कविता : मेरो छोरो अमेरिका गयो

• रमेश गौतम पाल्पाली 

मेरो छोरो अमेरिका गयो,

जन्मे बढे खेलेको

माइतीघर छोडेर,

पराइघर जान लागेकी

नवविवाहिता दुलही जस्तै

तुरुक्क आँसु चुहाउँदै,

मेरो छोरो अमेरिका गयो

आधुनिक दास बन्नको लागि । 

००००००००००००००००००००० 

जाने बेलामा —

छोरो रोयो देशको माटो संझेर,

आमा रोइन् —

मुटुको टुक्रा पर भयो भनेर,

मेरो मन रोयो —

देशको स्थिति संझेर,

तैपनि मैले उसलाई

‘नजा बाबु’ भन्न सकिन,

किन कि—  

जसो तसो उसलाई

डिग्रीसम्म पढाएको भए पनि

मैले यहाँ रोजगारी दिन सक्दिन,

र, मेरो देशलाई

डिग्रीको महत्व बुझ्ने फुर्सत छैन,

त्यसैले मेरो छोरो अमेरिका गयो

आधुनिक दास बन्नको लागि । 

००००००००००००००००००००० 

मैले सुनेको थिएँ कतै

बेलायत, अमेरिकामा

कुनै बेला अफ्रिकाबाट

दास ल्याइन्थे सिक्रिले बाँधेर,

तर अहिले त्यहाँ—

स्वयं बर्षिन्छन् आकाशबाट

आधुनिक दासहरू

टाई सुटमा सजिएर ।           

००००००००००००००००००००० 

मेरो छोरो पनि डिग्रीको प्रमाणपत्र

कोखिलामा च्यापेर

आधुनिक दास बन्नको लागि

अमेरिका गयो ।           

००००००००००००००००००००० 

उसले मरी मरी कमाएको

डिग्रीको प्रमाणपत्र

कुनै पेट्रोल पम्पमा पेश गर्ने छ

राजदूतले जस्तै

अथवा

कुनै बारमा झिर माझ्ने काममा

अथवा ‘कप तान’ बन्ने कामको लागि

पेश गर्नेछ प्रमाणपत्र । 

००००००००००००००००००००० 

अठार घण्टा रगेडिएर

केहि डलर पठाउनेछ मलाई

ऊ अमेरिका जाँदा बन्धकी राखेको

मेरो झुपडी निखन्नलाई,

अनि मेरो सरकारले सगर्व भन्नेछ

“हामीले रेमिट्यान्स भित्र्यायौँ” भनेर । 

००००००००००००००००००००० 

हो, मेरो छोरो अमेरिका गयो

आधुनिक दास बन्नको लागि । 

००००००००००००००००००००० 

२०६८ भाद्र १० गते

धुम्बाराही—४, काठमाडौँ

फोन ४४३१८०१ मो. ९७४१००७३०६

इमेल- [email protected]

तपाइँको प्रतिक्रिया