“भारतका शर्त नमान्दा राजसंस्था ढल्यो”

लाल बहादुर नेपाली । उनी तिनै हुन् जसले नेपालमा प्रसिद्द काली गण्डकिको सेरो फेरो फेरो बनाए । देशको अवस्था बिग्रिएको देखेपछि उनी राष्ट्रबादी मिलन केन्द्रमा आबद्द भए । जर्मनीमा आएर अध्ययन गरेका उनी मोहन निरौला निस्केर हिँडेपछि राष्ट्रवादी मिलन केन्द्रमा पसेका थिए । उनी त्यसको प्रबक्ता सम्म भए । तरपनि पदकालागि न त उनले कहिल्यै हानथाप गरे नत युरोपमा राजसंस्थाको हितकालागि खोलिएका दर्जनौं संस्थामा उनी कतै पद लिन दगुरेकानै छन् । उनी आफ्नो परिचय सामान्य राखेर काम गर्न रुचाउनेमा पर्छन् । त्यसैको कारण थियो, पूर्व राजाको फ्रान्स भ्रमणबारे हल्लीखल्ली हुँदापनि नेपालीलाई दर्शन भेट गराउने मुख्य ब्यक्ति उनैलाई मान्छेले चिनेनन् ।

सौम्य प्रस्तुती र बोलिमा मिठास भरिएका उनी कट्टर लाग्दैनन् । जो भएपनि जनता हो । खुमबहादुर खड्का लगायत कांग्रेसी भ्रस्टहरुबाट जनता आजित भएको देखेका थिए । त्यसै कारणले उनी देशको भलाईका लागि राजाबादी भएका थिए ।

तर कुराकानीका क्रममा उनले नेपालप्लससित पूर्व राजालाई भेटाएर गराउन चाहेको तर संभव नभएको हाकै बताए । त्यहि प्रसंगमा उसो भए पूर्व राजासित के के कुरो भयो ? कसरि भेट गराउनु भयो ? राजसंस्था किन र कसकालागि चाहिन्छ ? आदि समसामयिक विषयमा अन्तर्वार्ता दिन प्रस्ताव गर्दा उनी राजी भए ।

कसले मिलायो पूर्व राजासित नेपालीहरुलाई पेरिसमा दर्शनभेट ?

त्यो कुनै पार्टी, दल वा समूहले होइन । राष्ट्र र राष्ट्रियताकालागि राजसंस्था चाहिन्छ । यदि राजसंस्था खाँचो हो भने त राजाले भेटेर कुरो सुन्नु पर्‍यो नी भनेर मैलेनै मिलाएको हुँ । युरोपका केहि छानिएका नेपालीहरुलाई भेटौं नत भन्ने मनशाय र आकांक्षा राजाको थियो होला । नत्र पक्कैपनि हामीले जति प्रयास गरेपनि त्यो संभव हुने कुरै थिएन । तरपनि कस्तालाई भेट्ने ? कसरि भेट्ने ? राजाले जो पायो उसलाइ भेट्ने कुरोपनि हुन्थेन । त्यसको ब्यवस्था चाहिँ मैले मिलाएको हुँ ।

किन आउनु भएको हो ज्ञानेन्द्र शाह फ्रान्स ?

पारिवारिक कारणले गर्दा फुर्सद लिएर आउनु भएको हो ।

बिभिन्न राजनितिक मान्छेसित पनि भेट्नु भो, नितान्त भ्रमण मात्रै त होइन भनिन्छ नी !

हेर्नुस्, म बेल्जियममा छु । हामी जर्मनी जाँदा त बिभिन्न मान्छे भेट्न आउँछन् भने उहाँ त देशको शासन लिएर बसेको मान्छे । नेपालीको राजसंस्थाको प्रतिनिधी । त्यस्तो मान्छेको भेट बिभिन्न देशका मान्छेसित हुनु त स्वभाविकै भयो नी !

ककसलाई भेट्नु भयो त उहाँले ?

त्यो चाहिँ मलाई सबै कुरो थाह भएन । अर्को कुरो के भने भ्रमण एकदमै गोप्य राखिएको थियो । बसेको ठाउँ पनि गोप्य थियो । यति सम्म कि कन्सुलरहरुलाई समेत सम्पर्ककालागि नम्बर दिईएको थिएन । भोली पल्ट भेट्नु छ भने आज रातीको १० बजेतिर सचिवलाई फोन गरेर मिलाउने गरिएको थियो ।

राजनितिक हैन भ्रमण भन्नुहुन्छ । राजनितिक होइन भने किन राख्नु पर्‍यो त त्यसरि गोप्य ?

