आँखा र हेराइ
–विद्या सापकोटा ‘निर्जला‘
झुट लेख्छन् कविहरु, बखान गरी फूलैफूल
कम देख्छन् कल्पनामा, मात्र चन्द्रमा र तारा जुन ।।
अन्धकार हुन्नन् रातहरु, यो त एक प्रतिक्षा हो
जगमगाउँदो रवि जन्मको ।।
भयानक हुन्न पहाड, त्यो त एक तपस्या हो
झन् झनाउने झरना उत्पत्तिको ।।
दिगदिगाउँदो कहाँ हुन्छ र झुसिल्किरा, यो त एक कठोरता हो
सुन्दर पुतली रुपान्तरणको ।।
उजाड हुँदै हुन्न शिशिर, यो त एक मिठो लहर हो
बसन्त पुनरागमनको ।।
पिडाका प्रतिक होइनन् काडाँहरु, बरु सुरक्षा घेरा हो
मुसुमुसु मुस्कुराउने कोपिलाको ।।
मतलवी हुँदै होइन भँवरा, यो त एक बाहाना हो
फूल र त्यसको सौर्न्दर्य मापनको ।।
कठोरताका प्रतिरुप होइनन् ढुङ्गाहरु, यो त एक परकाष्ठा हो
मूर्ती बन्नका लागि सहनशिलताको ।।
त्यसैले,
अन्जान लाग्छन् मलाई, गाजल बिर्सेर आँखामा डुब्नेहरु
सतही हुन् सबै, काँडा छाडेर फूलैफूल भन्नेहरु ।।
काँडा छाडेर फूलैफूल भन्नेहरु ।।
कल्याणपुर ७, नुवाकोट
–हाल: शंकरदेव कलेज, काठमाडौं ।




