अर्धनग्न मानव हुल अगाडि गाउँलेसित सामूद्रिक तटमा (संस्मरण)

पुष्प बरुवाल /एम्स्टरडम, नेदरल्याण्ड

भोली आइतबार कहिले आउँला र आमस्टरडमको ट्रेन स्टेसनमा जाउँला भन्ने कुथुल्कीले होला शनिवारको निन्द्रालाई असर पर्दै थियो । मन झनझनै उत्साहित हुँदैथियो । करिब पाँच वर्षदेखि नियमित पुग्ने गरेको, अझ भनौं कहिलेकही त दिनमा दूई-तीन पटकसम्म पुगिने त्यही परिचित स्थान पनि भोलीको बिशेष परिस्थितिमा पुग्दाको क्षणको कल्पनामा पुलोकित हुँदै थियो मन । कारण नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेजी पहिलोपटक आमस्टरडमको यात्रामा नेदरल्यान्डस आउँदैहुनुहुन्थ्यो  र उहाँको स्वागतका लागि अलिक उताउलो हुँदैथिएँ म । त्यसो त शिव गाउलेजीलाई मैले पहिला पनि निकै पटक नेपालमै भेटि सकेको हुँ र यही सेप्टेम्बर २ तारिकका दिन नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशनका बेला पनि हाम्रो भेटघाट भएकै हो । 

तर अति व्यस्तताको कारण हाम्रो जमेर कुरा गर्ने वातावरणनै रहेन त्यहाँ । अधिवेशन सकेर फर्किने बेलामा बिदाईको हात हल्लाउँदा मलाई एउटा पूर्व मित्रलाई छोडेको अनुभूति भएको थियो त्यहाँ । तर हामी दुवैको व्यस्तताको कारण चाहेर पनि त्यो दिन एक ठाउँमा बसेर कुरा गर्न सकेका थिएनौं हामीहरु । अन्तत: उहाँ नेदरल्यान्डस आउने पक्का भएको खबरले मलाई निकैनै गर्वित र हर्षित बनाएको थियो । 

जर्मनीमा रहनुहुने नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य टेक नेपालीजीले दिनुभएको समयानुसारनै स्वागतका लागि आइतबार ट्रेन स्टेशन पुगियो । केहीक्षण पर्खिन नपाउदै जसै भेटेँ मैले गाउँलेजीलाई, उहाँको मुहारमा एक किसिमको खुशी देखेँ मैले । अझ भनौंभने हामी दूवै हर्षित थियौं । खुशी नबनौं पनि त किन ! करिब ६ वर्षपछि गत २ सेप्टेम्बरमा पेरिसमा भेट्दा पनि धित मरुन्जेल गफ गर्न नपाएका हामीहरुलाई अब भने मनका कुराहरु उहि शैली, उही रवाफ र उहि मित्रतापूर्ण तरिकाले खोल्ने एउटा खुल्ला अबसर मिलेको थियो । 

हिजो आइतबारकै दिन मैले नेपाल पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्षको हैसियतले शाखाको तर्फबाट एउटा भेटघाट कार्यक्रम राखेको थिएँ । हामी स्टेसनबाट बस चढेर सिधै हुँइकियौं कार्यक्रमस्थलतिर । बसमा भेट हुनुभयो बिकास शर्मा दाजु । परिचय भयो शिवजी र उहाँबीच । ट्रेन स्टेशनबाट १५ मिनट बसको यात्रापछि देख्यौ कार्यक्रमस्थलमा हामीभन्दा अघिनै स्वागतको लागि पुगिसक्नुभएको रहेछ एनआरएन नेदरल्यान्डसका निवर्तमान अध्यक्ष श्री हरि पौडेल, नेपाल समाज नेदरल्यान्डसका तर्फबाट कार्यक्रममा प्रतिनिधित्व गर्न आउनुभएका राष्ट्रिय एकता नेपाल नेदरल्यान्डसका पूर्व-अध्यक्ष श्री फणिन्द्र पन्त, एनआरएन नेदरल्यान्डसका उपाध्यक्ष श्री प्रेम गुरुङ, एनआरएन नेदरल्यान्डसका सल्लाहकार तथा समाजसेवी श्री दिनेश रिजाल लगायतका प्रतिनिधिहरु । 

