साहित्यकार झमक घिमिरेबाट लिए ताईवानका राष्ट्रपतीले उपहार
∙ डा लेखनाथ काफ्ले / ताइपे, ताइवान
देशकै सबै भन्दा ठूलो र सम्मानित साहित्यिक पुरस्कार मदन पुरस्कार बिजेता झमक कुमारी घिमिरे । झन शारिरिक रुपले अपांग । उनलाई भेट्ने फुर्सद अहिलेसम्म हाम्रा नेता, मन्त्री, प्रधानमन्त्रीले पाएका छैनन् । देशका गहना यस्ता साहित्यकारसित भेट्न न तिनलाई चासो छ न त फूर्सदनै । अरु त परै, वालवालिकाको पास्नीमा पुग्न भ्याउने उपराष्ट्रपतीसम्मलाई समेत झमक घिमिरेलाई भेटेर उत्साहित गरौं, कदर गरौं झैं लाग्दैन । तर आफ्नो देशका ब्यस्त मन्त्री र नेताले नभेटेर के भो ? ताईवानका राष्ट्रपतीले आफ्नै देशमा उनलाई भेटेनन् मात्रै, उनको गोडाबाट उपहार लिन समेत भ्याए ।
सेप्टेम्बर १९, शुक्रबार, ताइवानका राष्ट्रपति श्री मा इन जीउले घिमिरे सँग भेटेर घिमिरेका गोडाबाट उनको पुस्तक लिएका हुन् । उक्त भेटघाटमा राष्ट्रपति जीउलेसंग उनी र नेपालको बारेमा जिज्ञाशा राखेका थिए । भेटमा घिमिरेले “जीवन काँडा की फूल” को चिनियाँ भाषामा अनुवादित कृति राष्ट्रपतिलाई गोडाले प्रदान गरिन् । राष्ट्रपति पनि भुइँमा बसेर उक्त किताब आफ्नै हातले लिए । राष्ट्रपति श्री मा सरल जीवन र अरुको आदर गर्ने कार्यका लागि देशै भरि नै चर्तित छन् । ताइवानका सञ्चार माध्यमहरुमा उक्त फोटो छापिएको छ । घिमिरेलाई यसअघि ताइवानका शिक्षा मन्त्रिले पनि भेट गरेका थिए ।
छउ ताक्वान सांस्कृतिक तथा शैक्षिकफाउण्डेशन, ताइपेई, ताईवानको निमन्त्रणामा ताइपेई आइपुग्नुभएकी नेपाली प्रशिद्ध साहित्यकार तथा मदन पुरस्कार बिजेता सुश्री घिमिरेको “जीवन काँडा की फूल” को चिनियाँ भाषामा अनुवादित कृति बिमोचन यहि सेप्टेम्बर १५, शनिबार भब्यताका साथ च्यांगकाइसेक मेमोरियल हल, ताइपेई ताइवानमा सम्पन्न भयो । छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइपेई, ताईवानले उक्त कृति प्रकाशित गरेको हो ।
सेप्टेम्बर १६, आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फर्मोसा च्याप्टर, ताइपेई, ताइवानले उनको जीवन भोगाइका वास्तविक दृष्टान्तहरुका साथै मानवताका संकल्पहरु प्रति नेपाली साहित्यमा गर्नु भएको रचनात्मक योगदानकोलागि ताइवानबासी नेपालीहरुको तर्फबाट सम्मान पत्र र ६०० अमेरिकी डलर सहित “फर्मोसा नेपाली साहित्य पुरस्कार” ले सम्मान गर्यो । उक्त कार्यक्रममा घिमिरेले धेरै कृति भन्दा पनि राम्रा कृतिको आशा गर्न उपस्थित नेपालीहरुलाई अनुरोध गरिन् । अनेसास, ताईवान च्याप्टर उपाध्यक्ष श्री निरजमान श्रेष्ठले संचालन गरेको उक्त सम्मान कार्यक्रममा नेपाल ताइवान संघका सचिब सुर्य प्रसाद जैशी, हिमालयन फुटबल क्लबका के. थापा र बिदधावारिधि अध्यनरत बिद्ध्यार्थी सुश्री प्रभा रेग्मीले झमक कुमारी घिमिरे लगायत अन्य आगन्तुकहरुलाई खादा ओडाएर स्वागत गरे । अध्यक्ष कपिल अधिकारी तथा महासचिब डा. लेखनाथ काफ्लेले ताइवानबासी नेपालीहरुको तर्फबाट सम्मान स्वरुप फर्मोसा नेपाली साहित्य पुरस्कार हस्तान्तरण गरेका थिए ।
