दशैं : नफर्किने ती दिनहरू
• डा. गोविन्दराज भट्टराई
प्राध्यापक (अंग्रेजी), त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपाल
आज यो जीवनभरिका दसैँहरू सम्झिल्याउँदा बाल्यावस्थाका दसैँहरू अत्यन्तै उज्याला, सुकिला र झिलिमिली भएर यो मनमा नाँच्तछन्। लेखन भन्नु नै बाल्यवस्थाका सम्झनालाई मनको आँगनमा फिजाउँनु हो रहेछ। ती फिजाउँदा कस्तो लाग्छ भने ती दिनमा दसैँ अत्यन्तै लामो प्रतीक्षा भएर आउँथ्यो, हर्षैहर्ष भएर आउँथ्यो। सम्पूर्ण शरीर र मनमा उमड्डको बाढीजस्तो भएर आउँथ्यो। आज त्यस्तो हुँदैन।
थामिनसक्नु हर्ष बोकेर आउने दसैँहरू मेरो निम्ति नेपालको पूर्वी पहाडमा आए। ती दसैँहरू पाँचथरको च्यांगथापूदेखि ताप्लेजुङ्को सदरमुकामसम्म फिँजिएर आए। दसैँ व्यक्तिगत रूपले अवतरित हुनुभन्दा पहिले दुईतीन महिना अघिदेखि पलाउन थाल्थ्यो। बालीनालीमा त्यो उत्रन्थ्यो, वनस्पतिहरूमा त्यो देखिन्थ्यो, खोलानालामा त्यो देखिन्थ्यो, धर्ती र आकास ढाकेर त्यो आउँथ्यो र बिस्तारसंग नयाँनयाँ गोरेटा बाटाहरू टेकेर त्यसको गाउँमा प्रवेश हुन्थ्यो। भावनाहरू दसैँमय भएपछि त्यसले ल्याउने सारा विधानहरू, कर्महरू, क्रियाकलापहरू सबै कुराले दसैँको रूप लिएपछि सम्पूर्ण धर्ती, आकास ढाकेर मात्रै त्यो गाउँमा ओर्लिन्थ्यो, घरघरमा उत्रन्थ्यो। आज त्यस्तो छैन।
सांस्कृतिक रूपले हेर्दा आज अनेक परिवर्तनहरू आएका छन्, अनेक आडम्बरहरू भरिएका छन्। उस बेलाको दसैँ विशुद्ध र सङ्लो हुन्थ्यो हाम्रो पहाड लिम्बूवान् भएको हुँदा लिम्बूहरूको आदिम संस्कृति धर्तीमा अवतरित भएपछि मात्र दसैँ आएझैं लाग्थ्यो। अरू जातजाति पनि थिए– छेत्री, बाहुन, कामी, दमाई, सार्की, राई आदि। यी सबैको लागि दसैँ एउटै हर्षको कोसेली बोकेर आएजस्तो लाग्थ्यो। तर, जातीय विभेद चर्को भएकोले प्रत्येकको दसैँ आआफ्नै अर्थका सीमा कोरेर आउँछ जस्तो लाग्थ्यो। खसी, बोका देख्ता, चिउरा, चामल देख्ता, छेत्री–बाहुन गाउँको सम्झना आउँथ्यो; चिल्लाचिल्ला हनाहा राँगा, कुखुराका रातासिउरे भाले र कोदाका धोक्रा देख्ता मतवाली गाउँको ।
त्यसबेलाको पहाडी जीवन दुर्दान्त कष्ट, दुःख र अभावले भरिएको थियो । तर, कसैलाई त्यो कष्टको आभास थिएन, अभाव र दुःखको पनि थिएन। स्वाभिमानले भरिएको जाति आफैं सन्तुष्ट थियो जस्तो लाग्दछ किनभने दसैँको अभ्यर्थना सबैले त्यसैगरी गर्थे, प्रार्थना गर्थे, प्रतीक्षा गर्थे। प्रत्येकपल्ट दसैँ आए पनि त्यो बर्खमा एकपल्ट होइन, जीवनमै एकपल्ट आउने सतवार्षिकी उत्सव जस्तो लाग्थ्यो। आज प्रत्येक वर्ष आउने दसैँ विभाजनको, विसांस्कृतीकरणको, अन्धानुकरणको, आडम्बरको र पीडाको प्रतीक जस्तो भएर आएझैं लाग्छ। आज ऊ दिन जस्तो छैन भदौ लागेपछि नास्पातिका दानाहरू बोटमा पहेंलै हुन्थे, अरिंगालले टोकेर तिनमा टोड्काटोड्की हुन्थे। तर तिनमा मह भरिएको हुन्थ्यो। बारीहरूमा कोदाका कपना देख्ता कसैले