एकैछिन पछि आइपुग्नुभयो एनआरएन नेदरल्यान्डसका अध्यक्ष श्री नारायण आचार्य, नेसनल कोअर्डिनेटर श्री श्रीराम कँडेल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) का युरोप कन्टिनेन्टल समितिका सदस्य श्री चन्द्र सम्सेर केसीजी । त्यसको केही बेरमै टुप्लुक्क उदाउनुभयो, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेदरल्यान्डस च्याप्टरका अध्यक्ष तथा साहित्यानुराग पत्रीकाका संपादक श्री सूर्यराज गिरी, अतिराम तमाङ र भाइ टंक पाण्डे । अनि जम्यो अन्तर्कृया कार्यक्रम । 

पत्रकारिता के हो ? समाजिक रुपन्तरणका लागि पत्रकारिताले प्रत्यक्ष र परोक्षरुपमा पार्ने प्रभाव के के हुन ? लगायतका बिषयहरुमा निकैबेर बिचार बिमर्शहरु भए । पत्रकारमा हुनुपर्ने मान्यता र नैतिकता (Norms and Ethics) का बारेमा खुलेर चर्चा-परिचर्चाहरु भए । जिज्ञाषाहरु उठे र आए जिज्ञासाका सन्तोषपूर्ण जवाफहरु पनि । नेपाली ममको स्वादसँगै बढ्दै गए सान्दर्भिक प्रसंङगहरु र निस्कदै गए निरुपरणका उपायहरु ।

सजिलो भाषामा यसो भनौं, नेपालदेखि प्रवाससम्मका यावत बिषयहरुमा बडो सौहार्द्धपूर्ण किसिमले कुराकानीहरु भए । नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजना भए पनि यो कार्यक्रमलाई खुलेरै सहयोग गरे एनआरएन नेदरल्यान्डसका अध्यक्ष नारायण आचार्य, नेशनल कोअर्डिनटर श्रीराम कँडेल, नेपाल समाज नेदरल्यान्डसका प्रतिनिधि श्री फणिन्द्र पन्त लगायतका समाजसेवीहरुले । यद्धपि अतिनै व्यस्तताका कारण उपस्थित हुन नसक्नुभएका नेपाली जनसंपर्क समिति नेदरल्यान्डसका अध्यक्ष मनोहरि शर्माले समेत पटक-पटक फोन गरेर आफू उपस्थित हुन नसकेकोमा दू:ख मान्दै शिव दाइको स्वागतका लागि सहयोग गर्ने बचन दोहोर्‍याई रहनुभयो । उहाँहरु सबैको स्वस्फूर्त सहयोगको लागि मुरिमुरी धन्यवाद दिदै र बिदाईका हात हल्लाउँदै हिँडियो भाइ फणिन्द्र पन्तको अगुवाईमा समूद्रको अवलोकन गर्न सानफोर्टतिर । 

त्यसै पनि समर (गर्मी) को बेला ! त्यस माथि अचानक ह्वात्त बढेर झन्डै २८ डिग्रीको हाराहारिमा पुगेको तापक्रम ! अहो, अब के चाहियो र यहाँका मान्छेलाई ? होम्मिएका रहेछन समूद्रको डुबुल्की मार्दै मजा लिन सानफोर्टतिर । हामीलाई पचिसकेको दृष्‍य भए पनि सामूद्रिक तटमा बग्रेल्ती छरपष्टिएका अर्धनग्न मानव हुलको अगाडि शिव दाइसँगै उभिन हामीलाई केही संकोच भयो । हामीले के गर्ने भनेर सांकेतिकरुपमा पुलुक्क हेर्यौं शिव दाइतिर । झन्डै आधा संसार घुमेर त्यहाँको अवस्थालाई बुझिसक्नुभएको उहाँले कुनै आपत्ति नजनाउनुभएकोले हामी गयौं ती हुलसँग मिसिन। 