सुरक्षाको हिसावले हो । राजनितिक भ्रमण भएको भए त त्यत्रो दलबल लिएर आउने कुरो नै हुन्थेन नी । यति गोप्य थियो कि उहाँ कति बजे आउनुहुन्छ भन्नेसम्म जानकारि दिईएको थिएन नेपालीलाई । फेरि अर्को कुरो आफैंले भनेर मात्रै हुन्न । नेपाल सरकारले दिएको सुरक्षा संयन्त्र अनुसारपनि त्यसरि गोप्यता राख्ने, मिलाउने कुरो हुन्छ ।

खासै चासो देखिएन त नेपालीको ?

उहाँलाई भेटघाट गराउन स्वागत मूल समारोह समिति नै बनेको थियो । युरोप भरिका नेपाली आउन चाहेका थिए । छ वटा देशका त एन आर एन का नेता आउने निश्चित गरेका थिए । तर राजाका सचिव सागरजीले त्यसो गर्नु आवश्यक छैन भनिदिनु भयो ।

कुन स्तरका नेता सित भेट भयो राजासित ?

मलाई थाह छैन त्यो कुरा । सागरजीसित सोध्नुस् न । हामीले हाम्रो कुरो भन्न मिल्छ । त्यो कुरो त कसरि भन्ने ? दर्शन भेटमा मैले तपाईँको कुरो राखेको थिएँ । सागरजीलाई तपाईको नामपनि थाह छ । एकछिन गफ गरेपछि ‘सरकार फोटो खिचौं’ भन्यौं । “फेस बुकमा राख्ने त होलानी हैन ?’ भनेर हास्नु भएपछि मैले बुझिहालें ए ए अस्तिको पल्ट तपाईले नेपालप्लसमा राख्नु भएको फोटोको सन्दर्भ होला भनेर  । तपाईलाई राजासित भेटाउने मन थियो तर तपाई बाहिर गएको थाह पाएँ ।

पेरिसको फुके रेस्टुरेन्तमा फ्रान्सका कुन कुन राजाबादीसित भेट भयो त ?

फ्रान्सको त कोहि थिएन नेपाली । राजाले नचाहेको भए त यस्तो भेट हुनेनै थिएन । उहाँले चाहेपछि कसैले त मिलाउनु पर्‍यो । मैले त्यसको चाँजो मिलाएँ । मैले नमिलाएको भए त्यो भेटघाट हुन सायद गाह्रो हुन्थ्यो कि ? त्यहाँ शुवसेना युरोपका संयोजक शैलेन्द्र भट्ट, बेल्जियमका राप्रपाका अध्यक्ष सुरेन्द्रमान अमात्यलाई मात्रै थाह थियो यो दर्शनभेटबारे । हामीले सिफारिस गरे मात्रै दर्शन भेट पाउन संभव थियो ।

अरु देशबाट समेत मान्छे बोलाएर किन भेटघाट गराउनु भएको ?

राजाको बिचार के रहेछ बुझ्न । हामीले भेट गराउँदा त मुख हेराउने उद्देश्यले गराउने होइन । राजाबादी,  राजसंस्था चाहिन्छ भन्नेहरुलाई हौशला बढ्छ नी । प्रजातन्त्र, देश, राष्ट्र, राष्ट्रियताको लागि राजसंस्था चाहिन्छ । त्यसको लागि काम गर्न हौशला बढोस् भनेर भेटाउने हो ।

राजाबादीमा कस्ता कस्ता मान्छे पर्छन् ?

मेरो बिचारमा प्रचण्ड देखि माधव नेपालसम्म सबै राजाबादी । राजाको पाउमा ‘म प्रधानमन्त्री हुन पाउँ महाराज’ भनेर बिन्ति हाल्ने माधव नेपाल राजाबादी होइन त ? स्कूलको हेड मास्टर रे प्रचण्ड कुनै बेला । त्यो बेला श्रीमान गम्भिर नेपाली त गाए होला नी । बिध्यार्थीलाई गाउन लगाए होला । त्यहाँ त राज संस्थाकै गुनगान छ । त्यसैले उपनि राजाबादी । मेरो बिचारमा त राजाबादी र राष्ट्रबादी फरक छ । राजाबादी त राजाबादी भैहाल्यो । राष्ट्रबादी चाहिँ को भने यदि कुनैपनि ब्यक्तिले हलो जोतोस । भाँडा माझोस । जे सुकै काम गरोस् । यदि नबुझेरैपनि राष्ट्रको हितकालागि चिन्ता गर्छ भने उ राष्ट्रबादी ।

कति मिनेट भेट्नु भो राजालाई ?