अनेकौं गह्रौं मुड्कीहरू आकासतिर उठाए जस्तो लाग्थ्यो। धान डोलाउन थालेको हुन्थ्यो, तिनीहरूका पातमा शीत झपक्क हुन्थ्यो। घाम निकैमाथि नचढिञ्जेल शीतले हिंडिसक्नु हुदैनथ्यो। ज्यामिर सुन्तलामा रस पस्न थालेको हुन्थ्यो। लप्सीका गेडा अमिलिन थाल्थे। अम्बा पाकेर रनबन पहेँलपुर हुन्थ्यो। खोला गडतिरमा अर्चल पाकेर राताम्मे हुन्थ्यो। खोल्सीको पानी सङ्लिन थाल्थ्यो, खरबारी झपक्कै हुन्थ्यो। काँक्रा, फर्सी, घिरौंला, इस्कुस, चुच्चे करेला सबै तरकारी बारीभरि हुन्थे, छानाभरि हुन्थे। आँगनका डिलतिर थाङ्ग्रामा मकै हुन्थे। यसबेला अब दसैँ अवतरित हुने बेला भएझैं लाग्थ्यो मनमनै। किनभने हाम्रा बा, काका, मामा, लिम्बू दाजु र सबै गाउँले मिलेर त्यसबेला डाँडापारि लागेका हुन्थे, अथवा धरान झरेका हुन्थे। कसैसंग घिउका टिन हुन्थे, कतिसंग अदुवाका, कतिसंग बेसारका, कतिसंग खोर्सानीका, चिराइताका, मजिटाका ढाकरहरू हुन्थे। ती ढाकरहरू दसैँ बोलाउने दूतहरूझैं लाग्थे। छेउछेउमा एकएकवटा लालटिन झुण्ड्याएर, पुटुस्स हुने गरी कसिएका ढाकरमा सामान भरेर, खकन भिरेर, तोक्मा टेक्तै उनीहरू हिँडेको देख्ता कहिल्यै नदेखेको एउटा बजारको कल्पना हुन्थ्यो। त्यो बजार आफ्नै आँखाले देख्न पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्थ्यो।
लोग्नेमान्छेहरू डाँडापारि लागेपछि आइमाईहरू भेला हुन्थे। डोकानाम्ला बोकेर उनीहरू रातोमाटो खन्न, कमेरो खन्न निस्कन्थे। ससाना फुर्लुड्डे डोकाहरू भिरेर हामी पनि आमासितै जान्थ्यौं कहिलेकाहीं। कमेरो, कमेरे माटो बगिरहने पैरेनीतिर हुन्थ्यो भने रातोमाटो कान्लाभित्रै कतै टोड्को पारेर खन्नु पर्थ्यो रातोमाटो कमेरो ल्याएपछि घरको ध्वाँसो झार्नु, लिपपोत गर्नु, बर्खाभरि उक्किएको पिंढी टालटुल गर्नु जस्ता कार्यमा उनीहरू लाग्दथे। घरका सबै परिवार मिलेर घरको माथ्लो भागमा कमेरो छ्यापिन्थ्यो, बाबियोका कुचोले। गाराको आधीदेखि तल्लो भागमा रातोमाटो पोतिन्थ्यो, कपडाले। घरको अग्रभागमा झ्याल ढोकानिर कालो रङ पनि लगाइन्थ्यो। राई लिम्बूका घरका भित्तामा राम्राराम्रा फूलका बुट्टा र अन्य कलात्मक आकार हुन्थे। आफूले चिनेका लिम्बुनी छोरी बुहारीहरू ठूलाठूला ढुङ्ग्री र झम्के बुलाकी हल्लाउँदै घरका भित्तातिर कति गोलाकार, कति चतुष्कोण आकृतिहरू एउटा केश जत्रो धर्को पनि फरक नपर्ने गरी रचना गर्थे। आज सम्झन्छु ती कलात्मक ज्यामितीय आकृतिहरूमा हजारौं वर्षको संस्कृति सर्दै आएझैं लाग्छ। आज मिथिला आर्ट हेर्दा पनि ती कलात्मक आकृतिको सम्झना हुन्छ। घरमा यसरी रातमाटो कमेरो पोतिसकेपछि अब दसैँ उत्रियो भनेजस्तो लाग्थ्यो हामीलाई। आज त्यो देख्न पाइदैन।
