गजल
–गणेश खड्का ” प्रतिक्षा “
जहिले पनि झुक्नु पर्ने नेपालीको शिर‘ता होइन
उर्वर भूमि मेची-काली बन्कर खेल्ने भिर‘ता होइन
खेल चलाउँछौ मर्ने-मार्ने आफु चाहिँ लुकी-लुकी
तिमी आफैँ मरे पनि अब कुनै पिर‘ता होइन
अधिकार हो शान्तिपूर्वक बाँच्न पाउने सबै जनको
लड्यौं, लियौं, राख्छौं आफैँ अब फेरी फिर्ता होइन
नेपाल आमा, आफ्नी आमा, दुबै आमा बराबरी
यी आमाको इज्जत कुनै द्रौपदीको चिर‘ता होइन
रणभूमि किन पार्छौ शान्तिभूमि नेपाललाई
देश हामी सबैको हो तिम्रा बाउको बिर्ता होइन ।
तिवारी भञ्ज्याङग-४, भोजपुर
हाल : भिक्टोरिया (सिसेल्स) ।





