मानव तस्करले पार्‍यो बेल्जियममा सयौं नेपालीलाई बिचल्ली

नेपालीहरु किन यति सजिलै ठगिएका, बेचिएका ? बेल्जियममा केहि ठगहरु मिलेर नाटकिय शैलीमा सयौं नेपालीलाई ठगेर बिचल्ली पारेका छन् । अहिले कुनै नेपाली बिमानस्थलमा बिचल्ली परेका छन् । कोहि पुन्पुरोमा हात राखेर बसेका छन् । बेल्जियम निवासी ति ठग हुन् सुदाम लम्साल । गर्मीको छुट्टी पाउने यूरोपको चलन अनुसार यस छुट्टीमा नेपाल जान लागेका सयौं नेपालीलाई बिमानको नक्कली टिकट दिएर ठगेका हुन् लम्सालले ।

उनले त्यहाँका नेपालीलाई ‘ल गर्मीको टिकटमा अहिले छूट लागेको छ, केहि दिनमै पैसा दिए पाइन्छ, नत्र गुम्छ यो मौका’ भन्दै पैसा लिएर सबैलाई टिकट त दिए । तर त्यो टिकट बिमान कम्पनीबाट कन्फर्म गरिएको नभएर कम्प्युटरबाट नाम, मिति, उडानको समय र तालिका मात्रै मिलाएर दिएको नक्कली थियो ।

सुदाम लम्सालले यो गर्मी बिदामा नेपाली ठग्ने योजना केहि महिना अघिदेखिनै बनाएका रहेछन् । उनले ‘ल अहिले छुट दिएको छ, अहिले किनेनौ भने पछि त ह्वात्तै बढ्छ टिकट” भन्दै सयौं नेपालीलाई लोभ्याएको रहेछ । जसरिपनि नेपाल जानु पर्ने छ भन्दै नेपालीले हतारिएर लम्साललाई पैसा तिरे ।

चोर लम्सालले बेल्जियमको प्रशासनबाट बच्न कस्तो अक्किल निकाल्यो भने नेपालीबाट लिएको पैसा चेक र कुनैपनि बैंक कार्डबाट नलिने । सिधै नगदमा लिँदा पैसा लिए दिएको लिखित प्रमाण नहुने भएकाले उसले त्यसो गरेको थियो । “यस्तो सस्तो टिकट बेच्नु छ कहाँ कार्ड र चेकबाट लिने ? नगदमा मात्रै लिन्छु” भन्दै उसले बिमान टिकट सबैको नगद माग्यो । नेपालीहरुलेपनि ठगको चलाखि बुझ्न नसकेर हो मा हो लगाउँदै खुरुखुरु नगदमै तिरे ।

नेपालीहरुलेपनि बैंकबाट पैसा झिक्दै बुझाउँदै गरे । त्यसको लागि उसले केहि सहयोगी, दलाल र समर्थकहरुको सञ्जाल बनाएको थियो । उनलाई साथ दिने अन्य केहि दलालपनि थिए । तिनले ग्राहकलाई लोभ्याउने, फकाउने, सम्पर्क गर्ने, टिकट दिने र अलिअलि कमिशन खाने काम गरेका थिए । त्यस्तै मध्ये एक थिए भनिन्छ मनकाजी गुरुङ जसले प्रति टिकट १० यूरो खाने गरेको त्यहाँका नेपालीहरुले बताएका छन् । र हाल यी काजी चाहिँ फरार भएर नेदरल्याण्ड गएर बसेको स्रोतहरुले उल्लेख गरेका छन् ।

तिनले बिमान टिकट निश्चित गरेको कम्प्युटर स्लिप हातमा थमाए । नेपालीहरुको बिमान कम्पनीसित सोधपुछ गर्नुपर्ला भनेर शंकासम्म गरेनन् । तर बिमानस्थल पुगेर स्लिप देखाउँदा त बिमानस्थलकै कर्मचारीहरु जिल्ल परे । “यो टिकट बुक भएकै छैन, यो त खाली कम्प्युटरमा आफैंले बनाएको स्लिप हो” भनिदिएपछि नेपालीहरु खङरङ्गै भएका थिए । उनीहरुको ओंठ तालु सुक्यो । बिचल्लीमा परे । त्यहाँबाट तकालै ठग सुदाम लम्साललाई फोन गरे । तर उसको मोबाईल को स्विच अफ थियो । उसले कुनैपनि प्रतिक्रियाको जवाफ नदिएपछि बल्ल नेपालीले मेसो पाए “चोरले हामीलाई खुब जाल रचेर फसाएको रहेछ”। ठगिनेमा क्षेत्री समाज बेल्जियमका अध्यक्ष ओम थापापनि छन् ।