घर लिपपोत सकेपछि सारा महिलाहरू घमाइलो दिन पारेर धारामा, कुवामा, खोल्सामा, खोलामा भेला हुन्थे अनि ठूलाठूला भा“डामा खरानी साबुनपानीमा उमालेर वर्षभरिका सारा लुगा धुन्थे, सुकाउँथे, पाखै झिलिमिली देखिन्थ्यो। यो दसैँको अर्को तयारी हुन्थ्यो। त्यसबेलासम्ममा माथि बरडाँडामा लिंगेपिङ थापिसकेको हुन्थ्यो। टाट्नाहरूमा ठूलाठूला खसी घाँस खाइरहेका हुन्थे, उघ्राइरहेका हुन्थे।
डाँडापारिबाट गाउँलेहरू १०–१५ दिनमा फर्कन्थे। तिनीहरूका ढाकर तोक्मा र कुम्लामा चढेर गाउँभरि दसैँ आउँथ्यो। त्यहाँ दुई सेर चिनी हुन्थ्यो, एक बदल मट्टितेल, एक रूपियाँको जिरा, चारपाँच पाथी नुन र संसारभरिका सस्ता तर बलिया कपडाका थानहरू, गजगजका टुक्राहरू। दसैँको सबभन्दा ठूलो सन्देश हाम्रो लागि दमाईं हुन्थ्यो। एक दिनको बाटो टाढादेखि भएपनि घरघरमा दमाईं बोलाईन्थ्यो। बालीका दमाईंहरू गाउँमा झरेपछि हाम्रो लागि साँच्चै दसैँ ओर्लेको हुन्थ्यो। अहिले सम्झन्छु, बोराजस्तै खस्रा कपडा हुन्थे तर कपडा छेक्न दर्जीले यो शरीरमा कपडाको फित्ता घुमाउँदा, अंगारले ती कपडामा चिनो लगाउँदा यो शरीर रोमाञ्चित हुन्थ्यो। यो मन हर्षले उम्लिन्थ्यो। फाइबर वा खद्दरका हाँस उठ्ता कपडाका दौरा सुरुवाल, ठुटे अथवा इस्टकोट सिलाउँदा रातभरि मिसिन चलिरहन्थ्यो। राडीमाथि सिकुवामा बसेर खिटिटि… खिटिटि..।
त्यो मिसिन चल्दा हामी त्यसको आवाजप्रति मुग्ध हुन्थ्यौं। हामी अपलक एवं निर्निमेष भएर त्यो हेरिरहन्थ्यौ। माडसरीका थान कपडाबाट कस्तो कस्तो विचित्रको बास्ना आउँथ्यो। कपडाहरू नाकैमा लगेर सुँघ्थ्यौ। हामीलाई त्यो डाँडापारिको बासना जस्तो लाग्थ्यो, ठूलो बजारको सुगन्ध जस्तो लाग्थ्यो। आज पेन्टियम फोर कम्प्युटरमा इन्टर्नेट जोडेर हेर्दा यो मनमा कुनै हर्ष छैन किनभने त्यो काईंला दमाईंको कल आधुनिकयन्त्र युगको ठूलो रहस्य हुन्थ्यो। बत्तीको छेउमा निहुरेर हेर्दाहेर्दा हाम्रा आँखीभौ नै कतिपल्ट झिल्सिन्थे, कहिलेकहीं टोपीको घेरोबाट धुवाँ आएपछि थाहा हुन्थ्यो। तर हामी लठ्ठ भएर त्यहीं झोप्पिन्थ्यौं। मेरो दौरामा गोजी हाल्छ कि हाल्दैन भन्ने ठूलो पीर हुन्थ्यो।
हाम्रो मनमा ती गोजीभरि चिउरा खा“देर फाँको मार्दै कुध्ने अथवा टिको लगाएका पैसा छिन्द्रिंग छिन्द्रिंग बजाउँदै उफ्रिने ठूलो अभिलाषा हुन्थ्यो। काईंलो दमाईप्रतिको हाम्रो प्रेम अपार हुन्थ्यो। एक दसैँमा कपडा सिउँदासिउँदै गोली धागो सिद्धियो र हाम्रा कपडा अधुरै रहे। त्यो वर्ष दसैँ नआएको पीडा सम्झदा आज पनि मन अंध्यारै लाग्छ। दमिनी पनि भित्तामा ढल्केर तुनु लाउँथी। कति छेत्री बाहुनको घरमा दमाईंलाई दही, मोही दिँदैनथे; हामीलाई मनमनै माया लागेर आउँथ्यो। तर ऊ सन्तुष्ट थियो होलाजस्तो लाग्छ। अहिले सम्झेर ल्याउँदा सयौं वर्षले किचेर ऊ त्यस्तो देखिएको होला। वास्तवमा ऊ मनमनै रोइरहेको हुनुपर्छ। मङ्सिरमा पाथीले भरेर अन्न लान्थ्यो। आज त्यस्तो छैन।