सेप्टेम्बर १८ मा ताइवानको दक्षिणी शहर काओशिओंङ अबस्थित फू कोंग बुद्ध मेमोरियल केन्द्रको भ्रमणको क्रममा उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु गैर-आबासीय नेपाली संघ, ताइवानका अध्यक्ष बिरेन्द्र बहादुर ताम्राकार तथा नारायण प्रसाद खतिवडा, सुमन श्रेष्ठ र रेंजु सिंह थापाले घिमिरेलाई सम्मान स्वरुप उपहारहरु प्रदान गरका थिए ।
सेप्टेम्बर १९, बुधबार, छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताइपेई, ताईवानको आयोजनामा याङ मिङ सान सिनियर विद्यालयमा सयौंजनाको उपस्थितिमा सुश्री झमक कुमारी घिमिरेलाई उनको जीवन र कार्यले बिश्व मानवजातिलाई पुर्याएको सकारात्मक प्रभाव र अति बिशिष्ठ योगदानकोलागि पन्ध्रौं ग्लोबल लव अफ लाइफ पुरस्कार २०१२ तथा प्रमाणपत्र प्रदान गर्यो ।
भ्रमणको अन्तिम दिन २३ सेप्टेम्बर, आइतबार नेपाल फर्किनु अगाडी थाउयन ताइपेई अन्तरर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा पत्रकारहरुलाई जवाफ दिदै सुश्री घिमिरेले ताइवानको बसाई अत्यन्त राम्रो रहेको, नेपालका रास्ट्रिय नेताहरुसंग आजसम्म भेट हुन नसकेको तर ताइवानका राष्ट्रपतिले महत्वका साथ समय दिएर भेट गरी सम्मान प्रकट गरेकोमा खुशीका साथै भ्रमण आयोजक “छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताईवान”, स्वस्थ परिक्षणमा संलग्न स्वस्थकर्मी, ताइवानबासी नेपाली समुदाय र सम्पूर्ण ताइवानी जनताप्रति धन्यवाद प्रकट गरिन् ।
गत बिहीबार लानसीड अस्पातल, चोङ्लीमा गरिएको सुश्री घिमिरेको स्वास्थ्य परिक्षणको रिपोर्ट केही दिनमै प्राप्त हुने र नेपाल पठाइने बताइएको छ । नेपाल फर्किनु अगाडी थाउयन ताइपेई अन्तरर्राष्ट्रिय विमानस्थलमा पुनः सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त भ्रमण अबसरमा सुश्री घिमिरे र भ्रमण दलका अन्य सदस्यहरुलाई ताइवानको उत्तरी भेगका महत्वपूर्ण प्रयटकिय तथा एतिहासिक क्षेत्रहरुको भ्रमण गराइएको थियो।
सुश्री झमक कुमारी घिमिरे र भ्रमण दलका अन्य सदस्यहरु यहि सेप्टेबेर २२ तारिख नेपाल फर्की सकेका छन् । उक्त भ्रमण छउ ताक्वान सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताईवानले सम्पूर्ण ब्यबस्थापन गरेको थियो भने स्वास्थ्य परिक्षण सम्बधि कार्यको संयोजन लानसीड सांस्कृतिक तथा शैक्षिक फाउण्डेशन, ताईवानले गरेको हो । लानसीड सांस्कृतिक तथा शैक्षिक फाउण्डेशनले नेपालमा स्वास्थ क्षेत्रमा समुदाय तहमा बिबिध सहयोग गर्दै आइरहेको छ ।
उक्त संस्थाको तर्फबाट डा. शिह थियन शुले १० कार्टुन जाडो मौसममा लागाउने कपडाहरु समेत नेपालका गरिब र असहाय बालबालिकाहरुलाई प्रदान गर्न भ्रमण दलकी सदस्य उमा चित्रकारलाई हस्तान्तरण गरेका थिए ।
उँहाको भ्रमणलाइ स्थानीय पत्रिका र टेलिभिजनले महत्वका साथ प्रचार प्रसार गरेको थिए । सुश्री झमक कुमारी घिमिरेको उक्त भ्रमण दलमा झमक कुमारी घिमिरेका माता, पिता तथा सहयोगीका रुपमा नर्स श्रीमती उमा चित्रकार थिईन् । भ्रमण अवधिभर डा. लेखनाथ काफ्ले, कपिल अधिकारी, सुश्री आभिना शु र भिक्षु मंगलले भ्रमण दल र आयोजकलाई भाषा अनुवाद तथा अन्य बिबिध कार्यमा सहयोग गरेका थिए ।






