“कांग्रेस जनजाति बिरोधी, एमाले ढुलमुले”

 ● कुल मगर /  बेल्जियम

 ● फोटो-शेर बहादुर छन्त्याल / बेल्जियम

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको प्रथम अधिवेशन यहि ८ जुलाई आइतबारका दिन लुभेन शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।  नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय महासचिव श्री आङ काजी शेर्पा ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा बेल्जियम स्थित विभिन्न संघ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव आङ काजी शेर्पाले नेपालमा संविधान सभा विघटनको प्रमुख मुद्दा राज्यको पुनर्संरचना भएको र त्यसको जिम्मेवार प्रमुख तीन दलहरुनै रहेको कुरा प्रस्ट्याउनु भएको थियो । आदिवासी जनजातिको सवालमा नेपाली कांग्रेस प्रस्ट रुपमा विरोधी रहेको र एमालेले स्पस्ट धारणा राख्न नसकेको कुरा व्याख्या गर्नु भयो ।

विगतमा  जनजाति, उत्पीडित, महिला, अपांग, मुस्लिमका मुद्दा जोडदारका साथ उठाएको दल एनेकपा माओवादीलाई पनि जनजाति महासंघले शंकाको घेरामा राखेको बताउनुभयो । बहु जातीय, भाषिक, धार्मिक, सास्कृतिक देश नेपालमा एकात्मबादी ब्राह्मणवादी राज्य सत्ताको कारणलेनै जनजातिहरु हरेक क्षेत्रमा पछाडी पर्नुपरेको कुरा बडो रोचक ढंगले प्रस्तुत गर्दा हलमा उपस्थित जनसमुदायले जोडले तालि बजाएका थिए । जातीय आधारमा राज्यको माग गर्दा ब्राह्मणवादी सोच र चिन्तनबाट ग्रसित नेताहरुको मुटु हल्लिन थालेको र देश टुक्रिन्छ भनेर हल्ला फिजाउन खोजेको भन्दै यसरी राज्यको निर्माण गर्दा देश टुक्रिने नभई बरु झन मजबुत भएर जाने कुराको उदाहरण सहित प्रस्तुत गर्नु भएको थियो ।

सो अधिवेशनमा बिशिष्ट अतिथिको आशनबाट बोल्दै  बेल्जियमा लागि राजदूत श्री राममणि पोखरेलले आदिवासी जनजाति को हुन् भन्ने बिषय अझै सोध र अनुशन्धानको बिषय भएको बताउनुभयो । उहाँले आदिवासीहरुको इतिहास २४०० बर्ष मात्र भएको उल्लेख गर्नुभयो । महाभारत र किराँतको प्रसंग कोट्याउदै उहाँले संघीयता के र कसको लागि भन्दै जातीय संघीयताले देशमा द्वन्द ल्याउन सक्ने तर्क राख्नु भएको थियो ।

अधिवेशनको शुभकामना मन्तब्य राख्ने क्रममा एन आर एन बेल्जियमकी अध्यक्ष श्रीमती जानकी गुरुङले हामीले यहाँ जतिसुकै आवाज उठाए पनि हाम्रो समस्या समाधान गर्ने भनेको राजनीतिक दलले नै हो । त्यसकारण पार्टी भित्र नै अन्तरसंघर्ष चलाउनु पर्ने भन्दै विगतमा उत्पीडित वर्गको समस्या सम्बोधन नभएको कारणले नै अहिले देशको अवस्था झन जटिलतामा बताउदै आदिबासी जनजातिको आन्दोलनले एक किसिमको तरंग ल्याएको कुरा स्वीकार गर्नुभयो । तर वहा आफै जनजाति हुँदाहुँदै पनि जातीय पहिचान र संघीयताको पक्षमा भने केहि कुरा राख्नु भएन ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली कांग्रेसभित्र आदिवासी जनजातिको सवालका बिषय बहश भैरहेको बताउदै आपसी सद्भाव, सहिष्णुता र भाईचाराको सम्बन्ध सधै कायम राख्नुपर्ने कुरामा जोड दिनु भयो ।

