« जनताले प्रचण्डलाई लखेटी–लखेटी कुटेर मार्छन् »

(प्रचण्डका पूर्व सवारी चालक खड्गबहादुर श्रेष्ठ ‘शरण’ ले “प्रचण्डलाई जनताले लखेटी लखेटी कुटेर मार्छन्” भनेका रहेछन्  सेप्टेम्बरको दोस्रो साताको जनआस्था साप्ताहिकलाई अन्तर्वार्ता दिँदै । साँच्चै कस्तो संयोग पर्‍यो भने अहिले प्रचण्डले एक नागरिकको हातबाट झाप्पड खाए। २०१२ को सेप्टेम्बर १२ मा नेपालप्लसमा राखिएको यो अन्तर्वार्ता अहिले सान्दर्भिक भएकाले भण्डारबाट झिकेर फेरी राखिएको हो)।

● खड्गबहादुर श्रेष्ठ ‘शरण’ / प्रचण्डका पूर्व सवारी चालक

बा.१.ज ९२६८ । आरुबारी–रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो । जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ । ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए । र, उपनामले चिनिन थाले, ‘शरण’का रुपमा । त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए । तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे । र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे ।

उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए । तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे । त्यसको अगुवाई शरणले नै गरे । एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा–माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन् । हिजोआज जीविकाका लागि माइक्रो चलाइरहेका छन् । माइक्रोको आफ्नो रुट र समय हुन्छ । जनआस्थासँग कुरा गर्ने भनेपछि उनले खानाको समय निकाले । तर, त्यतिले पनि पुगेन । अर्का सहयोगीलाई गाडीको साँचो जिम्मा लगाएर शरणले आफ्ना भएभरका विरक्ति पोखेका छन् । यो अन्तर्वार्ता आजै प्रकाशित जनआस्था साप्ताहिकबाट साभार गरिएको हो । यो अन्तर्वार्ता लिएका हुन् विश्वमणि र यादव देवकोटाले । फोटो द काठमाण्डु पोष्टबाट लिईएको हो ।

० माइक्रो चलाउन थाल्नुभएछ !

– हो, असारदेखि शुरु गरेँ ।

० आफ्नै कि भाडाको ?

– साहुको ।

० पहिला गाडी चलाउँदा र अहिलेमा के फरक छ ?

– पहिला सस्तोमा पेट्रोल / डिजल पाइन्थ्यो । अहिले गाह्रो छ ।

० माओवादीमा कसरी लाग्नुभयो ?

– म गाडी नै चलाउँथेँ । ०५५ सालमा काठमाडौंमा प्रभात भन्ने साथी हुनुहुन्थ्यो । उहाँले नै युद्धमा जाऔं भन्नुभयो । मैले कम्तिमा ३२–३३ वटा लडाइँमा प्रत्यक्ष सहभागिता जनाएँ । लडेकामध्ये चैनपुर भिडन्त स्मरणीय छ ।

० के छ स्मरणीय कुरा ?

– सशस्त्र प्रहरीसँग भिडन्त गर्‍यौं । हाम्रा खुट्टा नांगा थिए । लेकको ठाउँ, जुका लाग्ने । हिँउ पर्थ्यो । हामी भोकभोकै । अहिले त्यो मोर्चामा लडेकामध्ये ज्यादै कम साथी हुनुहुन्छ । कतिपय शहीद हुनुभयो । धेरैजसो पलायन हुनुभयो । चैनपुरमा लड्ने भनेर हामी सातवटा जिल्लाबाट छानिएर गएका थियौं । परवाना (सन्तु दराई) ले त्यसको कमाण्ड गर्नुभएको थियो ।

० अहिले कस्तो लाग्छ, त्यो सम्झँदा ?

– हिजो जे भनेर जुन विचारका पछि लाग्यौं–लड्यौं, त्यो बेकार भयो । यसपछि स्वभाविक हो, हामी सन्तुष्ट छैनौं ।

० प्रचण्डकहाँ कसरी पुग्नुभयो ?