सामूहिक भेट ५० मिनेटको हो ।

तपाइलेनै मिलाएको भेटघाट जम्मा ५० मिनेटको हुन्छ त ?

सामूहिक भेटघाट त्यत्ति हो ।

छुट्टै भेटघाट चाहिँ ?

त्यो अहिले नभनौं । तर हामी सुझाव दिन्छौं बेला बेलामा ।

कुन कुन देशका आए त भेट्न ?

बेलायत, स्पेन, जर्मनी, बेल्जियम, डेनमार्कका मान्छेले भेटे । ति सबै सांगठनिक रुपमा लागेका मान्छे थिए । तिनले भेटेका हामीले सम्पर्क गराएर हो ।

आउँदा न्याम्म परेक राजा किन जाँदा चाहिँ हँसिलो भएर फर्केका ?

राजालाई भेट्नेहरुले हँसिलो पाएछन् । तपाईको नेपालप्लसमा पनि पढियो हाँस्दै गए भनेर । यहाँ जुन दम पाउनु पर्ने हो पाउनु भयो । हतोत्साहित देखिनुभएन । हाम्रै दर्शन भेटले गर्दा त्यसो भएको भन्न त मिलेन । नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताले समेत राजालाई बोलाउनुस् भेटघाटकालागि भनेका थिए । तर मैले राजालाई के भनेको भने हामीले त भेटेपनि नभेटेपनि राजाबादी । अरुलाई भेटेमा, धाप मारेमा राज संस्थाप्रति आस्था जाग्थ्यो कि ? हिजो राजाको नाम सुन्दापनि झनक्क रिसाउने, गाली गर्नेहरु यो पटक राजालाई भेट्न चाहन्थे । जन संपर्क समितिका त झन धेरै थिए । तर राजाले यो पटक मिलेन, अर्को पटक मिलाउँला भन्नुभयो ।

के के कुरामा चाख दिए राजाले ?

राजाले मुख्य त तिन कुरामा चासो दिए । पहिलो जातिय कुरो । दोस्रो हिमानी ट्रष्ट र तेस्रो राज संस्था । मैले जातिय कुरो उठाएको थिएँ । हिमानी ट्रस्टबारे रोशन सापकोटाले र राजसंस्थाबारे रमेशराज (कालो टोपी भनेर चिनिने) ले उठाएका थिए । त्यहाँ के कुरो भो भने राजा आउ देश बचाउ होइन । जनता आउ देश बचाउ हो । देश बचे राजसंस्था यसै बच्छ ।

राजाले के भने त ?

राजाले त राजसंस्था बचाउने, बलियो बनाउने, सक्रिय पार्ने वातावरण मैले बनाउने होइन ।  जनताले हो । जनताले आवश्यक ठानेदेखि आफैले ल्याउने हो ।

कसरि जाने राजसंस्था बचाउन भन्ने कुरो भो होला नी त ?

छलफल भयो । हतियार उठाएर जाने कि ? शान्तिपूर्ण किसिमले जाने कि ? बहस भएको थियो । तर राजाले भन्नु भयो “कानुनले नदिएको कुनै काम नगर्नु, कुनैपनि बिधी न अपनाउनु । त्यो राम्रो हुँदैन । बन्दुक उठाएर, कानुन मिचेर ल्याएको चिजले शान्तिपनि दिँदैन ।  यसरि जानु पर्छ उसरि जानु पर्छ भन्न खोज्नेहरुलाई के भन्नु भो भने यदि राजसंस्था चाहिन्छ भने आफैं अगाडि सर । आफैं लाग, आफैंले गर । नत्र म बाट हुन्न र म छोरोलाईपनि यसो गर उसो गर भन्दिन ।” राजालाई संझाउँछौं भन्दै गएकालाई त राजालेनै उल्टो यस्तो गर्नु हुन्न भनेर पो संझाएर पठाउनु भो त । दुखसुखका कुरापनि गर्नु भयो । परिवार छोडेर बिदेश बस्नु भएको छ । दुख छ । ख्याल गर्नुपर्छ  भनेर सान्त्वना दिने कोसिस गर्नु भयो ।

राजासित छुट्टै भेटघाट हुँदा के के कुरो भो भन्न मिल्दैन ?

त्यस्तो केहि छैन । भयो भने सबैभन्दा पहिलेनै तपाईले पाउनुहुन्छ ।

राजालाई राज संस्था फेरी फर्किन्छ भन्ने छ होला नी ?