नौरथा लाग्ने बेला भएपछि गाउँभरि उर्दी हुन्थ्यो। सबै गाउँले कोदालो, खुर्पा, ह“सिया लिएर निस्कन्थे। आफ्नाआफ्ना गाउँका बाटाका झोडी फाँडिन्थे, खोलातिर फड्के हालिन्थे, खोल्सीमा मूढा तेछ्र्याइन्थे, प्रत्येकका घरघर जाने बाटाहरू खुर्केर त्यसैत्यसै हिँडिरहौं जस्ता चिल्ला हुन्थे। कान्लामाथि लालपातीहरू फुलेर लरक्कै हुन्थे, छेउछेउतिर सयपत्री र मखमली कोपिलामा हुन्थे। आँगनको पिंढीछेउतिर गोदावरीका झ्याम्टा हुन्थे। सकीनसकी हामी पनि बाटो सफा गर्न कस्सिन्थ्यौं र बेलुकीपख एउटा नयाँ संसार देखिएझैं लाग्थ्यो, हामी पल्लो गाउँसम्म, तल्लो गाउँसम्म सास रोकेर दगुर्थ्यौ। त्यसरी कान्ला र भित्तातिर, वनस्पति र वृक्षतिर पनि दसैँ उत्रैझैँ लाग्थ्यो। आज त्यस्तो छैन।
पारितिर हेर्दा पनि बाटाका सफा धर्काहरू, गोरेटाहरूले एक गाउँबाट अर्को गाउँ जोडेको प्रष्ट देखिन्थ्यो। छरी काटेर चौतारातिर बिसाएका राई, लिम्बू युवकहरूजस्तै, सुन्दर। अनि लिम्बू गाउँदेखि नगरा बज्न थाल्थे। माथिमाथि तिम्तिम्बूदेखि दिनभरि बजिरहने नगराहरू च्यांगथापूभरि सुनिन्थ्यो। सुरुको दिनमा ड्याम्ड्याम् बन्दुकहरू पनि पड्किन्थे। त्यसबेला चराहरू तर्सेर आकासको माथिमाथिसम्म उड्दथे। झोसुवा बन्दुकको धुवाँ पनि आकासिन्थ्यो। मानिसले ठूलो आवाजले दसैँ बोलाएको जस्तो लाग्थ्यो। ती सफा बाटा र गोरेटातिर हेर्दा मान्छेहरू कताकति चिल्लाचिल्ला खसीहरू डोहोर्याउँदै हुन्थे, भालेहरूले खुँगी भरेर खोलो तार्दै हुन्थे। तलतल खोलाकिनारतिर काँस फुलेर सेताम्मे देखिन्थ्यो। ईवाँमिवाँको पानी सङ्लेको हुन्थ्यो, काबेली नीलोहरियो देखिन्थ्यो। हामी कुधेर बरपीपल चौतारी पुग्थ्यौं। त्यहाँ खागी रङका मिल्टेरी बस्त्र र बिर्के टोपी लगाएका भर्तिवालेहरू देख्दा मन आनन्दले उचालिन्थ्यो। उनीहरूका छेउमा ठूल्ठूला बेडिड्ड गुन्टा र टिनका बाक्सा बोक्ने भरियाहरू पसिना पुछ्तै हुन्थे। लाहुरबाट दसैँमा घर फर्केका ती भर्तीवालेहरूले ती बाक्साभरि कोसेली ल्याएको होला जस्तो लाग्थ्यो। तिनीहरूका पछिपछि निकै परसम्म कुद्न पाउँदा एक प्रकारको आनन्द लाग्थ्यो। तिनीहरूबाट बेग्लै बजारको वासना आउँथ्यो।
अब लोग्ने मान्छेहरू केराका घरीहरू बोकेर गाउँगाउँ हिँड्थे। कतिले घरमा लगेर ती घरीलाई धुसुरेका पात हालेर राडीले छोपछाप पार्थे। गाउँभरि ढिकी नबजेको घर हुँदैनथ्यो। चिउरा कुट्नेहरू ढिकीभरि हुन्थे। कोही भुट्ने, कोही कुट्ने, कोही घान लाउने। कसैका चिउरा लट्टा पर्थे, कसैका धान भिज्दैनथे, कसैका राम्रा हुन्थे। हामी ढिकी वरिपरि ढुकेर बस्थ्यौं, हुरुक्क भएर थुक निल्दै चिउरा भुट्न सघाउँथ्यौं अथवा कुट्न तर देउतालाई नचढाएसम्म उछिट्टिएको गेडो पनि मुखमा हाल्नु हुँदैनथ्यो त्यो समय अत्यन्तै कष्टकर हुन्थ्यो।
यस्तो कष्टकर घडीमा एकदिन मेरो तल्लाघरे छिमेकी र म उनीहरूको भण्डारमा पस्यौं। त्यहाँ थुन्सेभरि भुससरिका चिउरा थिए। ससानो आँखीझ्यालको टोड्को खोलेर भानुले भुससरिका एकफाँको लट्टा मुखमा हालेको मात्र थियो उसका दुईटी फुपू आए र एउटीले उसको कान उखेलिन अर्कीले चिउरा भुट्ने कप्टेराले मर्नेगरी हानिन्। भाने त्यहीं थला पर्यो र म त्यो टोड्काबाट निस्केर एकाबिहानको बाटो भागें। त्यो दिन दिनभरि मेरा खुट्टा कामिरहे। साँझपख घर फर्किए। त्यस्ता रोमाञ्चक एडभेन्चरहरू अब कहिल्यै आउन सक्तैनन्। आज तयारी चिउरा जताततै पाइन्छ तर चिउरा खाने रहरै छैन।
