लघु कथा : सिन्दुर र पोते

गीता थापा

संयोगबस ऊ र म एउटै सिटमा थियौँ ।

 बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ”

“महत्वपूर्ण भए सोध्नुस्।  होइन भने समयको बर्वादी नगर्नुस् ।”

 महत्वपुर्णै हो । तपाईको विवाह भयो ?

मेरो विवाह हुनु र नहुनुसँग के सम्बन्ध तपाईको ?

 सिउँदोमा सिन्दुर र घाँटीमा पोते नझुन्ड्याएका महिला देख्दा सोध्न मन लाग्छ ।

तपाईको प्रश्नको जवाफ दिनु भन्दा पहिला तपाईसित एउटा प्रश्न सोध्न सक्छु ?

 अवश्य सक्नु हुन्छ ।

 सिउँदोमा सिन्दुर र घाँटीमा पोते झुन्ड्याउने महिलाहरू सज्जन नझुड्याउने दुर्जन हुन् जस्तो लाग्छ तपाईलाई ?

 मैले त्यसो भनें ?

 यदि मन बेलगाम घोडा जस्तै जतासुकै दगुरिरहन्छ भने सिउँदोको सिन्दुर र घाँटीको पोतेको कुनै अर्थ हुन्न ?

 कसरी अर्थ हुन्न ?

 साँच्चै विवाह गर्नुको मकसद सिन्दुर र पोते मात्रै हुन्थ्यो भने हिजोआज यसरी दिनुहुँ पत्रपत्रिकामा न पढ्नु पर्थ्यो “फलानाकी स्वास्नी पोइल हिँडि भनेर । न फलानाले सौता हाल्यो” भनेको सुन्नु पर्थ्यो ।

 गफ गर्न त निक्कै सिपालु हुनुहुँदो रैछ ।

 अलि अलि ।

 एउटा उखान सुन्नु भा’को छ ?

 कस्तो उखान ?

 भलो मान्छेले र गिलो भातले कहिल्यै बिगार गर्दैन रे ।

 मेरो झर्ने ठाउँ आइपुग्यो ।

 मलाई बोल्ने नदिकन आफूले मात्रै प्रवचन दिएर हिँड्न खोज्नु भा’को ? 

 काम धामनै छोडेर नचाहिँदो गफको पछि लाग्ने कुरा पनि त आएन नी ? की आयो ?

 त्यो त आएन ।

 ऊ टाउको कन्याउँदै सिटमै बसिरह्यो।

 म बस बाट ओर्लिएर अगाडि बढें ।

तपाइँको प्रतिक्रिया