कविता : कठै मेरो देश
● नवराज न्यौपाने / ताइपेइ, ताइवान
अनकन्टार म एक्लो
सपनाको भारी बिसाएर
एक क्षण सुस्केरा हाल्दै
सोच्छु मेरो देश
आहा मेरो देश !!
++++++++++++++++++++
संसारका सबै कुना काप्चा छाडी
एक आत्माले प्राण भर्यो
अनि बने म, त्यहि देशको बचेरो
सोच्छु मेरो गाउँ
आहा मेरो गाउँ !!
++++++++++++++++++++
म त्यहि हुलमा थिए
त्यो बन्दमा रमाउदै, त्यो जुलुसलाई नियाल्दै
तर अचानक सपनाले उडान भर्यो
म टाढा भए
मैले समर्थन गर्ने बन्द, मैले फाल्ने इँटा सम्झिए
सोच्छु मेरो गति
कठै मेरो गति !
++++++++++++++++++++
राणा आए, शाह आए
जहानिया ल्याए, पंचायत को विगुल फुके
अनि थुप्रै आए
अर्थ हराएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याए
सोच्छु देश बदल्ने आस्वासन
कठै त्यो आस्वासन !!
++++++++++++++++++++
यो फुटको सिलसिलामा
आज फेरी अर्को फुटेछ
गवारले फेरी लुट्नेछ
नेतृत्वविहिन लावारिस भएको
सोच्छु मेरो देश
कठै मेरो देश !!