– पूर्वको मोर्चामा ड्राइभिङ सेक्टरबाट गएकोमध्ये मलाई अलिक परिपक्व मानिन्थ्यो । अनन्त पूर्वी कमाण्डको इञ्चार्ज हुनुहुन्थ्यो । परलोक भन्ने साथी पनि त्यहीँ हुनुहुन्थ्यो । लडाइँमा प्रयोग हुने गाडी मैले नै चलाउँथेँ । उहाँहरुले नै प्रचण्डसँग ‘यस्तो मान्छेलाई राख्नुपर्छ’ भन्नुभयो । कृष्णबहादुर महराले पनि ‘लौ जानुस न त’ भन्नुभयो । म त्यसबेला देव गुरुङ सरसँग थिएँ । उहाँले ‘अध्यक्षकै लागि हो भने केही सोच्नु परेन, सर्लक्कै जानुस्’ भन्नुभयो । ०६६ सालमा प्रचण्डले सरकार छाडेर माधव नेपालको सरकार बनेपछि मैले छाडेँ ।

० प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सरकारी गाडी चलाउनुभयो त ?

– गाडी त चलाइनँ, तर ड्राइभरका रुपमा नियुक्त गरेका थिए । सरकारी नियुक्ति गरे पनि हामीले आर्थिक रुपमा केही लाभ लिएनौं ।

० तलब त आउँथ्यो होला नि !

– हामीले लिएनौं । त्यो पैसा कसैले लिएको भए थाहा छैन ।

० ए, तिनले तपाईंहरुको तलबसम्म बाँकी राखेनन् ?

– मलाई देव गुरुङले अध्यक्षसँगै बस्नुस्, तर आर्थिक रुपमा उत्तेजित नहुनुस् भन्नुभएको थियो । आर्थिक भनेको साधन हो, सामान्य कुरा हो भन्नुहुन्थ्यो । हो त भनेर पैसामा धेरै आँखा लाएनौं । पछिल्लो समयमा प्रमाणिकरणको प्रक्रिया शुरु भयो । त्यसमा पनि शुरुमा त आर्थिक कुरामा ध्यानै दिएनौं ।

० कहाँ प्रमाणिकरण हुनुभयो ?

– हामी तेस्रो डिभिजनअन्तर्गतका हौं र कार्यालय प्रयोजनका लागि काठमाडौंमै राखिएमध्येका हौं । त्यसैले हाम्रो प्रमाणिकरण यतै भयो । क्यान्टोन्मेन्टमा पैसाको विषयलाई लिएर भागदौड मच्चिसकेपछि हामीले पनि पैसा चाहिन्छ भन्यौं । मिनिमम हजार रुपैयाँ भए पनि खर्च चाहिन्छ भन्यौं । त्यसपछि महिनाको हजार रुपैयाँ दिन थालियो । सरकारले पनि पछि तीन हजार छुट्टयायो । त्यो तीन हजार पनि चार महिनासम्म पाएनौं । महिनाको हजारमा चित्त बुझायौं । पछि पाँच हजार पाइने कुरा भयो । त्यसमा पनि हजार रुपैयाँ पार्टीका लागि काट्ने कुरा भयो । हामीले मानेनौं । त्यसपछि हामी काठमाडौं बस्नेका लागि हजार रुपैयाँ नकाटी दिन थालियो । क्यान्टोन्मेन्टमा त हजार रुपैयाँमात्र हैन, कति काटे, कति !

० तपाईंजस्तै साथीहरु कोही नेता बने, कोही मन्त्री बने, व्यापारी बनेका छन् । शहरमा ठूल्ठूला महल बनाएका छन् । कोही राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगपतिसरहको जीवनशैलीमा छन् । तपाईंचाहिँ ड्राइभरदेखि ड्राइभरसम्मै । यो के भएको ?

– धेरै मान्छेले लुटेको देख्दा मैले सोचेँ कि, मसँग त आफ्नै कला, सीप छ । युद्धको त्यत्रो अनुभव पनि छ । लुट्नै पर्ने हो भने पनि मसँग बल छ, बुद्धि छ । बदमासी नै गर्नुपर्दा कुनै लुटेरा, कुनै ठगले भन्दा दोब्बर गर्ने हिम्मत छ । तर, हिजो हामी जे कुरामा प्रशिक्षित भयौं, त्यहीअनुसार लागेको छु । म सामान्य होलटाइमर कार्यकर्ताका रुपमा छु । पार्टीको नीति नआएसम्म यो माइक्रो चलाउँछु भनेर यसमा लागेँ ।

० प्रचण्ड निवासमा बसेर धेरैले कमाए भन्छन् । तपाईंलाई के–कति थाहा छ ?

