानमा पनि त प्रष्टै छ ।

प्रसङ्ग अलिकता बदलौं, सानिमा बैंक एनआरएनएको बैंक भन्ने हल्ला गरिएको छ के त्यो एनआरएनए कै बैंक हो त ?

यस्तो हल्ला कसले के स्वार्थ राखेर चलायो म बुझ्दिन । म यतिचाहिँ जान्दछु कि सानिमा बैंक एनआरएनएको बैंक होइन । एनआरएनएले बैंक खोल्न मिल्दैन । एनआरएनएका केही साथीहरुको लगानी त्यसमा भएकोले पो त्यस्तो हल्ला चलेको या चलाइएको हो कि ? यथार्थमा त्यो हल्ला मात्र हो ।

एन आर एन ए को संस्था दर्ताको बारे के हुँदैछ नि ? अहिले सम्म पनि दर्ता हुन नसक्नु त लज्जास्पद होइन र ?

वास्तवमै संस्था दर्ताको विषयमा जवाफ दिन लाज लाग्ने नै अवस्था परेको छ । अहिलेसम्म सो प्रक्रिया सम्पन्न हुन सकेको छैन । एनआरएनएको विधान र नेपाल सरकारको सोसम्बन्धी परिभाषा बाझिएकोले यस्तो अवस्था आएको हो । हामीले हाम्रो विधानअनुरुप १ सय ८३ दिनकै आधारमा दर्ता गरिनु पर्छ भनेका छौं । किनकि विद्यार्थी, मलेसिया, मध्यपूर्वी देशका सबै साथीहरुलाई हामीले समेटेर लैजानु पर्छ । यसमा भेदभाव हुने वातावरण नेपाल सरकार र एनआरएनए कसैले पनि सिर्जना गर्न हुँदैन । जहाँ बसेपनि नेपाली हौं ।

मध्यपूर्व र मलेसिया लगायतका केही क्षेत्रमा गएका नेपालीका लागि एनआरएनएले के गरेको छ, प्रस्ट पारिदिनुहुन्छ कि ?

हाम्रो उद्देश्य सम्पूर्ण एनआरएनएका साथीहरुलाई आइपरेका समस्यामाथि गहिरिएर सोच्नुपर्छ र समाधान गर्ने पहल गर्नुपर्छ भन्ने हो । मध्यपूर्व, मलेसिया र अरु देशमा गएका हाम्रा दाजुभाई दिदीबहिनीहरुमा धेरै समस्या देखिएको छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने पनि उनीहरु नै हुन् भत्रे कुरा सबैलाई अवगत नै छ । उहाँहरुको सुरक्षाको लागि केही गर्नुपर्छ भन्दै आएको कुरालाई व्यवहारमै उतारेर देखाउनु अपरिहार्य छ । विश्वका साठी देशमा एनआरएनए फैलिएको भनेपनि कतिपय देशमा संस्थाको उपस्थितिको अत्तोपत्तो नै छैन । खाली संख्या मात्र देखाएर त काम हुँदैन । त्यहि अनुरुपको  उपस्थिति र क्रियाकलाप अनि सक्रियता देखिनु पर्छ भन्ने मेरो मान्यता हो । जसलाई अहिलेको नेतृत्वले विशेष ध्यान दिनु आवश्यक छ ।

अत्यमा, नेपालमा संविधानसभाबाट संविधान बन्न नसकेर फेरि पनि राजनीतिक जटिलता बढ्न पुगेको छ, तपाईंले यसलाई कसरी हेरिरहनुभएको छ ?

चार वर्षमा पनि संविधान बनाउन नसकी संविधानसभाको अवसान हुनु अत्यन्त दुखद कुरा हो । आम नेपाली तथा समस्त एनआरएन साथीहरुलाई जस्तै मलाई पनि यस विषयले दुखी र चिन्तित बनाएको छ । संविधान बन्ला र देशमा शान्ति छाउला अनि उद्योगधन्दाहरु सुचारु होलान्, सबैले गरिखान पाउने अवस्था आउला, मुलुकमा समृद्धि छाउला भत्रे सबैको चाहना थियो । यसमा पछिल्लो परिस्थितिले पक्कै केही धक्का पुरायाएको छ । तर, निरास भइहाल्नु भने हुँदैन । राजनीतिक शक्तिहरु अझै पनि राजनीतिक समस्याको समाधान गर्न लागिरहेकै छन् । विगतका कमीकमजोरीहरुबाट शिक्षा लिँदै दलहरु अघि बढ्ने विश्वास मैले लिएको छु । आपसी सहमति र विश्वासको वातावरण बनाउन दलहरु लागिपरुन् । यसमा जनताको पनि सकारात्मक भूमिका र साथ–सहयोग आवश्यक छ ।

हिराचनसँग संवन्धित तलका लेख रचनापनि पढ्नुस्

हिराचनका मोती जस्ता कुरा

विपन्न परिवारलाई सहयोग लिएर गाउँगाउँमा हिराचन

“विहेको खर्चले स्कूल बनाउने” कस्तो उदाहरणिय काम !

पोखरामा विश्व शान्ति केन्द्र बनाउन कस्सिए हिराचन

कसरि बनाउने एन आर एनलाई आफ्नो र राम्रो संस्था ?

समाज सेवामा ‘कर्म’को कमाई

तपाइँको प्रतिक्रिया