कविता : जितको खातिर

गीता थापा

सृष्टीको सुन्दर मानव वस्तीमा

अशिक्षा र अज्ञानता मौलाउनाले

शिष्टाचार भुलेको मानव

खोक्रो आडम्वरको

ओत लागेर

फोस्रा शब्दका
खस्रो विज्ञप्ति

छापेर आतंक फैल्याउन

अभ्यस्त छ,

°°°°°°°°°°°°°°°

बुद्धिको कुटो-कोदालो

भुत्ते भएपछि

छातीको बाँझो खनेर

उर्वर बनाउने

उसको सोच केवल

दिवा स्वप्न

बनेको छ,

°°°°°°°°°°°°°°°

र’पनि ऊ आफ्नो

गल्ती रत्तिभर

मान्न तयार हुँदैन

शायद हार्नु भनेको

उसको दर्शनविरुद्ध हो

उसलाई जसरी भएपनि जित्नु छ

अशान्ति बाँडेर होस् वा

रगतको होली खेलेर होस्

मात्र ऊ जित्न चाहन्छ,

°°°°°°°°°°°°°°°

आफ्नो नामको

जय-जयकार सुन्न

लालायीत छन्

उसका कानहरू

त्यसैले ऊ

अशान्तिको बुइ चढेर

आफ्नो हैसियत र अरुको

औकातमा विभेदको

सीमा रेखा कोरेर

आफू र अरु बीचको विशेषता छुट्याउँछ

आफूलाई उच्चकोटीको र

अरुलाई निम्नकोटीको मान्छ

°°°°°°°°°°°°°°°

एक क्षणको जीत हाँसिलको

खातिर जीतको अन्ध भक्तिमा

दानब बन्छ मानव

तपाइँको प्रतिक्रिया