म माथिमाथि लेकतिरका छेत्रीहरू सम्झन्छु। नौरथा लाग्ने बेलामा बोराभरि मकै अथवा आलु बोकेर उनीहरू औलको बाहुनगाउँ झर्थे। हाम्रा खोल्याङ्तिर भर्खर तौलीधान पाक्दै हुन्थ्यो। राम्ररी पाकी पनि नसकेको धान दिनभरि आफैं काटिदिन्थे, झार्थे, माड्थे अनि कोही बाह्र माना, कोही दुई पाथी, कोही तीन पाथी धान मकै वा आलुसंग साटेर लान्थे। बाह्र माना धान लगेर कतिको चिउरा कुट्नु, कतिको चामल कुटेर अछेता लगाउनु? तिनीहरूले कहिल्यै धानको भात खान पाउँदैनथे। त्यो नेपाली जीवनले भोगेको अभाव र कष्टको क्षण सम्झेर ल्याउँदा आज पनि मेरो बोली रोकिन खोज्छ। खोल्सापारिका सार्कीहरू, डाँडागाउँका कामीहरू त्यतिकै दुःखी र भयावह जीवन काटिरहेका अत्यन्तै उपेक्षित प्राणी थिए। आँगनको पल्लाछेउको ढुङ्गामा मलिन अनुहारसंग ती बसेका हुन्थे याचनाको दृष्टिले एक टपरी दसैँको भाग उठाएर तल्लाघर लाग्थे। तर पनि सदियौंको सम्बन्धले होला त्यो प्रक्रिया उसबेला सही होलाजस्तो लाग्थ्यो। आज त्यो भयावह स्थितिमा भने अलि सुधार आएको होलाजस्तो लाग्छ। थाहा छैन, पहाड नपुगेको कति वर्ष भयो।
सबै हातहतियार कामीको आरनमै लगेर उध्याएपछि घरमा ल्याएर पूजा हुन्थ्यो। गुरु पुरेतहरू देवीथानतिर अथवा गाउँतिर चण्डीपाठमा झरेका हुन्थे। मन्दिरहरूको पनि सफाइ हुन्थ्यो, पाटीपौवाको पनि। यसरी सबै वर्ग जातजातिले आ–आफ्नो कार्यक्षेत्रअनुसार एकडेढ महिनादेखि लागिपरेर मात्रै गाउँमा दसैँ अवतरित हुन्थ्यो। उसबेला क्यालेन्डर हेरेर होइन प्रकृति र मानवको अन्तर्सम्बन्धले दसैँ आएको थाहा हुन्थ्यो। आज त्यस्तो छैन। आज नागर सभ्यताले छाएको ठाउँमा दसैँ नै छैन भन्दा पनि हुन्छ। सबै कुरा रेडिमेड हुन्छ। परदेशी, जागिरे, कर्मचारी, विद्यार्थी विभिन्न अवस्थामा रहेको ठूलो जनसंख्याले दुई दिन अघि र दुई दिन पछि मात्र छुट्टी पाउँछ। दसैँ केवल एउटा कष्टकर र बिजुलीजस्तो क्षणिक झल्का भई आउँछ, थाहा नपाई जान्छ। आज उसबेला जस्तो छैन।
उसबेला सिड्डो परिवेश नै दसैँमय हुन्थ्यो- वनस्पति, प्राणी, प्रकृति र मानवजगत। राई, लिम्बूहरूको दसैँ एक महिना रहन्छ भन्थे। तल मूल सडकमा गएर हेर्थ्यौ– बर पीपलका फेदमा ठूलाठूला ढाकर बिसाइएका हुन्थे। कुनै ढाकरमा सिड्डा सुँगुर ताछतुछ पारी सुन्दर पारेर ठड्याइएका हुन्थे, कुनैमा भालेहरू, कुनैमा बंदेल, कुनैमा तोङ्वाहरू, कुनैमा ससाना चोंचे पनि हुन्थे। ती ढाकरका छेउमा लालपातीका थुँगा सिउरेका हुन्थे, बाबरी फूलका मुन्टा सिउरेका हुन्थे। उनीहरू छेत्री बाहुनभन्दा अलि भिन्न लाग्थे। कसैले जुल्फी कोरेको, कसैले टोपी