साहित्य र साहित्यिक फाँटका थरि थरि बजार हल्ला
• धनराज गिरी
तपाई एक जनाले त्यत्ति टाढाबाट फोन गरेर मेरो कथाका बारेमा यति सकारात्मक टिप्पणी गर्नु भयो । यहाँ राजधानीमा नगन्य नारी हस्ताक्षरले मात्र प्रतिक्रिया दिए । राजधानी धेरै वैगुनी छ विवेकीजी । “नारी हस्ताक्षर अहिल्या भट्टराई, प्रेमसागर विवेकी सित । उनको मूल्याङ्कन सधै सकारात्मक रहन्छ । सबैलाई प्रोत्साहित गर्नुपर्दछ“ उनको मान्यता । हरेक मान्छेको भित्री चाहना प्रायः अनुरुप हुन्छ । स्वनामधन्य सर्जकहरु पनि आफ्नो सिर्जनाका बारेमा कसैले प्रतिक्रिया दिएमा खुशी नै हुन्छन । आफ्नो कामको न्यायोचित मूल्याङ्कन भएको हेर्न चाहनु स्वाभाविक कुरा हो । यहीँ नै त हो अस्तित्ववाद । मानव मनोविज्ञानका बारेमा राम्रै जानकारी राखेको मान्छेले अरुको भावनालाई उचित कदर गर्न जान्दछ । राम्रोलाई राम्रो भनिदिएमा राम्रो गर्ने पात्र अझै राम्रो गर्न उत्साहित हुन्छ । नारायण गोपाललाई नारायण गोपाल बनाएको एक्लो नारायणगोपालले मात्र होइन । न्यापूर्ण प्रशंसा, उचित उत्प्रेरणा अमृत हो, प्राणवायु हो ।
विवेकी पाठकहरु सर्जकका लागि देवता नै हुन । अहिल्याजी मलाई पनि शब्द संन्सारमा रमाउन पाउँदा आनन्द लाग्यो । हुन त म आफूलाई अझै पनि नर्सरी केजीकै विद्यार्थी ठान्दछु । केही पनि जान्दिन । माज्जासित पढ्न पाएको छैन । साहित्यका नाममा लामै यात्रा गरेँ । धेरै स्राष्टाहरुसित संगत भयो । आफूलाई अयोग्य र अरुलाई योग्य भन्ने पात्र बिरलै पाएँ । राजनीतिमा सबै भन्दा नजिकका मित्रहरु (?) नै खतरनाक दुश्मन हुने संभावना प्रबल हुने कुरा इतिहासमा पटक पटक प्रमाणित भएको छ । पार्टीहरु चीरा चीरा भइरहेछन् । जुँगाको लडाइ भनिन्छ । लालबहादुरहरुको वैरी स्वयम् लालबहादुरहरु नै । चारतारेहरु त २००७ सालदेखि नै फुट्दै र जुट्दै आएका छन् । हरेक दलमा सासू र बुहारीहरु छन् । हिन्दू र मुसलमानहरु छन ।
साहित्य पनि राजनीतिभन्दा कम छैन । अन्यथा नठान्नु होला । कपडाको बैरी कपडा भनेझै नारीहरुलाई भित्र भित्र ईष्र्या गर्ने र धज्जी उडाउने त नारीहरुले नारीहरुलाई नै । बरु पुरुषहरुले नारीहरुलाई प्रोत्साहित गरेको पाएँ । नन्द–भाउजू, आमाजू–बुहारी, देउरानी–जेठानी संस्कृति साहित्यमा पनि पाएँ । किन यस्तो भएको होला ? एउटी नारी स्रष्टाले अर्की नारी स्रष्टाको मुक्तकण्ठले प्रशंसा गरेको कुरा सुन्न पनि पाइएन, पढ्न पनि पाइएन । अपवादमा शारदा शर्माजीले “पत्रैपत्र” माथि बढो राम्रो समीक्षा लेख्नुभयो । अहिल्याजी, यो सुखद् संस्कार होइन । मान्छेले मान्छेलाई उत्साहित बनाउनै पर्दछ । सकारात्मक दृष्टि भएन भने आफैले दुःख पाइन्छ । त्यहाँ नराम्रो के छ ? भनेर टर्च नै बालेर नराम्रो मात्र खोज्न थालिएमा “काँडाको आँखामा काँडै सन्सार” हुन्छ । परिमार्जन र परिष्कार सवैले गर्नुपर्दछ ।
