ग्रामिण पत्रकारिताका गुरु गुराइगाइँसित जेनेभामा अन्तरंग

– लक्ष्मण देवकोटा / जेनेभा

काया कैरनका गोपाल गुरागाईं स्विजरल्याण्डको जेनेभामा भेटिए । इटालीको मिलानमा संसार भरिका पत्रकारहरुको भेला सकेपछि हान्निएर आइपुगेका रहेछन उनी जेनेभा । फेरी नोस्ताल्जियाले छोप्यो हामीलाई । पाल्पा आरे भञ्ज्याङको घुम्तीको झल्को आयो । घोर्बंदाका कुमालहरूको सम्झना भो । निस्दी र जल्पा सम्झिए भोजपुरमा जन्मिएर धरानमा हुर्केका गोपाल गुरागाईले ।

२०५० सालको कुरो, उनले फिचर लेख्न सिकाएका थिए । पाल्पाका युवा पत्रकारहरुलाई । पाल्पा, स्यांग्जा र तनहुका गाउँ गाउँ घुमेर हामीले गाउँबस्तीका कथाहरुको जिबन्त तस्बिर शब्द मार्फत उतार्ने प्रयास गर्थ्यौ । त्यहि मेलोमा उनले अन्तरबार्ता लिन सिकाए । मानिसहरुका अनुहारमा छोप्न खोजिएका मुटु छुने बास्तबिकता खोतल्न सिकाए ।

नेपालको बिकाश पत्रकारितामा गोपाल गुरागाईंको नाम अलग गर्दा ठुलै खाल्टो बन्न जान्छ । पाल्पाबाट निस्केको ग्रामिण पत्रिका देउरालीको जग उनैले बसालेका हुन् । लेखनका सिपाही तयार पारेर । उत्तिकै ग्रामिण रेडियो स्थापनाको युद्दमा अगाडी सामेल भएर । कम्युनिकेसन कर्नरका अगुवा गुरागाईंले ५२ सालतिर गाउलेको रेडियो खोल्ने सपना बुनेर रेडियो नेपालमा खोजखबर रेडियो पत्रिका चलाउँथे । ग्रामिण छेत्रमा फिचर लेख्ने नशा लागेको मैले टेलिफोनबाट गाउँका खबर रेकर्ड गराउँथे । रेकर्ड गर्ने थिइन् मन्टेश्वरी राजभण्डारी ।  पछी राम प्रसाद हुमागाईं र संगीता मरहट्टा थपिए । दिनहुँ बाताबरण बिनाश, सामुदायिक बन, हराउँदै गएका कुमालेहरु, तिनको भाषा, संस्कृति बारेमा रेपोर्टिंग गर्न थालेपछी उनले तालिम लिन बोलाए । आज जस्तो सुबिधा कहाँ हुनु ? क्यासेटमा कसरि रेकर्ड गर्ने ? त्यसलाई फेरी कसरि सिंगो कार्येक्रम बनाउने भन्ने बिषयमा बागबजारमा रहेको कम्युनिकेसन कर्नरको कार्यालयमा गुरागाइले तालिम दिए ।

झोलामा चाउचाउ, क्यामेरा, डायरी बोकेर नयाँ नेपालको कल्पना गर्दै संचारको माध्यमबाट देश फेर्ने सपना बोकेर संगसंगै उकाली ओराली गरेका गुरागाईं अलि निराश देखिए । उनले भने ” नेताहरुलाई अझै तल जान पुगेको छैन । संचारको क्षेत्रमा हामीले यति फड्को मारिसक्दा समाजको राजनीतिक परिबर्तन र आर्थिक विकास डेग चलेन । यो दोष नेतृत्वको हो । जनताले आफ्नै बुतामा बल गरेर माथि उठेका हुन् यत्तिको । नेता गतिलो नहुँदा सम्म देशले कोल्टे फेर्दैन ।”