ढल्काएको, शिरमा बुट्टे टोपी, गलामा हरियो र रातो मफलर, कसैकसैका भर्तीवाले बुट, हातमा लठ्ठी, रक्सीले गर्दा मादक आँखा निधाउन आँटेका जस्ता ती ढाकरको पछिपछि हिँडेको देख्ता कस्तो रहस्यमय आनन्द र भय लाग्थ्यो। त्यसबेला पञ्चमी बजारमा धान नाचिरहेका कथवा बाटातिर हिँड्दा खोलाछेउमा, पाटीमुनि, धारा कुवाछेउमा जाँड पिइरहेका राई लिम्बूहरू देख्ता यो मुटु पडकेला जस्तो हुन्थ्यो। डरले हामी सास थुनेर पाखैपाखा बत्तिन्थ्यौँ। त्यसबेला लिम्बू गाउँको बाटो हिँड्दा सुँगुरको पाठोले छुने हो कि, यो ब्राहृमणको जातै समाप्त हुने हो कि भनेर जत्रो डरलाग्थ्यो त्यत्रो डर आजसम्म मलाई केहीको पनि लागेको सम्झना छैन। एक हातले जनै समातेर देवीदेउता पुकार्दै उडेर घर पुग्थ्यौ। तर यी सब कुरामा हार्मोनी थियो, एक लय थियो, जीवन समाजमा सङ्गतिपूर्ण र सुमधुर सम्बन्धमा आधारित थियो जस्तो लाग्छ। त्यो डरमा पनि, ती अन्धविश्वासहरूमा पनि आपसी सद्भाव र प्रेम अवश्य थियो। त्यो आज छैन। आज पनि मेरा छिमेकी एकजना लिम्बू काका नै छन् तर यो दसैँ चुच्चा नाकेहरूको मात्रै हो भनेर उनीहरू केही वर्ष यता अर्कै उपाय गर्दैछन्, पहेंला वा सेता अछेता लाउँछन् वा टीकै लाउँदैनन्। त्यो देख्ता आफ्नै घरको पुरानो निदाल चर्केजस्तो लाग्दछ। आजैमात्र पूर्वाञ्चलका ती जिल्लाहरू मदिरा निषेध क्षेत्र बनाउने घोषणा प्रकाशमा आयो। यो सुन्दा हजारौं वर्षको सुन्दर सांस्कृतिक फूलवारी ओइलन थालेझैं लाग्दछ।
गाउँका सारालाई दही–च्युरा, मासु–भातले दसैँ बिर्सिनसक्नु पार्थ्यो। निधारमा टीका लगाएर, कानमा जमरा सिउरेपछि त्यसैत्यसै यो शरीर उचालिएर आउँथ्यो। इतिहास पढ्छु, कोलम्बस जस्तै, भास्को–डि–गामाजस्तै अज्ञात मुलुकतिर कताकता उडौं जस्तो हुन्थ्यो– मावल, काका बडाबाको घर, मितबाकोतिर अन्य आफन्तकातिर दूरदेश कतै हिँडौँ हिँडौँ जस्तो हुन्थ्यो, ती छड्डै उघ्रेका शरदहरूमा।
त्यसबेला तीनचार दिनलाई पुग्ने घा“स काटेर थुपारिन्थ्यो। गोठका बस्तुभाउ र टाट्नाका बाख्रालाई घा“सपानी दिने जिम्मा कुनै छिमेकीलाई अर्हाए पुग्थ्यो। एउटा कोक्रामा भाइ अथवा बहिनी हालेर त्यसको एक छेउमा अलिकति कपडा र लिटो राखेर आमा अघिअघि, कुम्लामा एक पेरुङ्गो कुराउनी, केराका काईंया र चिउरा बोकेर बा पछिपछि– सबभन्दा ठूलो हर्षप्रद यही क्षणको प्रतीक्षामा हुन्थ्यौं हामी कैयौं महिनादेखि। हामी माइत–ससुराल–मावल यसरी एक हुल भएर लाग्थ्यौं। बाको दौराको फेरफेर समात्दै, आमाको गुन्युको फेर समात्दै अथवा बेलाबेला सबैलाई उछिन्दै हामी सबै छोराछोरी उमड्डले थामिनसक्नु झैं हिंडिरहेका हुन्थ्यौं। भोक, तीर्खा, प्यास, थकान केहीले छु“दैनथ्यो। काबेली साघु“को वारिपट्टि बसेर अलिकति कुराउनी चिउरा खाएर फेरि हिंड्थ्यौ“। पुल तर्दा तल हरियो, नीलो पानी देखिन्थ्यो। आकासमा बादल देखिंदै हराउँदै गर्थ्यो, कानमा जमरा सिउरेकाहरू बाटाभरि भेटिन्थे। ढाकरभरि कोसेली बोकेकाहरू सबै नयाँ लुगामा दोहोरीलत्ता हुन्थे। साँझ झमक्क परिन्जेल पनि हाम्रो मावल आउँदैनथ्यो। गलेर र थाकेर नाड्डा पैताला पोलेर भुतुक्कै भुइमैं लडौंजस्तो हुन्थ्यो किनभने बाका गोडामा मात्रै जुत्ता हुन्थे तर हामी एउटा अज्ञात आकर्षणले तानिएझैं हुन्थ्यौं, घस्रेर पनि हिंडिरहेका हुन्थ्यौं, हिंडिरहेका हुन्थ्यौं।