नेपालीहरु कतिसम्म हुस्सु भएछन् भने सुदाम दहालले “लौ है आज त अन्तिम दिन हो छुटमा पाइने” भन्दै जोसित जतिमा सकिन्छ त्यति पैसो असुलेको रहेछ । कसैलाइ जम्मा ६ सय ५०, कसैलाई ७०० यूरो, कसैसित ७५० र कोहिले ८०० सम्म तिरे । तर नेपालीले एकै दिनको टिकटको र एउटै दिन यसरि फरक दरमा पैसो तिर्दापनि भेउ पाएनन् वा भेउ पाएरपनि “मलाई सस्तो दिएछ” भन्दै मख्ख परेर चुपचाप बसे ।

आफ्ना परिवारसित भेट घाट र छुट्टी मनाउन जाने भएकाले कुनै त एकै परिवारका ६, ७ जना समेत ठगिएका छन् । कसैको न्वारन, पास्नी, बिवाह, घर जग्गा किनबेच लगायतका अनेक कामको मेसो मिलाएका नेपाली छन् । एकातिर पैसो छैन । अर्को तिर बिमान टिकट हातमा छैन । तुरुन्तै किन्दा झन महँगो पर्ने र सिट नपाउने समस्यापनि भएकाले धेरै नेपाली छटपटिएका छन् । कोहि पुन्पुरोमा हात राखेर बिलौना गरिरहेका छन् । कोहि सकिनसकि ऋण लिएर तत्कालै टिकट लिएर नेपाल उडेका छन् । बेल्जियमको प्रशासनलाई कारवाही गर्नपनि सजिलो छैन । किनभने उनीहरुले रकम नगदमा दिएकाले कुनै प्रमाण छैन ।

लम्सालले एकै दिन, एउटै कम्पनी र उडानमा ४० नेपालीजतिलाई टिकट भिडाएर ठगे । त्यतिमात्रै होइन उसले एक हप्ता भित्रमै बेल्जियन, नेपाली, फिलिपिनी र अन्य मुलुकका करिब दुई सयबाट त्यसैगरि करिब २ लाख युरो ढगी गरे । त्यो रकम पचाउन उनले बेल्जियन प्रशासनसित कम्पनी डुबेको स्पष्ठिकरण दिएर बच्ने दाउ गरेको बुझिएको छ । किनभने बिमानस्थलमा आफू ठगिएको पक्का भएपछि केहि नेपालीले त्यहिँको प्रहरी समक्ष उजूरी दिएका थिए । तर प्रहरीले भने उनीहरुले टिकट काटेको कंपनीनै खारेज भैसकेको बताएको थियो ।

 को हुन् सुदाम लम्साल

 उनले आफूलाई ठूलै ब्यापारी र एन आर एनको हस्ती भनेर गफ दिने गर्छन् । एन आर एनको काठमाडौंमा भएको गत अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पनि आई सीसी सदस्यमा निर्वाचन लडेका थिए । तर उनी पराजित भएका थिए । उनी हाल जन संपर्क समिती बेल्जियमका सदस्य हुन् । जन संपर्क समिति नेपाली कांग्रेसको भात्री संगठन हो । उनका दुई वटा रेस्टुरेन्ट रहेको अपुस्ट खबरपनि आएको छ । नेपालप्लसले यस घटनाबारे अझै खोजतलास गरिरहेको छ ।

केहि पत्रकार ठगलाई चोख्याउने ध्याउन्नमा

यस्तो ठगको समाचारलाई साहसिक तरिकाले लेख्नु त परै जाओस् । बेल्जियमका केहि पत्रकार भने ठगलाई चोख्याउने ध्याउन्नमा  लागेका छन् । तिनले ठगको भनाईलाई बढाइचढाइ गरेर स्थान दिइरहेका छन् । उता पिडितका पीडाको भने तिनले कुनै स्थान दिएका छैनन् । मानव तस्कर र यी ठगहरुलाई चोख्याउने तरिकाले प्रतिक्रियाहरु दिने दुस्साहस गरिरहेका छन् । बेल्जियमका मानव तस्करबारे अघिल्ला पटक नेपालप्लस, नेपालबाट प्रकाशित हुने केहि दैनिक र साप्ताहिक लगायत अन्य अनलाईनले साहसिक तरिकाले लेख्दापनि बेल्जियमका यी स्वनामधारी पत्रकारहरुले ति मानव तस्करलाई त्यसैगरि चोख्याउने ढंगले प्रतिक्रिया हालिरहेका थिए ।

(दोस्रो तस्विर ठगका सहयोगी मनकाजी गुरुङको हो)

तपाइँको प्रतिक्रिया