के पत्रकारले पनि नेतालाई मात्रै दोष दिएर उम्किन मिल्छ त ? मैले कोट्याएँ । “उम्किन खोजेको होइन । नेताहरुको नालायकीको सन्दर्भ निकालेको हो । हाम्रा नेताहरुले जनतालाई सधै झुक्याईराख्न सकिन्छ भन्ने सोच्ने गर्छन । अब त्यसो हुँदैन । किनभने धेरैले बुझिसकेका छन् । बाहिर भारतीय बिस्तारबाद मुर्दाबादको नारा लगाउनेहरुले राति भारतीय दुत संग बसेर डिनर गर्छन । यो बदमासी हो । मैले नेताहरुलाई गालि गरेर प्रेस ठिक भनेको होइन । नेपाली प्रेस मात्रै सहि र सुद्ध हुने हो भने राजनीति यती भद्रगोल हुँदैन । दोष पत्रकारहरुको पनि हो ।”

ऋषि धमला पत्रकारिताले जगत हँसाइरहेछ । कहिले हट्ला यस्तो धमला पत्रकारिता ? मैले कुरो कोट्याएँ । उनी अलि गम्भीर देखिए । उनले भने “नेपाली पत्रकारिताको कुरो गर्दा सैकडा १० इमान्दार छन् । ति इमानी छन् । तिनलाई खोज्नु पर्छ । त्यति सहज उनले आफुलाई बजारमा प्रस्तुत गर्दैनन् । जबसम्म देशको सार्बभौमिकता हाम्रै नेताले बचाएर राख्न सक्दैनन्, तबसम्म भिन्न रुप र आकारमा प्रवृति प्रकट भैरहन्छ ।”

ग्रामिण क्षेत्रमा रेडियो खोल्न झन्डै ७५ जिल्ला घुमे गुरागाई । राजनीतिको भद्दा हस्तक्षेप, ब्यापारिकरणको नाममा सीमा बिहिन दौड र राज्यकै अगुवाइमा भैरहेको अपराधीकरणले समाज भ्रस्ट बनाएको छ । मानिसहरुमा ब्यक्तिबादी चरित्र बढेको छ । अपराधीकरण संस्थागत भएको छ । तर संचारको तिब्र विकासले परिबर्तनको गतिलाई कसैले रोकेर नरोकिने भएको छ । राज्य आफै अपराधीहरुलाई माफी दिने योजना ल्याउँछ भने त्यो भन्दा संस्थागत अपराधीकरण के हुन सक्छ ? उनले प्रश्न गरे ।

इटालीमा संचार सम्बन्धि बैठकमा एसियाली पत्रकारहरुको अगुवाई गर्दै आएका गुरागाई बैकल्पिक पत्रकारिताका अगुवा हुन् । सत्ताको गुनगान गाएर होइन, जमिनका मानिसहरुलाई सशक्त बनाएर मात्र देश बन्छ भन्ने ठान्छन उनी । आखिरमा उनले गुनासो पोखे “बिदेशमा बसेर पनि राजनीतिक दलहरुको साँघुरो घेरामा नेपालीहरु बाँधिनु हुँदैन । यहाँको प्रबिधि, सिप नेपाल लानुपर्छ ।”

जेनेभाको गाई पाल्ने फारम हेरेर “नेपालमा पनि यस्तै गर्न पाए ! चुक्चुकाइ रहेका गुरागाईले भने “लोकतन्त्रका आधारभूत कुरा पनि धुलिसात पारिएको नेपाल बनाउने हो भने राज्यमा बढिरहेको अपराधीकरणलाइ रोक्नु पर्छ । देश अफगानिस्तानको बाटोमा अघि बढिरहेको छ ।”

मलाई सहयात्री मित्र गोबिन्द भट्टराई, गोपाल गुरागाईं र तेज बहादुर आलेसंग फिचर लेखनका लागि गाउँ घुमेको सम्झनाले सतायो । संघियता र जातीय स्वत्रन्त्रताको गलत प्रयोगले विभक्त समाजको त्यो सुन्दर बेलाको झल्को लाग्यो । के यस्तै थियो त हाम्रो सपना ? मैले उनलाई सोधें । सोमालिया र कोसोभोका जातीय मारकाटलाइ नजिकबाट हेरेका उनी बोलेनन् । स्विजरल्याण्डको सुन्दरताले लोभिएका तर देशलाई कुरूप बनाउन लागिपरेका नेताहरुले अलपत्र पारेको देश सम्झेर केहि सोचिरहेका उनको अनुहारलेनै धेरै बताईरहेको थियो ।

तपाइँको प्रतिक्रिया