तीनचार दिनपछि मावलबाट घर फर्किंदा गोजीमा चानचुने पैसा बज्थे। टीका लाईदिनासाथ कतिबेला पैसा हात पर्ला भनी हामी पल्याकपिलिक गथ्यौं। तामाका, पित्तलका, गिल्टीका चानचुने पैसाहरू, अझ छिंडे पैसाहरू सर्वाधिक प्रियवस्तु लाग्थे। बाटामा हिँड्दा उफ्रेजसो गरेर पनि हामी पैसा बजाउन चाहन्थ्यौं, त्यसबाट आनन्द उत्पन्न गर्न चाहन्थ्यौं। त्यसैले एक आपसका पैसा गन्ती गर्ने ठूलो रहर हुन्थ्यो। कहिलेकाहीं भुराभुरीलाई नचल्ने ढ्याके पैसा दिन्थे, ती खोप्पी खेल्न मात्र काम लाग्थे। कति छींडे पैसा दिन्थे, ती तुनुमा उनेर उफ्रिंदा बजाउन मात्र काम लाग्थे। कतिले हामीलाई हेपेर जग्गेमा डढेका चारानी पनि दिन्थे तर त्यस्ता पाउँदा हामी खुसी नै हुन्थ्यौं। दिनभरि खोला बगरमा घोटेर पनि ती टल्काउँथ्यौं, चल्ने पार्थ्यौं। बाटामा पूर्ने बजार आए पनि, सन्सरे बजार आएपनि पञ्चमी बजार आए पनि राता मिठाइ किनी खानुहुन्थ्यो जस्तो लाग्थ्यो। ती चानचुने पैसाले हाम्रो बाल्यजीवनमा कैयौं महिनाको लागि ऊर्जा प्रदान गर्थ्यो। यसैका शक्तिले हामी सञ्चालित हुन्थ्यौं। दसैँको पैसा जोगाएर चैतको रामनवमी बजारसम्म पुर्याउने कामनामा हुन्थ्यौं तर महिनादिन भित्र खोप्पीले लगिसक्थ्यो, अथवा यस्तै के के भएर एउटा पीडादायी सम्झना मात्र बाँकी रहन्थ्यो। घर फिर्दा गाईबस्तु अलि टाक्सिए पनि सञ्चै हुन्थे। ढोकामा भोटे ताला लागेकै हुन्थ्यो। केही सामान चोरिदैनथ्यो। गाउँभरि यसैगरी पालो गर्दै अरूलाई गाईबस्तु सुम्पेर हिंडिरहेका हुन्थे सबै। बाटोमा यस्तैको लस्कर हुन्थ्यो। बाटाबाटामा पिङ हुन्थे। कति यात्रीहरू वा गाउँलेहरू त्यहाँ मच्चिएर लिङ्गो कटाउन खोज्थे। कसैले गाउँमा जुवातास खेलेको, कौडी हानेको सम्झना छैन। यो धेरै पुरानो कुरा होइन २०१८–२०२३ सालसम्मको हो। पूर्वी पहाडको शिर अशिक्षा र अन्धकारले व्याप्त थियो। मान्छेको जीवन अभावको पर्यायवाची थियो। हजारौं वर्षदेखि चलेको परम्परागत समाज थियो। धेरै त्यहाँ हेपिएका, थिचिएकाहरू थुप्रै थिए। यो सामन्ती समाजको अवशेष थियो। तर, पनि समाजमा एउटा सुसड्डति वा हार्मोनी थियो। त्यो भत्केला भन्ने मानिसलाई पीर थियो। त्यसैले ती दसैँहरू पनि सुव्यवस्थित, परम्परित, निर्मल र निश्छल पर्वहरू थिए। तर आज त्यस्तो छैन।
आज बहुलताले छाएको छ। समाज विविधीकरणको सँघारमा छ। धेरै कुराहरू फुक्लने क्रममा छन्। सहरहरूमा आधुनिकता छ र बिघ्नै आडम्बर पनि। गाउँहरू पनि सकिनसकी सहरको नक्कल गर्न खोज्छन्। माथिकाहरू आडम्बर प्रदर्शनमा छन् र तलकाहरू त्यो सिक्ने तालिममा छन-लाउनमा, खानमा, पिउनमा, पर्वहरू मनाउनमा यद्यपि आधुनिकीकरणले ल्याएका यी उपलब्धि हुन्, यी विकृति पनि हुन्।