“यो नोर्थ सी हो, यहाँबाट पचास किलोमिटर पारिपट्टि इङ्गल्याण्ड पर्छ ।” औँलाले पारिपट्टिको क्षितिजतिर देखाउदै भन्दै थिए फणिन्द्र भाइ र आश्चार्य मान्दै त्यहिँबाट पो देखिएला कि झै घाँटि उचाल्दै हेर्दै थिए शिवदाइ पनि । म चाँही मौका छोपेर धमाधम फोटो खिच्नतिर लागिहालें । औडाहा गर्मी, त्यसमापनि समून्द्रको किनारमा पेन्ट र बाक्लो सर्टमा ठाँटिएर गएका हामीलाई ट्वालट्वाल्ति हेर्दै गरेका अर्धनग्न तरुनी र तन्नेरीहरुतिर संकेत गर्न नपाउँदै शिव दाइले ईशारा बुझिसक्नुभएछ । र भनिहाल्नु भयो “हामी लुगा नलगाउँदा लजाउँछौं, यहाँ लुगा लगाउँदा लजाउनुपर्ने कस्तो अचम्म !” वाह, झट्ट संकेत पट्ट जवाफ ! हाँस्यौं हामी तीनै भाइ पेट मिचिमिचि । नर्थ सीको तटमा बसेर होल्यान्डमा काँचै खाइने प्रसिद्ध माछा ह्यारिनको मिठो स्वादमा केही समय बिताएर फर्कियौं हामी आमस्टरडम शहरतिर । 

साँझ फणिन्द्र भाइ र सिर्जना नानीको आग्रह नाघेर खान नखाई धरै पाइएन । नमस्ते रेस्टुरेन्टको मिठो नेपाली पकवान खाएर हामी हिड्यौ आमस्टरडमको रङ्गिन साँझको अबलोकन गर्न । दाम्राकको रोयल प्यालेश होस् वा राम्ब्राण्ड प्लेइनको खुल्ला रात्री जीवन वा रेड लाईट एरियाको बाहिरी अवलोकन गर्दानै किन नहोस हामीले नेपाल सम्झिरह्यौं । नेपालको खास गरी शहरी क्षेत्रमा बढ्दै गएको खुल्ला समाजको बारेमा बहस गर्दै गयौं । साँच्चै भन्ने हो भने हामीले त्यो बेला नेपालमा मौलाएको विकृतिपूर्ण (छाडा समाज) र त्यसलाई ब्यबस्थित गर्न नसक्ने नेपाली सरकार र प्रशासनिक संयन्त्रको बारेमा निकैबेर गन्थन गर्यौं। रात ढल्दै गएपछि लागियो निवासतिर । थाकेको जिऊ, बिहानै उठेर शिव दाइले बेल्जियमका लागि हिंड्नुपर्ने वाध्यतालाई बिर्सेंर बसियो अगाडि सेता, राता र फिक्का पहेँला अल्कोहलका बोतलहरुको चुस्की लगाउदै केहिबेर । मुलुकमा पत्रकारिताको विद्धमान अवस्था, प्रशासनिक संयन्त्र, शान्ति र सुशासन अदिका बारेमा हामी बीच निकैनै बिचारबिमर्शहरु गर्दागर्दै पत्तै नपाई समयले नेटो काटेर बिहानको तीन बजिसकेछ । अब भने कुरालाई बिट मार्दै लाग्यौं आ-आफ्नो कोठातिर । 

आज मलाई खै किन हो किन निकै अफ्ठेरो महसुस भएको छ शिव दाइलाई ट्रेनमा चढाएर बिदाई गर्न । बेल्जियमको कार्यक्रममा सहभागी गराउन अन्तत: जसरी पनि बिदाई गर्नै पर्नेथियो उहाँलाई मैले आज । ट्रेन चल्यो बेल्जियमतिर । ढोकामा उभिएर बिदाईको हात हल्लाउनुभयो उहाँले मलाई ! जसै ट्रेनले आमस्टरडम छोड्दै गयो र बेल्जियमतर्फ बढ्दै गयो, मलाई कताकता मेरो छेउबाट मैले पढ्ने गरेको र अझै धेरै समय पढ्नुपर्ने पत्रकारिताको 
एउटा सिङगो पाठशालाले बिस्तारै बिस्तारै मलाई फेरि पनि छोड्दै गएको अनुभूति भैरह्यो ।

तपाइँको प्रतिक्रिया