– शुरुमा त हामीलाई वास्तै हुँदैनथ्यो । किनभने, पार्टी, क्रान्ति भनेर हामी समर्पित थियौं । एक दिनचाहिँ अति नै भएपछि मैले प्रचण्डलाई भनेँ, ‘हेर्नुस् कमरेड, यो अति नै विकृति, विसंगति भयो । हामीलाई पनि लाज लाग्न थालिसक्यो ।’ उहाँले ‘खोलामा फोहोर–मैला आउँछन्, त्यसलाई सफा गर्नुपर्छ’ मात्रै भन्नुभयो ।

मलाई प्रचण्डका यति धेरै कुरा थाहा छन्, कि ती सबै कुरा भन्दा जनताले उहाँलाई लखेटी लखेटी कुटेर मार्छन् । त्यसैले म सबै कुरा भन्दिनँ । एउटा कुरा तपाईंलाई भनिहालौं कि, अजय सुमार्गी भन्ने एउटा फटाहा छ । ऊसँग उहाँको हिमचिम देखेपछि हामीले त भन्यौं पनि, ‘अबचाहिँ अति भयो कमरेड !’ अजय सुमार्गीले प्रचण्डको वरिपरिका मान्छेहरुको घर बनाइदिएको छ । म ती साथीहरुको नाम त भन्दिनँ, तर तिनका घर सुमार्गीले नै बनाइदिएको हो । अहिले पनि साथीहरुले मलाई रिपोर्ट गरेका छन् । कतिपयले मलाई भन्थे पनि, ‘अरुले त्यत्रो गरे, तपाईंले किन केही नगर्नुभएको ?’

प्रचण्डले गिरिजासँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर हात मिलाउनुभयो । त्यसदिन पनि उहाँको गाडी मैले नै चलाएको थिएँ । मलाई त्यतिबेलै चिन्ता लागेको थियो कि, जनअदालत, जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा पठाउने नाममा पुरानो सत्तालाई बुझाउने भए भनेर । हामीले त्यत्रो लडेर आयौं, अब छाति नापेर परेड खेल्न पठाउलान् भन्ने त्यतिबेलै शंका थियो । मैले सन्तु दराईलाई भने, ‘नेताहरुले हामीलाई धोका दिने भए ।’

० सुमार्गीसँग के कुरा हुन्थ्यो ?

– हुने, नहुने सबै कुरा हुन्थे । ती कुरा भनेर साध्ये छैन । जब एउटा नेताले ‘म नेता हुँ, जनता, कार्यकर्ता, शहीदप्रति उत्तरदायी छु’ भन्ने कुरा भुलेर तस्कर, फटाहासँग नाता जोड्छ, तब उसले जे पनि गर्दोरहेछ ।

० विदेशी ह्वीस्की लिएर उनी प्रचण्डकहाँ जान्थे ?

– ह्वीस्की भनेको त खोलामा बगेको सित्तैको पानीजस्तो हुन्थ्यो । विदेशका माछा, मासु, सुकुटी साराथोक ओसार्थ्यो त्यसले ।

० ए, प्रचण्ड निक्कै पियक्कड हुनुहुन्छ ?

– अजय सुमार्गीसँग बसेर सधैं खानुहुन्थ्यो । गाडी चलाउँदा ठ्वास्स गन्हाउँथ्यो । मैले बुझेको कम्युनिष्ट आन्दोलन भनेको सबैको समान अस्तित्व, समान स्वामित्व स्थापित गर्ने हो । म एउटा गरिब किसानको छोरो । पेट पाल्नका लागि ड्राइभरी पेशा गर्दागर्दै त्यत्तिकै रमाइलो गर्न जनयुद्धमा लागेको त होइन नि ! अहिले कोहीचाहिँ पजेरोमा ‘हाइँ–हाइँ र हुँई–हुँई’ गर्ने, कोहीचाहिँ पकेटमा ५० रुपैयाँ खर्च पनि नहुने स्थिति भयो । यसलाई कम्युनिष्ट भनिँदैन । त्यसैले प्रचण्डको जन्जाललाई मैले त्यागेँ ।

छोड्नुअघि प्रचण्डलाई के भन्नुभयो ?