२५ वटा उपन्यास लेख्ने मेघा उपन्यासकार के आफ्नै सिर्जनासित शतप्रतिशत सन्तुष्ट छन् ? धेरै लेख्दैमा राम्रो हुन्छ ? फेरी एउटा मान्छेले खासै के लेख्न सक्छ र ? जे भोग्छ, जे देख्छ, त्यही लेख्छ । ठूला ठूला पुरस्कार पाएका लेखकहरुको सिर्जनामा पनि कमीकमजोरी फेला पार्न सकिन्छ । मान्छे सात जुनीमा पनि पूर्ण हुँदैन । अहिल्याजी, तपाईको कथा बेजोड छ । आधा कथा पढेपछि अधिकाँश कथाहरुको आदि र अन्त्य कल्पना गर्थे म । तर तपाईको कथाले रनभुल्लमा पारिदियो । अनुमानै गर्न सकिन । मेरी छोरी अपराजीता पनि सारै प्रभावित भइन । त्यो महाविशेषङ्कामा छापिएका सबै कथाहरु बेजोड छन् भनेमा सर्जकहरुले नै पत्याउँदैन । तीनवटी चेलीहरु “बोल्ड” बन्ने रहरमा पूर्वीय सभ्यता र हाम्रो सामाजिक मर्यादालाई बिर्सन पुगेका छन् । उनीहरुको साहसलाई चाहिं सलाम गर्नै पर्दछ ।
पुष्कर लोहनी पनि फुच्चे सावित हुने गरी नानीहरुले कल्पनाको घोडा कुदाएछन् । फेरी एउटा कुरा के पनि सत्य हो भने नानीहरुले कल्पना गरेभन्दा पनि भयाबह छ वास्तविक सन्सार । सिर्जना, मान्छे र प्रकृति ढाकिएकै राम्रो । अनुरुप सुगन्ध आउला आउला जस्तो लागे पनि आशा तुलाचन दिदीको कथामा दम छ । समष्टिमा महाविशेषाङ्क साच्ची नै पठनीय र सग्रहणीय छ । प्रधानसम्पादक लगायत संपूर्ण प्रकाशनगृहलाई धन्यवाद दिनुपर्दछ । म सन्तुष्ट छु । पाठक प्रतिक्रिया लेख्न भ्याइन । “विवेकजी नारी नारीबीचको सम्बन्ध कहिल्यै ६३ बनाउन सकिएन । सधैभरि ३६ । म पनि दिक्क भएकि छु । तपाईको बिचार र अनुभवमा सत्यता छ । बाहिर असाध्यै मिलेजस्ता देखिनेहरु पनि भित्र भित्र एउटीले अर्कीलाई घरि हात लगाइरहेका हुन्छन् । भित्री सद्भाव प्रकट गर्ने पात्रहरु भेटिनै मुस्किल ।
किन यस्तो भएको होला ? कुनै कुनै कार्यक्रममा त भुत्लाभुत्ली गर्लान भन्ने डर हुन्छ । कुनै नारी स्रष्टा अलि अगाडि बढेमा खुट्टा तान्ने काम भइहाल्छ । साहित्यमा आएपछि मान्छेको मान्छेसित भोटघाट हुन्छ । विचार आदान–प्रदान हुन्छ । संगै बसेर चिया पिइन्छ । कहिले काहिं धनगढीको स्रष्टा चन्द्रगढी पुग्ला । पुग्नुपर्दछ । सम्पर्कले पनि व्यक्तित्व विकासमा सघाउ पुर्याउँछ । आमै, एउटा लोग्ने मान्छेसित कुरा गरेको देखियो भने मसला पुग्यो । “फलानी त फलानासित लपक्कै” “फलानीको फलानो किताब त्यही प्रेमीले लेखिदिएको हो” यस्तै यस्तै । विद्यार्थीलाई गुरु चाहिँदैन र ? जान्नेसित नजान्नेले सम्पर्क गर्दा अन्यथा सोच्नै पर्दछ ?
विवेकजी, मानसिक प्रदुषण ज्यादै छ यो शहरमा । एउटा राम्रो नाम कमाएको समालोचकले कुनै युवती स्राष्टालाई प्रेरित गर्ने बिचार गरे भने “ए कक ‘‘त्यसलाई त हाम्रो समालोचक महोदयले कान्छी बनाइसक्थ्यो । अस्ति फालाने लजबाट बाहिर आउँदै थिए दुवैजना । हरेक कार्यक्रममा संगै हुन्छन् । घरमा दुबै जनाको सधै कुरुक्षेत्र हुन्छ अरे । फलानीको श्रीमानले त “कि त साहित्य छोड, कि त मलाई छोड ” भन्यो रे “ल हेर्नुहोस बजार हल्ला । यसरी कति दिन चल्ला ?”
