एकता समाजको नयाँ नेत्रित्व, नयाँ चुनौती
आज नेपाल पत्रकार महा संघ यूरोप प्रस्ताबित शाखाको आगामी यूरोप स्तरिय भेलाका लागि बैठक थियो । त्यो सकियो । त्यसपछि नेपाली एकता समाजका साथीहरुले बोलाए । आज दुई वर्षे नयाँ कार्यकाल छान्ने दिन । पार्कमा अध्यक्ष तप्त भण्डारी, महा सचिव प्रमोद पाण्डे र म केहि बेर बस्यौं गफ गर्दै । तिन बजे शुरु भो कार्यक्रम । गत चार वर्ष देखि अध्यक्ष भएर प्रमुख जिम्मेवारी खेलेका तप्तजी । उनका साथ दह्रोसित लागेका प्रमोद पाण्डे, सुक गुरुङ लगायतका साथी । अब कस्तो नेत्रित्व आउला त ? धेरैमा कौतुहलता थियो ।
भण्डारीजे उठेर “मैले मात्रै गरेको, मेरो नेत्रित्व यस्तो र उस्तो” भनेनन् सबैलाई समान जस दिएर बिदा लिएको घोषणा गरे । निवर्तमान महा सचिव प्रमोद पाण्डेले तप्त भण्डारीको नेत्रित्वको खुलेर प्रशंसा गरे । र शुरु भयो नयाँ नेत्रित्व चयनको । अँहँ, कुनै बिबाद, कुनै रस्साकस्सि, कुनै भनाभन र झैझगडा नगरि नयाँ नेत्रित्व चयन गरे । (समितिको नामावली अन्तिममा हेर्नुस )
नेपाली एकता समाज गठनका बेला थुप्रै नेपाली युवा दिशाबिहिन थिए । ति सामान्य कागजी तौर तरिका नबुझेरपनि अल्मलिन्थे । फ्रान्सको थितिको मेसो नपाउँदा रुमलिन्थे । संस्क्रिति र समजा बारे हेक्का नहुँदा ति सास्ति भोग्थे । भाषा छैन । आफन्त कोहि हुने कुरो भएन यो सात समुद्र पारि । गोजीमा पैसो हुने कुरो भएन । कहाँ गएर कागज भर्ने हो । कता गए वकिल पाइन्छ । के भनेर लेख्ने हो ? रुमल्लिएका थुप्रै युवालाई तिनले मन दिए । समय दिए । कतिलाई बास दिए । मेसो सिकाए । घोटि घोटि भएपनि अक्किल बुझाए । सुख र दुख मिलेसम्म दिए । र युवाका मन मनमा नेपाली एकता समाजलाई बास गराए ।
नौलो संस्था । हातमा शुन्य । शुन्यबाट उठाएर कुनै काम गर्नुपर्यो भने नेपाली एकता समाज भनेपछि युवाहरु जरक्क उठ्ने बनाउनु चानचुने थिएन । यसमा नेत्रित्वको खाँबो लिएर तप्त भण्डारी उत्रिए । प्रमोद पाण्डे जुरुक्क उठे । जगत थापा साथ लागे । सुक गुरुङ सँगै मिले । सन्तोश लिम्बु, चन्द्रा गुरुङ लगायतका थुप्रै नारीहरु उत्रिए । यसमा धेरैका नाम छुटेका छन् । धेरैको मेहनतले सिँचाइ गरेको छ । नाटकिय रुपमा विकास गर्यो यसले ।
यो चानचुने प्रयास र चुनैति थिएन । जसले चुनौतिको सामना गर्छ उसैले हो यात्रा अगाडि लैजानेपनि । अब त्यो चुनौति नयाँ साथीहरुमा आएको छ । अब तप्त भण्डारीको मुल खाँबो बोकेका छन् सुक गुरुङले । साथमा छन् उनै प्रमोदपनि । बाँकि पुराना र केहि नयाँ जोशिला र हौसिला थपिएका छन् । अबको तिनको चुनौति यो समाजलाई कसरि लैजान्छन् भन्ने हो । चार वर्षमा यिनले कमाएको ख्याती र अनुभवले पककै मार्ग निर्द्शन गर्ने छ । नयाँ नेत्रित्व चयन सँगै तप्त भण्डारी, प्रमोद पाण्डे र सुक गुरुङलेपनि यहि आशा र बचन दिए ।
संस्थाले गुन लगाएकैले हो, संस्थालाई पर्दापनि यसका सदस्य र शुभचिन्तकले उसैगरि योगदान गर्ने र मन राखिदिने पनि । आजै नेत्रित्व चयन गरेका बेला नेपालबाट भलिबल टोलीलाई नेपाली एकता समाजको जर्सी उपहार दिएर अर्को गुनको पैचो तिरे सोहन थापाले ।
नयाँ कार्य समिति
अध्यक्ष-सुक बहादुर गुरुङ, उपाध्यक्ष-पारु मल्ल (पान कुमारी उचाई), महा सचिव-प्रमोद पाण्डे, कोषाध्यक्ष- काशी कार्की, सह कोषाध्यक्ष-दिपेश गुरुङ र सह सचिवमा कमल केसी छन् ।
सदस्यहरुमा- मुना पुन :, सपना मल्ल, सन्तोस लिम्बु, देव शर्मा, ओम बस्नेत, दिलिप गुरुङ, सूर्य पौडेल, दिपक थापा मगर, रवी श्रेष्ठ र दुई जना अध्यक्षले थप्ने गरि बाँकि राखिएको छ । संस्थाले तप्त भण्डारी र जगत बहादुर थापालाई संरक्षक बनाएको छ । भण्डारीलाई अन्तर्राष्ट्रिय सम्पर्क गर्ने जिम्मेवारीपनि दिएको छ ।
त्यस्तै, विशेष सल्लाहकारमा वसन्त बिक्रम मल्ल, देबेन्द्र केसी, मान बहादुर सेन्चुरी, दिल कुमार गर्बुजा र चन्द्रा खनाल छन् । खेलकुद संयोजकमा, रत्न थापा (संयोजक), टेक बहादुर राना मगर (सचिव), सुन्दर पुन, गोबिन्द रिजाल, प्रकाश सुबेदी, विनोद केसी, उमेश भट्टचन छन् । सांस्क्रितिक संयोजकमा विकास वग्दाद, सुरेश श्रेष्ठ र सन्त गुरुङ ।
वार्षिक उत्सव अगस्ट १२ मा
नेपाली एकता समाजले अगस्ट १२ तारिख वार्षिक उत्सव कार्यक्रम राखेको छ । यो कार्यक्रममा नेपालबाट केहि कलाकारपनि आउँदै छन् । त्यसमा, अविनाश घिसिङ, रेश्मा सुनवार र देवकी खत्री (देविका केसी) छन् । अहिले सम्मको आय ब्यय यहि कार्यक्रमका दिन छर्लङ्ग हुने गरि सार्वजनिक गर्दैछन् ।