आशाबादी त सबै हुन्छन् नी हुन्नन् र ? पिउनले आफ्नो जागिर गुमाउँदा त फेरि बहाली होला भन्ने आशा गर्छ भने उहाँ त राजा झन किन नहुने ? तर त्यो फर्काउने भन्ने कुरा राजालाई भन्दापनि नेपाली जनतालाई कति आवश्यक छ राजसंस्थाको ? त्यसमा भर पर्छ । हामी राजा भन्दापनि एकताका प्रतिक, राजमुकुट र सिंहासनलाई मान्छौं । त्यो आधारमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि ल्याउन खोजेका हौं राजसंस्थालाई । राजा एक्लो ब्यक्तिलाई खाँचो परेर होइन ।

पदको लागि होइन । बरु राष्ट्रमा बिदेशी हस्तक्षेप नहोस् भनेर हो । हेर्नुस् त अहिले देशमा कस्तो बिदेशी हस्तक्षेप भइराखेको छ । राजाको पालामा यस्तो भएको त थिएन । राजापनि सम्मानित हिसाबले बसुन् । अभिभावक बनुन् । बेलायतमा महारानी छिन् । राजनितिक दलहरुले ठिक काम गरेका छन् । त्यहाँ दलहरुले नराम्रो काम गरेका छैनन् र बेलायतकी महारानी चुपचाप बसेकि छिन् । यदि त्यहाँ पनि दलहरुले राम्रोसित शासन चलाएनन् भने रानीले चलाउँछिन् । नेपालमा त दलहरु राम्रा भएनन् । देश बर्बाद भयो । अनि देशको लागि केहि गर्नको लागि राजसंस्था चाहिएन ?

त्यसो भए के राजाले राजगद्दी चाहेकै छैनन् त ?

 राजाले राजगद्दी चाहेको भए २०६३ सालमापनि आन्दोलन हुँदा हुँदै बिदेशबाट प्रस्ताव आएको थियो राजतन्त्रलाई निरन्तरता दिनको लागि । अहिले दलहरुले झै दलाली गर्ने हो भने राजसंस्था फर्किन पाँच दिनपनि लाग्दैन । राजा कहिल्यैपनि देश, जनता र राष्ट्रको स्वार्थकालागि बिदेशीका अगाडि कहिल्यै नझुक्ने भएर नआएको हो । त्यसैले कहिले पछि सर्नुपर्छ त कहिले अगाडि बढ्नुपर्छ भन्नु भयो सफलता पाउनकोलागि । सफलता पाइन्छ । धैर्य हुनु पर्छ भन्नु भयो ।

राजसंस्था बचाउन कस्तो राखेको थियो त भारतले शर्त ?

म तपाईलाई फ्याक्ट भनिदिन्छु । आन्दोलन भएको बेला भारतीय दूत करन सिंले राजसंस्था बचाउने हो भने परराष्ट्र, अर्थ र सुरक्षा हामीलाई देउ भनेको थियो । भारतले भुटानलाई जस्तै ति तिन चिज आफ्नो कब्जामा राख्न खोजेको थियो । त्यो शर्त मानेर बस्ने हो भने भोली पल्टै दलहरुलाई भनेर यो आन्दोलन साम्य पारिदिन्छु भनेको थियो । तर राजा झुक्नु भएन । आफ्नो पदकोलागि म राष्ट्र र राष्ट्रियतालाई कदापी झुक्न दिन्न भन्नुभयो ।

राजसंस्था स्थापित गराउन कसरि जाने कुरो भो त ?

राजसंस्था चाहनेकै बिचमापनि भिन्न भिन्न कुरो आयो । बिबादास्पद कुरा देखिए । समान बिचार भए राम्रो हुन्छ । राज संस्थालाई हेर्ने विषयमा समानता हुनुपर्‍यो । छलफल गरेर एउटा निचोडमा पुग्नुपर्‍यो । देशको लागि केहि गर्ने हो भने बिदेशमा बसेर हैन । नेपालमै गएर केहि गर । देश बचाउनुपर्‍यो भन्नु भयो ।

तपाई राजासित निरन्तर संपर्कमा हुनुहुन्छ ?

त्यस्तो होइन सिधा फोन गरेर गफ गर्ने । सचिव मार्फत हो । तर भेट्न र भेटाउन मन लागे गाह्रो नहोला ।

(राजसंस्थाका विषयमा माओवादीले कसरि धोका दियो ? पूर्व राजाले कसरि सूचना लिन्छन् ? यो लगायत पूर्व राजाले बोलेको हुबहु हेर्न अर्को लेखको प्रतिक्षा गर्नुहोला । यो अन्तर्वार्ता धेरै लामो भएकाले त्यसलाई टुक्रा पारिएको हो)

तपाइँको प्रतिक्रिया