अहिले दसैँको परिवेश उत्पन्न गराउने समाजका अनेक वर्ग स्वयम् विशृङ्खल देखिन्छन्, मानिसहरूको पेसा बदलियो, व्यवसाय बदलियो। त्यसैले खाद्यान्न र लाउने परिधानहरू पनि बेग्लै भए। टाट्नामा खसी छैनन, खोरमा भाले छैनन्, थाममा पाकेको केराको घरी छैन, दर्जीहरू अब चाहिँदैनन्, रेडिमेड आएको छ, ढिकीहरू बज्दैनन् मिल भित्रिएका छन्- प्रायः हरेक ठाउँमा बाटो छ, सञ्चार छ, व्यापारीकरण छ, अन्तर्राष्ट्रियकरण छ यसले गर्दा हाम्रो आफ्नो मौलिक पहिचान समाप्त हुँदै गएको छ। अतीतका दिनहरू समाजका लागि सुखद थिए भन्ने होइन तर मेरो लागि दसैँ जत्रो आकार, परिवेश र रूप लिएर पर्वको रूपमा अवतरित हुन्थ्यो आज त्यो एक अंश पनि छैन। यो केवल औपचारिकतामा अल्झेको छ। एकदेश टाढा भएको कर्मचारीलाई जम्मा चार दिन छुट्टी हुन्छ, उसका लागि दसैँ केवल पीडा झैं आउँछ। एकदेश भएका विद्यार्थीहरू परदेशबाट रुखिएर घर पुग्छन् तर खर्च, परीक्षा, पढाइ, असफलता, जागिर र बिहेजस्ता अनेक टेन्सनले च्यापिएर उनीहरूको मनमा दसैँ उत्रिनै पाउँदैन। आज लाखौं नेपाली परदेशमा छन्-कुनै मरुभूमिमा पिल्सिरहेका, कुनै हिमराशी छेउ कठाङ्ग्रिरहेका कुनै युरोप अमेरिकाका अनेक शहरमा। घर परिवार सम्झेर रोइरहेका तिनीहरूलाई सम्झदा कहाँ दसैँ आउँछ र हाम्रो मात्रै मनमा?
आज हजारौं नेपालीहरू रतुवा–माई–बिरिंगको बगरमा रोएर कहर काटिरहेका छन्, अनागरिक भएर। तिनीहरूले बर्षौदेखि भोगेको अभाव र पीडा सम्झदा कहाँ दसैँ आउँछ र हाम्रो मात्र मनमा? विगत केही वर्ष यता देशमा पशुको बलीझैं मानव–बली चलिरहेको छ। सारा दसैँहरू आँसुमा डुबे, शोकमा डुबे, १३ दिनमा, ४५ दिनमा, बर्खान्तमा। हजारौंले भय र त्रासका पलपल गनेर बिताए, हजारौंले ईश्वर पुकारेर, केवल रोएर। कोही न्यायका लागि लड्दैछ कि अन्यायका लागि कसैलाई त्यसको स्पष्टीकरण र व्याख्या आवश्यक छैन। तर प्रकृतिको भनौं कि ईश्वरको सृष्टिलाई मानिसले नै ध्वंश गरिरहेको दृश्य हेर्दै, सुन्दै, भोग्दै यो देशमा धेरैले आँसुको दहमा सुत्नु परेको छ, रगतको खोलोमा पौडनु परेको छ। यो वर्षको पनि दसैँको मुखैमा शान्तिबार्ता टुड्डियो र युद्ध सुरु भयो। साराको हृदय डराएको छ, कामेको छ, रोएको छ। यस्तोबेला कहाँ आउँछ र दसैँ डगडगी कामेर बाँच्नेहरूका मनमा? डगडगी कामेर मृत्यु पर्खिरहेकाको मनमा? उसबेला जस्तो होइन, आजका स-साना बालबालिकाको मनमा पनि अनन्त भय, घोर निराशा र मृत्युको चित्र उत्रिन्छ । कहाँ आउँछ र तिनीहरूको मनमा पनि उसबेलाको जस्तो निर्मल दसैँ ?
(रचनाकालः २०६१ सालको दसैँ, ट्याङ्लाफाँट, कीर्तिपुर । सान्दर्भिक लागेकाले ताईवानबाट द्वैमासिक रुपमा निस्किने ‘प्रयास’ बाट साभार गरिएको हो सम्पादकको अनुमति लिएर)