– उहाँलाई त केही भनिनँ, तर उहाँको जुठो–पिठो खानेलाई ‘तपाईंहरु बेठिक हुनुहुँदो रहेछ, यस्तो विसंगतिको दलदलमा फस्नुभन्दा घरमा हलो जोतेर बस्छु’ भनेर हिँडेँ । तर, पछि देव गुरुङ सरले थाहा पाउनुभएछ । उहाँले ‘घर नजानुस्, यतै बस्नुस्’ भन्नुभयो ।

० कुन घटनाले तपाईंलाई प्रचण्डप्रति अन्तिम मोहभंग भयो ?

– उहाँले प्रधानमन्त्री हुँदाहुँदै जसरी सरकार छाड्नुभयो, त्यही दिनदेखि उहाँप्रति विश्वास भएन । एकैछिनमा एउटा कुरा गर्ने, एकैछिनपछि अर्को कुरा गर्ने ! नेताहरुले अब धोका दिन लागे भन्ने कुरा त अलिक पहिलाबाटै शंका थियो । तर, सरकार छोडेको शैली र त्यसबेलाका बोलिचालिबाट अलिकति पनि विश्वास गर्ने ठाउँ बाँकी भएन । उहाँलाई मैले बारम्बार भनेको हुँ, ‘भएभरको घूसखोर, फटाहाहरु जम्मा पारेर हुँदैन ।’

त्यो नारायणकाजी कुन चरीको नाम हो ? जनताले अहिले पनि भन्छन्, ‘नारायणकाजी नेता होइन, ‘चरी’ हो ।’ हिजो हाम्रो टाउकोको मूल्य तोक्नेहरुलाई सपोर्ट गर्ने नारायणकाजीलाई कहाँबाट हाम्रो नेता बनाउन ल्याइपुर्‍याए ? मैले नारायणकाजीलाई कहिले पनि नमस्कार र सलाम गरिनँ । हाम्रा अरु साथीले पनि गरेनन् । मलाई भित्रैदेखि लाग्थ्यो, यी फटाहा हुन् । तर, उनीहरु हामीसँग नजिक हुन खोज्थे । किनभने, हामी त जनमुक्ति सेना हौं नि त ! हामीले नारायणकाजीको सुरक्षाका लागि भनेर दुई–तीन जना साथीहरु पनि पठायौं । तर, ती साथीहरु उनको प्रबृत्ति देखेर दिक्क मान्थे ।

० प्रचण्ड व्यक्तिगत रुपमा कत्तिको घुलमिल हुन्थे ?

– उहाँले जे गर्नुहुन्छ, जे बोल्नुहुन्छ वास्तवमा ती सब नाटकमात्र हुन् । उहाँ जे पनि गर्न सक्नुहुन्छ । रुन सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ, कलाकारजस्तो । एकदिन ०६३ सालमा मेरो गाउँको घर जानुभयो । एक किसिमले त खुशी लाग्यो । तर, जनताले सोध्न थाले, ‘प्रचण्ड तेरो घरमा आएर के भयो ?’ उनीहरुले ‘प्रचण्ड पनि त फटाहा रहेछ नि’ भन्न थाले । पछि लाग्यो, सिपाहीसँग हातले मुछेर दाल भात खाने रुक्माङ्द कट्वालले जस्तै मेरो घर गएर प्रचण्डले एकछिनका लागि नाटक मात्र गर्नुभएको रहेछ । उहाँ भ्रम छर्न सिपालु हुनुहुन्छ ।

० प्रचण्ड–बाबुरामको भविष्य के देख्नुभएको छ ?