“अहिल्याजी, अझ रमाइलो सुन्नुहोस् । त्यो महाविशेषाङ्कमा स्थान नपाएका केही नारी श्रष्टाहरुले मसित अचम्मको कुरा गरे । त्यहाँ पनि धाँधली भयो अरे । सबै झुर रचनाहरु छापिए अरे । एउटा पनि गतिलो छैन अरे । ल भन्नुहोस्त अहिल्याजी, के त्यो पत्रिकाको गरिमा आकाशिएको छैन ? पहिला पहिलाका टीमहरुले पनि राम्रो गर्न नखोजेको होइन । ढंग नपुगेको मात्रै हो । यो पत्रिकाको गरिमालाई विनाश हुनबाट जोगाएका होइनन त नयाँ प्रधान सम्पादकले । राम्रो काम गरेको मान्छेलाई “कयाबात्” भन्दा हाम्रो अपमान हुन्छ ? हरेक खुराकमा छुट्टै स्वाद छैन ? नीत नवीन, नीत नूतन भएर आएको छैन त्यो साहित्यिक पत्रिका ? मानसिक दरिद्रताको पराकाष्ठा हो यो । यस्तो हो भने हामी अझै पातालतिर पुग्नेछौं । न आफू अगाडि बढ्न सक्छौं, प्रयत्न गछौं, न अरुलाई अगाडि बढ्न दिन्छौं । घटिया प्रवृत्तिको दास भएका छौं हामी ।”
“विवेकजी, लामो वार्ता भयो । टेलिफोनको विलको कुरा गर्यो भने तपाई दिलको कुरा गर्नुहुन्छ । जति बहस गरे पनि निश्कर्ष निकाल्न सकिँदैन । यहाँ समाधान नै समस्या बनेझैं लाग्दछ । सबै मन मिलाउनु संभव हुँदैन । मिल्नेहरु मिलिहाल्छन् । ज्ञानी र विवेकीलाई सम्झाउनै पर्दैन । अहंकारी, हठवादी र मूर्खहरुलाई अमृत दिएमा त्यसलाई बिष बनाइदिन्छन् । केही पनि न भनौं । दुनियाँ यस्तै हो । कुन्नि के १२ वर्षसम्म ढुङ्गामा हाल्दा पनि नसोझिएझै सोझिन्नन हाम्रा आइमाईहरु । आइमाईहरु मात्र होइन, लोग्नेमान्छेहरु पनि कम छैनन । यो कित्ताकाट, यो निषेधको संस्कृति हुर्काउने त लोग्नेमान्छेहरु नै हुन । यहाँ यस्तै छ । आफू जोगिनु पर्दछ । कसैलाई पनि उचाल्ने र पछार्ने काम नगरौ । सक्छौं सबैलाई प्रेम गरौं , सकिदैन कसैलाई पनि घृणा नगरौं । अझै केही भएको छैन नेपाली समाजमा । सामन्तबादलाई परास्त गरियो भन्छौं, हरेक मान्छे स्वयम् सामन्ती झै लाग्दछ । उसकै डाँको ठूलो हुनुपर्दछ । राम्रो गर्न खोज्नु नै सबैभन्दा नराम्रो हुनेरहेछ । हो कि होइन विवेकीजी ?”
“हो त नि, राम्रो गर्न खोज्दा नै नराम्रो हुन्छ । अति सोमरसानुरागी स्रष्टालाई मदिराबाट टाढा बस्न भनौ त, के हुन्छ ? अर्को दिनबाट ऊ बोल्नै छाड्छ । अहिल्याजी, अब चाहिँ छुट्टिन पर्ला जस्तो छ । मेरो जिल्लामा आज गजल प्रतियोगिता छ । मलाई निर्णायक बनाएका छन् साथीहरुले । मोती जयन्तीको उपलक्ष्यमा यहाँ पनि धुमधामसित गजल वाचन गरिन्छ । लौ त, नमस्कार ।” “होइन, होइन, जाँदा जाँदै अलिकता कुरा काटौं । गजलको कुरा आइहाल्यो । यो गजलको बाटो ठीक कि बेठिक ? गोविन्दराज भट्टराई र खगेन्द्र संग्रौला ठीक कि यतिखेरको भेलबाढी ठीक ?”