शुभकामना मन्तब्य राख्दै नेपाली जनप्रगतिशील मंचका उपाध्यक्ष दधिराज घिमिरेले जात र जातिको बिषयमा प्रस्ट पार्दै जनजातिको मुद्दा र हाम्रो मुद्दा एकै खालका भएको हुँदा जनजातिको आन्दोलनमा आफ्नो एक्यबद्धता रहने कुरा बताउनु भयो । शुभकामना मन्तब्य राख्दै आदिबासी जनजाती संयुक्त संघर्ष समिति जर्मनीका संयोजक श्री चाप्चा राइले सबै आदिबासी जनजातिको भाषामा अभिवादन गर्दै भन्नुभयो ” हामी बाहुनलाई लखेट्दैनौं, तर हामी बाहुनवादलाई  सुधार्ने अभियानमा लागेका छौ ।”

मगराँत मुक्ति मोर्चाको युरोप इन्चार्ज बिरमान घर्ती मगर, तमुवान मुक्ति मोर्चा बेल्जियमका मनिस गुरुङ, आदिवासि जनजाति संघर्ष समिति बेल्जियमका संयोजक मेख गुरुङ, आयोजक समितिको तर्फबाट बाबुराजा लामा र लोक राना मगरले अधिबेशनको सफलताको लागी शुभकामना दिनु भएको थियो । सो कार्यक्रमको सभापतित्व तदर्थ समितिका संयोजक पि जि शेर्पाले गर्नु भएको थियो भने सञ्चालन समितिका सचिव कुल मगरले गर्नुभएको थियो । अधिवेसनमा उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरुलाई आयोजक समितिका सदस्य राम बहादुर गुरुङले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको दोश्रो चरणमा श्रीमति जानकी गुरुङको अध्यक्षतामा राम बहदुर गुरुङ, बदन योङहाङ, नेत्र मगर र अनिता लामा समेतको एक पाँच सदस्यीय अध्यक्ष मण्डल चयन गरी महासंघ बेल्जियमको विधान पारित गरिएको थियो । पि जी शेर्पाको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ बेल्जिमको ३५ सदस्यीय कार्य समितिको निर्विरोध निर्वाचित गरियो । जस अनुसार उपाध्यक्षहरुमा श्रीमती मुना राई, श्रीमती अनन्त गुरुङ, सोमना थारु थनेत, बाबुराजा तमाङ, महासचिव कुल मगर हुनुहुन्छ ।

त्यस्तै सचिव श्रीमती आंगछिरिंग शेर्पा, कोषाध्यक्ष सागर दास श्रेष्ठ, सह कोषाध्यक्ष बसन्त शेरचन हुनुहुन्छ । सदस्यहरुमा श्री प्रसाद गुरुङ, भरत तामाङ, मणि राई, सोनाम शेर्पा, जित लामा, चित्र गुरुङ, बेद बहादुर देवान, इन्द्र लिम्बु, शेर बहादुर छन्त्याल, ओम थारु, फुला शेर्पा, प्रविण गौचन, यमुना रोक्का, केजिन राइ, कबिन्द्र सुब्बा, राजुश्री महर्जन, माया तामाङ, लोक राणा मगर, बिर सिंह प्रजा, मन्जु शेरचन, फुला शेर्पा, दुर्गा गुरुङ, सोमत शेरचन  रहनुभएको छ । साथै निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलको तर्फबाट राम बहादुर गुरुङ र अनिता लामाले बधाई तथा कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।  त्यसैगरि थारु समाजका सोम थनेत थारु, मगराँत मुक्ति मोर्चाको युरोप इन्चार्ज बिरमान घर्ती मगर, तमुवान मुक्ति मोर्चा बेल्जियमका मनिस गुरुङ, आदिवासि जनजाति संघर्ष समिति बेल्जियमका संयोजक मेख गुरुङ, आयोजक समितिको तर्फबाट बाबुराजा लामा र लोक राना मगरले अधिबेशनको सफलताको लागी शुभकामना दिनु भएको थियो ।

अन्तमा नव निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि आङ काजी शेर्पाले सम्पूर्ण कार्यसमितीका पदाधिकारीहरुलाई खादा लगाइ शुभकामना दिँदै सपथ गराउनुका साथै कार्य कार्यसमितिका अध्यक्ष र महासचिवले आफ्नो अधिकार प्राप्तिकालागि लागिपर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

 (लेखक कुल मगर नेपाल आदिवासी जनजाति महसंघ, बेल्जियमका महासचिव हुन्)

तपाइँको प्रतिक्रिया