– खुमबहादुर खड्का र गोविन्दराज जोशी त घोषित भ्रष्टाचारी भए, अहिले जेलमा छन् । प्रचण्ड र बाबुराम त त्यो भन्दा पनि गिरेका भ्रष्टाचारी हुन् । उनीहरुको हालत ज्ञानेन्द्रको भन्दा पनि तुच्छ हुन्छ । एकदिन जनताले उनीहरुलाई लखेट्ने छन् । हेर्दै जानुस्, हन्ड्रेड पर्सेन्ट उनीहरु लखेटिने छन् । दरबार हत्याकाण्ड कसले गरायो ? के ज्ञानेसँग त्यत्रो आँट थियो ? त्यो त त्यहाँभित्रैका सेना–प्रहरीले गरेका हुन् नि ! त्यसैले दुईचार जना सेना राखेको छु भन्दैमा कसैले दम्भ नगरे हुन्छ । सेना राख्दैमा कोही सुरक्षित हुँदैनन् । हुने भए वीरेन्द्रको बंशलाई कसले सिध्याउँथ्यो ?

० तपाईंहरु स्वेच्छिक अवकासमा जानुभयो । हतियारचाहिँ के गर्नुभयो ?

– हामीले त परवाना (सन्तु दराई) लाई लगेर बुझाइदिएका हौं । उनीहरुले के गरे, थाहा भएन  । पछि त सुनियो, बैद्य पक्षकाले हतियार बुझाएनन् भनेर पो कुर्लिन्छन् रे ! हामीले परवानालाई बुझायौं, उनले त सेना समायोजन विशेष समितिलाई नै बुझाएनछन् क्यारे ! हामी पनि प्रश्न गर्छौं, ‘हामीले सही–सलामत बुझाएका ती हतियार कता गए ?’

० क्यान्टोन्मेन्टमा कति दिन बस्नुभयो ?

– दुई–चार दिन बस्यौं । त्यहाँ हामीलाई भिन्न आँखाले हेरिएपछि त्यहाँ बस्न उपयुक्त छैन भनेर फर्कियौं । पछि पुनवर्गीकरणमा नाम दर्ता गर्‍यौं । त्यसबापत तीन लाख रुपैयाँ मैले पनि पाएँ ।

० के गर्नुभयो त्यो पैसा ?

– ऋणमा परेको थिएँ । भाइको उपचार गर्दा धेरै पैसा खर्च भएको थियो । त्यो पैसा तिरेँ ।

० माइक्रो चलाएर साहूले कति तलब दिन्छन् ?

– साहूचाहिँ मेरा साथी पनि हुन् । धेरै दिन चलाउँदिन भनेको छु । त्यसैले तलबै भनेर लिएको छैन । खर्च चाहियो भने ‘लिनुस्’ भनेर दिनुहुन्छ । हामीले प्रचण्डकहाँ छाडेर आएका कतिपय साथी कामै नगरी पैसा माग्छन् । हामी त काम गरेर कहिलेकाँही खर्च मात्रै लिन्छौं नि !

० घरबार कस्तो छ ?

– सानैमा विवाह गरेँ । श्रीमती, एउटा छोरा, दुइटी छोरी गाउँमै बस्छन् । छोरा १० मा, जेठी छोरी ९ मा र कान्छी ६ मा पढ्दै छन् । घरमा बा, आमा सबै हुनुहुन्छ ।

० भविष्यको योजना के छ ?

– हामी त मसानघाटका मूर्दा हौं । हामीले गोलीको स्वाद चाख्या छौं । भोलि जनताको मुक्तिका लागि भइपरी आउँदा जुनसुकै भूमिकामा पनि उत्रन तयार छौं ।

० तपाईंहरु युद्धमा जानुहुन्छ ?

– दमन भयो भने प्रतिरोध हुन्छ । हामी जाली, फटाहाहरुलाई भौतिक रुपमा हैन, नैतिक रुपमा कारवाही गर्न भनेर योजना बनाइरहेका छौं । मर्नका लागि हिजो पनि डराएनौं, फेरि पनि डरायौं भने प्रचण्डजस्तो भइहाल्यौं नि !

योपनि हेर्नुस्

Back to square one: The story of a revolutionary

तपाइँको प्रतिक्रिया