“अहिल्याजी, सत्य कुरा भन्छु है । यसको अर्थ यतिखेरसम्म असत्य बोलिरहेको होइन । भीडसित विवेक हुँदैन, विवेकसित भीड हुँदैन । फेरी रामले रावणमाथि विजय प्राप्त गर्न बाँदरको सहयोग लिनुपर्दछ । बिरोधाभास छ । यतिखेर गजल लोकप्रिय भएकै हो र त्यही मात्रामा बदनाम पनि “बूँद राना” सबैका प्रिय गजलकार हुन । त्यसै प्राज्ञ बनेका होइनन । दम भएरै ठाउँमा पुगेका हुन । भट्टराई र संग्रौला त यो कालखण्डका साहित्यिक विदुरहरु हुन । तीतो बोल्छन्, तर कल्याणकारी । गजलमाथि अन्याय हुने संभावना प्रवल छ । अगजलकारहरु थुप्रै आए यो गजल गणतन्त्रमा । पानीले आफ्नो सतह आफैं मिलाउने छ । यो देशमा एउटा मात्र लक्ष्मीप्रसाद देवकोटा जान्मिए । बुँद राना पनि एउटै छन् । एउटा जिल्लामा मानक गजलकार दुई जना भए पुग्छ । गजलरुपी जंगलमा बनमारा झारको उपस्थिति गजलकै स्वास्थ्यका लागि हानिकारक छ । “गजलको राजधानी एउटा बालापन मात्रै हो । धेरै नबोलौं । म पनि छापामारहरुसित डराउँछु ।”
“विवेकीजी, मेरो चित्त बुझ्यो । म गजल लेख्दिन । तर सुन्दा रमाइलो लाग्दछ । २०६९ साल बैशाख ९ गते एक जना नौलो मान्छेले राजधानीमा, पाण्डुलिपि किताबको लोकार्पण कार्यक्रममा एउटा गजल गायो । मैलेमात्र होइन, सबैले मन पराए । त्यसपछि म पनि गजलको फ्यान भएकि छु । बुँद रानाको किताब ल्याएर पढ्दै छु ।”
अहिल्या भट्टराईसित वार्ता भएपछि पे्रमसागर विवेकी गहिरो सोचमा डुल्यो । साहित्यले मान्छेहरुलाई भावनात्मक रुपमा एकै ठाउँमा ल्याउँछ । राजनीतिले सल्काएको आगोलाई साहित्यले निभाउँछ । राजनीति घाउ हो भने साहित्य मलम हो । मान्छेको सबैभन्दा नजिकको मित्र कलम हो भन्ने मान्यतामा विवेकी यतातिर लागेका हुन । व्यक्तिगत रुपमा उनी सन्तुष्ट छन् । माया गर्न जान्दछन् । माया पाएका छन् । तर “सर्व कल्याण” चाहने मान्छे, समान्य सन्तुलनको कल्पना गर्ने मान्छेको मनोदसा अलि बेग्लै हुनेरहेछ । देवीहरु पनि आपसमा सद्भाव कायम गर्न सक्दारहेनछन् ।
“विवेकीजी, नगन्य नारी स्राष्टाहरुले मात्रै मेरो कथालाई राम्रो भने” अहिल्या भट्टराईको यिनै शब्दहरुले उनलाई लखेटिरहेका छन् । ”हे देवी हो, हामी लोग्नेमान्छेहरु त मूर्ख भयौं भयौं तपाईहरु हाम्रै बाटोमा कि हिँड्नहुन्छ ? नारी नारीका बीचमा हार्दिकता विनिमय गर्न जान्नुहोस । नारीवादको नारालाई सार्थक बनाउनुहोस । तपाईहरु आपसमैं लड्न थाल्नुभयो भने पराईले रमाइलो मान्दछ र तपाईंहरुलाई अझै दासी बनाउँछ । कृपया बेलैमा होशमा आउनुहोस ।“ मनमनै कल्पिन्छन विवेकी । असारको गरिमा सिरानीमैं छ । अर्चना थापाको लेख एक पटक फेरी पढ्छन् । “उपरान्त” पढ्न छोड्दैनन । सरिता तिवारीको कविताले रोमाञ्चित बनाउँछ । ज्ञानु अधिकारुको ज्ञान प्रशंसनीय । सबै बेजोड ।




